Monday, December 06, 2010

उपत्यकामा सहकारीको दर्ता ह्वात्तै घटयो

यादव हुमागाई
काठमाडौं, १९ मंसिर
सहकारी विभागले सहकारी संघसंस्था खोल्न कडाइ गरेपछि काठमाडौं उपत्यकामा दर्ता ह्वात्तै घटेको छ । विभागले दर्ता अगाडी संस्थापक सदस्यलाई अनिवार्य तालीमका साथै संस्थागत सहकारी खोल्न निषेध गरेपछि सहकारीको दता घटेको हो ।
विभागले भदौ १ देखि उपत्यकामा सहकारीको दर्ता अगाडी संस्थापक सदस्यहरुलाई आधारभूत सहकारी तालीम अनिवार्य गरेको छ । त्यस्तै, असोज १५ देखि देशभर नै संस्थागत सहकारी दर्ता बन्द गरेको छ । विभागको यस व्यवस्थाले तिनवटै जिल्लामा सहकारी दर्ता घटेको हो ।
देशभर सबैभन्दा बढी सहकारीको चाप रहेको काठमाडौंमा नयाँ व्यवस्थापछि तीन दर्जन मात्र सहकारी दर्ता भएका छन् । अन्य समयमा सातामा ५० को हाराहारीमा सहकारी दर्ता हुने गरेको डिभिजन सहकरी कार्यालयम पछिल्लो तीन महिनाको अवधिमा थोरै सहकारी दर्ता भएका हुन् । तालीमका लागि व्यक्ति जुटाउन गाह्रो हुने र संस्थागत रुपमा सहकारीको दर्ता भएपछि दर्ता घटेको डिभिजन कार्यालय काठमाडौंका प्रमुख केशव थापाले जानकारी दिए । काठमाडौंमा कात्तिकसम्म सहकारीको ३५ सयको हाराहारीमा पुगेको छ ।
काठमाडौंमा जिल्ला सहकारी संघ काठमाडौंले तालीमको संयोजन गर्दै आएको छ । डिभिजन कार्यालयले स्विकृत गरेपछि संघले एक दिने तालीम दिने गरेको छ । तालीममा सहकारी सिद्वान्त, ऐन, कानुनको साथै संचालक समितिका र सदस्यको भूमिका लगायतका विषय समेटेर तालीम प्रदान गरिएको संघले जनाएको छ । “सहकारीका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवलाई समेटेर तालीमका लागि संयोजन गरीएको छ” तालीमका संयोजक तथा संघका कोषाध्यक्ष परितोष पौडेलले भने । संघले छ सय शुल्कमा खाजा र स्टेसनरी सामाग्री समेत प्रदान गर्दै आएको उनले जानकारी दिए ।
ललितपुर पनि सहकारीको संख्यामा कमी आएको छ । सातामा पाँच बटा सहकारी दर्ता हुने हुने ललितपुरमा अनिवार्य तालीमको व्यवस्थापछि चार वटा मात्र सहकारी दर्ता भएको डिभिजन सहकारी कार्यालय ललितपुरले जनाएको छ । तालीम पछि जिल्लामा तीन वटा वचत तथा ऋण र एउटा कृषि सहकारी दर्ता भएको सहकारी निरिक्षक सूर्य कुमार श्रेष्ठले जानकारी दिए । “अनिवार्य तालिम र संस्थागत सहकारी दर्ता बन्द गरेपछि सहकारीको दर्ता घटेको छ” श्रेष्ठले भने । ललितपुरमा हालसम्म सहकारीको सख्या आठ सय १२ पुगेको छ । भने चालु आर्थिक वर्षमा २८ वटा सहकारी दर्ता भएको डिभिजन कार्यालयले जनाएको छ । ललितपुरमा जिल्ला सहकारी संघको संयोजनमा आधारभुत सहकारी तालीम दिइदै आएको छ ।
त्यस्तै, उपत्यकामा सबैभन्दा कम हुने भक्तपुरमा न्युन मात्र सहकारी दर्ता भएका छन् । अन्य समयमा सातामा दुईवटासम्म सहकारी दर्ता हुदै आएको जिल्लामा नयाँ व्यवस्थापछि तीन महिना अवधीमा तीन वटा मात्र सहकारी दर्ता भएको डिभिजन सहकारी कार्यालय भक्तपुरले जनाएको छ । चालु आर्थिक वर्षमा सात वटा मात्र सहकारी दर्ता भएकोमा तीन वटा भने साउनमै दर्ता भएको डिभिजन प्रमुख हरि बासीष्ठले जानकारी दिए । आधारभुत सहकारी तालीमका लागि जिल्लाका संघहरुलाई अधिकार दिइए पनि भक्तपुरमा भने संघहरूले चासो नदेखाएपछि डिभिजन स्वयंमले तालीमको संयोजन गर्दै आएको वासीष्ठले बताए । भक्तपुरमा हालसम्म सहकारीको सख्या ४ सय ९० पुगेको छ ।
सहकारीका संचालकलाई सहकारी एन कानुन लगायत आधारभुत ज्ञान दिने उदेश्यले विभागले दर्ता भन्दा अगाडी अनिवार्य तालीमको व्यवस्था गरेको हो । कतिपय सहकारीका संचालकले अन्जानमा नियम बिपरीत कारोबार गर्ने गरेकाले विभागले तालीम अनिवार्य गरेको थियो । त्यस्तै संस्थागत सहकारीहरुले कार्यक्षेत्र बाहीर कारोबार गर्ने र व्यापार रुपमा ऐन विपरित चलेको पाइएपछि संस्थागत सहकारी दर्ता बन्द गरीएको विभागका अधिकारी बताउछन् ।

No comments: