Saturday, December 04, 2010

सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड

तोलाको ४० हजार
काठमाडौं, १५ मंसिर

बुधबार स्थानीय बजारमा सुनको मूल्यले रेकर्ड कायम राख्दै प्रति तोला ४० हजार एक (प्रतिदश ग्राम ३४ हजार दुई सय ९५) रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सामान्य मूल्य बढेपनि अभावको कारण देखाउँदै व्यवसायीहरुले दुई हजार बढीमा विक्री गरेका हुन् ।
यसअघि सुनको मूल्यले मंसिर ८ गते प्रतिदश ग्राम ३४ हजार ३५ रुपैयाँ र कात्तिक २३ गते ३३ हजार ९ सय ५० रुपैयाँको रेकर्ड कायम गरेको थियो । त्यसबेला अन्तर्राष्ट्रिय मूल्य १ हजार चार सय १० रुपैयाँ पुगेको थियो । तर, बुधवार अन्तर्राष्ट्रिय मूल्य प्रतिऔश १ हजार ३ सय ८६ मात्र रहँदा पनि व्यापारीले स्थानीय बजारमा मुल्य बढाएका हुन् ।
मंगलबार प्रतिदश ग्राम ३३ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको सुन वुधवार प्रतिदश ग्राम तीन सय ६५ रुपैयाँ बढेर प्रतिदश ग्राम ३४ हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
“आज कायम भएको मूल्य हालसम्मकै उच्च हो” संघका अध्यक्ष तेजरत्न शाक्यले भने “अन्तर्राष्ट्रिय बजारमा सुनको सामान्य बढेको भएपनि स्थानीय बजारमा भने अभावका रहेको र माँग भने बढेका कारण मूल्य उच्च भएको हो ।” स्थानीय बजारमा कायम भएको मूल्य अन्तर्राष्ट्रिय मूल्य भन्दा दुई हजार धेरै रहेको शाक्यले बताए ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातका लागि गरेको व्यवस्थाले मूल्य बढ्न सघाएको शाक्यको दावी छ । “बाणिज्य बैंकहरुलाई मात्र सुन आयात गर्न दिने मन्त्रालयको निर्णयले बजार अन्यौल भइ भाउँ बढेको हो” शाक्यले भने “व्यवसायीको भन्दा बैंकहरुले धेरै कमीसन जोड्ने भएकाले सुनको मूल्य अझै बढ्ने उनले दावी गरे ।
यस्तै चाँदीको मूल्यले पनि रेकर्ड कायम राखेको छ । मंगलबार भन्दा बुधबार चाँदीको मूल्यमा पनि प्रतिदश ग्राम ११ रुपैयाँ बढेर प्रतिदश ग्राम छ सय ९० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । यसअघि मंसिर ८ गते चाँदीको मूल्य प्रतिदश ग्राम छ सय ८१ रुपैयाँमा कारोबार भएको थियो ।
यसैवीच संघले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै आपूर्ति मन्त्रालयको निर्णय विरोध गरेको छ । व्यवसायीकै भन्सार महसुल बृद्वी गरेपछि पनि सुन आयात गर्ने अधिकार व्यवसायीलाई नदिएकोप्रति संघले खेद व्यक्त गरेको छ । साथै व्यवसायीहरुले सुनचा“दी आयात गर्दा उपभोक्तालाई सिधै बिक्री वितरण गर्न सकिने हु“दा उपभोक्ता मूल्यमा कमी आउने र सुलभ रुपमा सुनचा“दीको खरिद बिक्री गर्न सकिने आशालाई पनि मन्त्रालयको निर्णयले तुषारापात गरेको जनाइएको छ ।
दैनिक १५ किलो आयात
यसैवीच, मंगलबार बाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात र बजार व्यवस्थित गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई दिएपछि बैंकले यसअघि जारी गरेको निर्देशन पुनः कार्यान्वयना गर्ने तयारी गरेको छ । बैंकले आयात परिणामलाई भने बढाएर दैनिक १५ किलो आयात गर्न पाउने व्यवस्था गर्न लागेको छ ।
“यसअघि राष्ट्र बैंकले सुन बजार व्यवस्थित गर्न ल्याएको निर्देशिका अनुसार नै आयात गर्ने दिने बैंकले तयारी गरेको छ” बैंकका एक अधिकारीले कारोबारसँग भने “बजारका मागलाई हेरेर दैनिक १५ किलो सुन ल्याउने व्यवस्था गर्न सकिन्छ ।” तर, मन्त्रालयबाट औपचारीक पत्र नआएकाले आयात व्यवस्था गर्न एक÷दुई दिन समय लाग्ने ती अधिकारीले बताए ।
बैंकले यसअघि भदौ ४ मा जारी गरेको निर्देशीकामा बाणिज्य बैंकहरुले आयात गरेको सुनको परिणामको नेपाल सुन चाँदी व्यवसायी संघको सिफारीसमा ५० प्रतिशत र नेपाल रत्न तथा आभुषण संघ र सुनचाँदी कला व्यवसायी संघको सिफारीसमा २५÷२५ प्रतिशत विक्री गर्ने व्यवस्था गरेको थियो । यस्तै आयातित सुनमध्ये ६० प्रतिशत बाग्मती अंचलभित्र र ४० प्रतिशत अन्य १३ अञ्चलमा बिक्रि गर्नुपर्ने व्यवस्था गरेको छ ।

No comments: