Monday, November 22, 2010

सुनमा उच्चदरले भन्सारवृद्वी

आयात खुल्ला गर्ने सरकारको तयारी
यादव हुमागाई
काठमाडौं, ५ मंसिर

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनमा उच्च दरले भन्सार (अन्त शुल्क) बढाएको छ । ठूलो परिणाममा सुन आयात हुँदा बिदेशी मुद्रा संचितिमा असर परेको भन्दै आयात निरुत्साहीत गर्न भन्सार दर बढाइएको अधिकारीहरु बताउछन् ।
सुनमा प्रतिदश ग्राम पाँच सय ३० रुपैयाँ बढाएको छ । यसअघि प्रतिदश ग्राम १ सय ३० रुपैयाँ रहेको भन्सार दर गत चैतमा सरकारले आर्थिक विद्येयक मार्फत प्रतिदश ग्राम ४ सय ३० रुपैयाँ पु¥याएको थियो । भन्सार अन्तरका कारण नेपाल र भारतको मूल्यमा अन्तर भइ नेपालबाट ठूलो परिणामका सुन भारत निर्यात भएपछि सरकारले भन्सार दर बढाएको थियो । तर, भदौं १९ गतेदेखि विद्येयकको म्याद सकिदा पनि संसद्बाट विद्येयक पारीत हुन नसकेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्थाइ रुपमा सुनचाँदी आयात प्रतिबन्ध लगाएको छ ।
वजेटमार्फ भन्सारदर परिवर्तन भएपछि आयात बन्द भएको सुनचाँदी आयात खुल्ला गर्न सरकारलाई बाटो खुलेको छ । केही दिनमै आयात खुल्ला गर्ने बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोतम् ओझाले बताए । “भरखर बजेट आएको छ, मन्त्रालयमा छलफल गरी छिट्टै आयात खुल्ला गछौं” सचिव ओझाले भने ।
“उच्च रुपमा आयात भएपछि विदेशी मुद्रा सञ्चिति घटेको र अर्थतन्त्रमै असर पारेकाले सुन आयात निरुत्साहित गर्न भन्सार दर बढाइएको हो” राजस्व सचिव कृष्णहरी बाष्कोटाले भने । भन्सार दर बढेपछि भारतको भन्दा नेपालको मूल्य उच्च हुने बास्कोटाको भनाइ छ । भन्सार दर बढेपछि आपूर्ति मन्त्रालयलाई समेत आयात खुल्ला गर्ने बाटो खुलेको बास्कोटाले बताए ।
यस्तै चाँदीमा पनि प्रति दश ग्राम ८ रुपैयाँ भन्सार बढाइएको छ । गत चैतमा आर्थिक विद्येयबाट प्रतिदश ग्राम १६ बनाइएको भन्सारदर चालु आर्थिक वर्षको बजेटबाट प्रतिदश ग्राम २४ पु¥याइएको छ । विद्येयक अगाडी चाँदीको भन्सारदर प्रतिदश ग्राम ३ रुपैयाँ थियो ।
व्यवसायीले भने भन्सार महसुल बढेपछि छिटो आयात खुल्ला गर्न माग गरेका छन् । बैंकहरुले मात्र सुन आयात गर्ने पाउने केन्द्रीय बैंकको नियम खारेज गर्दै व्यवसायीले आवश्यक परिणामको सुन आयात गर्न पाउने व्यवस्था मिलाउनुपर्ने उनीहरुको भनाइ छ । “यसले सुनको मूल्य त बढ्छ नै तर, ग्राहकहरुले सहज रुपमा पाउँछन्” नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने “व्यवसायीले पर्याप्त मात्रामा सुन खरीद गर्न नपाएका कारण इन्डियन बजारको भर पर्नुपर्दा भारतिय मुद्रा अपचलन भई नेपालमा सुनको भाउँसमेत महंगो भएको थियो ।” सुनको भन्सारदर बढाउन अर्थलाई आफुहरुले नै सिफारीस गरेको उनले बताए भन्सारदर परिवर्तन भएपछि व्यवसायीलाई सुन आयात गर्नदिन उनले माग गरे । “बाणिज्य बैंकहरुले होइन स्वयंम व्यवसायीलाई चाहीएको परिणाममा आयात खुल्ला गर्नुपर्छ” शाक्यले भने ।
सुनको अत्याधिक मात्रमा आयात भइ देशको विदेशी मुद्रा संचय घटेका कारण नेपाल राष्ट्र बैंकले बैंशाखबाट बाणिज्य बैंकहरुले मात्र दैनिक १० किलो सुन आयात गर्ने अनुमति दिएको थियो । त्यस्तै सुनको वितरणका लागि कोटा प्रणालीका रुपमा तीन व्यवसायी संघलाई अधिकार दिनुका साथै अञ्चलगत रुपमा पनि कोटा छुट्याएको थियो ।
भन्सारदर परिर्वतन भई आयात खुल्ला गर्ने बाटो खुलेपछि केन्द्रीय बैंकले सुनचाँदी बिक्री नगर्ने जनाएको छ । “यो मंगलबारबाट बैंकले सुन बिक्री गर्दैंन” बैंकका प्रवक्ता गोपाल प्रसाद काफ्लेले भने–“व्यवसायीलाई नै आयात गर्ने बाटो खुल्ला भइसकेकाले बैंकले बिक्रि गर्नु आवश्यक छैन ।” सुनचाँदीको आयात बन्द भएपछि बजारको अभाव र कालोबजारी हटाउन केन्द्रीय बैंकले पाँच पटक बोलकबोलबाट आफ्नो ढुकुटीमा रहेको पाँच सय ८४ किलो सुन र सात हजार ३१ किलो चाँदी व्यवसायीहरुलाई विक्री गरीसकेको छ ।
यस्तै भन्सारदर बढेपछि सुनचाँदी आयात र बिक्रिका लागि केन्द्रीय बैंकले भदौं ४ मा जारी गरेको निर्देशनको औचित्य समेत स्वत समाप्त भएको केन्द्रीय बैंकले जनाएको छ । “त्यस बेलाको परिस्थिती अनुसार नीति बनाएका थियौं, अब त्यसको सान्र्दर्भिकता छैन” प्रवक्ता काफ्लेले भने “मन्त्रालयले नै आयातमा सम्बन्धि निर्णय गर्छ ।”
नेपाल र भारतको भन्सारदरमा व्यापक अन्तर भएपछि गत आर्थिक वर्षमा करिब ४२ अर्ब बराबरको १५ हजार ४ सय ९१ केजी सुन आयात भएको थियो । नेपालमा आएको ठूलो परिणामको सुन भारत निर्यात भएपछि अर्थले भन्सारमार्फत सुनको भन्सारदर बढाएको थियो ।

सुनचाँदीको मूल्य बढ्यो

६ मंसिर काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतिदश ग्राम एक सय २५ रुपैयाँ बढेको छ । आइतबार प्रतिदश ग्राम ३३ हजार तीन सय १० रुपैयाँमा कारोबार भएको सुन सोमबार ३३ हजार चार सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
यसैगरी, सोमबार चाँदीमा सात रुपैयाँ ५० पैसा बढेको छ । आइतबार प्रति दश ग्राम ६ सय ६४।५० रुपैयाँमा कारोबार भए चाँदी सोमबार छ सय ७२ रुपैयाँमा कारोबार भएको छ ।

Wednesday, November 17, 2010

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं १ मंसिर : स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतिदश ग्राम ३ सय ४० रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय मूल्यमा गिरावट आएपछि स्थानीय बजारमा पनि त्यसको असर परेको नेपाल सून चाँदी व्यवसायी संघले जनाएको छ ।
संघका अनुसार मंगलबार प्रतिदश ग्राम ३३ हजार पाँच सय २० रुपैयाँमा कारोबार भएकोमा बुधवार घटेर प्रतिदश ग्राम ३३ हजार १० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधवार चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेको छ । मंगलबार प्रतिदश ग्राम ६ सय ४८ रुपैयाँमा कारोबार भएको चादी बुधवार प्रतिदश ग्राम ६ सय ४३ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

वित्तीय सहकारीको अनुगमनका लागि छुट्टै शाखा

यादव हुमागाई
१ मंसिर, काठमाडौं
बचत तथा ऋण सहकारी संस्थाको अनुगमनका लागि सहकारी विभागमा छुट्टै शाखा गठन हुने भएको छ । वित्तीय सहकारी संस्थाहरुले सहकारी ऐन नियम र मापदण्ड विपरित कारोबार गर्ने र सर्वसाधारणलाई ठगी गर्ने क्रम बढेपछि अनुगमनका लागि छुट्टै शाखा गठन गर्न लागिएको हो ।

अर्थ मन्त्रालयले कात्तिक १५ गते विभागमा अनुगमन शाखाको ढाँचा तयार गर्न पत्र पठाएको छ । मन्त्रालयको प्रत्रमा विभाग अन्र्तगत रहने अनुगमन शाखाको ढाँचा, आवश्यक जनशक्ति, भौतिक पूर्वाधारलगायतका कुरा समेटेर प्रस्ताव पेश गर्न भनिएको छ ।

सहकारी संस्थाको तुलनामा जनशक्ति र भौतिक पूर्वाधारको अभाव भएको विभागको गुनासोपछि अर्थले अनुगनमन शाखा गठनका लागि चासो देखाएको हो । अनुगमन शाखा गठन गर्ने मन्त्रालयको प्रस्ताव सकारात्मक भएको विभागका रजिष्टार शुदर्शन प्रसाद ढकालले बताए । ग्रामीण क्षेत्रमा रहेका र समुदायमा आधारीत रहेर काम गरेका सहकारीमा खासै समस्या नभए र सहरी क्षेत्रका सहकारी संस्थाको अनुगमका आवश्यक भएको उनको दावी थियो ।

शाखाको स्थापनाका लागि भरखरै पत्र प्राप्त भएकाले यसको तिहार पछि मात्र सरोकारवालासँग छलफल गरी प्रक्रिया अगाडी बढाउने ढकालकले बताए । उनका अनुसार वित्तीय क्षेत्रका विषेशज्ञ सम्मिलित अनुगमन शाखा बनाउने र त्यसमा वित्तीय सहकारीले नियमित रिपोर्ट बुझाउने व्यवस्था गर्न सकिने उल्लेख गरे । संस्थाको रिपोर्टकै आधारमा अनुगमन गर्ने र गल्ती गर्ने सहकारीलाई सुधारका साथै कारवाहि गर्न सकिने उनको भनाइ छ ।

सहकारी संस्थाको दर्ता र अनुगमन गर्दै आएको सहकारी विभाग अन्र्तगत ३३ वटा डिभिजन सहकारी कार्यालय र पाँच वटा डिभिजन तथा सहकारी प्रशिक्षण कार्यालय रहेका छन् । डिभिजन कार्यालयमा कर्मचारी र भौतिक स्रोत साधनको अभावले सहकारी संस्थाको नियमित अनुगन गर्न नसकिएको डिभिजन कार्यालयका प्रमुखहरु बताउछन् । “अहिलेको जनशक्तिले मात्र त एउटा सहकारीको वर्षमा एक पटक अनुगमन गर्न पनि गाह्रो छ” डिभिजन सहकारी कार्यालय काठमाडौंका प्रमुख केशव थापाले भने । वित्तीय सहकारीको अनुगमनका लागि दक्ष जनशक्ति समेत नभएको उनको भनाइ छ । विभाग अन्र्तगत विभिन्न कार्यालयमा ५ सय ९४ कर्मचारीको दरवन्दी भएपनि विभिन्न पदका १ सय ५० भन्दा बढी दरबन्दी रिक्त रहेको अधिकारीहरुको भनाइ छ ।

डिभिजन कार्यालहरुको अनुगमन प्रभावकारी नहुँदा वित्तीय सहकारी संस्थाले ऐन नियम विपरित सदस्यभन्दा बाहिर कारोबार गर्ने, सर्वसाधारण ठगेर भाग्ने गरेको सर्वसाधारणको गुनासो रहेको छ । डिभिजनका कर्मचारी भने सहकारी संस्थाको अनुपातमा सहकारी कार्यालयको भौतिक सुविधा नबढाउदा अनुगमन प्रभावकारी नभएको दावी गर्छन् ।
अर्थले केही महिनादेखि वित्तीय सहकारीको कारोबारमा चासो राख्दै आएको छ । सहकारी विभागले गत माघदेखि धेरै कारोबार गर्ने वित्तीय सहकारी संस्थाको अनुगमन रिपोर्ट समेत मन्त्रालयले अध्ययन गरीरहेको छ । अध्ययन रिपोर्टकै आधारमा मन्त्रालयले ऐन नियम र मापदण्ड विपरित कारोबार गर्ने सहकारी संस्थालाई ठगीको कारवाहिका साथै दर्तासम्म खारेज गर्न निर्देशन दिएको थियो ।

विभागको तथ्याङ्क अनुसार देशभर सहकारी संस्थाको सख्या २१ हजारको हाराहारीमा पुगीसकेको छ । जसमध्ये ५० प्रतिशतको हाराहारीमा वचत तथा ऋण सहकारी संस्था रहेको विभागको अनुमान छ । यी सहकारी संस्थामा ३० लाख भन्दा बढी नेपाली सदस्य रहेको र ६० अर्व निक्षेप परिचालन भएको बताइन्छ ।

यसैवीच, सहकारी विभागले सहकारी ‘दर्ता तथा अनुगमन मापदण्ड–२०६५’ को संसोधन समेत सुरु गरेको छ । सहकारी संस्थाको दर्ता र अनुगमनमा देखिएका समस्या सम्बोधनका लागि मापदण्ड संसोधन गर्न लागिएको विभागका अधिकारीहरुको भनाइ छ ।
“अनुगमन र कारवाहिका लागि देखिएका समस्या सम्बोधनका लागि मापदण्ड सम्शोधन प्रक्रिया अगाडी बढाएका हौं” रजिष्टार ढकालले भने । मापदण्डले सहकारीमन संचालकको वित्तीय अपराध र कारवाहीबारेमा थप व्याख्या गरिएको जानकारी दिए ।

Thursday, November 11, 2010

चाँदीका सामाग्रीको माग बढ्यो

यादव हुमागाई
काठमाडौं ११ कात्तिक

हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार नजिकीदै जाँदा दीपावलीमा प्रयोग हुने चाँदीका भाडाहरुको माग बढेको छ । चाँदीबाट निर्मित भाडाहरुको माग बढेपछि बजारमा चाँदीको मूल्य सुमेत बढेको व्यवसायीहरु बताउछन् ।
"नेपालमा पनि विस्तारै भारतिय संस्कृतिले प्रभाव पादै गएकाले तिहारमा चाँदीका भाडाको विक्री बढ्छ" नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने । सामान्य समयमा दैनिक १ सय ५० किलाको हाराहारीमा चाँदी विक्री हुने गरेको भएपनि तिहारमा भने माग बढेर दैनिक २ सय किलो माग हुने गरेको उनको भनाइ छ ।
अहिले चाँदी पसलमा भाडाकुडा अर्डर गर्न आउनेको भिड बढेको व्यवसायीले बताए । व्यवसायीका अनुसार तिहारमा लक्ष्मीपुजाको दिन पुजाकोठमा प्रयोग गरीने चाँदीको दियो पाला थाली करुवालगायतका सामाग्रीका माग बढेको छ ।
तर राष्ट्र बैंकले सातामा १ हजार केजी चाँदी मात्र बजारमा पठाएकाले बजारको माग धान्न नसक्ने शाक्यले भनाइ छ । नेपाल राष्ट्र बैंकले चार पटक गरी ३ हजार ३१ किलो चाँदी बजारमा पठाइसकेको छ । दशैपछि भने एक पटक गत मंगलबार एक पटक मात्र बजारमा एक हजार केजी चाँदी केन्द्रीय बैंकले बिक्री गरेको छ । यसले बजारको माग नधान्ने व्यवसायीको भनाइ छ ।
बजारमा आवश्यक चाँदी नपाएकाले पयाप्त अर्डर नलिएको व्यवसायी बताउँछन् । तिहार चाँदीका भाडाहरुको विक्री सिजन भएपनि मूल्य बढेका कारण अघिल्ला वर्षहरुमा भन्दा यसपटक बिक्री घटेको उनीहरु भनाइ छ । "भाउँ बढेका कारण यसपटक अघिल्लो पटकको जस्तो बिक्री छैन गुण सिल्भर मार्टका शकेस बर्जाचार्यले भने "चादै नै नपाएपछि ग्राहकबाट नयाँ अर्डर लिएका छैनौं ।" यसअघि नै तयारी अवस्थामा रहेका सामाग्री मात्र विक्री गरिरहेका उनले बताए ।
माग बढेपछि स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रवार प्रतिदश ग्राम ५ सय ८३ मा कारोबार भएको चाँदीको मूल्य त्यसपछि क्रमश उकालो लागेको थियो । सोमबार र मंगलबार प्रतिदश ग्राम तीन रुपैयाँ वृद्वी भइ प्रति दश ग्राम ५ सय ८६ पुग्यो । त्यसपछि बुधवार ८ रुपैयाँ वृद्वी भइ बुधवार प्रतिदश ग्राम ५ सय ९४ मा कारोबार भएको थियो । विहिबार भने अन्तर्राष्ट्रिय मूल्यका कारण चाँदीको मुल्य दुई रुपैयाँ कम भई प्रतिदश ग्राम ५ सय ९२ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । बजारमा चाँदीका सामाग्रीको माग बढेको र आपूर्ति भने कम भएकाले चाँदीको मूल्य अझै बढ्न सक्ने संघको अनुमान छ ।