Monday, November 07, 2011

५ करोडमा सहकारी जुस उद्योग खुल्ने

काठमाडौं, १९ कात्तिक
सहकारी र निजी क्षेत्रको संयुक्त लगानीमा जुनारको पकेट क्षेत्र सिन्धुलीमा राष्ट्रियस्तरको फलफूल प्रशोधन उद्योग खुल्ने भएको छ । जुनार सहकारी केन्द्रीय संघ र उद्योग वाणिज्य महासंघले संयुक्त लगानीमा अत्याधुनिक प्रशोधन उद्योग खोल्न लागेका हुन् ।

५ करोड रुपैयाँ लागतमा खोल्न लागिएको उद्योगमा सरकारको १ लाख अनुदान र बाँकी ४ लाख सहकारी र उद्योग वाणिज्य महासंघले लगानी गर्ने जुनार केन्द्रीय संघका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । यसैगरी बजारीकरणका लागि भाटभटेनी सुपरमार्केटलगायतसँग पनि कुरा भइरहेको कोइरालाले बताए ।
आहा : सिन्धुलीको मिठो जुनार
“सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा बहुउद्देश्यीय प्रशोधन उद्योग स्थापना गर्न लागेका हौं,” कोइरालाले भने, “चालू आर्थिक वर्षभित्र उद्योग स्थापना गरी उत्पादन सुरु गर्ने लक्ष्य राखेका छौं,” वार्षिक ५ हजार मेट्रिक टन फलफूल प्रशोधन गर्ने क्षमता रहने उद्योगमा जुनारका अतिरिक्त अन्य फलफूल पनि प्रशोधन गर्न सकिने उनले बताए ।

हाल रामेछाप र सिन्धुली जिल्लामा उत्पादित जुनारबाट वार्षिक २ हजार लिटर जुस उत्पादन भइरहेको छ । म्यानुअल मेसिनबाट उत्पादन हुने गरेकाले यसले खासै व्यावसायिकता पाउन नसकेको किसानहरू बताउँछन् ।
यसैगरी जुनार खेतीलाई व्यावसायिक बनाउने  संघले नर्सरी निमार्ण गर्ने  भएको छ ।  कुल ४० लाखको लागतमा निर्माण गरिन लागेको नर्सरीका लागि ११ रोपनी जग्गा लिइएको र वार्षिक १ लाख बिरुवा उत्पादन गर्ने कोइरालाको भनाइ छ ।

नेपाली जुनारको वैदेशिक माग बढेकाले सहकारीबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको जुनार उत्पादनमा तीव्रता आएको कोइरालाले बताए । परम्परागत खेतीलाई त्यागि आधुनिक तरिकाले यसको खेती गरिनुपर्ने संघको जोड छ । यस खेतीको नेपालमा राम्रो सम्भवना भएकाले किसानहरूलाई यस खेतीमा आकर्षित गर्न क्षमता अभिवृद्धि, जेटिए तथा ग्रामीण कृषि कार्यकर्ताको परिचालन गरिनुपर्ने बताए  । साथै सरकारले जुनार परीक्षण गराउने ल्याबजस्ता मेसिनरी सामान व्यवस्था गरी दिनुपर्ने संघको माग छ ।

केन्द्रीय सहकारी संघ लिमिटेडले सहकारीका माध्यमबाट जुनार खेतीको विस्तार सुरु गरेदेखि यसको उत्पादन प्रतिवर्ष वृद्वि हुँदै आएको छ । संघका अनुसार सिन्धुली र रामेछाप जुनार खेतीका लागि प्रख्यात जिल्ला हुन् । पछिल्लो समयमा  धादिङ, काभे्र, दोलखा, धनकुटा, सुर्खेत तथा गोरखामा पनि जुनारको व्यावसायिक खेती सुरु भइसकेको छ ।

सिन्धुलीमा १ हजार ५ सय ३५ हेक्टरमा जुनार खेती हुँदै छ । सो क्षेत्रबाट गत वर्ष २१ करोडको १२ हजार ४ सय ८१ मेट्रिक टन जुनार उत्पादन भएको थियो ।

त्यसैगरी रामेछापमा १ हजार ७८ हेक्टर क्षेत्रफलमा जुनार खेती हुने गरेको छ । जसबाट १९ करोड बराबरको १२ हजार १ सय २५ मेट्रिक टन जुनार उत्पादन भएको संघले जनाएको छ ।

आर्थिक वर्ष ०६७/६८ मा नेपालमा सहकारी संस्थाहरूले ६ सय मेट्रिकटन अन्तर्राष्ट्रिय मापदण्डको जुनार उत्पादन गरेको थियो भने सहकारीबाट मात्र कुल २७ हजार मेट्रिकटन उत्पादन भएको थियो । संघले अन्तर्राष्ट्रिय मापदण्डको जुनार उत्पादन गर्नका लागि सिन्धुलीको बासेश्वर, जलकन्या लगायतका ४ वटा गाविस र रामेछापको केही स्थान परीक्षणको क्रममा रहेको संघले जनाएको छ ।

No comments: