Monday, August 27, 2012

सुनको भाउमा नयाँ रेकर्ड - तोलाको ६० हजार नजिक



काठमाडौं, १० भदौ - नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक सातादेखि लगातार बढिरहेको सुन आइतबार ६० हजार रुपैयाँ नजिक पुगेको छ ।
आइतबार २ सय ९५ रुपैयाँ महँगो भई प्रतितोला ५९ हजार १ सय ९५ रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार ५८ हजार ९ सयमा कारोबार भएको थियो ।
“सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ,” संघका सचिव दियशरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर भाउ घट्दा लगानीकर्ताले सुनमा लगानी बढाएका छन्, यसले आपूर्ति र मागको असन्तुल हुँदा मूल्य उच्च भएको हो ।”
बुधबारयता सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । गत आइतबार ५७ हजार ६ सय रुपैयाँ कायम सुन एक सातामा १ हजार ३ सय महँगो भइसकेको छ । 
हिन्दू महिलाको चाड तीज नजिकिँदा सुनको भाउ अकासिएपछि सर्वसाधारण प्रभावित भएका छन् । अघिल्लो वर्ष यही बेलाको तुलनमा सुन करिब १० हजार महँगिएको छ । अघिल्लो वर्ष यतिबेला प्रतितोला ५० हजार रुपैयाँ हाराहारीमा थियो ।
महिलाले सुनका गहना किन्ने भएकाले तीजलाई व्यवसायीले ‘सिजन’ मान्छन् । मूल्य उच्च भएपछि व्यापार प्रभावित भएको उनीहरूले बताएका छन् । 
“भाउ उच्च हुँदा अघिल्ला वर्षजस्तो गरगहना कारोबार छैन,” सचिव शाक्यले भने, “पहिले यही सिजनमा दैनिक ३५ किलो हाराहारीमा माग हुन्थ्यो, यसपटक भने २० किलोमात्र बिक्री भइरहेको छ । साउनमा १५ किलोको माग थियो, भदौ लागेपछि सामान्य बढेको छ ।”
अन्तर्राष्ट्रिय लगानीकर्ता डलर छाडेर सुनतर्फ लाग्दा मागमा वृद्धि भएको र मागअनुसार आपूर्ति हुन नसक्दा महँगो भएको हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन ३२ डलर बढेर प्रतिऔंश १ हजार ६ सय ७२ डलर कायम भई बजार बन्द भएको थियो । आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुने भएकाले शुक्रबारको मूल्य आधारमा संघले यहाँको भाउ तोकेको हो ।
भारतमा पनि सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । त्यहाँ शुक्रबार प्रतितोला ३० हजार ७ सय ६० भारुमा कारोबार भएको छ । यो हालसम्मकै उच्च रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
औद्योगिक क्षेत्रमा माग बढेपछि चाँदीको भाउसमेत लगातार बढिरहेको छ । आइतबार चाँदी १५ रुपैयाँ बढेर प्रतितोला १ हजार १ सय १५ रुपैयाँमा किनबेच भएको संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी हुने गरे पनि नेपालमा भने अधिकांश गरगहनामा प्रयोग हुन्छ । नेपालको आयातीत सुनमध्ये ७० प्रतिशत गहना र ३० प्रतिशत लगानीका रूपमा प्रयोग हुने व्यवसायी बताउँछन् ।
सरकारले सुनलाई अनुत्पादन मान्दै सर्वसाधारणबाट सुनमा हुने लगानी न्यूनीकरण गर्दै आएको छ । हाल वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गरी सुनचाँदी व्यवसायीका संस्थाको सिफारिसमा व्यवसायीलाई बेच्न पाउने व्यवस्था छ ।

No comments: