Thursday, August 23, 2012

सुनको मूल्यमा नयाँ रेकर्ड

-तोलाको ५८ हजार ५०

काठमाडौं, ६ भदौ -चाडबाड नजिकिँदै गर्दा नेपाली बजारमा सुनको भाउ उच्च भएको छ । बुधबार सुनको भाउले हालसम्मको सबै रेकर्ड तोड्दै प्रतितोला ५८ हजार ५० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

सोमबार र मंगलबार ५७ हजार ७ सय रुपैयाँ कायम सुन बुधबार ३ सय ५० रुपैयाँ महँगो भई ऐतिहासिक उचाइमा पुगेको हो ।
यसअघि गत असार ६ गते सुनको भाउ ऐतिहासिक रेकर्ड कायम गर्दै प्रतितोला ५७ हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमशः घट्दै साउन अन्त्यसम्ममा ५६ हजारको हाराहारीमा झरेको सुन पुनः वृद्धि हुँदै नयाँ रेकर्ड बनाएको हो ।

“अन्तर्राष्ट्रिय बजार बढेपछि नेपालमा आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने ।

चाडबाडको मुखमा सुनको भाउ नजिकिएपछि सर्वसाधारण प्रभावित भएका छन् । तीजको सिजनमा भाउ उच्च भएकाले गहनाको व्यापारमा अघिल्ला वर्षको तुलानामा कमी आएको व्यवसायीले बताएका छन् । महिलाले गहना किन्ने भएकाले यस समयलाई सुनचाँदी व्यवसायीले ‘सिजन’ का रूपमा लिने गरेका छन् ।

“अघिल्ला वर्षहरूमा जस्तो सुनका गरगहनाको बिक्री छैन,” शाक्यले भने । अघिल्ला वर्षहरूको यस सिजनमा दैनिक ३५ किलो हाराहारीमा सुनको माग हुने गरेकामा यसपटक भने २० किलो मात्र बिक्री भइरहेको उनले जानकारी दिए । साउनमा दैनिक १५ किलो मात्र माँग रहेपछि भदौ लागेपछि भने बजारको माग सामान्य बढेको उनले बताए ।

अमेरिकी डलर कमजोर हुँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएकाले अन्तर्राष्ट्रिय बजार भाउ उकालो लागेको हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन ५.७० डलर बढेर प्रतिआंैस १ हजार ६ सय ४४.३० डलरमा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार सुन ६ सातायताकै उच्च मूल्यमा कारोबार भएको समाचारमा जनाइएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा युरोको तुलनामा डलर कमजोर भएको छ । यसै साता युरो देशका नेताहरूको बैठकले ग्रिसको ऋण संकटबाट बाहिर निस्कने रूपरेखा बनाउने संकेत गरेपछि अमेरिकी डलर कमजोर देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बुधबार चाँदीको भाउ पनि १५ रुपैयाँ महंगो भएको छ । मंगलबार १ हजार ५० रुपैयाँ कायम चाँदी बुधबार बढेर १ हजार ६५ रुपैयाँ पुगेको संघले जनाएको छ । यसअघि मंगलबार पनि चाँदी १५ रुपैयाँ महँगो भएको थियो । औद्योगिक प्रयोजन र सिक्का बनाउन चाँदीको माग बढेपछि मूल्य उच्च भएको बताइएको छ ।

No comments: