Saturday, December 04, 2010

सुनको कारोबार ५० प्रतिशत घट्यो

पुराना गहनाबाट नयाँ बनाउने ग्राहक बढे
यादव हुमागाई
काठमाडौं, १६ मंसिर
स्थानीय बजारमा सुनको मूल्य उच्च भएपछि व्यापार घटेको छ । मुल्य उच्च भएपछि विवाहको मध्य लगनमा पनि ५० प्रतिशतसम्म बिक्री कम भएको व्यवसायीहरु बताउछन् ।
सुनचाँदी व्यवसायीले विवाहको मौसमलाई ‘सिजन’ को रुपमा लिने गर्छन् । बैंशाख, मंसिर, माघ, फागुन महिनामा विवाहको लगन धेरै हुने भएकाले यस बेला सुनका गहनाको माग धेरै हुने गर्दछ । तर, यसपटकको सिजनमा विक्री आधा घटेको उनीहरु बताउछन् । बुधवार बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रति तोला ४० हजार पुगेको थियो ।
“यसपटकको सिजनमा सुनका गहनाको विक्री ५० प्रतिशत भन्दा धेरै घटेको छ” पञ्चवुद्व ज्वेलर्स क्षेत्रपाटीका संचालक दमन शाक्यले बताए । “अत्याधिक मूल्यका कारण अत्यावश्यक भएका सर्वसाधारणले मात्र गहना किन्ने गरेका छन् ।” हिन्दु परम्पराअनुसार विवाहमा सुनका गरगहना अनिवार्य मानिन्छ । तर, मुल्य अत्याधिक बढेको र नेपालीको आयस्तर भने नबढेकाले सुनका गहना बनाउने क्रम घट्दै गएको अनुभव छ सुनचाँदीको पूख्यौली व्यवसाय गर्दै आएका शाक्यको । शाक्य भन्छन्, “सर्वसाधारण नेपालीको आयस्तर नबढेकाले सुनका गहना सर्वसाधारणको पहुँचमा छैन” यसले पनि सुनचाँदीको गहना व्यवसायमा कमी आएको उनको अनुमान छ ।
मूल्य धेरै भएपछि पुुरानो गहनाबाट नयाँ गहना बनाउने ग्राहकहरु बढेको व्यवसायीहरुको भनाइ छ । “सुनका गहना अत्यावश्यक भएका पुरानो गहनालाई नयाँ बनाउन आउने ग्राहकहरु बढेका छन्” आदिनाथ ज्वलर्स इन्द्रचोकका हरी सुन्दर श्रेष्ठले भने । आपूर्ति नभएपनि बजारमा ग्राहकले रिसाइक्ङि सुन ल्याएकाले अभाव भने भइनसकेको उनले दावी गरे ।
सुनको भाउँ अन्तर्राष्ट्रिय बजारमा सामान्य बढ्दा पनि अभावको कारण देखाउदै स्थानीय व्यवसायीले भने सुनको मूल्य बढाएका थिए । “नेपालमा भाउँ उच्च हुनुको कारण अन्तर्राष्ट्रिय मूल्य र बजारमा भएको अभावको भूमिका ५०÷५० प्रतिशत छ ।” नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने “संघले थोरै बजारभाउँ तोकेर सोही अनुसार उपभोक्ताले किन्न पाएनन् भने त्यसको अर्थ हुदैन ।” बाणिज्य तथा आपूर्ति मन्त्रालयको सुनचाँदी आयातका लागि बाणिज्य बैंकहरुलाई मात्र अधिकार दिएकाले सुनको भाँउ खासै ओरालो लाग्ने सम्भावना नरहेको उनले दावी गरे । बैंकहरुले व्यवसायीले भन्दा धेरै कमीसन लिने भएकाले भाउ नघट्ने उनको भनाइ छ ।
सरकार र व्यवसायीको विवादले मूल्य बढेपछि सर्वसाधारण पिडित भएका छन् । “नयाँ सुन किन्न नसकीएपछि आफुसँग भएको पुरानो गहनालाइ नयाँ गहना बनाउन लागेको छु” न्यरोडको गहना पसलमा भेटीएकी चावहिलकी कुसुन्दा शर्माले भने । तर, रिसाइक्लिङ गहना बनाउदा सर्वसाधारण लाई घाटा पर्ने बताउँछन् । अध्यक्ष शाक्य भन्छन् “रिसाक्लिङ गरेर गहना बनाउँदा ग्राहकसँग आफूसँग भएको सुनको परिमाण घट्दै जान्छ, यसले सर्वसाधारणलाई घाटा हुन्छ ।”
मूल्य सामान्य घट्यो
बुधबार उच्च मुल्य कायम रहेको सुनको मूल्य विहिबार भने सामान्य घटेको छ । बिहिबार सुनको मूल्य प्रतिदश ग्राम ४५ रुपैयाँ घटेको छ । बुधबार प्रतिदश ग्राम ३४ हजार २ सय ९५ रुपैयाँ कायम भएको सुनको मुल्य विहिबार भने प्रतिदश ग्राम ३४ हजार २ सय ५० रुपैयाँ कायम भएको संघले जनाएको छ । यस्तै, चाँदीको मूल्यमा भने नौ रुपैयाँ बढेको छ । बुधबार प्रतिदश ग्राम छ सय ९० रुपैयाँ रहेकोमा विहिबार प्रतिदश ग्राम छ सय ९९ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

No comments: