Showing posts with label Commodity. Show all posts
Showing posts with label Commodity. Show all posts

Saturday, November 02, 2013

बजारको माग पूरा गर्न नसक्दा सरकारले करोडौं राजस्व गुमाइरहेको छ


चाडबाडका बेला सरकारले सुनको दैनिक आयात कोटा बढाएर २० किलो पु¥याएको छ । तर, बजारमा अभाव भएको भन्दै व्यवसायीले तोकिएको भन्दा तोलामा १५ सय रुपैयाँसम्म बढी लिएर बेचिरहेका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य भने तिहारको सिजनमा ४० किलोसम्म माग रहे पनि त्यसअनुसार आपूर्ति नभएकाले बजारमा कालोबजारी भइरहेको बताउँछन् ।
बजारमा अवैध सुनसमेत रहेकाले उनी त्यस्तो सुन नकिन्न र महासंघलाई प्रमाणसहित जानकारी गराउन आग्रह गर्छन् । सरकारले पर्याप्त मात्रामा आयात नगर्दा भइरहेको अवैध सुन कारोबारबाट दैनिक करोडौं राजस्व गुमिरहेको उनी बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी संघबाट हालैमात्र महासंघ बनेपछि तदर्थ समिति हुँदै पहिलो निर्वाचित अध्यक्ष बनेका शाक्यसँग सुनचाँदीको आयात र वितरण व्यवस्थित गर्नेदेखि सुन बजारलाई नियमन गर्न गोल्ड काउन्सिल गठन गर्नेसम्मको योजना छ । पुख्र्याैली पेसा पछ्याउँदै गरगहना कारोबारमा लागेका उनी ०३८ सालदेखि पूर्ण रूपमा सुनचाँदी व्यवसायमा छन् । 

दैनिक २० किलो सुन आयात भइरहेको छ तर व्यापारीहरू सधैं अभाव छ मात्र भन्छन् । आखिर सुन कहाँ गइरहेको छ ?
नेपालमा चाडपर्व र विवाह तथा व्रतबन्धका बेला दैनिक ३५ किलो सुन आवश्यक हुन्छ । कहिलेकाहीँ त बजारको माग ५० किलो नाघ्छ । यति हुँदाहुँदै पनि सरकारले सामान्य समयमा १५ किलो र सिजनमा २० किलो आपूर्ति गर्दै आएको छ । यो आवश्यक्ताभन्दा धेरै कम हो । १० वर्षअघिको खपतअनुसार अहिले जनसंख्या वृद्धि हेर्दा नेपालको माग ७५ किलो पुग्नुपर्ने हो तर सुनको महँगी, युवाहरूको विदेश पलायन, कालिगढको समस्या, लगानीमैत्री वातावरण अभावका कारण हाम्रो माग खासै बढ्न नसकेको अवस्थामा पनि सरकारले न्यून आपूर्ति गराउँदा सधैं अभाव भइरहेको छ ।
बजारको माग पूरा गर्न नसक्दा सरकारले करोडौं राजस्व गुमाइरहेको छ
मणिरत्न शाक्य अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ
दैनिक ४० किलो माग छ भन्ने आधार के छ त ?
नेपालमा १० हजार सुनचाँदी व्यवसायी छन् । तीमध्ये दिनको १ तोलादेखि लिएर १–डेढ किलोसम्म खपत गर्ने पसल पनि छन् । सबै व्यवसायीलाई बाँड्दा एउटाको भागमा १ आनामात्र पर्छ । १ आना सुन बाँडेर बजार माग पूर्ति हुन्छ र ? हामीले ४८ वटामध्ये १० वटा जिल्ला संघलाई १ टुक्रा पनि सुन दिन सकेका छैनौं । हाम्रा जिल्ला शाखाहरूले दैनिक गरेको मागको रेकर्ड हामीसँग छ । सोही आधारमा हामीले यो कुरा गरिरहेका हौं ।
सुन नहुँदा व्यवसायीले पसल बन्द गर्नुपरेको स्थिति छ कि छैन ?
छिमेकी देशसँग सीमा जोडिएका जिल्लामा अवैध सुन भित्रिने गरेको सुन्छौं । त्यस्तो सुन केही उपत्यका पनि आइपुगेको हल्ला मैले पनि सुनेको हुँ । अहिले तिहारका बेला बजारमा सुन नपाएको र केही व्यवसायीले तोलामा १५ सयसम्म बढी लिएको गुनासो आएको छ । अभाव हुँदा तिहारका लागि अर्डर लिएको सुन दिन गाह्रो भएको छ । मैले व्यवसायीलाई बढी रकम नतिर्नुस्, यसले बजार बिगार्छ भनेको छु । अहिले केही व्यवसायीले तीजमा फिर्ता आएको सुन स्टकमा राखेका छन् । त्यसबाहेक बजारमा ‘अर्को’ सुन पनि २–४ हजार बढी तिरेर पाइन्छ रे ! त्यो सुन के हो, तपाईंलाई पनि थाहा छ । यो बेला हामीले राष्ट्र बैंकलाई आयात कोटा दैनिक ४० किलो नसके पनि २५–३० किलो बनाउन आग्रह गरेका छौं, तर मानेको छैन । यसले गर्दा तस्करी मौलाएको छ । अहिले सरकारले १ किलो सुनमा ५ लाख २० हजार रुपैयाँ राजस्व उठाउँछ । त्यसबाहेक व्यवसायीले कारोबारबाट तिर्ने अन्य राजस्व पनि छ । बजारको माग पूरा गर्न नसक्दा सरकारले करोडौं राजस्व गुमाइरहेको छ ।
वितरण प्रणाली व्यवस्थित नभएको हो कि ?
बैंकको २० किलो सुन पनि गैरव्यवसायीले पाएका छन् कि भन्ने आशंकासमेत छ । यसलाई व्यवस्थित गर्न हामी सुनचाँदीका दुवै महासंघ मिलेर एउटै बास्केटमा राखी वितरण गर्ने सोचमा छौं । गभर्नरसँग पनि यसबारे कुरा गर्दा उहाँले ‘वास्तविक बजार माग कति हो, प्रमाणसहित दिनुस्, आवश्यक व्यवस्था मिलाउँछु’ भन्नुभएको छ । यसका लागि हामीले सबै जिल्लाबाट विवरण संकलन गरिरहेका छौं । यसबाट अहिलेको आपूर्ति असन्तुलन वितरण प्रणालीमा सुधार आउँछ भन्ने हाम्रो अपेक्षा छ ।
आफूले तोकेको भाउभन्दा महँगोमा कारोबार भइरहेका बेला महासंघले के गरिरहेको छ त ?
राज्य, व्यवसायी, उपभोक्ता ठगिइरहेका छन् । महासंघले भाउ राख्ने र कार्यान्वयन गर्ने हो । तस्करी नियन्त्रण गर्ने काम सरकारको हो । सरकारी अनुगमन टोलीजस्तै अनुगमन र कारबाही गर्न सक्ने अधिकार हामीलाई छैन । तोकेको भन्दा बढीमा कारोबार भएको भेटे कारबाहीका लागि सिफारिस गर्छाैं । तर, हामीले अनुगमनमा त्यस्तो भेटेका छैनौं । हामीले सोध्दा सुन छैन भन्छन् र १–२ महिना कुर्न नसक्नेलाई बढीमा बेच्छन् । किन्ने व्यक्ति पनि प्रमाण लिएर महासंघ आए कारबाही अगाडि बढाउँछौं । ८–९ महिनाअघि खोजिनिती गरेर कारबाही गर्न प्रहरीलाई सिफारिससमेत गरेका थियौं । महासंघ चुप लागेर बसेको छैन ।
४ महिनाअघि सुनचाँदी अनुगमन कार्यविधि बनाएर व्यवस्थित बनाउने सहमति भएको थियो, कार्यविधि बनाउने समितिमा व्यवसायी पछि छन् तर अहिलेसम्म आउन सकेन त ! किन ?
कार्यविधि मस्यौदा समिति सेलाएको हामीले पनि महसुस गरेका छौं । १० दिनको आन्दोलनपछि सरकारले १५ दिनभित्र मापदण्ड बनाउने गरी ५ जना सरकारी र २ वटा महासंघबाट २–२ जना गरी जम्मा ९ जनाको समिति बनाएको हो । हामीले पहिल्यै मापदण्डको खाका दिइसकेकाले काम छिटो हुन्छ भन्ने अपेक्षा थियो तर ४ महिनाको अवधिमा ४ पटकमात्र बैठक बस्यो । मापदण्डको काम ८० प्रतिशत पुगेको छ । अब एउटा बैठक बसेपछि सहमति होला ।
अहिले मुख्य गरी जर्तीमा कुरा मिलेको छैन । वाणिज्य विभागले सुनमा २ र चाँदीमा ४ प्रतिशत जर्ती राख्ने कुरा अगाडि ल्यायो । तर, हामीले न्यूनतम १ देखि सुनमा १५ प्रतिशतसम्म माग गरिरहेका छौं । अहिले गहनाको डिजाइनअनुसार १, ८ र १० प्रतिशत जर्ती राख्ने सहमति भएको हो । हामी त जतिबेला पनि काम गर्न तयार छौं, जुनसुकै बेला बोलाओस्, काम गर्छौं । मुख्य कुरा त सरकारले नै तत्परता देखाउनुपर्छ ।
त्यसो भए सरकारको अनुगमनमा महासंघले किन विरोध ग¥यो ?
हामी कहिल्यै अनुगमनको विरोधी होइनौं । निरन्तर भइराख्नुपर्छ भनिरहेका छौं तर नियम, कानुन नै नबनाई सरकारले एक्कासि व्यवसायीलाई बदनाम गराउने हिसाबले अनुगमन गरेकोमा मात्र हामीले विरोध गरेका हौं । सरकारले निश्चित मापदण्ड बनाओस्, त्यसपछि मापदण्डअनुसार नचल्नेलाई कारबाही चलाउन हामी आफैं अगाडि बढ्छौं । तर, १ प्रतिशत व्यवसायीले सानो गल्ती गरे भन्दैमा ९९ प्रतिशतलाई बजारबाट हटाउन मिल्दैन । १ कर्मचारीले घूस लिएको भेटिए सबै कर्मचारीलाई बदनाम गराउने कुरा आउँदैन । हाम्रो विरोध त्यत्ति हो । यहाँ तिलको दाना जस्तो कुरालाई लिएर ठूलो बनाइएको मात्र हो ।
गल्ती गर्ने व्यवसायीलाई कारबाही नगर्न दबाब दिएर विकृतिलाई संरक्षण गर्नतिर लाग्नुभयो, होइन ?
कुन नियमअन्तर्गतको कारबाही ? नियम हुनु परेन ? एउटा झिँगो च्यापिएर मरेको छ, कस्तुरी मृग मारेको सजाय दिएर हुन्छ ? ठूलो गल्ती गर्ने त्यत्तिकै उम्किएका छन्, सानो गल्ती गर्नेलाई ५ वर्षसम्म जेल बस्नुपर्ने मुद्दा लगाइएको छ । यसैमा हाम्रो विरोध हो ।
व्यवसायीका नेता नै कारबाहीमा परेकाले विरोध चर्किएको हो कि ?
व्यवसायीका पूर्वअध्यक्ष र साधारण सदस्यलाई फरक कारबाही हुनुपर्छ भन्ने होइन । नेताहरूमा सानो गल्तीलाई ठूलो इस्यु बनाउन सकिए व्यवसाय नै तहसनहस पार्न सकिन्छ भन्ने अदृश्य इगो देखियो । त्यसैले हामीले विरोध गरेका हौं ।
पछिल्लो समय सुन तस्करी बढेको, भारतबाट सामान आयात गर्दा भारु भुक्तानीमा सुन प्रयोग भएको कुरा आइरहेका छन् । वास्तविकता के हो ?
त्यो कुरा मैले पनि सुनको हुँ । अनौपचारिक रूपमा आएको सामानको भुक्तानीमा सुन प्रयोग भएको सुनेको छु । सरकार नै चनाखो हुनुपर्छ । सिमानामा सरकारी कर्मचारी के गरेर बस्छन् ? सुन कसरी वारपार भयो होला त ? सरकार गम्भीर हुने हो भने तस्करी सम्भव हुँदै हुँदैनथ्यो । हामी गरगहना बनाउन सुन नपाएर त्यसै बस्नुपर्ने, सुन उता जाने राम्रा होइन ।
अवैध कारोबारलाई सघाउने त व्यवसायी नै हुन् नि, होइन ?
त्यस्तो अवैध कारोबारमा लागेको छ भने त्यो व्यवसायी नै होइन । सुन तस्करीमा समातिएको मान्छे महासंघको कुन शाखामा सदस्य छ देखाउनुहोस् न ! तस्करीमा लाग्ने व्यक्ति बेग्लै तरिकारले कारोबार गर्छन् । त्यस्ता व्यक्ति त हामीकहाँ आबद्ध नै हुँदैनन् । स्वच्छ रूपमा कारोबार गरी त्यसबाट आउने  नाफाबाट चरण–चरण रूपमा अगाडि बढ्नेमात्र व्यवसायी हो ।
नेपालमा सुनचाँदीका गरगहना बनाउने ८० प्रतिशत कालिगढ भारतीय रहेको अवस्थामा नेपाली कालिगढ उत्पादन गर्न महासंघले सुरु गरेको प्रशिक्षण केन्द्रको प्रभाकारिताचाहिँ कस्तो छ ?
०५९ सालमा सरकारको सहयोगले नेपाली युवायुवतीलाई गरगहना बनाउने तालिम दिन सुरु गरेका थियौं । ६ वर्षको अवधिमा २ सय कालिगढ उत्पादन भए । त्यसपछि तालिम लिनेहरूले सरकारको सहयोगमा भएको भन्दै शुल्क नतिरेपछि रकम अभावले कार्यक्रम बन्द भयो ।
हालैमात्र जर्मन सहयोग नियोग (जीआईजेड)को सहयोगमा नयाँ प्रविधिका पूर्वाधारसहितको ट्रेनिङ सेन्टर फेरि सुरु गरेका छौं । त्यसमा बजारको मागअनुसार नै कोष बनाएर स्तरीय ट्रेनिङ गराउँछौं । अहिले गहना बनाउने तालिममा दोस्रो ब्याच सुरु हुँदैछ । २ सयभन्दा बढी सुन जाँचकी उत्पादन गरिसक्यौं । अब अरु नयाँ–नयाँ तालिमसमेत चलाउनेछौं । दक्ष नेपाली कालिगढ उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।

Saturday, May 18, 2013

सुनको आयात ५ किलो बढ्यो

काठमाडौं, १ जेठ - नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा ५ किलो बढाएको छ । बुधबार केन्द्रीय बैंकले ‘सुन आयात तथा बिक्री वितरण कार्यविधि, २०६८’ संशोधन गरी दैनिक आयात परिमाण १५ किलोबाट बढाएर २० किलो पुर्र्याएको हो ।
विवाहको लगनसँगै बजारमा सुनको अभाव चर्किएपछि व्यवसायीको आग्रहमा बैंकले असारसम्मका लागि आयात कोटा थप गरेको हो । बजारमा अभाव भएपछि केन्द्रीय बैंकले गत वर्ष पनि चैतदेखि असारसम्म दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो ।
बजारमा चरम अभाव भइरहेकाले कोटा थप हुँदा थोरै भए पनि राहत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । “हामीले १० किलो बढाउन माग गरेका थियौं,” शाक्यले भने, “पाँच किलो बढे पनि व्यवसायीलाई थोरै भएपनि राहत पुग्छ ।”बिक्रीको मुख्य सिजनमै सुन अभाव हँुदा व्यवसायी मारमा परेको र कतिपय स्थानमा पसल नै बन्द भएको शाक्यले बताए । विवाहको लगनमा सुनको माग बढेर दैनिक ४० किलो पुग्ने उनको भनाइ छ ।
यसपटक सुनको भाउ सस्तो भएकाले माग उच्च भएको व्यवसायीको भनाइ छ ।हिन्दु परम्परामा जन्मदेखि मृत्युसम्मका संस्कारमा सुनको आवश्यक पर्छ । विवाहका साथै दसंै–तिहारलगायतका अन्य शुभकार्यमा सुनको प्रयोग हुने भएकाले विवाहको लगन भएका बेला सुनका गहनाको माग बढ्ने गछन् । नेपालमा वैशाख, जेठ, असोज, मंसिर, माघ र फागुनमा सुनको माग उच्च हुने व्यवसायीको भनाइ छ । यसैगरी पछिल्लो समयमा घरजग्गा कारोबार र सेयर बजारसमेत ओरालो लागे पनि लगानीका रूपमा सुन खरिद गर्ने समेत बढेको बताइन्छ ।
चार वर्षदेखि अत्याधिक सुन आयात भई व्यापार घाटा उच्च भएपछि सरकारले सुन आयातलाई नियन्त्रण गर्न थालेको हो । सुनको आयात र लगानीलाई निरुत्साहित गर्न नेपाल राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गरेको थियो ।
कार्यविधिको व्यवस्थाअनुसार वाणिज्य बैंकले सुन आयात गरी सुनचाँदी व्यवसायीलाई बिक्री गर्नुपर्छ । उक्त सुन व्यापारीले पनि गरगहना बनाएर मात्र बेच्न पाउने नियम छ । यसैगरी आयातित सुनमध्ये ६० प्रतिशत बाग्मती अञ्चलभित्र र बाँकी ४० प्रतिशत अन्य १३ अञ्चलमा बिक्री गर्नुपर्ने व्यवस्था छ । यसैगरी सुनचाँदी व्यवसायीका संस्थालाई पनि सुनको कोटा तोकिएको छ । व्यवसायी संघको सिफारिसका आधारमा मात्र व्यवसायीले बैंकबाट सुन खरिद गर्न सक्छन् ।
कार्यविधिको व्यवस्था लागू गराउन अनुगमन नहुँदा सुन बिक्रीमा कालोबजारी समेत हुँदै आएको छ । गत आर्थिक वर्षमा ११ अर्ब ४७ करोड रुपैयाँबराबरको सुन आयात भएकोमा चालू आवको ८ महिनामा १७ अर्ब १५ करोडबराबरको सुन आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

Tuesday, April 30, 2013

सरकारलाई झुक्याउँदै सुन व्यापारी


आधा सटर खोलेर कारोबार

काठमाडौं, १२ वैशाख- सरकारी अनुगमन टोलीलाई झुक्याउँदै न्युरोडका सुनचाँदी व्यापारीले पसलको आधा सटर खोलेर कारोबार गरेका छन् । सोमबार सरकारले गरेको अनुगमनको विरोधमा मंगलबार र बुधबार पसल बन्द गरेका व्यवसायीले बिहीबार भने झुक्याएर कारोबार गरेका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा एक्कासि सुनको मूल्यमा आएको गिरावटपछि कम तौलमा बिक्री गरेको उजुरीका आधारमा वाणिज्य विभागले पसल अनुगमन सुरु गरेको थियो । अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले अनिश्चितकालका लागि व्यापार बन्द गरेका थिए ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले पसल बन्द रहेको बताए पनि बिहीबार दिउँसो न्युरोडका न्यु जयलक्ष्मी गहना गृह, भैरव ज्वेलर्स, सिल्भर प्यालेस, रिद्विसिद्धि ज्वेलर्स, पञ्चकन्या स्टोर, सिल्भर क्विनलगायत दर्जन पसलले आधा सटर खोलेर आंशिक व्यापार गरेका थिए । 

“अनुगमन निरन्तर जारी रहनेछ,” वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिँडारीले भने, “व्यवसायीले पसल बन्द गरेका कारण अनुगमन रोक्नुपरेको छ, खुल्नासाथ पुनः सुरु हुन्छ ।”
सिल्भर प्यालेसका एक कर्मचारीले अनुगमन टोली आउने भएकाले सटर आधामात्र खोलिएको बताइन् । जयलक्ष्मी गहना गृहका सुरक्षागार्डले भने पुरानो अर्डर वितरण गर्न पसल खोलिएको भन्दै बिल हुने व्यक्तिलाई मात्र भित्र छिर्न दिएका थिए ।
महासंघ अध्यक्ष रमेश मर्हजनले बिहीबार पनि सबै पसल बन्द रहेको दाबी गरे । आधा सटर खोलेर कारोबार भइरहेको छ नि भन्ने कारोबारको प्रश्नमा उनले ‘अर्डर लिइसकेका गहना दिन खोलेको हुनसक्ने’ बताए । “विवाहको लगन छ, अर्जेन्ट अर्डर दिनलाई पसल खोलेको हुनसक्छ,” उनले भने ।
सरकारले सोमबार न्युरोडका तीनवटा सुनचाँदी पसल अनुगमन गरेपछि त्यसको विरोधमा व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले मंगलबार र बुधबार पसल बन्द गरेका थिए ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले ठग्न पाउनुपर्छ भन्दै सुनचाँदी व्यवसायीले आन्दोलन गरेको बताए । “अनुगमनको विरोध गर्नु भनेको हामीले खुलेआम ठग्न पाउनुपर्छ, पित्तललाई सुन भनेर बेचे पनि हुन्छ भन्नु हो,” उनले भने, “सरकारले कुनै हालतमा पनि सुनचाँदी पसलको अनुगमनलाई रोक्नु हुँदैन ।”
महर्जनले भने अनुगमन शैलीको मात्र विरोध गरिएको बताए । “व्यवसायीलाई आतंकित बनाउने शैलीमा हुल आएर अनुगमन त हँुदैन नि !” उनले भने, “मापदण्ड बनाएर व्यवस्थित अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्छ ।” अनुगमन मापदण्ड नआएसम्म आन्दोलन जारी रहने भन्दै उनले संयुक्त आन्दोलनका लागि अन्य संघहरूसँग पनि छलफल भइरहेको जानकारी दिए ।
यसअघि भएको अनुगमनमा सुनचाँदी पसलले तौल कम गरेको, भाउ सस्तो हुँदा सुन लुकाएको, ज्याला र जर्ती बढी लिएकोलगायतका ठगी गरेको भेटिएको थियो ।
गत साता अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि सुनको भाउ एक्कासि घटेपछि व्यापारीले अभाव देखाउँदै सुन बेचेका थिएनन् । सुन नपाइएको गुनासो बढेपछि सरकारले अनुगमन सुरु गरेको हो ।
यसैबीच, बिहीबार सुन भाउ प्रतितोला ५२ हजार रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला ५१ हजार ५ सय रुपैयाँ कायम रहेको सुन बुधबार ५ सय रुपैयाँ महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Monday, April 22, 2013

सुनको भाउ ४२ हजारसम्म झर्न सक्छ


दुई वर्षअघि तोलाको ६२ हजार रुपैयाँ नजिक पुगेको सुनको भाउ यो साता ५० हजारको हाराहारीमा झरेको छ । अन्तर्राष्ट्रिय बजारका कमोडिटी सट्टेबाजहरूको चलखेलका कारण सुनको भाउ घटिरहेकाले तीन–चार महिनामा नेपालमा  तोलाको ४२ हजारसम्म झर्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघमा अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । भाउ घटबढले व्यवसायीलाई खासै असर नपर्ने भए पनि यसपटक मूल्य सस्तो हुँदा पर्याप्त सुन बेच्न नपाइएकाले व्यवसायीहरू निरुत्साही भएको उनले बताए ।बजारमा एकातिर पर्याप्त सुन नआएको र अर्कातिर भारुको अभावले भारतबाट सामान आयात गर्दा सुनमा भुक्तानी दिने प्रवृत्ति बढेकाले बजारमा सुनको अभाव भएको शाक्यले बताए । नेपाल सुनचाँदी व्यवसायी संघबाट हालैमात्र महासंघमा बनेपछि पहिलो अध्यक्ष बनेका शाक्यसँग सुनचाँदीको आयात व्यवस्थित गर्नेदेखि नेपाली कलात्मक गरगहनालाई विश्वबजारसम्म पु¥याउने योजना छ । शाक्यले यसअघि संघको सदस्यदेखि कार्यवाहक अध्यक्ष चलाइसकेका थिए ।  बाबुको पुख्र्यौली पेसा पछ्याउँदै २०३८ सालदेखि पूर्ण रूपमा सुनचाँदी व्यवसायमा लागेका शाक्यसँग सुनचाँदीको भाउ, बजारअवस्थाबारे कारोबारकर्मी यादव हुमागाईंले गरेको कुराकानी:

मणिरत्न शाक्यअध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

एक सातादेखि सुनको भाउमा आइरहेको गिरावटको कारण के होला ?
कमोडिटी बजारका सट्टेबाजहरूले एकै पटक ठूलो परिणाममा सुन बजारमा पठाएकाले भाउमा भारी गिरावट आएको हो । कमोडिटी मार्केटको समूह गोल्डन स्याकले हालसम्मकै धेरै सुन बजारमा छोडेका छन् । साइप्रसको उच्च दरमा आर्थिक मन्दी भएको र आईएमएफले सुन बेचेर मन्दी टार्न सुझाव दिएकाले भाउ घटेको विश्लेषण भए पनि हामीले अध्ययन गर्दा त्यो बहानाबाजी मात्र देखिएको छ । किनभने साइप्रसले १० टन मात्र सुन बेच्न लागेको हो । त्यती सुन त एउटै कम्पनीले उठाउन सक्छ । त्यो पनि सुन बजारमा आइसकेको छैन । सट्टेबाजहरूले सुन बजारमा पठाउने र भाउ घटेपछि फेरि धेरै परिमाणमा आफंै उठाउन खेल खेलेको हुन सक्छ ।
नेपाली बजारमा सुनको भाउ कतिसम्म घट्ला ?
दुई–तीन दिनमा सुनको भाउमा आएको गिरावटबाट सुनको मौज्दात धेरै भएको देशलाई ५ सय ६० अर्ब डलर खाटा भइसकेको छ । यस वर्ष सर्वाधिक सुन खपत गर्ने चीन र भारतले आर्थिक वृद्धिदर कम भएसँगै सुनको माग घट्ने भएकाले भाउ अझै तल आउने विश्लेषण गरिएको छ ।
नेपाली बजारमा विश्लेषकहरूले सुनको भाउ ३५ हजारसम्म आउने बताएका छन्, तर हाम्रो टिमले अन्तर्राष्ट्रिय रिपोर्टहरूको अध्ययन विश्लेषणका आधारमा तीन–चार महिनाभित्र सुनको भाउ ४२ हजारसम्म झर्न सक्ने देखाएको छ ।
भाउ घट्दा नेपाली बजारमा कस्तो असर परेको छ ?
बजार भाउ एक्कासि घटेसँगै काँचो सुनको पनि अभाव भएकाले धेरै व्यवसायी निरुत्साहित भएका छन् । आफूले राखेको पुँजी एक चौथाइ घटिसकेको छ । राखिरहेको सुन खर्च गर्नका लागि त्यसलाई परिपूर्ति गर्ने अर्को सुन पाइएको छैन ।
हामीलाई भाउ घटबढले धेरै असर पार्दैन । बजारमा सुन नपाउँदा भने अप्ठेरो हुन्छ । बजारभाउ सस्तो हुँदा त्यही भाउमा सुन त पाउनुप¥यो नि ? बजारमा मागभन्दा आपूर्ति निकै कम छ । सरकारले यसबारे सोच्नुपर्छ ।
नेपालमा दैनिक १५ किलो सुन आयात भइरहेको छ । तपाईंहरू सधैं अभाव छ भन्नुहुन्छ, कहाँ गइरहेको छ सुन ?
नेपालमा १० हजार सुनचाँदी व्यवसायी छन् । १० हजारमध्ये दिनको एक तोला सुन खपत गर्नेदेखि लिएर दिनकै  डेढ किलोसम्म सुन खपत गर्ने पसल पनि छन् । हाल सरकारले आयात गरेको १५ किलो सुनमध्ये सात–आठ किलो सुन लगानीका रूपमा ढिक्का नै कारोबार भइरहेको छ । बाँकी सात–आठ किलो मात्र गरगहना बनाउन प्रयोग भइरहेको छ । सबै व्यवसायीलाई बाँड्दा एउटाको भागमा एक आना मात्र पर्छ । एक आना सुन बाँडेर बजारमाग पूर्ति हुन्छ र !
सरकारले ढिक्का सुन कारोबारमा त निषेध गरेको छ नि !
सरकारमा बस्ने व्यक्तिले वास्तविकता नबुझी नियम बनाउँदा समस्या हुन्छ । हामी वर्षौंदेखि व्यवसायमा भएकाले पनि व्यक्तिगत चीनजानका आधारमा पनि एक÷दुई तोला ढिक्का सुन बिक्री गर्नुपर्नेहुन्छ । नाइँ भन्न अप्ठेरो हुन्छ । कसैले छोरा छोरीको बिहे वा पढाइका लागि आफूसँग पैसा भएका बेला बचत गर्छु भनेर सुन किन्छ भने सरकारले त्यसलाई नियन्त्रण गर्नु हुँदैन । यसबारे सरकार आफूसँग पनि ज्ञान छैन । अरूको सुझाव पनि सुन्दैन । त्यसैले समाधान भएको हो । जतिसुकै कन्ट्रोल गरे पनि ढिक्का कारोबारलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन ।
भारतबाट सामान आयात गर्दा भारु भुक्तानीमा सुनको प्रयोग भएको कुरा आइरहेको छ । वास्तविकता के हो ?
विगतमा धेरै सुन भारतिर गए पनि भन्सारदर समायोजनपछि अवस्था सुधार भएको छ । तर, बजारमा आउनुपर्ने सुन हराउँदा थोरै मात्रामा भए पनि दुरुपयोग भएको हुनसक्छ । भारतीय रुपैयाँ सहज नभएपछि आफूसँग भएको वस्तुबाट भुक्तानी गर्नुपर्ने स्वाभाविक होला । भारु सहज गराएको भए सुन बाहिर जाने थिएन । महासंघले जतिसुकै नियन्त्रण गरे पनि व्यवसायीले हामीलाई एउटा प्रयोजन देखाएर अर्कातिर लगानी गरेको पनि हुन सक्छ । यसमा कमजोरी कसको ? राज्यले दिनदिनैको समस्या देख्दा पनि किन समस्या समाधान गर्दैन । व्यवसायी संघ खोजबिन गर्न, बोर्डरमा जान सक्दैनौं नि ! त्यो सरकारको काम हो । उनीहरू गम्भीर हुनुपर्छ ।
सरकारले सुनलाई अनुत्पादक भन्दै यसको आयात र लगानीलाई निरुत्साहित गर्दै आएको छ, तपाईंहरूचाहिँ आयात बढाउन माग गर्नुहुन्छ किन ?
हिन्दू परम्परामा जन्मदेखि मुत्युसम्मका संस्कारमा सुन अनिवार्य छ । कसरी सुन विलासिता मात्र भयो । यदि सरकारलाई सुन अनुत्पादक लगानी हो भन्ने लाग्छ भने कानुन नै बनाएर सुन आयात गर्न, घरमा राख्न नपाउने व्यवस्था गरोस् न । कृषिप्रधान देशमा १८ अर्बको मासु, त्योभन्दा दोब्बरको मोटरगाडी आयात गर्दा अप्ठेरो नपर्ने अनि सुन आयातमा मात्र नियन्त्रण किन ? सुन भएमा मान्छेले बचत गर्छ आफ्नो आर्थिक स्थिति मजबुत गराउँछ ।
सुनको कारोबारलाई व्यवस्थित गर्न दुई वर्षअघि राष्ट्र बैंकले निर्देशिका नै लागू गरे पनि किन प्रभावकारी हुन सकेन ?
राष्ट्र बैंकको निर्देशिकामै कैफियत छ । लगनका बेला र अन्य समयमा सुनको माग घटबढ हुने भए पनि यसबारे निर्देशिकामा केही व्यवस्था छैन । कुल आयातमध्ये आधा सुन अन्य क्षेत्रमा प्रयोग हुँदा पनि नियन्त्रण गर्न सकेको छैन । व्यवसायी संघको सिफारिसमा सुन पाउने व्यवस्था हामीले घाटीसम्म आउने गरी अनुभव गरिसकेका छौं । यो व्यवसायीका संघहरूबीच काटमार गराउने मात्र हो । केही व्यवसायी संघले साइनबोर्डको आधारमा सुन दिँदा आवश्यक व्यवसायीले सुन पाएका छैनन् ।
आवश्यकताभन्दा निकै कम आपूर्ति भएकाले पालो पु¥याउन गा¥हो छ । हामीलाई प्राप्त कोटामध्ये ४८ जिल्ला संघलाई पालैपालो बाड्छौं । संघहरूले पनि कुन–कुन व्यापारीलाई सुन दिएको रिपोर्ट लिन्छौं । हामीले सक्दो प्रयास गरे पनि अझ ९९ प्रतिशत मात्र सक्सेस छ । अन्य नयाँ–नयाँ संघले भने वितरणमा अनिमियता गरेका छन् । यसलाई निर्देशिकाले व्यवस्थित गर्न सकेको छैन ।
परम्परागत रूपमा चल्दै आएको सुनचाँदी व्यवसायले पछिल्लो चरणमा सर्वसाधारणबाट विश्वास गुमाउँदै गएको हो ?
व्यवसायीको संख्या बढेसँगै विकृति पनि बढेकाले सर्वसाधारणको विश्वास कम भएको हो । सुनको कारोबार गर्दा चाँदी र हीराको सिक्का उपहार दिनेजस्ता अनावश्यक प्रलोभन देखाएर सर्वसाधारणलाई ठगेको पाइएको छ । थोरै नाफामा काम गर्नुपर्ने व्यवसायमा महँगो उपहार दिँदा व्यापारीले घर बेचेर दिएको होइन, ग्राहकसँग चुसेरै दिएको हो । कतिपय ग्राहकसँग बुझ्दा व्यापारीले मखमलको डम्बामा सजाएर दिएको चाँदी र हीराको उपहार नक्कली पनि पाइएको थियो । यसबारे सर्वसाधारण सचेत हुनुपर्छ । झुक्याउने व्यवसाय फस्टाएको छ ।
यसबारे महासंघले आफ्ना सदस्यलाई सचेत गराएका छौं । दुई वर्षअघि हाम्रो एक सदस्यले एक तोला सुन किन्दा हीराको फुली उपहार दिएको थियो । यसबारे हामीले छानबिन गर्दा चाँदीको फुलीमा हीराको धुलो मात्र लगाएको रहेछ । त्यसपछि सदस्यलाई अल्टिमेटम दिएका त्यस्तो कारोबार नगर्न सचेत गराएका थियौं ।
राष्ट्र बैंकको अनुमतिबिना सुन धितो राखेर कर्जा दिन नपाउने भए पनि सुनचाँदी व्यवसायीले त सुन धितोमा ऋण दिने गरेका छन् नि ?
बैंकिङ कारोबारको सुरुवात नै सुनचाँदी पसलबाट भएको हो । आफ्नो ग्राहकलाई आपदविपद पर्दा ऊसँग भएको सुन लिएर पैसा चलाउन दिन किन नमिल्ने ? आफैंले बनाएको गरगहना लिएर चिनजानको ग्राहकको गर्जो टार्न मिल्छ कि मिल्दैन । मानवताको हिसाबले राज्यले नियम कानुन बनाउँदा यो कुरा सोचेन । राष्ट्र बैंकको गभर्नरलाई पनि त उसको परिवारले सुन धितो राखेरै पढाएको होला ।
हामी त यो व्यवसायलाई वैधानिकता दिनुहोस्, हामी कर तिर्न तयार छौं भनिरहेका छौं । यसबारे उहाँहरूको ध्यान किन जाँदैन ? कि त बैंकहरूले जनताको घर–घरमा पुगेर सेवा दिनुप¥यो । सुनचाँदी व्यवसायीले पुखौंदेखि गर्दै आएको कामलाई व्यवस्थित गर्नुपर्छ, निषेध गर्न पाइँदैन ।
नेपालमा सुनचाँदीका गरगहना बनाउने ८० प्रतिशत कालिगड भारतीय छन्, नेपाली कालिगड बढाउन महासंघले के गर्दैछ ?
२०५९ सालमा सरकारको सहयोगमा नेपाली युवायुवतीलाई गरगहना बनाउने तालिम दिन सुरु गरेका थियौं । ६ वर्षको अवधिमा २ सय कालिगड उत्पादन भएका थिए । त्यसपछि तालिम लिनेहरूले सरकारको सहयोगमा भएको भन्दै शुल्क नतिरेपछि रकम अभावले बन्द भयो ।
हालै मात्र जर्मन सहयोग नियोग (जीआईजेड)को २६ लाख सहयोगमा नयाँ प्रविधिका पूर्वाधारसहितको टेनिङ सेन्टर सुरु गरेका छौं । त्यसमा बजारको मागअनुसार नै कोष बनाएर स्तरीय ट्रेनिङ गराउँछौं । यसलाई सरकार र जीआइजेडले पनि सहयोग गर्ने प्रतिबद्धता आएकाले ट्रेनिङ सेन्टरलाई क्षेत्रीय र जिल्ला स्तरमा विस्तार गर्ने कार्यक्रम पनि छ । हाम्रो योजनाअनुसार काम भयो भने नेपाल पाँच वर्षमा कालिगड आत्मनिर्भर बन्न सक्छ ।
सुनचाँदी व्यवसायी फुटेर दुईवटा महासंघ दर्ता भए । यसले बजारमा अस्वस्थ्य प्रतिस्पर्धा पनि देखिन्छ । एउटै महासंघ बनाउनेबारे छलफल भएको छैन ?
पदाधिकारीमा जुँगाको लडाइँले गर्दा सुनचाँदी व्यवसायीमा फाटो आएको हो । दुवै महासंघमा एउटै सदस्य छन् । महासंघ दर्ता अघि नै एक हुनेबारे छलफल भएको थियो । हामीले रत्न तथा आभूषण संघलाई विधान अध्ययनका लागि दिएका पनि थियौं, तर यही विधानका आधारमा उहाँहरूले महासंघ दर्ता गनुभयो । मुखले एउटा, कामले अर्को गर्नुभयो ।
महासंघको पहिलो अध्यक्ष हुनुभयो, के छन् आगामी योजना ?
६ महिनाभित्र देशभरका जिल्ला संघमा चुनाव गराएर कार्यसमितिलाई पूर्णता दिने योजना छ । त्यसपछि पनि साथीहरूले अर्को कार्याकालको जिम्मेवारी दिनुभयो भने सुनचाँदी कारोबारलाई व्यवस्थित गराउने योजना छन् ।
अहिलेसम्म सुनचाँदी कारोबारको नीति छैन । मुलुकी ऐनका आधारमा कारोबार भइरहेको छ । नीति नियम नहुँदा हामीलाई अप्ठेरो भइरहेको छ । नीतिको मस्यौदा बनाएर धेरै पटक बुझाए पनि अस्थायी सरकार भएकाले अघि बढ्न सकेको छैन । मेरो कार्यकालमा सुनचाँदी कारोबार नीति पारित गराउने, देशभर आपूर्ति व्यवस्था सहज बनाउने, गुणस्तरमा एकरूपमा कायम गराउने, नेपालको परम्परागत कलाकारितालाई देशबाहिर विस्तार गरी यसबाट वैदेशिक मुद्रा आर्जन गर्ने वातावरण बनाउने महासंघका योजना छन् ।

Saturday, February 02, 2013

सुन अभाव हल्लामात्रै


काठमाडौं, १८ माघ - व्यवसायीले सुन अभावको वहान बनाएर प्रचलित मूल्यभन्दा बढी रकममा व्यापार गर्ने गरेको पाइएको छ । काठमाडौंको मख्खन टोलस्थित सूर्यलाल–गोविन्दलाल एन्ड सन्स पसलमा मंगलबार पुग्दा उक्त पसलका मालिकले जति पनि सुन किन्न पाउने बताए ।

मंगलबार बजारमा सुन ५८ हजार २ सय रुपैयाँमा कारोबार भए पनि उक्त पसलमा भने ५९ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको थियो । यो नेपाल सुनचाँदी व्यवसायीले अन्तर्राष्ट्रिय मूल्यअनुसार तोकेको मूल्यभन्दा १ हजार ६ सय रुपैयाँ बढी मूल्य हो । बजारमा अन्य व्यापारीले सुन अभावका कारण ग्राहक नै फर्काउनुपर्ने अवस्था भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । तर बजारमा ग्राहकले बढी मूल्य तिरेर सुन किनिरहेका छन् ।
मख्खनस्थित लक्ष्मी ज्योति ट्रेडर्समा मंगलबार सुन सकिएको भए पनि अर्को दिन आउँदा ग्राहकले चाहेजति सुन पाउन सकिने उक्त पसल सञ्चालकले बताए । तर, उनले मंगलबार आफ्नो पसलमा सुन सकिएको भन्दै मूल्य पनि बताउन मानेनन् ।
नेपाल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्य भने विवाहको मौसम भएकाले बजारमा सुनको चर्को अभाव भइरहेको बताउँछन् । उनका अनुसार, बजारमा हाल दैनिक ३५ देखि ४० किलो सुनको माग भए पनि १५ किलोमात्र सुन आपूर्ति भइरहेको छ । राष्ट्र बैंकले लागू गरेको सुन आयात तथा बिक्री कार्यविधि–२०६८ अनुसार वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गरी व्यवसायीलाई बिक्री गर्न पाउँछन् । दुई वर्षअघि सुन आयात गरी व्यवसायीले सञ्चित गरेका कारण शोधनान्तर घाटा उच्च भएपछि केन्द्रीय बैंकले सुन आयातमा कडाइँ गरेको हो ।
सरकारले सुन आयात कम गर्ने अप्रत्यक्ष उपायका रूपमा भन्सारदर बढाएको छ । आयात भएको सुन ६० प्रतिशत वाग्मती अञ्चलमा मात्रै र ४० प्रतिशत बाँकी अञ्चलमा खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका तदर्थ समितिका सचिव माणिकरत्न शाक्यले जानकारी दिए । उनका अनुसार महासंघको काठमाडौं शाखाको सिफारिसमा एक व्यापारीले सातामा १ किलो ५ सय ग्राम मात्र सुन किन्न सक्नेछन् । “तर त्यो पनि चक्रिय पालोमा हो,” शाक्यले भने ।
नेपाली बजारमा विवाहको मौसमले सुनको माग उच्च भए पनि अभावका कारण आपूर्ति गर्न नसकिएको शाक्यको भनाइ छ । वैध रूपमा आएको सुनले बजार धान्न नसकेकाले बजारमा कालोबजारी बढेको भन्दै महासंघले सुनको आयात बढाउनुपर्नेमा जोड दिँदै आएको छ ।
पछिल्लो समय बजारमा सुन अभावको मौका छोप्दै केही व्यापारीले बजारमा खुलेआम गुणस्तरहीन सुन वास्तविक मूल्यभन्दा बढीमा बिक्री गरिरहेको एक व्यवसायीले नाम नबताउने सर्तमा भने । अहिले बजारमा अवैध र गुणस्तरहीन सुन ल्याई बिक्री भइरहेको उनी बताउँछन् । “अन्तर्राष्ट्रिय गुणस्तर अनुसार ९९.९५ प्रतिशत सुनलाई शुद्ध अर्थात् २४ क्यारेटको सुन मानिन्छ तर ती पसलहरूले ९८ प्रतिशत अर्थात् गुणस्तरहीन सुन बिक्री गरिरहेका छन्,” स्रोतले भन्यो ।
तीन महिनाअघि मात्र यी पसलबाट कालोबजारी भएको बिलसहित प्रमाणित भएपछि यी व्यापारी अहिले बिनाबिल नै सुनको कारोबार गरिरहेको  स्रोतको भनाइ छ । यस सम्बन्धमा सुन व्यापारीले नेपाल सरकारका सम्बन्धित निकाय र राष्ट्र बैंकलाई जानकारी गराए पनि अहिलेसम्म कुनै कारबाही नभएको सक्कली सुन व्यवसायीको गुनासो छ ।
mail

Thursday, January 17, 2013

सीमित व्यवसायीको कब्जामा सुन


काठमाडौं, ४ माघ - सरकारले बिक्री प्रणाली व्यवस्थित गर्न नसक्दा आयात भएको अधिकांश सुन सीमित व्यापारीले कब्जा गर्न थालेका छन् । सुनचाँदी व्यवसायी कम्पनी\फर्मले बैंकहरूबाट आलोपालोमा एक किलोमात्र सुन किन्न पाउने व्यवस्था भए पनि केही व्यापारीले धेरै कम्पनी दर्ता गरेर सुन ओगट्न थालेका हुन् ।
“नेपाल राष्ट्र बैंकको नियमअनुसार व्यवसायीले एक पटकमा एक किलोमात्र सुन किन्न पाउँछन्,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “बजारमा अभाव भएपछि एउटै व्यक्तिले धेरै कम्पनी दर्ता गरेर धेरै सुन लिने गरेको पाइएको छ ।”
यसबाट साना व्यापारीले सुन नपाउँदा कालोबजारी बढेको शाक्य बताउँछन् । “बजारमा सुन अभाव छ, यस्तो अवस्थामा कसलाई के भन्ने ?” उनले भने ।

साना व्यापारीले ठूला व्यवसायीसँग सुन किन्दा बैंकभन्दा ५ सय रुपैयाँदेखि १ हजारसम्म महँगो पर्छ । ठूला व्यापारीले धेरै सुन ओगट्ने गरेकाले सानाले बैंकबाट सीधै सुन नपाएका हुन् । “धेरै व्यवसायीले एक किलो सुन किन्न सक्दैनन्,” नेपाल रत्न तथा आभूषण संघका महसचिव सुमन ताम्राकारले भने, “ठूला व्यापारीले भने धेरै कम्पनी देखाएर सबै सुन किनिरहेका छन् ।”

ताम्राकारका अनुसार भारतीय व्यापारीले नेपालीका नाममा कम्पनी खोलेर सुन किन्ने गरेका छन् । १० किलोसम्म किन्ने त्यस्ता व्यापारीले एक–दुई किलोमात्र बजारमा देखाउने र बाँकी कालोबजारी गर्ने गरेको उनको दाबी छ ।

सुन अधिक आयात हुँदा अर्थतन्त्रलाई नै असर गरेपछि सरकारको अनुरोधमा केन्द्रीय बैंकले सुन आयातलाई निरुत्साहित गर्न विविध उपाय अपनाउँदै आएको छ । सुन आयात र बिक्रीलाई व्यवस्थित गर्न राष्ट्र बैंकले लागू गरेको ‘सुन आयात तथा बिक्री–वितरण कार्यविधि २०६८’ अनुसार वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गर्न सक्छन् । त्यसमध्ये सुनचाँदी व्यवसायीलाई प्रतिव्यवसायी बढीमा १ किलो सुनमात्र बिक्री गर्नुपर्छ । व्यवसायीले पनि उक्त सुन गरगहना बनाएर मात्र बिक्री गर्न सक्छन् । सुनमा लगानी हुन नदिन सरकारले सर्वसाधारणलाई ढिक्का सुन खरिद गर्न नपाउने व्यवस्था गरेको छ ।

सुन बिक्रीको विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्ने भए पनि अधिकांश व्यवसायीले नबुझाएको राष्ट्र बैंक विदेशी विनिमय विभागका एक अधिकारीले बताए । कार्यविधिको व्यवस्थालाई केन्द्रीय बैंकले प्रभावकारी रूपमा लागू गर्न नसक्दा समस्या बढेको उनले स्वीकार गरे ।
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बजारमा सुन अभावबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको र आवश्यक भए आयात कोटासमेत बढाउने बताए ।

