Monday, November 29, 2010

सुन आयातबारे अन्यौल कायमै

यादव हुमागाई
काठमाडौं, १२ मंसिर

भदौदेखि प्रतिबन्ध लागेको सुनको आयात खोल्नका लागि सरकारलाई एक साता अघि नै बाटो खुल्ला भएपनि अझै आयात खुल्न सकेको छैन । बाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार अबेरसम्म आयातका प्रतिबन्ध हटाउनका लागि छलफल भएपनि निर्देशिका बन्न नसकेपछि अझै अन्यौल कायम रहेको छ ।
“आज दिनभर पनि सुन आयात खुल्ला कसरी गर्नेबारे छलफलमा थियौ” बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोतम ओझाले आइतबार राति कारोबारसँग भने, “आयात गर्ने परिणामलगायतका विषयमा निर्देशिका बनेपछि आयात खुलाउँछौं ।” सोमबार या मंगलबार खोल्न सक्ने सम्भावना रहेको उनले बताए ।
गत शनिबार सरकारले बजेटमार्फत सुनको भन्सार बृद्वी गरी प्रति दश ग्राम एक हजार पु¥याएपछि सरकारलाई आयात खोल्ने बाटो खुल्ला भएको थियो । गत आर्थिक वर्षमा भारतको तुलनामा नेपालमा भन्सारदर कम भएका कारण ठूलो परिणममा सुन आयात भई भारततर्फ निकासी भएपछि सरकारले चैतमा अध्यादेशमार्फत सुनको भन्सारदर बढाएको थियो । अध्यादेशको म्याद पनि गत भदौंमा समाप्त भएपछि सरकारले भदौ १८ गतेदेखि सुनचाँदी आयातमा पूर्ण प्रबतिबन्ध लगाएको थियो । यसवीचमा बजारमा अभाव पूर्ति गर्नका लागि राष्ट्रबैंकले आफूसँग भएको सुनको मौजातबाट सातामा एक सय किलो सुन र एक हजार किलो चाँदी बिक्रि गर्दै आएपनि भन्सार बढेपछि भने बन्द गरेको छ ।
सुनचाँदी व्यवसायीहरुले गत विहिबार अर्थ र आपूर्ति मन्त्रालयलाई आयात छिटो खुल्ला गर्न आग्रह गरेका थिए । यस्तै विहिबार नै अर्थ मन्त्रालयले आपूर्तिलाई प्रतिबन्ध खुल्ला गर्न पत्र पठाएको थियो ।
साता दिन बितिसक्दा पनि आयात खुल्ला नभएपछि बजारमा सुनको अभाव भएको छ । विवाहको सिजनमा सुनको माग बढी हुने भएकाले आयात नहुदा बजारमा मौजात रहेको सुन सकिदै गएको व्यवसायी बताउछन् ।
“विवाहको सिजन भएकाले यसबेला बजारमा सुनको माँग धेरै हुन्छ” नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, आयात खुल्ला नहुँदा बजारको अभाव बढेको छ ।” अभावका कारण बजारमा मुल्य उच्च भएको उनले बताए ।
यसैवीच, गत विहिबार र शुक्रवार स्थानीय बजारमा उच्च मूल्य कायम भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार भने ओरालो लागेको छ । शुक्रवार प्रतिदश ग्राम ३४ हजार ३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३३ हजार नौ सय १० रुपैयामा कारोबार भएको संघले जनाएको छ । अन्तर्राष्ट्रिय मूल्य घटेपछि स्थानीय बजारमा समेत त्यसको असर परेको संघको भनाइ छ ।
यस्तै, चाँदीको मूल्य पनि ३.५० रुपैयाँ घटेको छ । शुक्रवार प्रतिदश ग्राम छ सय ८१ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य घटेर आइतबार छ सय ७७.५० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

No comments: