Thursday, November 25, 2010

सुनको मूल्य हालसम्मकै उच्च

अन्तर्राष्ट्रिय बजारमा घटे पनि स्थानीय बजारमा बढ्यो

यादव हुमागाई

काठमाडौं, ९ मंसिर

स्थानीय बजारमा बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम राखेको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य घटी रहेको बेला स्थानीय बजारमा भने रेकर्ड कायम गर्दै प्रतिदस ग्राम ३४ हजार ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

बुधबार प्रतिदस ग्राम ३३ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतिदस ग्राम ४५ रुपैयाँ बढेर प्रतिदस ग्राम ३३ हजार ९ सय ९५ रुपैयाँमा पुगेको हो । यसअघि कात्तिक २३ गते मूल्यमा रेकर्ड राखेको सुनको मूल्य प्रतिदस ग्राम ३३ हजार ९ सय ५० रुपैयाँ पुगेको थियो ।

तर, बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ । बुधबार प्रतिऔंस १३ सय ७५ डलरमा कारोबार भएको सुनको भाउ बिहीबार ४ डलर घटेर १३ सय ७१ डलर कायम भएको थियो ।

“आज स्थानीय बजारमा कायम भएको मूल्य हालसम्मकै उच्च हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको भए पनि स्थानीय बजारमा भने अभावका कारण सुनको मूल्य बढेको हो ।” विवाहको सिजन लागेकाले बजारमा सुनको माग बढेको उनले भने । सरकारले सुनको आयात खुल्ला नगरेकाले बजार मागअनुसार सुनको आपूर्ति हुन नसक्दाको प्रभाव मूल्य वृद्धिका रूपमा देखिएको उनले बताए ।

सुनचाँदीको भन्सारदर बढाउने विधेयकको म्याद सकिएपछि आपूर्ति मन्त्रालयले गत भदौ १८ गतेबाट सुनचाँदी आयातमा रोक लगाएको छ । बजेटमार्फत सुनको भन्सार दर बढाएर प्रतिदस ग्राम १ हजार पु¥याइएको भए पनि हालसम्म सुनको आयात खुल्ला गरेको छैन । मंगलबारबाट बैंकले सुनको बिक्री स्थगित गरेपछि सुनको मूल्यमा वृद्धि भएको सुन व्यवसायीहरू बताउँछन् ।

यसैबीच व्यवसायीयहरूले सरकारलाई छिटो सुन आयात खुल्ला गर्न माग गरेका छन् । विवाहको सिजन सुरु भएकाले बजारमा सुनको अभाव भएको र अवैध भारतीय सुन आयातले मूल्य अत्यधिक बढेको व्यवसायीहरूको तर्क छ । “हामीले अर्थ र आपूर्ति मन्त्रालयलाई पत्र पठाइ छिटो आयात खुल्ला गर्न माग गरेका छौं” शाक्यले भने, “आयात छिटो खुल्छ भन्नेमा आशावादी छौं” ।

सुनको मूल्य बढे पनि बजामा चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतिदश ग्राम छ सय ८१ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको संघले जनाएको छ ।

No comments: