Saturday, November 02, 2013

एकाउन्टपेयी चेकबाट कारोबार बढ्यो

काठमाडौं, १४ कात्तिक - एकाउन्टपेयी चेक क्लियरिङ (राफसाफ) गर्न छिटो र सजिलो भएपछि चेकमार्फत कारोबार गर्ने क्रम बढ्न थालेको छ । १ सातादेखि महिनौं लाग्ने एकाउन्टपेयी चेक क्लियरिङ एकैदिनमा हुन थालेपछि सेवाग्राहीहरू यसतर्फ आकर्षित भएका हुन् । 
भौतिक रूपमा हुने चेक क्लियरिङ सेवालाई विस्थापित गर्दै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एकैदिनमा ग्राहकको खातामा जम्मा हुने व्यवस्था मिलाएको छ । नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाको लगानीमा खुलेको कम्पनीले २ वर्षअघि सेवा सुरु गरेको थियो ।
विद्युतीय चेक क्लियरिङ सेवासँगै एसी पेयी चेकको संख्या बढ्दै गएको छ । गत साउनमा दैनिक ७ हजार चेक क्लियरिङ हुने गरेकामा कम्पनीले हाल दैनिक ११ हजारभन्दा बढी चेक क्लियरिङ गर्ने गरेको छ । साउनमा कम्पनीले १ लाख ५० हजार चेक क्लियरिङ गरेकामा यो संख्या बढेर २ लाख ५० हजारको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ ।
छिटो, छरितो सेवा र राष्ट्र बैंकका बाध्यकारी व्यवस्थाले गर्दा पनि एसीपेयी चेकको कारोबार बढ्दै गएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिए । “एकैदिनमा चेकको रकम खातामा जम्मा हुने र राष्ट्र बैंकको चेकसम्बन्धी व्यवस्थाले एसीपेयी चेकको कारोबार बढ्दै गएको हो,” उनले भने ।
राष्ट्र बैंकले मंसिर १ देखि अनिवार्य रूपमा ५० लाखभन्दा बढीका चेक र कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका सबै चेक एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरेको छ । पैसाको कारोबार कम गरी बैंकिङ कारोबार बढाउन एसीपेयी चेकलाई प्राथमिकता दिइएको केन्द्रीय बैंकले जनाएको छ ।
एनसीएचएलको अनलाइन सेवाले एकैदिन एकाउन्टपेयी चेक क्लियरिङ गर्न सकिन्छ । साधारण चेक दिउँसो १२ बजेभित्र र विशेष चेक १ बजेभित्र पेस भएमा सोही दिनमा क्लियरिङ हुने र उक्त समयपछि आएमा अर्को दिनमा क्लियरिङ हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल काठमाडौं, विराटनगर र वीरगन्जमा अनलाइन चेक राफसाफ सेवा दिँदै आएको छ । यो सेवासँगै राष्ट्र बैंकले ती स्थानमा भैतिक चेक राफसाफ पूर्ण रूपमा बन्द गरेको छ । कम्पनीले चालू आर्थिक वर्षभित्रमा भौतिक रूपमा चेक राफसाफ हुँदै आएका नेपालगन्ज, भैरहवा, पोखरा, धनगढी र जनकपुरमा सेवा सुरु गर्ने जनाएको छ ।

No comments: