Saturday, December 04, 2010

श्रीलंकाली सहकारीकर्मी नेपाल भ्रमणमा आउने


यादव हुमागाई
काठमाडौं, १५ मंसिर

श्रीलंकाका सहकारीकर्मी एक टोली नेपालको सहकारी आन्दोलनको अध्ययनका लागि साताव्यापी भ्रमणमा नेपाल आउने भएको छ । राष्ट्रिय सहकारी संघको निमन्त्रणमा टोली आगामी मंगलबार नेपाल आइपुग्ने संघका महाप्रवन्धक रामभजन शाहले जानकारी दिए ।
संघले टोलीलाई नेपालका वचत तथा ऋण, दुग्ध, कृषिलगायतका नमुना सहकारी र ति संस्थाहरुले संचालन गरेको विभिन्न कार्यक्रमको भ्रमण गराउने तयारी गरेको संघले जानकारी दिएको छ । श्रीलंकामा सहकारी संस्थाले संचालन गरेका दैनिक उपभोग्य सामाग्री पसल ‘को–सप’ को राम्रो उदाहरण रहेकाले टोलीले नेपालमा पनि त्यसबारे जानकारी लिन चाहेको शाहले बताए । टोलीलाई संकटा बचत तथा ऋण सहरकारीले न्युरोडमा हालै संचालनमा ल्याएको ‘को सप’ को भ्रमण गराउने निश्चित भएपनि अन्य संस्था र कार्यक्रमका बारेमा भने तय भइनसकेको उनले जानकारी दिए ।
दुई देशवीच सहकारी विकासको अनुभव आदान प्रदान कार्यक्रम अन्र्तगत नै नेपालको उच्चस्तरीय सहकारीकर्मीको टोली अहिले श्रीलंका भ्रमणका रहेको छ । संघका अध्यक्ष केशव बडालको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीमा संघका संचालक रामचन्द्र उप्रती, सहकारी विभागका रजिष्टार शुर्दसन प्रसाद ढकाल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव नेत्र प्रसाद न्यौपानेलगायतका सहकारीकर्मीहरु सहभागी रहेको संघले जनाएको छ ।
देशभरका सहकारीहरुको छाता संघठन राष्ट्रिय सहकारी संघले सहकारी विकासको अनुभव आदान प्रदानका लागि अन्य देशका सहकारी संघहरुसँग मिलेर यस्ता कार्यक्रम संचालन गर्दै आएको जनाएको छ । यसअघि पनि संघले सहकारीकर्मीलाई कोरिया, जापान, मलेसियामालगायतका देशमा अध्ययन र भ्रमणको अवसर उपलब्ध गराउँदै आएको शाहले बताए ।

No comments: