Saturday, November 02, 2013

बजारको माग पूरा गर्न नसक्दा सरकारले करोडौं राजस्व गुमाइरहेको छ


चाडबाडका बेला सरकारले सुनको दैनिक आयात कोटा बढाएर २० किलो पु¥याएको छ । तर, बजारमा अभाव भएको भन्दै व्यवसायीले तोकिएको भन्दा तोलामा १५ सय रुपैयाँसम्म बढी लिएर बेचिरहेका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य भने तिहारको सिजनमा ४० किलोसम्म माग रहे पनि त्यसअनुसार आपूर्ति नभएकाले बजारमा कालोबजारी भइरहेको बताउँछन् ।
बजारमा अवैध सुनसमेत रहेकाले उनी त्यस्तो सुन नकिन्न र महासंघलाई प्रमाणसहित जानकारी गराउन आग्रह गर्छन् । सरकारले पर्याप्त मात्रामा आयात नगर्दा भइरहेको अवैध सुन कारोबारबाट दैनिक करोडौं राजस्व गुमिरहेको उनी बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी संघबाट हालैमात्र महासंघ बनेपछि तदर्थ समिति हुँदै पहिलो निर्वाचित अध्यक्ष बनेका शाक्यसँग सुनचाँदीको आयात र वितरण व्यवस्थित गर्नेदेखि सुन बजारलाई नियमन गर्न गोल्ड काउन्सिल गठन गर्नेसम्मको योजना छ । पुख्र्याैली पेसा पछ्याउँदै गरगहना कारोबारमा लागेका उनी ०३८ सालदेखि पूर्ण रूपमा सुनचाँदी व्यवसायमा छन् । 

दैनिक २० किलो सुन आयात भइरहेको छ तर व्यापारीहरू सधैं अभाव छ मात्र भन्छन् । आखिर सुन कहाँ गइरहेको छ ?
नेपालमा चाडपर्व र विवाह तथा व्रतबन्धका बेला दैनिक ३५ किलो सुन आवश्यक हुन्छ । कहिलेकाहीँ त बजारको माग ५० किलो नाघ्छ । यति हुँदाहुँदै पनि सरकारले सामान्य समयमा १५ किलो र सिजनमा २० किलो आपूर्ति गर्दै आएको छ । यो आवश्यक्ताभन्दा धेरै कम हो । १० वर्षअघिको खपतअनुसार अहिले जनसंख्या वृद्धि हेर्दा नेपालको माग ७५ किलो पुग्नुपर्ने हो तर सुनको महँगी, युवाहरूको विदेश पलायन, कालिगढको समस्या, लगानीमैत्री वातावरण अभावका कारण हाम्रो माग खासै बढ्न नसकेको अवस्थामा पनि सरकारले न्यून आपूर्ति गराउँदा सधैं अभाव भइरहेको छ ।
बजारको माग पूरा गर्न नसक्दा सरकारले करोडौं राजस्व गुमाइरहेको छ
मणिरत्न शाक्य अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ
दैनिक ४० किलो माग छ भन्ने आधार के छ त ?
नेपालमा १० हजार सुनचाँदी व्यवसायी छन् । तीमध्ये दिनको १ तोलादेखि लिएर १–डेढ किलोसम्म खपत गर्ने पसल पनि छन् । सबै व्यवसायीलाई बाँड्दा एउटाको भागमा १ आनामात्र पर्छ । १ आना सुन बाँडेर बजार माग पूर्ति हुन्छ र ? हामीले ४८ वटामध्ये १० वटा जिल्ला संघलाई १ टुक्रा पनि सुन दिन सकेका छैनौं । हाम्रा जिल्ला शाखाहरूले दैनिक गरेको मागको रेकर्ड हामीसँग छ । सोही आधारमा हामीले यो कुरा गरिरहेका हौं ।
सुन नहुँदा व्यवसायीले पसल बन्द गर्नुपरेको स्थिति छ कि छैन ?
छिमेकी देशसँग सीमा जोडिएका जिल्लामा अवैध सुन भित्रिने गरेको सुन्छौं । त्यस्तो सुन केही उपत्यका पनि आइपुगेको हल्ला मैले पनि सुनेको हुँ । अहिले तिहारका बेला बजारमा सुन नपाएको र केही व्यवसायीले तोलामा १५ सयसम्म बढी लिएको गुनासो आएको छ । अभाव हुँदा तिहारका लागि अर्डर लिएको सुन दिन गाह्रो भएको छ । मैले व्यवसायीलाई बढी रकम नतिर्नुस्, यसले बजार बिगार्छ भनेको छु । अहिले केही व्यवसायीले तीजमा फिर्ता आएको सुन स्टकमा राखेका छन् । त्यसबाहेक बजारमा ‘अर्को’ सुन पनि २–४ हजार बढी तिरेर पाइन्छ रे ! त्यो सुन के हो, तपाईंलाई पनि थाहा छ । यो बेला हामीले राष्ट्र बैंकलाई आयात कोटा दैनिक ४० किलो नसके पनि २५–३० किलो बनाउन आग्रह गरेका छौं, तर मानेको छैन । यसले गर्दा तस्करी मौलाएको छ । अहिले सरकारले १ किलो सुनमा ५ लाख २० हजार रुपैयाँ राजस्व उठाउँछ । त्यसबाहेक व्यवसायीले कारोबारबाट तिर्ने अन्य राजस्व पनि छ । बजारको माग पूरा गर्न नसक्दा सरकारले करोडौं राजस्व गुमाइरहेको छ ।
वितरण प्रणाली व्यवस्थित नभएको हो कि ?
बैंकको २० किलो सुन पनि गैरव्यवसायीले पाएका छन् कि भन्ने आशंकासमेत छ । यसलाई व्यवस्थित गर्न हामी सुनचाँदीका दुवै महासंघ मिलेर एउटै बास्केटमा राखी वितरण गर्ने सोचमा छौं । गभर्नरसँग पनि यसबारे कुरा गर्दा उहाँले ‘वास्तविक बजार माग कति हो, प्रमाणसहित दिनुस्, आवश्यक व्यवस्था मिलाउँछु’ भन्नुभएको छ । यसका लागि हामीले सबै जिल्लाबाट विवरण संकलन गरिरहेका छौं । यसबाट अहिलेको आपूर्ति असन्तुलन वितरण प्रणालीमा सुधार आउँछ भन्ने हाम्रो अपेक्षा छ ।
आफूले तोकेको भाउभन्दा महँगोमा कारोबार भइरहेका बेला महासंघले के गरिरहेको छ त ?
राज्य, व्यवसायी, उपभोक्ता ठगिइरहेका छन् । महासंघले भाउ राख्ने र कार्यान्वयन गर्ने हो । तस्करी नियन्त्रण गर्ने काम सरकारको हो । सरकारी अनुगमन टोलीजस्तै अनुगमन र कारबाही गर्न सक्ने अधिकार हामीलाई छैन । तोकेको भन्दा बढीमा कारोबार भएको भेटे कारबाहीका लागि सिफारिस गर्छाैं । तर, हामीले अनुगमनमा त्यस्तो भेटेका छैनौं । हामीले सोध्दा सुन छैन भन्छन् र १–२ महिना कुर्न नसक्नेलाई बढीमा बेच्छन् । किन्ने व्यक्ति पनि प्रमाण लिएर महासंघ आए कारबाही अगाडि बढाउँछौं । ८–९ महिनाअघि खोजिनिती गरेर कारबाही गर्न प्रहरीलाई सिफारिससमेत गरेका थियौं । महासंघ चुप लागेर बसेको छैन ।
४ महिनाअघि सुनचाँदी अनुगमन कार्यविधि बनाएर व्यवस्थित बनाउने सहमति भएको थियो, कार्यविधि बनाउने समितिमा व्यवसायी पछि छन् तर अहिलेसम्म आउन सकेन त ! किन ?
कार्यविधि मस्यौदा समिति सेलाएको हामीले पनि महसुस गरेका छौं । १० दिनको आन्दोलनपछि सरकारले १५ दिनभित्र मापदण्ड बनाउने गरी ५ जना सरकारी र २ वटा महासंघबाट २–२ जना गरी जम्मा ९ जनाको समिति बनाएको हो । हामीले पहिल्यै मापदण्डको खाका दिइसकेकाले काम छिटो हुन्छ भन्ने अपेक्षा थियो तर ४ महिनाको अवधिमा ४ पटकमात्र बैठक बस्यो । मापदण्डको काम ८० प्रतिशत पुगेको छ । अब एउटा बैठक बसेपछि सहमति होला ।
अहिले मुख्य गरी जर्तीमा कुरा मिलेको छैन । वाणिज्य विभागले सुनमा २ र चाँदीमा ४ प्रतिशत जर्ती राख्ने कुरा अगाडि ल्यायो । तर, हामीले न्यूनतम १ देखि सुनमा १५ प्रतिशतसम्म माग गरिरहेका छौं । अहिले गहनाको डिजाइनअनुसार १, ८ र १० प्रतिशत जर्ती राख्ने सहमति भएको हो । हामी त जतिबेला पनि काम गर्न तयार छौं, जुनसुकै बेला बोलाओस्, काम गर्छौं । मुख्य कुरा त सरकारले नै तत्परता देखाउनुपर्छ ।
त्यसो भए सरकारको अनुगमनमा महासंघले किन विरोध ग¥यो ?
हामी कहिल्यै अनुगमनको विरोधी होइनौं । निरन्तर भइराख्नुपर्छ भनिरहेका छौं तर नियम, कानुन नै नबनाई सरकारले एक्कासि व्यवसायीलाई बदनाम गराउने हिसाबले अनुगमन गरेकोमा मात्र हामीले विरोध गरेका हौं । सरकारले निश्चित मापदण्ड बनाओस्, त्यसपछि मापदण्डअनुसार नचल्नेलाई कारबाही चलाउन हामी आफैं अगाडि बढ्छौं । तर, १ प्रतिशत व्यवसायीले सानो गल्ती गरे भन्दैमा ९९ प्रतिशतलाई बजारबाट हटाउन मिल्दैन । १ कर्मचारीले घूस लिएको भेटिए सबै कर्मचारीलाई बदनाम गराउने कुरा आउँदैन । हाम्रो विरोध त्यत्ति हो । यहाँ तिलको दाना जस्तो कुरालाई लिएर ठूलो बनाइएको मात्र हो ।
गल्ती गर्ने व्यवसायीलाई कारबाही नगर्न दबाब दिएर विकृतिलाई संरक्षण गर्नतिर लाग्नुभयो, होइन ?
कुन नियमअन्तर्गतको कारबाही ? नियम हुनु परेन ? एउटा झिँगो च्यापिएर मरेको छ, कस्तुरी मृग मारेको सजाय दिएर हुन्छ ? ठूलो गल्ती गर्ने त्यत्तिकै उम्किएका छन्, सानो गल्ती गर्नेलाई ५ वर्षसम्म जेल बस्नुपर्ने मुद्दा लगाइएको छ । यसैमा हाम्रो विरोध हो ।
व्यवसायीका नेता नै कारबाहीमा परेकाले विरोध चर्किएको हो कि ?
व्यवसायीका पूर्वअध्यक्ष र साधारण सदस्यलाई फरक कारबाही हुनुपर्छ भन्ने होइन । नेताहरूमा सानो गल्तीलाई ठूलो इस्यु बनाउन सकिए व्यवसाय नै तहसनहस पार्न सकिन्छ भन्ने अदृश्य इगो देखियो । त्यसैले हामीले विरोध गरेका हौं ।
पछिल्लो समय सुन तस्करी बढेको, भारतबाट सामान आयात गर्दा भारु भुक्तानीमा सुन प्रयोग भएको कुरा आइरहेका छन् । वास्तविकता के हो ?
त्यो कुरा मैले पनि सुनको हुँ । अनौपचारिक रूपमा आएको सामानको भुक्तानीमा सुन प्रयोग भएको सुनेको छु । सरकार नै चनाखो हुनुपर्छ । सिमानामा सरकारी कर्मचारी के गरेर बस्छन् ? सुन कसरी वारपार भयो होला त ? सरकार गम्भीर हुने हो भने तस्करी सम्भव हुँदै हुँदैनथ्यो । हामी गरगहना बनाउन सुन नपाएर त्यसै बस्नुपर्ने, सुन उता जाने राम्रा होइन ।
अवैध कारोबारलाई सघाउने त व्यवसायी नै हुन् नि, होइन ?
त्यस्तो अवैध कारोबारमा लागेको छ भने त्यो व्यवसायी नै होइन । सुन तस्करीमा समातिएको मान्छे महासंघको कुन शाखामा सदस्य छ देखाउनुहोस् न ! तस्करीमा लाग्ने व्यक्ति बेग्लै तरिकारले कारोबार गर्छन् । त्यस्ता व्यक्ति त हामीकहाँ आबद्ध नै हुँदैनन् । स्वच्छ रूपमा कारोबार गरी त्यसबाट आउने  नाफाबाट चरण–चरण रूपमा अगाडि बढ्नेमात्र व्यवसायी हो ।
नेपालमा सुनचाँदीका गरगहना बनाउने ८० प्रतिशत कालिगढ भारतीय रहेको अवस्थामा नेपाली कालिगढ उत्पादन गर्न महासंघले सुरु गरेको प्रशिक्षण केन्द्रको प्रभाकारिताचाहिँ कस्तो छ ?
०५९ सालमा सरकारको सहयोगले नेपाली युवायुवतीलाई गरगहना बनाउने तालिम दिन सुरु गरेका थियौं । ६ वर्षको अवधिमा २ सय कालिगढ उत्पादन भए । त्यसपछि तालिम लिनेहरूले सरकारको सहयोगमा भएको भन्दै शुल्क नतिरेपछि रकम अभावले कार्यक्रम बन्द भयो ।
हालैमात्र जर्मन सहयोग नियोग (जीआईजेड)को सहयोगमा नयाँ प्रविधिका पूर्वाधारसहितको ट्रेनिङ सेन्टर फेरि सुरु गरेका छौं । त्यसमा बजारको मागअनुसार नै कोष बनाएर स्तरीय ट्रेनिङ गराउँछौं । अहिले गहना बनाउने तालिममा दोस्रो ब्याच सुरु हुँदैछ । २ सयभन्दा बढी सुन जाँचकी उत्पादन गरिसक्यौं । अब अरु नयाँ–नयाँ तालिमसमेत चलाउनेछौं । दक्ष नेपाली कालिगढ उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।

No comments: