Monday, November 22, 2010

सुनमा उच्चदरले भन्सारवृद्वी

आयात खुल्ला गर्ने सरकारको तयारी
यादव हुमागाई
काठमाडौं, ५ मंसिर

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनमा उच्च दरले भन्सार (अन्त शुल्क) बढाएको छ । ठूलो परिणाममा सुन आयात हुँदा बिदेशी मुद्रा संचितिमा असर परेको भन्दै आयात निरुत्साहीत गर्न भन्सार दर बढाइएको अधिकारीहरु बताउछन् ।
सुनमा प्रतिदश ग्राम पाँच सय ३० रुपैयाँ बढाएको छ । यसअघि प्रतिदश ग्राम १ सय ३० रुपैयाँ रहेको भन्सार दर गत चैतमा सरकारले आर्थिक विद्येयक मार्फत प्रतिदश ग्राम ४ सय ३० रुपैयाँ पु¥याएको थियो । भन्सार अन्तरका कारण नेपाल र भारतको मूल्यमा अन्तर भइ नेपालबाट ठूलो परिणामका सुन भारत निर्यात भएपछि सरकारले भन्सार दर बढाएको थियो । तर, भदौं १९ गतेदेखि विद्येयकको म्याद सकिदा पनि संसद्बाट विद्येयक पारीत हुन नसकेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्थाइ रुपमा सुनचाँदी आयात प्रतिबन्ध लगाएको छ ।
वजेटमार्फ भन्सारदर परिवर्तन भएपछि आयात बन्द भएको सुनचाँदी आयात खुल्ला गर्न सरकारलाई बाटो खुलेको छ । केही दिनमै आयात खुल्ला गर्ने बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोतम् ओझाले बताए । “भरखर बजेट आएको छ, मन्त्रालयमा छलफल गरी छिट्टै आयात खुल्ला गछौं” सचिव ओझाले भने ।
“उच्च रुपमा आयात भएपछि विदेशी मुद्रा सञ्चिति घटेको र अर्थतन्त्रमै असर पारेकाले सुन आयात निरुत्साहित गर्न भन्सार दर बढाइएको हो” राजस्व सचिव कृष्णहरी बाष्कोटाले भने । भन्सार दर बढेपछि भारतको भन्दा नेपालको मूल्य उच्च हुने बास्कोटाको भनाइ छ । भन्सार दर बढेपछि आपूर्ति मन्त्रालयलाई समेत आयात खुल्ला गर्ने बाटो खुलेको बास्कोटाले बताए ।
यस्तै चाँदीमा पनि प्रति दश ग्राम ८ रुपैयाँ भन्सार बढाइएको छ । गत चैतमा आर्थिक विद्येयबाट प्रतिदश ग्राम १६ बनाइएको भन्सारदर चालु आर्थिक वर्षको बजेटबाट प्रतिदश ग्राम २४ पु¥याइएको छ । विद्येयक अगाडी चाँदीको भन्सारदर प्रतिदश ग्राम ३ रुपैयाँ थियो ।
व्यवसायीले भने भन्सार महसुल बढेपछि छिटो आयात खुल्ला गर्न माग गरेका छन् । बैंकहरुले मात्र सुन आयात गर्ने पाउने केन्द्रीय बैंकको नियम खारेज गर्दै व्यवसायीले आवश्यक परिणामको सुन आयात गर्न पाउने व्यवस्था मिलाउनुपर्ने उनीहरुको भनाइ छ । “यसले सुनको मूल्य त बढ्छ नै तर, ग्राहकहरुले सहज रुपमा पाउँछन्” नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने “व्यवसायीले पर्याप्त मात्रामा सुन खरीद गर्न नपाएका कारण इन्डियन बजारको भर पर्नुपर्दा भारतिय मुद्रा अपचलन भई नेपालमा सुनको भाउँसमेत महंगो भएको थियो ।” सुनको भन्सारदर बढाउन अर्थलाई आफुहरुले नै सिफारीस गरेको उनले बताए भन्सारदर परिवर्तन भएपछि व्यवसायीलाई सुन आयात गर्नदिन उनले माग गरे । “बाणिज्य बैंकहरुले होइन स्वयंम व्यवसायीलाई चाहीएको परिणाममा आयात खुल्ला गर्नुपर्छ” शाक्यले भने ।
सुनको अत्याधिक मात्रमा आयात भइ देशको विदेशी मुद्रा संचय घटेका कारण नेपाल राष्ट्र बैंकले बैंशाखबाट बाणिज्य बैंकहरुले मात्र दैनिक १० किलो सुन आयात गर्ने अनुमति दिएको थियो । त्यस्तै सुनको वितरणका लागि कोटा प्रणालीका रुपमा तीन व्यवसायी संघलाई अधिकार दिनुका साथै अञ्चलगत रुपमा पनि कोटा छुट्याएको थियो ।
भन्सारदर परिर्वतन भई आयात खुल्ला गर्ने बाटो खुलेपछि केन्द्रीय बैंकले सुनचाँदी बिक्री नगर्ने जनाएको छ । “यो मंगलबारबाट बैंकले सुन बिक्री गर्दैंन” बैंकका प्रवक्ता गोपाल प्रसाद काफ्लेले भने–“व्यवसायीलाई नै आयात गर्ने बाटो खुल्ला भइसकेकाले बैंकले बिक्रि गर्नु आवश्यक छैन ।” सुनचाँदीको आयात बन्द भएपछि बजारको अभाव र कालोबजारी हटाउन केन्द्रीय बैंकले पाँच पटक बोलकबोलबाट आफ्नो ढुकुटीमा रहेको पाँच सय ८४ किलो सुन र सात हजार ३१ किलो चाँदी व्यवसायीहरुलाई विक्री गरीसकेको छ ।
यस्तै भन्सारदर बढेपछि सुनचाँदी आयात र बिक्रिका लागि केन्द्रीय बैंकले भदौं ४ मा जारी गरेको निर्देशनको औचित्य समेत स्वत समाप्त भएको केन्द्रीय बैंकले जनाएको छ । “त्यस बेलाको परिस्थिती अनुसार नीति बनाएका थियौं, अब त्यसको सान्र्दर्भिकता छैन” प्रवक्ता काफ्लेले भने “मन्त्रालयले नै आयातमा सम्बन्धि निर्णय गर्छ ।”
नेपाल र भारतको भन्सारदरमा व्यापक अन्तर भएपछि गत आर्थिक वर्षमा करिब ४२ अर्ब बराबरको १५ हजार ४ सय ९१ केजी सुन आयात भएको थियो । नेपालमा आएको ठूलो परिणामको सुन भारत निर्यात भएपछि अर्थले भन्सारमार्फत सुनको भन्सारदर बढाएको थियो ।

No comments: