Sunday, August 07, 2011

सुन तोलाको ५० हजार नाघ्ने

यादव हुमागाई
काठमाडौं, २१ साउन


दसैं–तिहारमा सुन किन्ने योजना बनाउनुभएको छ भने तपाईले बढी नै रकम छुट्ट्याउनुपर्नेछ । किनकि, अन्तर्राष्ट्रिय मूल्य लगातार उकालो लागिरहँदा एसियाली देशमा चाडपर्वका बेला सुन प्रतितोला ५० हजार रुपैयाँभन्दा बढी हुने अनुमान बजार विश्लेषकहरूले गरेका छन् ।
अहिले प्रतितोला ४६ हजार रुपैयाँ रहेको सुनका लागि चाडपर्व सुरु हुँदा ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने उनीहरूको आँकलन छ । चाडपर्व सुरु भएपछि एसियाली देशहरूमा माग बढ्ने हुँदा मूल्य पन िबढ्ने व्यवसायी बताउँछन् । दसैं–तिहारजस्ता चाडपर्वमा हिन्दू धर्मावलम्बीले सुनलगायत बहुमूल्य धातु किन्ने प्रचलन छ ।

“अन्तर्राष्ट्रिय बजार अस्वाभाविक रूपमा लगातार बढिरहेको छ,” नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्यले भने, “यही टे«न्ड हेर्दा दसैं–तिहारसम्ममा सुनको भाउ ५० हजार नाघ्नसक्छ ।” विश्लेषकरुले सन् २०१२ को जनवरीसम्ममा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय डलर नाघ्ने अनुमान गरेकाले त्यसको आधारमा नेपालमा भाउ ५० हजार कट्ने उनले बताए ।

सुनमा लगानीकर्ता आकर्षित भएकाले मूल्य बढिरहेको शाक्यको भनाइ छ । “सुनमा लगानी गर्न विभिन्न देशका केन्द्रीय बैंकदेखि सर्वसाधारणसम्म आकर्षित छन्,” उनले भने, “यसलाई अनुत्पादन क्षेत्र भन्दै नकारात्मक रहेका अर्थशास्त्रीसमेत सकारात्मक बन्दैछन् ।” हालै दक्षिण कोरिया र थाइल्यान्डका केन्द्रीय बैंकले ठूलो परिमाणमा सुन किनेको र चीनले समेत डलरको सञ्चिति घटाएर सुन किन्न लागेको सार्वजनिक भएपछि मूल्यमा प्रभाव परेको शाक्य बताउँछन् ।

एसियाली देशमा चाडपर्व सुरु हुँदा भाउ अझै बढ्न सक्ने सिटिजन बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत राजु नेपाल पनि बताउँछन् । “अहिले पनि मूल्य बढ्नुको एउटा कारण एसियाली देशमा माग बढेकाले हो,” उनले भने, “दसैं, तिहारको सिजन सुरु भएपछि माग वृद्धि भई भाउ अकासिनु स्वाभाविक हो ।”

पछिल्लो समय भारत, चीनलगायतका देशमा सर्वसाधारणको क्रयशक्ति बढेको र उनीहरू गरगहनामा आकर्षित भएका कारण माग र मूल्य बढेको उनको भनाइ छ ।

स्थानीय बजारमा एक महिनामा सुन तोलाको करिब ५ हजार महँगो भएको छ । असार २० गते ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा साउन २० गते सुनको भाउले ४६ हजार १ सय ५० रुपैयाँको रेकर्ड कायम गरेको छ ।

एक सातामै तोलाको १ हजार ५ सय रुपैयाँ महँगो भएको छ । आइतबार ४४ हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार ४६ हजार १ सय ४८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय भाउमा अत्यधिक उचारचढाव भएपछि बुधबार एकैदिन १ हजार ३ सय रुपैयाँ बढेको थियो भने दुईपटक मूल्य निर्धारण गरिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य एक महिनायता ७० डलर बढेको छ । असार २० गते प्रतिऔंस १ हजार ५ सय ९० डलरको हाराहारीमा रहेको सुन साउन २० मा आइपुग्दा १ हजार ६ सय ६० डलर पुगेको छ ।

विश्लेषकहरूले सन् २०११ को अन्त्यसम्ममा सुनको भाउ १ हजार ६ सय डलर पुग्ने अड्कल गरेका थिए । तर, उनीहरूको अड्कल आठ महिना नपुग्दै नाघिसकेको छ । बजार तीव्र गतिमा बढिरहेकाले १ हजार ७ सयको लक्ष्य पनि सयमसीमाअघि नै नाघ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुनको भाउ उचारचढावको प्रमुख कारण अमेरिकी अर्थतन्त्र हो । अमेरिकी ऋण संकटको त्रासका कारण यो साता सुनको भाउ उच्च बिन्दुमा पुगेको थियो । ऋण सीमा बढाउने प्रस्ताव संसद्बाट पारित भए पनि लगानीकर्ता यसप्रति ढुक्क हुन नसकेका कारण सुनको भाउमा सुधार हुन नसकेको एजेन्सीहरूले लेखेका छन् ।

“अमेरिका ऋणमा डुबेको छ भने युद्ध खर्च बढेको बढ्यै छ,” नेपालले भने, “यस्तो बेला लगानीकर्ताले सेयर र डलरभन्दा सुनलाई सुरक्षित मान्न थालेका छन् ।” अघिल्ला वर्ष युरोपेली देशमा केन्द्रीय बैंकले सुन बिक्री गर्ने भए पनि यसपटक नगरेकाले मूल्य बढ्न सघाएको दाबी उनले गरे । यही आधारमा बढिरहे सन् २०१२ को जनवरीसम्म १ हजार ७ सय डलर पुग्ने विश्लेषकको अड्कल अगाडि नै सही सावित हुने नेपालको भनाइ छ ।

No comments: