Saturday, December 04, 2010

सुनचाँदी आयातमा प्रतिबन्ध हट्यो


आयात परिणाम र वितरण कार्यविधि बनाउने जिम्मा राष्ट्र बैंकलाई
यादव हुमागाई
काठमाडौं, १४ मंसिर

सरकारले मंगलबारबाट सुनचाँदी आयात प्रतिबन्ध खुल्ला गरेको छ । नेपाल राष्ट्र बैंकको निगरानीमा आयात तथा वितरण गर्ने व्यवस्था गर्दै बाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात खोलेको हो । आयातको अधिकार भने बाणिज्य बैंकहरुलाई मात्र दिइएको छ ।
“नेपाल राष्ट्र बैंकको निगरानीमा बाणिज्य बैंकहरुले आयात गर्ने गरी प्रतिबन्ध हटाइएको छ” बाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महत्तोले कारोबारसँग भने “आयात र वितरणका लागि कार्यविधिलगायतको जिम्मा राष्ट्र बैंकलाई दिइएको छ ।”
भन्सारदर बृद्वी गरिएको विद्येयकको म्याद सकिएपछि सरकारले गत भदौ १८ देखि सुनचाँदी आयातमा प्रतिबन्ध लगाएको थियो । डेढ साता अघि बजेट मार्फत भन्सारदर बृद्वी गरी प्रतिदश ग्राम एक हजार रुपैयाँ पु¥याएपछि आयात खुल्ला गर्न सरकारलाई बाटो खुलेको थियो ।
मन्त्रालयले आयातको परिमाण तोक्ने र वितरणका लागि कार्यविधी बनाउने अधिकार केन्द्रीय बैंकलाई दिएपछि बजारमा सुन आयात हुन केही दिन लाग्ने भएको छ । “मन्त्रालयको काम त सकियो तर, आयात र वितरणमा राष्ट्र बैंकले कार्यविधि बनाउनुपर्ने भएकाले केही दिन समय लाग्न सक्छ” ओझाले भने ।
बजारको आवश्यक्ता अनुसार व्यवसायीलाई आपूर्ति गर्न दिनुपर्ने व्यवसायीको माँगलाई वेवास्ता गर्दै मन्त्रालयले बाणिज्य बैंकहरुलाई आयातको अधिकार दिएको हो । सुनको अपचलन नहोस् भनेर बाणिज्य बैंकहरुले आयात गरी व्यवसायीलाई विक्रि गर्ने अधिकार दिइएको बाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्म ओझाले बताए । सुन आयातले विदेशी मुद्रा सञ्चितिमा असर नपरोस् भनेर प्रत्येक महिना बाणिज्य मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि बसेर समिक्षा गर्ने उनले बताए ।
व्यवसायीले भने बैंकहरुले मात्र सुन आयात गर्ने व्यवस्थाको विरोध गरेका छन् । “बाणिज्य बैंकहरुमार्फत सुन आयात र बिक्रि गर्दा महंगो भयो भनेर यस अघि पनि विरोध गर्दै आएका हौं” नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने “व्यवसायीलाई आयात गर्न नदिने मन्त्रालयको निर्णय अव्यवहारीक छ ।” व्यवसायीको भन्दा बैकहरुले बढी कमिसन लिने भएकाले सुनको मूल्य बढ्ने उनले बताए । बाणिज्य बैंकहरुले सुनको काम व्यापार गर्ने होइन भन्दै शाक्यले भने “व्यापारै गर्ने भए सुनको मात्र के नुन पनि आयात गरुन् न ? ।”
गत आर्थिक वर्षमा अत्याधिक सुन आयात भई भारत निर्यात भएको र विदेशी मुद्रा संञ्चिति घटेपछि सरकारले चैतबाट सुन आयातमा कडाइ गर्न लागेको थियो । आयात निरुत्साहित गर्न चैतमा विद्येयकमार्फत प्रतिदश ग्राम एक सय ३० रुपैयाँ रहेको भन्सारदर बढाएर ४ सय ३० रुपैयाँ पु¥याएको थियो । त्यस्तै, बैंशाखदेखि राष्ट्र बैंकहरुले व्यवसायीहरुले सुन ल्याउन नपाउने व्यवस्था गर्दै बाणिज्य बैंकहरुले दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो ।
यस्तै, भदौ ४ मा सुनचाँदी आयात र वितरणका लागि निर्देशीका जारी गर्दै सुनचाँदी वितरणका गर्न एउटा संघको एकाधिकारलाई अत्य गर्दै समान प्रकृतिका अन्य दुई संघलाई पनि अधिकार दिएको थियो । निर्देशन अनुसार कुल आयातमध्ये नेपाल सुन चादी व्यवसायी संघले ५० प्रतिशत र नेपाल रत्न आभुषण संघ तथा नेपाल सुनचाँदी कला व्यवसायी संघलाई २५÷२५ प्रतिशत सुनका लागि सिफारीस गर्ने अधिकार दिएको थियो । यस्तै क्षेत्रीय रुपमा पनि वितरण प्रणाली व्यवस्थित गर्न आयातित सुनको ६० प्रतिशत बाग्मती अंचलभित्र र ४० प्रतिशत अन्य १३ अञ्चलका लागि तोकेको थियो ।
यसको विरोध गर्दै केही व्यवसायीले भने दुई दिन सुनचाँदी पसल पनि बन्द गरेका थिए ।
सुन आयातका प्रतिबन्ध लागेपछि राष्ट्र बैंकले कालोबजारी कम गर्न र बजारको अभाव हटाउन आफ्नो ढुकुटीमा रहेको सुन बोलकबोलमार्फत व्यवसायीलाई बिक्रि गरेको थियो । बैंकले बोलकबोलबाट पाँच सय ८४ केजी सुन र सात हजार ३१ केजी चाँदी व्यवसायीलाई विक्री गरेको थियो ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ४१ अर्व ६३ करोड ५७ लाख रुपैयाँको १५ हजार ४ सय ९१ किलो सुन आयात भएको थियो । करिव २५ करोड राजश्व उठाएको थियो । अघिल्लो आवमा १६ अर्व बराबरको सुन आयात भएको थियो ।

No comments: