Wednesday, January 19, 2011

सहकारीले वित्तीय विवरण बुझाउने ढाँचा तयार

यादव हुमागाई
काठमाडौं ५ माघ
बचत तथा ऋण सहकारीले मासिक कारोबार विवरण बुझाउन प्रयोग हुने ढाँचा सहकारी विभागले तयार गरेको छ । विवरण बुझाउने प्रकि्रयामा एकरुपता ल्याउनका लागि ढाँचा तयार गरी सहकारी संस्थामा पठाइएको विभागले जनाएको छ ।
"सहकारीले बुझाउने विवरणमा एकरुपता ल्याउन ढाँचा तयार गरिएको हो" विभागका उपसचिव राजनप्रसाद दवाडीले भने, "यसले कारोबार विवरणलाई अध्ययन र विश्लेषणका लागि सजिलो हुन्छ ।" विभागको ढाँचामा कारोबार विवरण बुझाउँदा सहकारीले विवरण लुकाउन नसक्ने उनले दाबी गरे ।
विभागले वित्तीय सहकारीलाई यहि माघदेखि मासिक कारोबार विवरण बुझाउन निर्देशन जारी गरिसकेको छ । सहकारीहरु वित्तीय अनुशासनविपरीत चलेको अर्थ मन्त्रालय र राष्ट्र बैंकको निर्देशनका आधारमा विभागले सहकारीलाई यस्तो व्यवस्था गरेको हो । सहकारीले महिना सकिएको सात दिनभित्र विभागले तोकेको ढाँचामा विवरण बुझाउनुपर्नेछ ।
विभागले तयार गरेको ढाँचामा सहकारीले महिनाभर संकलन गरेको निक्षेप र कर्जाका साथै सेयर पुँजी विभिन्न जगेडा कोषमा जम्मा भएको रकम खुलाउनुपर्ने व्यवस्था छ । त्यस्तै कर्जा लगानी असुलीको अवस्था कर्जा जोखिम बापतको व्यवस्थालगायतका विवरण उल्लेख गर्नुपर्नेछ ।
संस्थाले विभिन्न संस्थामा राखेको मुद्दती निक्षेप सेयर लगानीका साथै संस्थाले सदस्यमा गरेको कर्जा लगानी र भाखा नाघेको कर्जा पनि विभिन्न शीर्षकअनुसार समयअवधि समेत खुलाउनुपर्ने व्यवस्था छ । त्यस्तै संस्थाले गरेको ऋण नोक्सानीको व्यवस्था समेत कर्जाको शीर्षक छुट्याएर उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । संस्थाको स्थिर सम्पत्तिका साथै व्याज आम्दानी र कर्जा र निक्षेपको ब्याजदर बचत गर्नेको संख्या र कर्मचारीको संख्यासमेत खुलाउनुपर्ने गरी विभागले ढाँचा तयार गरेको छ ।
विभागले विवरण बुझाउने ढाँचा तयार पारेपछि विभिन्न जिल्लाका ३८ वटा डिभिजन कार्यालयहरुले आफू मातहतका सहकारी संस्थालाई सोहीअनुसार विवरण बुझाउन निर्देशन दिइसकेको जनाएका छन् । विभागको तथ्यांकअनुसार गत चैतसम्ममा देशभर आठ हजार आठ सय ८ बचत तथा ऋण सहकारी दर्ता भएका छन् ।

No comments: