Sunday, December 19, 2010

सहकारी संघले आफ्नै भवन बनाउने

काठमाडौं, १ पुस । देशभरका सहकारीको छाता संगठन राष्ट्रिय सहकारी संघले आफ्नै भवन निर्माण गर्ने भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले पुल्चोकमा एक रोपनी जग्गा भोगाधिकार दिएपछि संघले भवन निर्माण प्रक्रिया अगाडी बढाएको हो ।
भवन निर्माणका लागि सरकारले दुई करोड रुपैयाँ दिएको र बाँकी रकम जुटाउनका लागि संघ लागेको भवन निर्माण समितिका अध्यक्ष समेत रहेका संघका अध्यक्ष केशव वडालले जानकारी दिए । पाँच तले भवन निर्माणका लागि करिव पाँच करोड लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । भवन निर्माणका लागि सहयोग संकलन गरिरहेको संघले जनाएको छ । “हामीले केही सक्षम सहकारीलाई सहयोगका लागि आग्रह गरिसकेका छौं’ वडालले भने “विभिन्न सहकारी संघसंस्थाबाट ४०÷५० लाखको सहयोग प्रतिवद्वता आइसकेको छ ।”
भवनमा एक हजार सिट क्षमताका अन्तर्राष्ट्रिय स्तरको तालीम हलका साथै बैठक कक्ष, पुस्तकालय, सहकारीका उत्पादनको प्रदर्शन तथा विक्री कक्ष हुने बडालले जानकारी दिए । भवन निर्माण पछि संघका प्रशासनीक कामदेखि लिएर तालीमका लागिसमेत सजिलो हुने उनको भनाइ छ ।
राष्ट्रिय संघमा केन्द्रीय स्तरका सहकारी संघ, विषयगत सहकारी संघ, जिल्ला सहकारी संघ, सहकारी बैंकलगायत १ सय २५ संघ सदस्य रहेका छन् । संघ अन्तर्राष्ट्रिय सहकारी महासंघको सदस्य हो । संघले सहकारीको विकासका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

No comments: