Monday, December 06, 2010

अभावको कारण देखाउँदै व्यवसायीले मूल्य बढाए

तोलाको ४० हजार नाघ्यो
यादव हुमागाई
काठमाडौं, १९ मंसिर
सुनचाँदीको आयात नहुदा बजारमा अभाव भएको भन्दै व्यवसायीले मूल्य बढाएका छन् । स्थानीय बजारमा गत बुधवार कायम रेकर्डलाई तोड्दै आइतबार प्रतिदश ग्राम ३४ हजार पाँच सय १० (प्रतितोला ४० हजार दुई सय ५२) रुपैयाँमा कायम भएको छ । जुन हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सामान्य मूल्य बढेपनि नेपालमा भने अभाव रहेकाले मूल्य उच्च भएको व्यवसायी बताउछन् । शुक्रवार प्रतिदश ग्राम ३४ हजार १ सय ४५ रुपैयाँ रहेको सुनको मुल्य तीन सय ६५ रुपैयाँ बढेर आइतबार ३४ हजार पाँच सय १० रुपैयाँमा कारोबार भएको हो । गत बुधबार सुनको मूल्य प्रतिदश ग्राम ३४ हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
“अन्तर्राष्ट्रिय बजारमा बढेको र स्थानीय बजारमा आयात नभएका कारण अभाव भएको कारण उच्च मूल्य कायम भएको हो” संघका महासचिव माणिकरत्न शाक्यले भने । “डलरको भाउँमा समेत गिरावट आएकाले सुनको मूल्य बढेको हो” । अन्तर्राष्ट्रिय सुन बजारमा मूल्य बढ्ने क्रम नरोकीएकाले सुनको मूल्य अझै उकालो लाग्ने उनले बताए । “अन्तर्राष्ट्रिय ट्रेनलाई हेर्दा अझै बढ्ने देखिएको छ” शाक्यले भने । राष्ट्र बैंकले आयात खुल्ला गर्न ढिलो गर्दा मूल्य बढेको उनको भनाइ छ ।
यसअघि सुनको मूल्यले मंसिर ८ गते प्रतिदश ग्राम ३४ हजार ३५ रुपैयाँ र कात्तिक २३ गते ३३ हजार ९ सय ५० रुपैयाँको रेकर्ड कायम गरेको थियो । त्यसबेला अन्तर्राष्ट्रिय मूल्य १ हजार चार सय १० रुपैयाँ पुगेको थियो । तर, आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔश १ हजार ३ सय ९२ मात्र रहँदा पनि व्यापारीले स्थानीय बजारमा मुल्य बढाएका हुन् । शनिवार अन्तर्राष्ट्रिय सुन बजारमा मूल्य सामान्य बृद्वी भएको छ । शुक्रबार प्रतिऔस १३ सय ९० डलरमा कारोबार भएको सुनको मूल्य शनिबारको १३९२ डलरलाई आधार मानेर संघले मूल्य निर्धारण गरेको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्यले पनि रेकर्ड कायम राखेको छ । आईतबार चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा आठ रुपैयाँ पचास पैसा बढेर प्रतिदश ग्राम सात सय ११.५० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । यसअघि गत बुधबार चाँदीको मूल्य प्रतिदश ग्राम छ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
मूल्य बढेपनि बजारमा भने सुनको अभाव रहेको व्यवसायी बताउँछन् । काचो सुनको अभाव रहेको र रिसाइक्ङि सुन कारोबार भइरहेको शाक्यले बताए । “फ्रेस सुन पाउन धेरै पसल चाहार्नुपर्ने अवस्था छ” शाक्यले भने ।
आयातबारे अझै अन्यौल
यसैवीच, बाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात प्रतिबन्ध हटाएको एक साता वित्न लाग्दा आयातबारे अझै अन्यौल कायम छ । मन्त्रालयले मंगलबार बजार व्यवस्थित गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई दिएपनि बैंकले कार्यविधि नबनाएपछि बाणिज्य बैंकहरुले सुन आयात गर्न पाएका छैनन् ।
राष्ट्र बैंकका एक अधिकारीले आयात र वितरण निर्देशीका जारी गर्न एक\दुई दिन समय लाग्ने बताए । “आयात परिणाम तोक्ने र विक्रिका लागि निर्देशीका बनाउन छलफल गर्दैर्छौ” बैंकका अधिकारीले भने “भदौ ४ मा जारी गरेको निर्देशीकाको विरोध भएकाले अझ व्यवस्थित गर्न छलफलमै छौं” । यसअघि सुनचाँदी आयात र वितरण निर्देशिकाको विरोधमा व्यवसायीले पसल बन्द गरेका थिए ।

No comments: