२९ औं वाणिज्य बैंकको रूपमा एक वर्षअघि कारोबार सुरु गरेको कमर्ज एन्ड  ट्रस्ट बैंक नेपालले यस अवधिमा साढे २ करोड नाफा गरेको छ । १४ वटा शाखाबाट  बैंकिङ कारोबार गरिरहेको बैंकले ३ अर्ब निक्षेप संकलन गरी त्यत्ति नै कर्जा  लगानी गरेको छ । देशको अर्थतन्त्र ओरालो लागेको र बजारको अवस्था बिग्रेको  बेला कारोबार सुरु गरेको बैंकले फरक सोच र सेवाका कारण ग्राहकको मन जित्न  सफल भएको प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईको दाबी छ । ‘युनिभर्सल  बैंकिङ’ को अवधारणामा ग्राहकलाई बैंकिङ सेवाका साथै अन्य कम्पनीसँग सहकार्य  गरी विविध सेवा दिइरहेको उनी बताउँछन् । 
|  | 
| अनलराज भट्टराई 
 प्रमुख कार्यकारी अधिकृत, कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल | 
गैरआवासीय नेपालीहरुको नौ  महिनाअघि दुबईमा सम्पन्न पाँचौं क्षेत्रीय सम्मेलनमा सन् २०१२ लाई लगानी  वर्षको रूपमा मनाउनुपर्ने अवधारणा अघि सारेका भट्टराई देश विकासका लागि  प्रत्यक्ष वैदेशिक लगानी अत्यावश्यक रहेको तर्क गर्छन् । वैदेशिक लगानीबाट  भारत, चीनलगायत दक्षिण एसियाका धेरै देश अघि बढिसकेको बताउने भट्टराईले  नेपालले पनि त्यही पद्धति अनुसरण गर्नुपर्ने बताउँछन् ।
भारतबाट  चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण भई नेपाल बैंकबाट करिअर सुरु गरी उनले यो  क्षेत्रमा करिब १६ वर्ष बिताइसकेका छन् । नेपाल बैंकपछि सानिमा विकास बैंक  हुँदै कमर्ज एन्ड ट्रस्टमा स्थापनाकालदेखि रहेका भट्टराईसँग बैंकिङ  क्षेत्रका साथै वैदेशिक लगानी र लगानी वर्षबारे समाचार 
सम्पादक विजयबाबु  खत्री र संवाददाता यादव हुमागाईंले गरेको कुराकानी :
कमर्ज एन्ड ट्रस्ट बैंकले एक वर्षमा के उपलब्धि हासिल ग¥यो ?
एक  वर्षमा हामीले ३ अर्बभन्दा बढी निक्षेप संकलन गरी त्यत्ति नै कर्जा प्रवाह  गरेका छौं । अवस्था हेरेर बिस्तारै बजार विस्तार भैरहेको छ । बजारको  अवस्था उत्साहजनक छैन । सन् २००७ देखि २०१० सम्म देखिएका विभिन्न  उतारचढावले हामी एकदमै सचेत छौं । विभिन्न समस्याका बाबजुत पहिलो वर्षमा  हामीले २ करोड ५५ लाख नाफा गरेका छौं । बैंकको दिगो विकास हुने किसिमले  हामी बिस्तारै अगाडि बढिरहेका छौं । 
देशको अर्थतन्त्र ओरालो  लागेको र बजारको अवस्था बिग्रेको बेला बैंक सुरु गर्दा अन्य बैंकभन्दा  भिन्न छौं भन्नुहुन्थ्यो । प्रतिस्पर्धात्मक बजारमा बैंकको पहिचान के हो त ?
२००७  मा काम सुरु गरेर २०१० सेप्टेम्बरदेखि बैंकिङ कारोबार सुरु गरेका हौं ।  सुरुदेखि नै हामीले ‘युनिभर्सल बैंकिङ’ को अवधारणा ल्यायौं । यो अवधारणमा  विभिन्न सेवाप्रदायक संस्थासँग साझेदारी गरेर ग्राहकलाई सेवा दिइन्छ ।  अहिले हामीले १४ वटा शाखामार्फत सेवा दिइरहेका छौं । शाखा विस्तार गर्दा  पनि बैंकिङ सेवा नपुगेका स्थानलाई जोड दिएका छौं । झापाको चारआली,  तेह्रथुम, धादिङको बैरेनीलगायत निजी बैंकले शाखा नखोलेका ठाउँमा हामी पहिला  पुगेका थियौं । 
हामीले वैदेशिक लगानी ल्याउन पहल गरिरहेका छौं,  त्यसका लागि एउटा विकास एजेन्सीसँग काम भैरहेको छ र छिट्टै सम्झौता पनि  हुँदैछ । विदेशबाट नेपालमा लगानी ल्याउने र विदेशी दात्तृ निकायले गर्ने  काममा पनि सहयोग गर्ने योजना छ । स्वास्थ्य, बिमा, यात्राका लागि हामीले  परामर्श दिने कोसिस गरेका छौं । हाम्रा ग्राहकले केही एयरलाइन्सबाट यात्रा  गर्दा छुट पाइरहेका छन्, जसले ग्राहकलाई फरकपन दिएको छ ।
हाम्रो  मुख्य पहिचान भनेको नै विदेशी लगानी भित्राउने हुनेछ । नेपाल कमर्ज एन्ट  ट्रस्ट पहिलो बैंक हो, जसले २०१२ लाई लगानी वर्षका रूपमा मनाउनुपर्छ भनेर  गरेको प्रस्ताव राष्ट्रिय एजेन्डा भएको छ । यही हो हाम्रो पहिचान ।
विदेशी लगानी भिœयाउन बैंकले कसरी काम गर्छ ? 
गैरआवासीय  नेपाली संघ (एनआरएनए) को पाँचौं क्षेत्रीय सम्मेलनमा लगानी वर्षको अवधारणा  सुरु गरिएको हो । यसमा सबै सहमत हुँदै नौ महिनाको अवधिमा राष्ट्रिय  एजेन्डा भएको छ । अहिले हामी नीतिगत कामहरूमा सहभागी छौं । बैंकले नौ  महिनासम्म सक्रिय काम ग¥यो । त्यसको प्रतिफल बिस्तारै देखिन थालेको छ ।  विदेशी लगानी भनेको आजको भोलि आउँदैन । त्यसका लागि बिस्तारै सबै पक्षलाई  सहमत बनाउँदै जानुपर्छ । राजनीतिक दल र नीतिगत क्षेत्रमा सहमति भएको छ ।  हामी उद्योग वाणिज्य महासंघ, अर्थमन्त्रालय, उद्योग मन्त्रालयसँग नजिकै  रहेर काम गरिरहेका छौं ।
लगानी वर्षको अवधारणा कुन परिस्थितिमा ल्याउनुभएको थियो ? यसमा के–के काम हुन्छन् ? 
नेपालले  सस्तो मूल्यमा आफ्नो श्रमशक्ति बेचिरहेको छ । यो अवस्थामा नेपाललाई  लगानीको क्षेत्र बनाएर वैदेशिक लगानी भिœयाउन सके यहाँको श्रमशक्तिलाई यहीँ  काम दिनसक्छौं भनेर एनआरएनको दुबई सम्मेलनमा मैले लगानी वर्षको अवधारणा  प्रस्तुत गरेको थिएँ । सोही सोचका आधारमा अघि बढेका छौं । नेपालमा वैदेशिक  लगानी भिœयाउन यहाँका विद्यमान समस्या समाधान गर्न सक्नुपर्छ । हामीकहाँ  राजनीतिक, विद्युत्, श्रमिक, भौतिक पूर्वाधार, पानीलगायतका समस्या छन् । यी  आजको भोलि नै समाधान हुँदैनन् । यसको विकल्प सोच्दै जानुपर्छ ।
नेपालका  दुई छिमेकी मुलुक भारत र चीन अर्थतन्त्रको ‘पावर हाउस’ बनेका छन् ।  उनीहरूसँग पनि सहयोग लिन सकिन्छ । भर्खरै भारतसँग बिप्पा सम्झौता भयो,  चीनसँग पनि हुँदैछ । सम्झौता भएपछि उताबाट लगानी, ऊर्जा पनि ल्याउन सकियो  भने नेपालमा लगानी भिœयाउन समस्या छैन । 
भर्खरै अन्तर्राष्ट्रिय  मुद्रा कोष (आईएमएफ)ले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको अर्थतन्त्र २०  बिलियन डलर देखाएको छ । भारतको १ हजार ७ सय बिलियन डलरको छ । हाम्रो  अथतन्त्र भारतको तुलनामा २ प्रतिशत पनि छैन । नेपालका बैंकहरूको कर्जा ८  बिलियन डलर छ । भारतमा २ सय १२ बिलियन डलर प्रत्यक्ष वैदेशिक लगानी छ ।  भारतले प्रत्येक वर्ष ५० बिलियन डलर वैदेशिक लगानी भिœयाउन प्रयास गरिरहेको  छ । त्यसको १० प्रतिशतमात्र भिœयाउन सके पनि नेपालको अर्थतन्त्र दोब्बर  हुन्छ । हामीकहाँ भएका लगानी सम्भावनाबारे प्रचार गर्न र विदेशी  लगानीकर्तालाई सुरक्षाबारे विश्वास दिलाउन सक्नुपर्छ । 
लगानीको  कुरा गर्दा बैंकहरू अग्रस्थानमा रहेर काम गर्नुपर्छ । वित्तीय संकटको  सुरुवात बैंकहरूबाटै सुरु हुन्छ । अहिले नेपालमा वैदेशिक लगानी ल्याएर काम  गर्नसक्ने अवस्था छ ? 
समस्या परेपछि नै समाधानका उपाय निस्कन्छन् ।  एक–दुई महिनायता हामीकहाँ राजनीतिभन्दा आर्थिक मुद्दाहरूलाई प्राथमिकतामा  राखिएको छ । यो पहिलो सकारात्मक कदम हो । राजनीतिमा पनि आर्थिक मुद्दाबारे  बहस सुरु हुन थालेको छ । 
विश्व अर्थतन्त्रको संकट पनि आर्थिक  समन्वयकर्ताबाट सुरु भएको देखिन्छ । नेपालको रियलस्टेट क्षेत्रमा देखिएको  समस्या पनि बैंकिङ क्षेत्रले दीर्घकालीन सोच नराखेकाले चर्किएको हो । हामी  केही वर्षअघि ७ प्रतिशत ब्याजमा हाइड्रोपावरमा लगानी गथ्र्यौं, अहिले बढेर  १५ प्रतिशत पुगेको छ । हाम्रो भिजनमै कमोजोरी छ ।
अर्कोतिर नियामक  निकायमा पनि समस्या छ । हामीलाई १५–२० वर्षसम्म आवश्यक पर्ने पुँजी कति हो,  हामी के विकास चाहन्छौं, त्यसकै आधारमा नियामक निकाय पनि सहयोगी बन्नुपर्छ  । सानो आकारको अर्थतन्त्र भएको नेपालमा बैंकिङ, उद्योग र नियामक निकाय  सबैको मिसिएर समस्या भएर ठूलो भएको हो । सानो आकारको पुँजीमध्ये १५–२०  प्रतिशत घरजग्गामा छ । ८० प्रतिशत कर्जा घरजग्गा धितो राखेर प्रवाह गरिएको छ  । त्यसैले घरजग्गामा सानो समस्या देखियो भने बैंकिङ क्षेत्रमा समस्या  देखिन्छ । त्यो अवस्था रोक्न र विकासका क्षेत्रमा लगानी बढाउन वैदेशिक  लगानी नै चाहिन्छ । राजनीतिक स्थायित्व र लगानी सुरक्षाको ग्यारेन्टी हुने  हो भने नेपालमा सजिलै ३० देखि ४० अर्ब डलर वैदेशिक लगानी ल्याउन सकिन्छ ।