विवाहको लगन सुरु भएकाले बजारमा सुनको माग बढेको अध्यक्ष शाक्यको भनाइ छ । “अहिले माग बढेर दैनिक ३० किलोभन्दा माथि पुगेको छ,” उनले भने, “आयात कोटा बढाउन राष्ट्र बैंकसमक्ष अनुरोध गरिसकेका छौं ।”

नेपालीले शुभकार्यमा सुनलगायत बहुमूल्य धातु प्रयोग गर्ने भएकाले वैशाख, जेठ, असोज, मंसिर, माघ र फागुनमा बिक्री बढ्छ । यो समयमा माग बढेर दैनिक ४० किलोसम्म पुग्ने व्यवसायी बताउँछन् । पछिल्लो समय चीनबाट नेपाल हुँदै भारतसम्म सुन तस्करी हुने गरेको छ । प्रहरीले पटक–पटक गरी १२ किलोभन्दा बढी अवैध सुन पक्राउ गरिसकेको छ । नेपाली बजारमा आवश्यक सुनको परिणामबारे सरकार र व्यवसायीबीच मतभेद भए पनि यसबारे कुनै अध्ययन भएको छैन ।

सेयर बजार र घरजग्गा कारोबार ओरालो लागेपछि सुनमा लगानी गर्नेहरू बढेको व्यवसायी बताउँछन् । रेमिट्यान्सका कारण ग्रामीण क्षेत्रका सर्वसाधारणको क्रयशक्ति बढेकाले सुन किनेर सञ्चय गर्नेको संख्या पनि बढेको छ ।

Tuesday, October 09, 2012

कमोडिटिज तथा डेरिभेटिभ एक्सचेन्जको पारदर्शितामा जोड


काठमाडौं, १८ असोज - कमोडिटिज तथा डेरिभेटिभ एक्सचेन्जहरूलाई पारदर्शी भएर कारोबार गर्न बिज्ञहरूले सुझाव दिएका छन् । नियमनकारी निकाय नभएकाले जनविश्वास कायम गर्न स्वनियममा व्यवसाय संचालन गर्नुपर्ने उनीहरूको जोड थियो ।
बिहीबार काठमाडौंमा आयोजित कमोडिटी डेरिभेटिभ बजार नियमनका समस्या र समाधानका उपाय विषयक अन्तर्कृयामा बोल्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालले जनविश्वास गुमाएर धरासायी हुनुअघि नै आफै सचेत भएर कारोबार गर्न बजार संचालकलाई आग्रह गरे । “नियमनअघि तपाईहरु आफै आचारसंहिता बनाएर लागू गर्नसक्नुहुन्छ” खनालले भने ।

वस्तु बजार नियमन गर्नका लागि छुट्टै ऐन पर्खन नहुने उनले बताए । वस्तु बजारमा कारोबार भएका वस्तुको क्रेता समक्ष पु¥याउने (फिजीकल डेलिभेरी) व्यवस्था भएपनि काम मात्रमा हुने खनालले बताए । “वस्तु बजारमा विदेशी विनीमयको कारोबार हुन्छ भने एक्सचेन्ज आफै जिम्मेबार भए मात्र विश्वसनीयता बढ्छ”, खनालले भने । पुँजी बजार पनि नियमन गरीरहेको हुनाले वस्तु बजार पनि बोर्डले नै गर्दा उयुक्त हुने उनको भनाइ छ । नेपालको कृषि व्यवसायलाई व्यावसायीक बनाउन वस्तु बजार आवश्यक रहेको बताउदै खनालले भने,“नेपालमा कुनै पनि व्यवसायको विकास नीति आएको छैन्, धेरै निति नियम आए व्यावसाय नै समस्यामा पर्छ ।” फिजीकल डेलीभरी र गोदाम घरको व्यवस्था भए किसानको आर्थिक स्तरमा सुधार हुने उनको बुझाइ छ ।



 क्यापीटल मार्केट रिसर्च एण्ड डेभलपमेन्टको अन्तक्र्रिया कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले वस्तु बजारको विश्वसनीयता बढाउन एक्सचेन्जहरू पनि पारदर्शी हुनु पर्नेमा जोड दिए । “वस्तु बजार नियमनका लागि सरकारले बोर्डलाइ निर्देशन दिइसकेको छ” श्रेष्ठले भने,“वस्तु बजारको विश्वसनीयताका लागि बोर्डले सक्दो सहयोग गर्न तयार छ ।” नयाँ ऐन ल्याएर नियमन गर्ने कि हालको ऐनवाट मिल्ने गरी मात्र नियमन गर्ने दुविधामा रहेको श्रेष्ठको भनाइ छ । बोर्डले आवश्यक नियमावलीको मस्यौदा तयार गरेर अर्थमन्त्रालय पठाएको जानकारी उनले दिए । विश्वका २५ मुलुकमा वस्तु बजार र पुँजी बजारको नियामक निकाय एउटै रहेको श्रेष्ठले बताए । कार्यक्रममा बजेट ल्याउन नसकेको सरकारबाट ऐन आशा गर्न नसकिने बताउदै अर्थ मन्त्रालयका पूर्वसल्लाहकार केशव अचार्यले बोर्डको संस्थागत संरचनामा सुधार गरी बोर्डले नै वस्तु बजार नियमन गर्नु पर्ने बताए । सर्वजनीक गोदाम ऐन ल्याएर नेपाली उत्पादन पनि कारोबार गर्न सके राम्रो हुने उनको बुझाइ छ । “वस्तु बजारलाई जति कडा गरे पनि त्यसै बस्दैन उनले भने,“वस्तु बजारमा भएका बदमासी रोक्नु पर्छ ।”



कामु गभर्नर कृष्ण बहादुर मानन्धरले सर्वसाधारणको पैसासंग जोडीने भएकाले नियमन जरुरी रहेको बताए । “वस्तु बजार पारदर्शि भएमा समस्या समाधान हुने उनले बताए । कानुन बनाएर नियमन गर्दा धेरै ढिला हुन्छ” मानन्धरले भने,“ एक्सचेन्जमा कारोबार भएको काउन्टर पार्ट नेपाल भित्रकै हो भन्ने प्रष्ट हुनु पर्छ ।”



कार्यक्रममा बोर्डका पूर्व अध्यक्ष डा. चिरञ्जीवि नेपालले पुँजी बजारभन्दा वस्तु बजार जटील रहेको बताए । अर्थ मन्त्रालयका उपसचिव जनक पन्तले बोर्डले पठाएको नियमावलीको मस्यौदा छिट्टै छलफल समितिमा पेस गर्ने बताए । वस्तु बजार विश्वमा नै चलेको बताउदै बरिष्ठ अधिबक्ता हरिशचन्द्र सुवेदिले भने,“समयमा नियमन नगरे दिर्घकालीन असर पर्छ ।”  नियमन गर्न ऐनको नै आवश्यकता नभएकाले करार ऐन २०५६ अनुसार पनि गर्न सकिने बताए ।
 

Monday, August 27, 2012

सुनको भाउमा नयाँ रेकर्ड - तोलाको ६० हजार नजिक



काठमाडौं, १० भदौ - नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक सातादेखि लगातार बढिरहेको सुन आइतबार ६० हजार रुपैयाँ नजिक पुगेको छ ।
आइतबार २ सय ९५ रुपैयाँ महँगो भई प्रतितोला ५९ हजार १ सय ९५ रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार ५८ हजार ९ सयमा कारोबार भएको थियो ।
“सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ,” संघका सचिव दियशरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर भाउ घट्दा लगानीकर्ताले सुनमा लगानी बढाएका छन्, यसले आपूर्ति र मागको असन्तुल हुँदा मूल्य उच्च भएको हो ।”
बुधबारयता सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । गत आइतबार ५७ हजार ६ सय रुपैयाँ कायम सुन एक सातामा १ हजार ३ सय महँगो भइसकेको छ । 
हिन्दू महिलाको चाड तीज नजिकिँदा सुनको भाउ अकासिएपछि सर्वसाधारण प्रभावित भएका छन् । अघिल्लो वर्ष यही बेलाको तुलनमा सुन करिब १० हजार महँगिएको छ । अघिल्लो वर्ष यतिबेला प्रतितोला ५० हजार रुपैयाँ हाराहारीमा थियो ।
महिलाले सुनका गहना किन्ने भएकाले तीजलाई व्यवसायीले ‘सिजन’ मान्छन् । मूल्य उच्च भएपछि व्यापार प्रभावित भएको उनीहरूले बताएका छन् । 
“भाउ उच्च हुँदा अघिल्ला वर्षजस्तो गरगहना कारोबार छैन,” सचिव शाक्यले भने, “पहिले यही सिजनमा दैनिक ३५ किलो हाराहारीमा माग हुन्थ्यो, यसपटक भने २० किलोमात्र बिक्री भइरहेको छ । साउनमा १५ किलोको माग थियो, भदौ लागेपछि सामान्य बढेको छ ।”
अन्तर्राष्ट्रिय लगानीकर्ता डलर छाडेर सुनतर्फ लाग्दा मागमा वृद्धि भएको र मागअनुसार आपूर्ति हुन नसक्दा महँगो भएको हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन ३२ डलर बढेर प्रतिऔंश १ हजार ६ सय ७२ डलर कायम भई बजार बन्द भएको थियो । आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुने भएकाले शुक्रबारको मूल्य आधारमा संघले यहाँको भाउ तोकेको हो ।
भारतमा पनि सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । त्यहाँ शुक्रबार प्रतितोला ३० हजार ७ सय ६० भारुमा कारोबार भएको छ । यो हालसम्मकै उच्च रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
औद्योगिक क्षेत्रमा माग बढेपछि चाँदीको भाउसमेत लगातार बढिरहेको छ । आइतबार चाँदी १५ रुपैयाँ बढेर प्रतितोला १ हजार १ सय १५ रुपैयाँमा किनबेच भएको संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी हुने गरे पनि नेपालमा भने अधिकांश गरगहनामा प्रयोग हुन्छ । नेपालको आयातीत सुनमध्ये ७० प्रतिशत गहना र ३० प्रतिशत लगानीका रूपमा प्रयोग हुने व्यवसायी बताउँछन् ।
सरकारले सुनलाई अनुत्पादन मान्दै सर्वसाधारणबाट सुनमा हुने लगानी न्यूनीकरण गर्दै आएको छ । हाल वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गरी सुनचाँदी व्यवसायीका संस्थाको सिफारिसमा व्यवसायीलाई बेच्न पाउने व्यवस्था छ ।

Thursday, August 23, 2012

सुनको मूल्यमा नयाँ रेकर्ड

-तोलाको ५८ हजार ५०

काठमाडौं, ६ भदौ -चाडबाड नजिकिँदै गर्दा नेपाली बजारमा सुनको भाउ उच्च भएको छ । बुधबार सुनको भाउले हालसम्मको सबै रेकर्ड तोड्दै प्रतितोला ५८ हजार ५० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

सोमबार र मंगलबार ५७ हजार ७ सय रुपैयाँ कायम सुन बुधबार ३ सय ५० रुपैयाँ महँगो भई ऐतिहासिक उचाइमा पुगेको हो ।
यसअघि गत असार ६ गते सुनको भाउ ऐतिहासिक रेकर्ड कायम गर्दै प्रतितोला ५७ हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमशः घट्दै साउन अन्त्यसम्ममा ५६ हजारको हाराहारीमा झरेको सुन पुनः वृद्धि हुँदै नयाँ रेकर्ड बनाएको हो ।

“अन्तर्राष्ट्रिय बजार बढेपछि नेपालमा आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने ।

चाडबाडको मुखमा सुनको भाउ नजिकिएपछि सर्वसाधारण प्रभावित भएका छन् । तीजको सिजनमा भाउ उच्च भएकाले गहनाको व्यापारमा अघिल्ला वर्षको तुलानामा कमी आएको व्यवसायीले बताएका छन् । महिलाले गहना किन्ने भएकाले यस समयलाई सुनचाँदी व्यवसायीले ‘सिजन’ का रूपमा लिने गरेका छन् ।

“अघिल्ला वर्षहरूमा जस्तो सुनका गरगहनाको बिक्री छैन,” शाक्यले भने । अघिल्ला वर्षहरूको यस सिजनमा दैनिक ३५ किलो हाराहारीमा सुनको माग हुने गरेकामा यसपटक भने २० किलो मात्र बिक्री भइरहेको उनले जानकारी दिए । साउनमा दैनिक १५ किलो मात्र माँग रहेपछि भदौ लागेपछि भने बजारको माग सामान्य बढेको उनले बताए ।

अमेरिकी डलर कमजोर हुँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएकाले अन्तर्राष्ट्रिय बजार भाउ उकालो लागेको हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन ५.७० डलर बढेर प्रतिआंैस १ हजार ६ सय ४४.३० डलरमा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार सुन ६ सातायताकै उच्च मूल्यमा कारोबार भएको समाचारमा जनाइएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा युरोको तुलनामा डलर कमजोर भएको छ । यसै साता युरो देशका नेताहरूको बैठकले ग्रिसको ऋण संकटबाट बाहिर निस्कने रूपरेखा बनाउने संकेत गरेपछि अमेरिकी डलर कमजोर देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बुधबार चाँदीको भाउ पनि १५ रुपैयाँ महंगो भएको छ । मंगलबार १ हजार ५० रुपैयाँ कायम चाँदी बुधबार बढेर १ हजार ६५ रुपैयाँ पुगेको संघले जनाएको छ । यसअघि मंगलबार पनि चाँदी १५ रुपैयाँ महँगो भएको थियो । औद्योगिक प्रयोजन र सिक्का बनाउन चाँदीको माग बढेपछि मूल्य उच्च भएको बताइएको छ ।

Thursday, July 26, 2012

मर्जर, संस्थागत सुशासन, विपन्न वर्ग कर्जावृद्वि र वित्तीय साक्षरतामा जोड


आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गर्ने, संस्थागत सुशासन बढाउने साथै विपन्न क्षेत्रमा कर्जा प्रवाह बढाउनुका साथै वित्तीय साक्षरता बढाउनेतर्फ ध्यान दिने बताएको छ । गर्भनर डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको नीतिमा निर्यात प्रोत्साहन, विदेशी मुद्रा सटही र बचतमा प्रोत्साहन, ब्याजदर करिडोर लागू गर्ने र उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन केन्द्रित रहने कार्यदिशा तय गरिएको छ ।

मौद्रिक लक्ष्य

मौद्रिक नीतिले चालू आवमा मुद्रास्फीतिलाई ७.५ प्रतिशतमा सीमित गर्ने, कम्तिमा ८ महिनालाई पुग्ने गरी विदेशी मुद्रा सञ्चिति गर्ने, ५.५ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न आवश्यक कर्जा प्रवाह गर्ने लक्ष्य राखेको छ । विस्तृत मुद्रा प्रदाय १५ प्रतिशत, वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १६ प्रतिशत र सरकारतर्फ प्रवाह हुने कर्जा १५.८ प्रतिशत, बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप परिचालन १५.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । स्थिर विनिमयदरलाई कायम राख्ने विषयलाई मौद्रिक नीतिको अन्तरिम लक्ष्य लिइएको छ । बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलताका साथै बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई मौद्रिक नीतिको कार्यान्वयन लक्ष्यका रूपमा लिइएको छ ।


सञ्चालन उपकरण

खुलाबजार कारोबारलाई मौद्रिक नीति कार्यान्वयनको प्रमुख उपकरणको रुपमा प्रयोग गरिने छ । अन्तिम ऋणदाता सुविधा तथा सुरक्षणपत्रहरूको डिस्काउन्ट गर्ने जस्ता प्रयोजनका लागि बैंकदर हाललाई ८ प्रतिशत कायम गरिएको छ । बैंकले उपलब्ध गराउने स्थायी तरलता सुविधा पनि बैंकदरमै उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ ।

असल कर्जाको धितोमा बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने पुनर्कर्जाको ब्याजदर हाल कृषि र जलविद्युत्का लागि ६.५ प्रतिशत र अन्य उत्पादनशील क्षेत्रका लागि ७ प्रतिशत रहेकामा घटाई ६ प्रतिशत कायम गरिनेछ । साथै, पशुपन्छी तथा मत्स्यपालनका लागि प्रवाह हुने कर्जाका लागि समेत ६.० प्रतिशत ब्याजदरमा पुनर्कर्जा प्रदान दिइनेछ । यस्तो पुनर्कर्जाअन्तर्गत प्रदान गरिने कर्जामा ग्राहकबाट ९ प्रतिशतभन्दा बढी ब्याज असुल पाइनेछैन ।
रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, निर्यातमूलक व्यवसाय र वैदेशिक रोजगारीका लागि तोकिएका वर्गमा प्रवाह गरिने विशेष पुनर्कर्जादरलाई १.५ प्रतिशतमा यथावत् छ भने यो सुविधाको उपयोग बढाउन प्रक्रिया सजिलो बनाइने र महिला तथा तोकिएको वर्ग वा समुदायद्वारा सञ्चालित साना व्यवसायमा समेत विशेष पुनर्कर्जाको सुविधा उपयोग गर्न पाउने व्यवस्था गरिएको छ । यो सुविधा उपयोग गर्दा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले सम्बन्धित ग्राहकबाट ४.५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था कायम छ । विदेशी मुद्रामा उपलब्ध गराइने निर्यात पुनर्कर्जाको ब्याजदर प्रचलित लाइवोर दरमा ०.२५ प्रतिशत थप गरी निर्धारण गर्ने व्यवस्थालाई निरन्तरता दिँदै पुनर्कर्जा उपलब्ध गराउने व्यवस्थालाई सरलीकरण गरिएको छ । वित्तीय प्रणालीको अधिक तरलताको स्थितिलाई ध्यानमा राखी चालू आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंक, विकास बंैक र वित्त कम्पनीहरूले विपन्न वर्ग कर्जा अनुपात क्रमशः ४ प्रतिशत, ३.५ प्रतिशत र ३ प्रतिशत पु¥याउनु पर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले राख्नुपर्ने अनिवार्य नगद मौज्दात हाल ५.० प्रतिशत रहेकामा सो अनिवार्य नगद मौज्दातलाई ‘क’ वर्गका लागि ६ प्रतिशत, ‘ख’ वर्गको लागि ५.५ प्रतिशत र ‘ग’ वर्गका लागि ५ प्रतिशत कायम गरिएको छ ।

सुनचाँदीबाट भन्सार संकलन दोब्बर

काठमाडौं, ७ साउन


सुनचाँदी र हीराबाट राजस्व संकलन दोब्बर बढेको छ । आयात वृद्धिसँगै सरकारले भन्सारदर बढाउँदा राजस्व संकलन बढेको हो ।


सुनचाँदी तथा हीराको आयातबाट सरकारले आर्थिक वर्ष २०६८/६९ मा ९८ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । आर्थिक वर्ष २०६७/६८ मा ४२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।


सरकारले आव २०६८/६९ मा सुनबाट मात्र ८१ करोड ८० लाख रुपैयाँ राजस्व उठाएको छ । सो वर्ष आयात भएको ५ हजार ९ सय किलो सुनबाट सरकारले उक्त राजस्व संकलन गरेको हो । त्यसैगरी चाँदीबाट १६ करोड र हीराबाट भने ३४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।


“सरकारले भन्सारदर बढाएको र आयातसमेत बढेका कारण भन्सार महसुल बढेको हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने ।


गत आवमा भन्सार महसुलकै कारण ९ महिनामात्र आयात भएको थियो । यस आवमा भने पूरै समय सुन आयात भएको छ ।
गत आवमा ८ महिना दैनिक १५ किलो तथा ४ महिना २० किलो आयात भएको थियो । गतवर्षदेखि सुनको भाउ क्रमशः उकालो लागे पनि बिक्री नघटेकाले सुनको आयात बढेकाले राजस्व संकलन बढेको हो । सरकारले भने सुनलाई अनुत्पादक भन्दै यसको आयात निरुत्साहित गर्न भन्सारदर बढाउँदै लगेको छ ।


दुई वर्षको बीचमा सुनको भन्सारदर चारपटक बढिसकेको छ ।  दुई वर्षअघि नेपालमा सुनको भन्सारदर कम हुँदा बजारभाउ भारतको तुलनामा कम भई एकै वर्ष ४१ अर्वको सुन आयात भएको थियो । यसले देशको व्यापारघाटा बढाए पछि चैत १९ मा विधेयकमार्फत सुनको भन्सारदर प्रति १० ग्राम १ सय ३० बाट बढाएर ४ सय ७० रुपैयाँ पु¥याएको थियो । त्यसपछि मंसिरमा भन्सारदर १ हजार पु¥याएको थियो ।


गत आवको बजेटबाट सुनको भन्सारदर १ हजार ५ सय पु¥याएको सरकारले ६ महिनाअघि २ हजार ३ सय पु¥याएको छ ।
यसैगरी दुई वर्षअघि प्रतिकिलो ४ सय रुपैयाँ रहेको चाँदीको भन्सारदर पनि ४ पटक समायोजन भइसकेको छ । हाल सरकारले चाँदीमा प्रतिकिलो ४ हजार ६ सय रुपैयाँ भन्सार महसुल लिने गरेको छ । हीरामा भने आयात मूल्यमा १ प्रतिशत भन्सार लिने गरेको छ ।

Saturday, July 21, 2012

हीराका गहनाको आकर्षण घट्यो

आयातमा ३८ प्रतिशत गिरावट

काठमाडौं, ३ साउन 
मूल्य उच्च भएपछि हीराका गहनाप्रति नेपालीको आकर्षण घटेको छ । बिक्रीमा कमी आएपछि हीराको आयात ३८ प्रतिशतले घटेको छ ।


आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८ सय ३९ क्यारेट हीरा आयात भएकामा २०६८÷०६९ मा ३८ प्रतिशत कमी भई १३ हजार ४९ क्यारेट मात्र आयात भएको भन्सार विभागले जनाएको छ  । विभागका अनुसार गत आवमा नेपालीले ३४ करोड ७६ लाख रुपैयाँको हीराका गहनाको उपभोग गरेका छन् । यो अघिल्लो आवको तुलनामा १८ प्रतिशत कम हो । अघिल्लो आवमा ४२ करोड ११ लाख रुपैयाँको हीरा खपत भएको थियो ।


“एक वर्षमा हीराको मूल्य ३५ प्रतिशतसम्म महँगो भएको छ,” नेपाल रत्न तथा आभूषण संघका महासचिव तथा इको डिजाइन ज्वेलरीका सञ्चालक सुमनमान ताम्राकारले भने, “यसले गर्दा पनि नेपालमा पछिल्लो वर्ष हीराको बिक्री घटेको छ ।”


सुनका गहनाको तुलनामा हीराको उपयोग कम हुने भएकाले मूल्य उच्च हुँदा सुनको आयात बढे पनि हिराको भने घटेको हो । गत वर्ष सुनको आयात भने दोब्बर बढेको छ ।


“नेपाली समाजमा शुभकार्यमा सुनको प्रयोग अनिवार्य भएकाले मूल्य बढे पनि यसको आयात बढेको हो,” ताम्राकारले भने । सुनलाई गहनाका साथै लगानीका रूपमा समेत खरिद गरिने, तर हीरा भने गहनाका रूपमा किन्ने प्रचलन रहेकाले यसको बिक्री बढ्न नसकेको उनले बताए ।

Thursday, June 28, 2012

सर्वसाधारणको पहुँचबाहिर सुन



“वर्षभरिको कमाईले एक तोला सुन किन्नसमेत पुग्दैन,” बानेश्वरको एक सुन पसलमा भेटिएका धितालले भने । पाँच वर्षअघि श्रीमतीलाई किनिदिएको गहनाबाट गर्जो टार्ने उनले आफ्नो योजना सुनाए ।

केशवको यो पीडा आमसर्वसाधारण नेपालीको पीडा हो । पछिल्ला केही वर्षमा सुनको मूल्य लगातार उकालो लागेपछि सुन आम नेपालीको पहुँचभन्दा बाहिर पुगेको छ । हिन्दु धर्मालम्बीको जन्मदेखि मृत्यु संस्कारसम्मका कार्यमा सुन अनिवार्य मानिन्छ । सुनको भाउ अत्यधिक बढ्दा सर्वसाधारण नेपाली मारमा परेका छन् ।

काठमाडौं, १३  असार- नयाँबानेश्वरका केशव धिताल छोराको बिहेको तयारी छन् । तर, यसैबेला सुनको भाउ अकासिएपछि उनी पुराना गहना गालेर नयाँ बनाउने योजनामा छन् ।

नेपालीको वार्षिक सरदर आय ५० हजारभन्दा कम छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै नेपालमा सुन तोलाको ६० हजार नजिक पुगेको छ । यस हिसाबले हेर्दा सर्वसाधारण नेपालीको वर्षभरिको कमाइले एक तोला सुन किन्न नसक्नेस्थिति भइसकेको छ ।

Monday, June 04, 2012

सुनको भाउमा नयाँ रेकर्ड


एकैदिन १६ सय बढ्यो

 काठमाडौं, २१ जेठ - नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

अन्तर्राष्ट्रिय सुन बजारमा भएको वृद्धिसँगै नेपालमा आइतबार एकैदिन सुन १ हजार ६ सय रुपैयाँ महँगो भई प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार डलरको सटहीदर घटेपछि सुनको भाउ पनि घट्ने अपेक्षा गरिए पनि अन्तर्राष्ट्रिय बजार एक्कासि वृद्वि भएपछि नेपालमा पनि नयाँ उचाइमा पुगेको हो ।

“आइतबार कारोबार भएको भाउ हालसम्मकै ऐतिहासिक रेकर्ड हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा एकैदिन ७० डलर महँगो भएपछि नेपाली बजारमा एकैदिन उच्च वृद्धि भयो ।”

यसअघि गत वैशाख २२ गते सुनको भाउले प्रतितोला ५६ हजार रुपैयाँको रेकर्ड कायम गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द हुँदा सुन ७० डलर महँगो भएको थियो । आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुने भएकाले संघले शुक्रबारको अन्तिम मूल्यका आधारमा नेपालमा आइतबारका लागि मूल्य  निर्धारण गरको थियो ।

शुक्रबारको नेपालमा भाउ निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ५ सय ५४ डलर कायम थियो । बजार बन्द हुँदा भने सुनको १ हजार ६ सय २४ डलर कायम भएपछि सोही आधारमा आइतबारको नेपाली बजारमा तय भएको हो ।

आइतबार सुनको भाउ ९ सय ६० भारु महँगो भईप्रति १० ग्राम ३० हजार भारु पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समयमा भारतीय मुद्राको समेत घटिरहेकाले सुनको भाउमा असर गरिरहेको विश्लेषकहरू बताउँछन् ।

अमेरिकी सरकारले बेरोजगारीदर बढेको तथ्यांक सार्वजनिक गरेपछि डलर कमजोर भई सुनको भाउ उच्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् । यससँगै डलरको भाउ कमजोर भएको र लगानीकर्ता सुनतर्फ लागेकाले भाउ एक्कासि महँगो भएको बताइएको छ । यस्तै युरोजोनको आर्थिक संकट गहिरिंदै गएकाले पनि सुनको भाउ बढिरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गत मंसिरमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १ हजार ९ सय डलरसम्म पुगेको थियो । केही समययता १ हजार ५ सय डलर वरपर रहेको सुन आइतबार एक्कासि बढेको हो । आर्थिक संकट बढ्दै गएकाले केही अर्थशास्त्रीहरूले सन् २०१२ भित्रैमा सुनको भाउ २ हजार डलर नाघ्न सक्ने अनुमान गरेका छन् ।
विश्वव्यापी आर्थिक संकटमा पनि लगानीकर्ताले सुनलाई सुरक्षित लगानी क्षेत्रको रूपमा लिँदै आएका छन् ।

यसैगरी चाँदीको भाउ पनि शुक्रबारको तुलनामा प्रतितोला २० रुपैयाँ महँगो भएको छ । शुक्रबार प्रतितोला १ हजार ३५ रुपैयाँ रहेको चाँदी महँगो भई आइतबार १ हजार ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको संघले जनाएको छ ।

Monday, April 23, 2012

भन्सार नबढ्दा सुनमा दैनिक २० लाख राजस्व घाटा छ

२०२२ सालमा एसएलसी पास गरेपछि आफ्नै पसलमा सुनचाँदीको कालिगढीको काम गर्ने तजरत्न शाक्य विगत ११ वर्षदेखि नेपाल सुनचाँदी व्यवसायी संघको अध्यक्ष छन् । त्रिभुवन विश्वविद्यालयबाट २०२७ मा व्यवस्थापनमा स्नातक गरेका शाक्य त्यसै वर्षदेखि पूर्ण रूपले सुनचाँदीको काममा खटिएका छन् । सानो छँदा घण्टाकर्णको समयमा काम गरेबापत पैसा आउने लोभमा काम सुरु गरेको उनी अन्ततः यसै व्यवसायमा पूर्ण रूपले क्रियाशील रहे । २०५८ बाट लगातार चौथो कार्यकाल अध्यक्ष रहेका उनी पछिल्लो समयमा खुलेका सुनचाँदीसँग सम्बन्धित सबै संस्थालाई एकीकृत गरी महासंघ बनाउने अभियानमा लागेका छन् । एक वर्षभित्र सबै समेटेर महासंघ बनाउने लक्ष्यसहित अघि बढेका शाक्य केही समययता भन्सार दरका कारण नेपालमा भन्दा भारतमा सुन महँगो भएकाले झन्डै आयातित सुनमध्ये आधा भारत नै गएको हुन सक्ने बताउँछन् ।
 

तेजरत्न शाक्य
अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी संघ

दैनिक २० किलो आयात भइरहेको छ । बजारमा पनि अभाव छ भनिन्छ, यति धेरै सुन कहाँ खपत भइरहेको छ ?
नेपाल सुनचाँदी व्यवसायी संघले २०६७ वैशाखमा गरेको अध्ययनमा देशभर दैनिक औसत ३५ किलो सुन आवश्यक पर्ने देखिएको छ । विवाहको मौसम वैशाख, जेठ, असार, मंसिर, माघ तथा फागुनमा र तीज, दसैं, तिहारजस्ता मुख्य चाडबाडको समयमा अझ सुनको माग बढी रहेको पाइन्छ । तर, हाल दैनिक २० किलो मात्र आयत भएको छ । त्यो पनि फागुनदेखि मात्र ५ किलो कोटा बढेको हो । यसअघि त अझ १५ किलो थियो ।
सुनको भाउ अकासिएसँगै आममानिसको पहुँच सुनमा छैन । नेपालीको वार्षिक आय ४४ हजार छ । तर, सुन तोलाको ५५ हजार हाराहारीमा छ । यसको प्रत्यक्ष असरका रूपमा गरगहनाको बिक्री घटिरहेको छ । तर, आयातित सुन कता गयो र कसरी खपत भइरहेको छ भन्ने रहस्यमय नै छ ।

आखिर सुन व्यवसायीहरूमार्फत नै बजारमा जाने हो । अनि तपाईंहरूलाई थाहा हुँदैन त सुन कहाँ खपत भईरहेको छ ?
पछिल्लो तथ्याङ्कहरूलाई हेर्दा सुन नेपालमा खपत मात्र भएको छैन, चुहावट पनि भएको छ । दुई वर्षअगाडि भारतमा सुनको भन्सारदर प्रति १० ग्राम ३ सय भारतीय रुपैयाँ (भारु) हँुदा नेपालमा प्रति १० ग्राम १ सय ३० रुपैयाँमात्र थियो । भन्सारका कारण ठूलो परिणाममा सुन आयात भई भारततिर निकासी भयो । यसको प्रत्यक्ष असर शोधनान्तर घाटामा देखियो । त्यसपछि सरकारले आयात नियन्त्रण गर्ने प्रयास सुरु ग¥यो । नेपाल राष्ट्र बैंकले कार्यविधि लागू गर्दा राजनीति गरेर सुनचाँदी व्यवसायीहरूको व्यवसायीक संरचनालाई ध्वस्त बनायो । सुन बिक्री गर्ने थोक विक्रेताको भूमिका हटाइदियो भने अध्ययन नै नगरी कोटा प्रणाली पनि लागू ग¥यो । यसले सुन बाँडिँदा पनि समस्या देखिएको हो ।
तीन महिनादेखि बजारमा सुन अभाव छ । गत मार्चमा भारतले भन्सार दर वृद्धि गरी ५ सय ४० भारुबाट १ हजार ८० पु¥यायो । यसले नेपालमा भन्दा भारतमा २ सय २८ रुपैयाँ सुन महँगो भयो । भारतमा मूल्य बढी आउँदा सुन भारततिर गएकाले नेपालमा भने यसको अभाव देखियो । सुनचाँदी व्यवसायी संघले भन्सारदर समायोजन गरी १ हजार ५ सय बाट २ हजार ५ सय रुपैयाँ बनाउन आग्रह गरिरहेको छ । तर, अझै भन्सारदर समायोजन भएको छैन । यसले सुनको अवैध कारोबारलाई प्रस्रय दिइरहेको छ ।
एक किलो सुन ५० लाखमा किनेर नेपाली बजारमा बिक्री गर्दा पनि ४०÷४५ हजार फाइदा हुन्छ । त्यो सुन भारत लैजाँदा भने १ लाखभन्दा धेरै नाफा हुन्छ । हुन्डीको भाउ पनि बढेको र नेपालमा भारुको अभावका कारणले भारुका लागि सुन त्यसतर्फ गइरहेको छ । ठूला भारतीय र नेपाली व्यापारीको मिलेमतोमा यस्तो चलखेल भइरहेको छ ।
सुनचाँदी व्यापारीले मात्र प्रतिव्यवसायी १ किलोसम्म बिक्री गर्न पाउने व्यवस्था छ । यस्तो अवस्थामा सीमित व्यापारीले कसरी चलखेल गर्न सक्छन् ?
राष्ट्र बैंकको व्यवस्थाअनुसार सुनचाँदी व्यवसायीले मात्र सुन पाउँछन् । तर, सुनचाँदी व्यवसायीकै केही संगठनले गरैव्यवसायीलाई पनि सदस्यता दिएकाले समस्या भएको छ । बैंकहरूले त कम्पनीको कागजात हेरेरै सुन दिने हो । उनीहरूले संस्थाको वैधानिकता मात्र हेर्छन् । अर्कोतिर बैंकहरूको सुन बिक्री प्रणाली पनि पारदर्शी छैन । बैंकहरूमा पनि ‘सोर्सफोर्स’का आधारमा सुन पाउन सक्ने स्थिती विद्यमान छ । ठूला व्यापारीले धेरै सुन उठाएर केही बजारमा पठाउने बाँकी भारततिर अवैध रूपमा पठाउने गरेका छन् । सामान्यतया ११ बजेसम्म बैंकहरूको फोन व्यस्त हुन्छ । तर, १२ बजे सुन सकियो भन्ने उत्तर बैंकहरूले दिन्छन् । यसबाट पनि सुन बिक्रीमा कहीँ न कहीँ समस्या छ भन्ने प्रस्ट हुन्छ । हालै सिटिजन्स बैंक इन्टरनेसनलले ‘अनलाइन’बाट सुन बिक्री गर्न थालेको छ । यसले बिक्री प्रणालीमा केही सुधार देखिए पनि अझै पारदर्शी नहुने सम्भावना छ ।

सुनचाँदी व्यवसायी नमिली त यो सम्भव छैन नि ?
नेपाली र भारतीय व्यापारी मिलेर चलखेल भइरहेको छ । सुनचाँदी व्यवसायीको संगठनमा आबद्ध नभई सुन पाइँदैन । तर, केही संगठनले भारतीय व्यवसायीलाई पनि सदस्यता दिएकाले समस्या आएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले नेपाली नागरिक नभई व्यवसायीको सदस्यता दिएको छैन । संघले जिल्ला शाखालाई पनि वास्तविक व्यापारीलाई मात्र सदस्यता दिन निर्देशन दिएको छ ।
सुनको चोरी पैठारीको उपयुक्त नियन्त्रण कसरी हुनसक्छ ?
अहिलेको मुख्य समस्या भन्सारदरको अन्तर हो । चुहिने ठाउँ देखिएपछि त्यसलाई टाल्नुपर्छ । भन्सार बढाए सुन भारत जान सक्दैन । यसले सरकारी राजस्व पनि बढ्छ । अहिले सुनको भन्सार नबढाउँदा दैनिक २० लाख राजश्व सरकारलाई घाटा भइरहेको छ । नेपालमा २० किलो सुन दैनिक ल्याउने प्रावधान छ । प्रति १० ग्राम १ हजार भन्सार दर बढ्दा २० किलोमा २० लाख रुपैयाँ भन्सार घटिरहेको छ । सम्बन्धित निकायले सयबारे समयमै सोचेर भन्सारदर बढाएमा राजस्व मात्र बढ्दैन सुनको अवैध कारोबार रोकिन गई शोधनान्तर बचतलाई सघाउ पु¥याउँछ । त्यसैगरी ओजीएल (ओपन जनरल लाइसेन्स) प्रणालीमार्फत बैंकसँगै व्यवसायीलाई पनि आयात गर्न दिनुपर्छ । यसले प्रतिस्पर्धा भई बजार सहज हुन्छ । नेपालको आन्तरिक बजारलाई आवश्यक परिमाणमा बन्देज लगाउनु हुँदैन । भन्सार दर बढाएर सुन व्यवसायीहरूलाई पनि आयात गर्न दिने हो भने धेरै समस्या आफँै हल हुन्छ । सुनचाँदी व्यवसायी संघले मात्र सुनको भन्सार बढाउन दबाब दिइरहेको छ ।
अहिले कति सुन भारत गइरहेको होला ? तपाईंहरूको अनुमान के छ ?
बजार बुझ्दा र साथीहरूको कुरा सुन्दा कुल आयातमध्ये २५ देखि ५० प्रतिशत सुन भारततर्फ गइरहेको छ ।
महँगो पहेंलो धातु कहिलेसम्म अत्यावश्यक वस्तु भनेर आयात गरिरहने ?
धार्मिक कारणले नेपालीका लागि जन्मदेखि मृत्यु संस्कारसम्म सुन आवश्यक हुन्छ । २०६२ सालभन्दा अगाडि आयातित सुनमध्ये ९५ प्रतिशत गरगहना बनाउन प्रयोग हुन्थ्यो । सुन नेपालीका लागि सुखमा लगाउने गरगहना र दुःखमा गर्जो टार्ने साधन हो । आपत्कालीन अवस्थामा छिटै नगदमा बदल्न सकिने भएकाले सुनप्रति आकर्षण बढ्दै गएको छ । तर, २०६२ पछि लगानीका अन्य क्षेत्रहरू घटे । सेयरबजार ओरालो लाग्यो । दसैं–तिहारमा समेत पर्याप्त रकम दिन नसक्दा बैंक तथा वित्तीय संस्थाप्रतिको जनमानसमा विश्वास घट्यो । त्यसैगरी घरजग्गाको कारोबार पनि ओरालो लाग्यो । मजदुर र विद्युत्लगायतका समस्याले उद्योगधन्दा धराशायी भयो । सुरक्षित लगानीका रूपमा सुनमा लगानी बढ्न थालेको छ ।

पछिल्लो समय नेपालमा मात्र होइन, विश्वमै सुनको लगानीमा आकर्षण बढिरहेको छ । २००१ सेप्टेम्बरमा अमेरिकामा भएको ‘ट्विन टावर’ आक्रमणपछि डलर कमजोर भएसँगै बैंकहरूले आफ्नो सञ्चित कोषमा सुन खरिद र सञ्चय गर्न लागे । यसले सुनको माग ह्वात्तै बढायो । युरोपेली देशले समेत आर्थिक संकट टार्न सुन प्रयोग गरे भने नेपालजस्तो देशमा आकर्षण नहुने कुरै भएन ।

हाल नेपालमा ३० प्रतिशत सुन लगानीका रूपमा र गहनाका लागि ७० प्रतिशत खपत हुन्छ । रेमिट्यान्समार्फत आएको रकम पनि बचत र अप्ठेरोमा गर्जो टार्न सुन किन्न प्रयोग भएको छ । प्रजातन्त्रमा व्यक्तिगत सम्पत्ति राख्न पाउनु मौलिक अधिकार हो । त्यसैले एक–दुई तोला सुन खरिदका लागि नियन्त्रण गर्न मिल्दैन ।
ढिक्का सुन बेच्न नपाइने व्यवस्था गरे पनि कारोबार त भइरहेकै छ नि ?
राष्ट्र बैंकले सुन गरगहना बनाएर मात्र बेच्नुपर्ने व्यवस्था गरेको छ । तर, यो अव्यावहारिक भएकाले लागू हुन सकेको छैन । व्यापारीले आफ्ना ग्राहकलाई चिनजानका आधारमा दिनुपर्छ । यस्तो कुरा नीति नियम बनाउनु अघि नै सोच्नुपथ्र्यो । किलोका किलो सुन किन्ने प्रवृत्तिलाई अरू कुनै कानुनबाट नियन्त्रण गर्नुपर्छ । एक–दुई तोला सुन किन्न नपाउने व्यवस्था भने अव्यावहारिक नै हो ।
सुनचाँदी व्यवसायी आफैं सुन धितो राखेर गैरकानुनी रूपमा ऋण दिने गर्छन् नि ?
कानुन पल्टाएर हेर्दा त यो गैरकानुनी हो । तर, सुनचाँदी व्यवसायमा परम्परागत रूपमै यस्तो काम हुँदै आएको छ । धितो लिने र ऋण दिने व्यवस्थाको जन्मदाता नै सुनचाँदी व्यवसायी हुन् । पसलमा कारोबार गर्न सजिलो भएका कारण अझै पनि गाउँघरमा यो प्रचलन कायम छ । यसलाई क्रमशः घटाउँदै लैजानुपर्छ ।
चार–पाँच वर्षअगाडि वाणिज्य विभागले परिपत्र जारी गरी बैंकिङ कारोबार गर्नेलाई बैंकिङ प्रणालीमा जान अनुरोध गरेको थियो । त्यतिबेला देखिनै संघले आफ्ना सदस्यलाई जानकारी र सचेत गराउँदै आएको छ । संघले हरेक वर्ष सूचनामार्फत यस्तो काम नगर्न आग्रह गर्दै आएको छ । अहले बैंक तथा वित्तीय संस्था बढेपछि यो काम घट्दै गएको त छ तर निमिट्यान्न भएको छैन । बैंकहरूले पनि सुन धितो कर्जा सुरु गरिसकेका छन् ।

विगतका घटनाक्रम हेर्दा सुनचाँदी व्यवसायी बढी असुरक्षित देखिएका छन् । यसको कारण के हो र सुरक्षा विधि कसरी तय गर्नुभएको छ ?
सुनको मूल्य बढेपछि सुनचाँदी व्यवसायी चौतर्फी घेराबन्दीमा परेका छन् । एकातिर भाउ बढेपछि ग्राहकले सुन किन्न नसक्दा व्यापार घटेको छ भने अर्कातर्फ सुन महँगो भएकाले अपराधीको निसानामा परेका छौं । एक तोलाको सिक्री लुट्ने बित्तिकै ५० हजार आउने भएपछि लुटेराहरू पनि यसतर्फ आकर्षित भएका छन् । सुन चोरी, डकैती हुँदै आजकाल गिरोह बनाएर नै सुनचाँदी व्यवसायीलाई लक्षित बनाएर अपराध हुन थालेका छन् । केही समयअघि पुल्चोकको घटनापछि प्रहरी प्रशासनले पनि केही तदारूकता देखाएको छ । व्यवसायी र प्रहरीबीच पारस्पारिक सम्बन्ध बढेको छ र सूचना आदानप्रदान भइरहेको छ । यसबाहेक संघले व्यावसायिक फर्महरूलाई आफ्नो कमाइको केही प्रतिशत सुरक्षामा खर्च गर्न आग्रह गरेको छ ।
बिमा गरेर सुरक्षित रहने विधि उपयोग भएको त देखिँदैन । किन ?
यसबारे संघले अध्ययन गरेको हो । तर, नेपालमा सुनचाँदी व्यवसायीले बिमाशुल्क महँगो भएको अनुभव गरेकाले त्यसतर्फ खासै चासो दिएका छैनन् । यो व्यवसायमा धेरै न्यून र मध्यमवर्ग संलग्न छन् । पछिल्लो समयमा भारतीयहरूले करोडांै लगानीमा पसल खोलेका हुन् । एउटा आरन र चिम्टा लिएर काम सुरु गर्ने नेपालीहरू यद्यपि छन् । पहिलेका व्यवसायीहरू ग्राहकले ल्याएको सुनबाट गहना बनाएर ज्याला खाएर बस्ने गर्थे । अब अवस्था परिवर्तन भएको छ । प्रतिस्पर्धाका कारण तयारी (रेडिमेट) गहना आवश्यक भएकाले केही पुँजी नलगाई व्यवसाय सुरु गर्ने स्थिति छैन । प्रदर्शनी गरेर राख्नुपरेकाले आपराधिक व्यक्तिको निशानामा सुन व्यवसायी पर्न थालेका छन् । ५० लाख रुपैयाँको बिमा गर्दा ४०–५० हजार बिमाशुल्क तिर्नुपर्छ । जुन अहिलेकै व्यवसायमा सम्भव छैन । तर, सुपरमार्केटका ठूलठूला पसलले बिमा गर्न सुरु गरिसकेका छन् । बिस्तारै बिमाको विकल्प नहुने स्थिति बन्दै गएको छ ।
संघले तोकेको भाउअनुसार बिक्री गर्नुपर्छ । तर, प्रचारप्रसार हेर्दा त त्यो सम्भव देखिँदैन । ठूला पसलहरूको वास्तविकता के हो ?
अहिले अन्तर्राष्ट्रिय बजारमा विनियम दरले गुणन गरी त्यसमा भन्सार तथा बैंक र व्यापारीको १–१ प्रतिशत नाफा जोडेर बजारभाउ तय गरिन्छ । त्यही आधारमा सबै व्यवसायीले कारोबार गर्नुपर्छ । थोरै मार्जिन हुने सुनजस्तो व्यवसायमा ठूला पसलले कसरी खर्च धानेका छन्, रहस्यमय छ । यसबारेमा उपभोक्ता आफंै सचेत हुनुपर्छ । कसैले अनावश्यक लाभ देखायो भने त्यो सम्भव छैन । त्यसमा गडबडी छ भनेर बुझ्नुपर्छ । एक तोला सुनमा २ हजार १ सय रुपैयाँ छुट या दुई तोला चाँदी भनेर विज्ञापन पनि देखियो तर यो सम्भव छैन भनेर हामीले उपभोक्तालाई सचेत गराएका छौं ।
सुनचाँदी ‘डबल वे ट्राफिक’ हो । संघले तोकेको भाउमा बेच्ने मात्र होइन किन्नु पनि पर्छ । धेरै लोभ देखायो भने त्यसमा गुणस्तरीयता हुँदैन भनेर बुझ्नुपर्छ । गरगहना बेच्दा १० प्रतिशतभन्दा थोरै बढी रसायन कटौती ग¥यो भने त्यसमा गडबड छ भनेर बुझ्नुपर्छ ।