Friday, January 04, 2013

सहकारीको १० लाखसम्मको बचत सुरक्षण गरिने

बचत तथा ऋण र बहुउद्देश्यीय सहकारीमा रहेको सर्वसाधारणको १० लाख रुपैयाँसम्मको बचत सुरक्षण गरिने भएको छ । सहकारी संस्था जोखिममा पर्दा सर्वसाधारणको रकम डुब्ने क्रम बढेपछि बचत सुरक्षित गर्न सुरक्षण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउन पहल थालिएको छ ।  

सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको ‘वित्तीय सहकारी (सुरक्षण, अनुगमन तथा नियमन) नियमावली–२०६९’ को मस्यौदामा केन्द्रीय संघको मातहतमा रहने गरी निक्षेप सुरक्षणकोष सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोषमा सहकारीले निक्षेपकको ०.५ प्रतिशत रकम वार्षिक रूपमा बुझाउनुपर्नेछ ।

सुरक्षण भएपछि कुनै कारणले संस्था डुबेमा सर्वसाधारणले सुरक्षण कोषबाट आफ्नो रकम फिर्ता पाउनेछन् । बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको २ लाख रुपैयाँसम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण निगमले दुई वर्षअघि नै सुरक्षण गरेको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत वित्तीय संस्थाले ३ लाखसम्मको निक्षेप सुरक्षण गर्नुपर्ने नीति अघि सारेको छ ।  

सहकारी विभागका अनुसार देशभरका २५ हजार ३ सय ७१ सहकारीमध्ये वित्तीय कारोबार गर्ने बचत तथा ऋण ११ हजार ५ सय र बहुउद्देश्यीय ४ हजार १ सय छन् । ती संस्थामा २ खर्ब ६३ अर्बबराबरको कारोबार छ ।

कमजोर कानुन र न्यून अनुगमनका कारण सहकारीमा विकृति बढेको र सर्वसाधारणको निक्षेप जोखिममा रहेको बेला सहकारीलाई व्यवस्थित गर्न मन्त्रालयले नियमावली जारी गर्न लागेको हो । मस्यौदाप्रति सहकारीकर्मीको सुझाव लिएर छिट्टै मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने मन्त्रालयका प्रवक्ता सुदर्शनप्रसाद ढकालले जानकारी दिए । संसद्समेत नरहेकाले तत्काल ऐन संशोधन हुने अवस्था नभएकाले सहकारीलाई व्यवस्थित गर्न नियमावली ल्याउनुपरेको उनको भनाइ छ ।

नियमावलीमा सहकारीको प्रभावकारी अनुगमनका लागि मन्त्रालयका सचिवको अध्यक्षतामा केन्द्रीय अनुगमन समिति र सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा अनुगमन एकाइ गठनको प्रस्ताव गरिएको छ । केन्द्रीय समिति सदस्यमा अर्थमन्त्रालय र गृह मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, विभागका रजिस्ट्रार, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष र सदस्यसचिवमा सहकारी मन्त्रालयका सहसचिव रहनेछन् । यसैगरी एकाइमा विभागमा उपरजिस्टार, सहकारी मन्त्रालयका उपसचिव, विभागका कानुन अधिकृत, शाखा अधिकृत सदस्य रहनेछन् ।

अधिकृतस्तरको कर्मचारीको संयोजकत्वमा एकजना विज्ञसहितको टोलीले अनुगमन गर्ने प्रस्ताव गरिएको छ । हाल सहकारी विभागअन्तर्गत डिभिजन सहकारी कार्यालयमा खरदार र नायव सुब्बास्तरका कर्मचारी मात्र अनुगमनका लागि खटिएका छन् । सहकारीमा विकृति बढेपछि २ वर्षदेखि राष्ट्र बैंकका कर्मचारीसहितको टोलीले ठूला सहकारीको सघन अनुगमन गरिरहेको छ ।

यसैगरी अनुगमनका लागि सहकारी संघसंस्थालाई कारोबारका आधारमा ३ भागमा वर्गीकरणको प्रस्ताव गरिएको छ । जसमा २५ करोडभन्दा बढी सम्पत्ति भएकाले ‘क’, ५ देखि २५ करोडसम्म भएकालाई ‘ख’ र ५ करोडभन्दा कम भएकालाई ‘ग’ वर्गमा राखी अनुगमन गर्ने उल्लेख छ । ‘क’ वर्गको वर्षमा १ पटक स्थलगत अनुगमन गर्नुपर्ने, ‘ख’ को २ वर्षमा एक पटक र ‘ग’ को आवश्यक्ताअनुसार अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

नियमावलीमा कारबाहीको प्रावधानमा समेत कडाइ गरिएको छ । अनुगमनका क्रममा त्रुटि भेटिएका सहकारीको कारोबार रोक लगाउनेदेखि संस्था खारेज गर्न सक्नेसम्मको कारबाहीको प्रावधान राखिएको छ । यसैगरी वित्तीय सहकारीका सञ्चालक वा व्यवस्थापकले वित्तीय अपराधका काम गरे कालोसूचीमा राख्ने प्रावधानसमेत राखिएको छ । यसैगरी चल–अचल सम्पत्ति हिनामिना गरिएको पाइए कारबाहीका लागि प्रहरीमा पठाउने, स्रोत नखुलेको कारोबार पाइए सम्पत्ति शुद्वीकरण विभागमा पठाउने प्रावधान छ ।

यसअघि सहकारी ऐन २०४८ मा त्रुटि गर्ने सहकारीलाई १ हजार ५ सय रुपैयाँसम्म जरिवाना र दर्ता खारेज गर्ने व्यवस्था गरिएको थियो । नियमावलीमा अनुगमन अवधि, अनुगमन टोलीको काम कर्तव्य र अधिकार, अनुगमन विधि र अनुगमन प्रतिवेदनबारे समेत स्पष्ट व्यवस्था गरिएको छ ।

सहकारीकर्मीहरूले पनि नियमावलीलाई सकारात्मक रूपमा लिँदै यसको कार्यान्वयन पक्षसमेत बलियो हुनुपर्ने बताए । “नियमावली प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके वित्तीय कारोबार धेरै पारदर्शी हुन्छ,” जिल्ला बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष कृष्ण पौडेलले भने ।

यसअघि विभागले सहकारी दर्ता, अनुगमन नियमावली–२०६८ लागू गरे पनि यसका प्रावधान कार्यान्वयनमा ल्याउन सकेको छैन ।

सहकारीबाट निक्षेप बाहिरिँदै

ठूला कारोबार भएका सहकारीमा समस्या देखिन थालेपछि सहकारीबाट निक्षेप बाहिरिन थालेको छ । सहकारीमा समस्या परेको र सञ्चालकले ठगी गरेका घटना सार्वजनिक हुन थालेपछि रकम डुब्ने डरले सर्वसाधारणले निक्षेप झिक्न थालेका हुन् ।

“सहकारीहरू त डुब्दैछन् रे ! भन्दै एक सातादेखि पैसा फिर्ता माग्न आउन थालेका छन्,” मूलघर बचत तथा ऋण सहकारीका सचिव खिलानाथ दाहालले भने, “ठूला सहकारीमा समस्या देखिँदा सर्वसाधारणमा सहकारीप्रति नै नकारात्मक सन्देश फैलिएकाले सर्वसाधारण डराएका छन् ।” अहिले देखिएको समस्या समाधान गर्न नियमनकारी निकाय र सहकारीका केन्द्रीय संघहरूले तत्कालै कदम नचाल्ने हो भने सहकारी अभियान नै समस्यामा पर्ने दाहालले दाबी गरे ।

संकटा बचत तथा ऋण सहकारीका प्रबन्ध सञ्चालक विन्देश्वर श्रेष्ठ सहकारीप्रति सर्वसाधारणको विश्वास घटिरहेको बताए । “सञ्चारमाध्यममा सहकारीको ठगीका घटना सार्वजनिक भएपछि रकम डुब्ने डरले पैसा माग्न आउनेको संख्या बढेको छ” श्रेष्ठले भने, “संस्थाको स्थिति बुझाएर पठाउने गरेका छौं ।”

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका सञ्चालक परितोष पौड्यालले केही ठूला संस्थामा देखिएको समस्याले स–सानो कारोबार भएका संस्थामा पनि प्रभाव देखिएको जानकारी दिए । सदस्यमा पर्याप्त ज्ञान नभएकाले सबै सहकारी एकै हुन् भन्ने भ्रम फैलिएकाले समस्या बढिरहेको उनले बताए ।

“मुद्दती निक्षेपमा पैसा राखेका व्यक्तिले पनि लोन लिएर पैसा फिर्ता लिन थालेका छन्,” पौड्यालले भने ।

सहकारी विभागका रजिस्टार केदार न्यौपानेले भने सहकारी सिद्धान्तअनुसार नचलेका र पारदर्शी कारोबार नगरेका सहकारीमा मात्र समस्या भएको बताए । “सदस्यलाई संस्था आफ्नो हो भन्ने महसुुस गराएका संस्थामा समस्या छैन,” न्यौपानेले भने । ठूला सहकारीमा तरलताको समस्या देखिएकाले यसलाई समाधान गर्न सरकारले प्याकेजमै समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

सर्वसाधारणबाट पैसा उठाइ घरजग्गामा लगानी गरेका धेरै सहकारी उक्त ऋण उटाउन नसकेपछि सदस्यलाई निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

निक्षेप फिर्ता नदिएको भन्दै ६ महिनायता मात्र करिब १ दर्जन सहकारीका विरुद्ध डिभिजन सहकारी कार्यालय काठमाडौं र ललितपुरमा उजुरी परेको छ । काठमाडौंमा ओरेन्टल को–अपरेटिभ, एक्जिम, परिदृश्र, शुभश्री र सहायता बचत तथा ऋण सहकारीका निक्षेपकर्ताले निक्षेप फिर्ता नगरेको भन्दै डिभिजन कार्यालयमा उजुरी गरेका छन् । यसैगरी ललितपुर डिभिजन कार्यालयमा पनि ओरेन्टल को–अपरेटिभका साथै कोरना र उग्रचण्डी बचत तथा ऋण सहकारीका निक्षेपकर्ताको उजुरी परेको छ ।

सहकारीमा हाल सर्वसाधारणको १ खर्व ४३ अर्ब निक्षेप रहेको छ । कमजोर कानुन र नियमनका कारण सहकारीले गैरकानुनी रूपमा कारोबार गरिरहेकाले सर्वसाधारणको निक्षेप जोखिममा रहेको बताइएको छ ।

दुई वर्षअघि राष्ट्र बैंक र सहकारी विभागको संयुक्त अनुगमनमा सहरी क्षेत्रका ठूला सहकारीमा जोखिमपूर्ण कारोबार भइरहेको भेटिएको थियो । अनुगमनमा सहकारीले ६० प्रतिशतसम्म ब्याज असुलेको, एकैघरका सञ्चालक रहेको, ऋण प्रवाह गर्दा लिएको धितो सञ्चालकले आफ्नो नाममा पास गरेको, ८ प्रतिशतसम्म सेवा शुल्क लिएको, कृत्रिम हस्ताक्षर र नक्कली साधारणसभा गरेको लगायतका त्रुटि भेटिएका थिए ।

उक्त समयमा संस्थाको रकम दुरुपयोग गर्ने सञ्चालकलाई कारबाही गर्न अर्थ मन्त्रालयले निर्देशन दिए पनि विभागले भने अटेर गरेको थियो । अनुगमनमा त्रुटि भेटिएका सहकारीमा हाल धमाधम समस्या देखिन थालेको छ ।

दुई वर्षअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको एक सरकारी समितिले समेत सहकारीमा जोखिमपूर्ण ठूलो कारोबार भइरहेको र सर्वसाधारणको निक्षेप जोखिममा रहेको भन्दै तत्काल प्रभाकारी कदम चाल्न सुझाव दिएको थियो, तर हालसम्म यस सम्बन्धमा सरकारले कुनै कदम चाल्न सकेको छैन ।

सहकारीमा देखिएका समस्याका कारण निक्षेप बाहिरिएर सिंगो सहकारी क्षेत्र नै समस्यामा पर्न लागेपछि अभियानको नेतृत्वकर्ता राष्ट्रिय सहकारी संघले आइतबार उच्चस्तरीय सहकारी सुदृढीकरण समिति गठन गरेको छ । तर, समितिले हालसम्म समस्या समाधान गर्न कुनै कदम चालेको छैन ।

बीपी राजमार्गको अवस्थाबारे काठमाडौंमै जानकारी


सिन्धुलीमाढी, ७ पुस - तराई जोड्ने छोटो सडक बनेपा–सिन्धुली–बर्दिबास (बिपी) राजमार्गमा यात्रुलाई यात्रा अघि नै सडकको अवस्थाबारे जानकारी दिइने व्यवस्था गरिने भएको छ । पहिरो, चक्काजामलगायतका कारण आवागमन बन्द भई बाटोमै अलपत्र पर्ने समस्याबाट दिक्क हुनुपर्ने यात्रुहरूले यसबाट अब राहत पाउने भएका छन् ।

सिन्धुली रोड मेन्टिनेन्स युनिटले काठमाडौंका साथै राजमार्गका विभिन्न स्थानमा डिजिटल बोर्ड राखेर सडकको अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिने व्यवस्था गर्न लागेको हो । नेपालमै यो प्रविधि पहिलो पटक जडान गर्न लागिएको हो ।

“डिजिटल बोर्डमार्फत सडकको अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिने व्यवस्था गर्न लागेका हौं” आयोजनाका मुख्य परामर्शदाता हिरोकी शिंकाइले भने, यात्रा पहिले नै सडकको अवस्था थाहा पाएपछि बीच बाटोमै अलपत्र पर्नु नपर्ने र सुरक्षित रूपमा यात्रा गर्न सकिने उनले बताए ।

राजधानीलाई तराई जोड्ने छोटो राजमार्ग सन् २०१५ मार्च भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल १ सय ६० किलोमिटर सडकमध्ये अब नेपालथोकदेखि खुर्कोटसम्म २३ किलोमिटर सडक निर्माणाधीन छ ।

राजमार्ग पूर्ण रुपमा प्रयोगमा आएपछि सुरक्षित सडक प्रयोगका लागि आवश्यक तयारी गर्न सन् २०१२ को सुरुवातमा मर्मतसम्भार युनिट स्थापना गरिएको हो । आयोजनाले सडक प्रयोगकर्तादेखि पैदलयात्रुसम्मलाई सुरक्षित सडक प्रयोगबारे जनचेतना जगाउने लक्ष्य राखेको परामर्शदाता बिन्दुशमशेर राणाले बताए । परियोजनाले बिग्रेको सडक मर्मत गर्ने, बसपार्क, फुटपाथका साथै सडक प्रयोगसमन्धी संकेत चिन्हहरू, गति घटाउने प्रविधि राख्न लागेको उनको भनाइ छ ।

चार चरणमा विभाजन गरी आर्थिक वर्ष २०५३÷५४ देखि निर्माण सुरु भएको भएको राजमार्गको बर्दिबास–सिन्धुली बजार सडक खण्ड (३७ किमी), सिन्धुलीबजार–खुर्कोट (३६ किमि) र नेपालथोक–धुलिखेल(५० किमि) सडकखण्ड निर्माण पूरा भई यातायात सेवा सञ्चालित भएका छन् । नेपालथोक–खुर्कोट सडकखण्डको ३७ किमिमध्ये १४ किलोमिटर निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।



बर्दिबास–सिन्धुली सडकखण्ड निर्माणका लागि जापानी येन १ अर्ब ९४ करोड ३९ लाख, सिन्धुलीबजार–खुर्कोट ८ अर्व १५ करोड येन र नेपालथोक–धुलिखेलका लागि ४३ करोड येन लगानी भइसकेको छ । निर्माणाधीन खुर्कोट–नेपालथोक खण्डका लागि भने ३ अर्ब ६५ करोड येन अनुमानित लागत रहेको छ । सडक निर्माणका लागि आवश्यक जग्गा र घरको मुआब्जा र रोयल्टी भने नेपाल सरकारले व्यहोरेको छ ।



राजधानीलाई तराई जोड्ने वैकल्पिक बाटोका रुपमा सन् १९६० मा परिकल्पना भई निर्माण थालनी भए पनि त्रिभुवन राजपथ निर्माणपछि भने बिपी राजमार्गको निर्माण स्थगित भयो । २०५० सालमा पृथ्वी राजमार्ग पहिरोले क्षति भएपछि यस राजमार्गको महत्व महसुस गरिएको आयोजना प्रमुख भरतकाजी देउजुले बताए ।



राजमार्गले काभ्रे, रामछाप र सिन्धुलीको आर्थिक गतिविधि समेत बढेको छ । राजमार्गले यी जिल्लामा उत्पादित कृषि उपजले सहज रुपमा बजार पाउन थालेको र कृषकहरूको आय बढेको सिन्धुलीका कृषक मिन बहादुर श्रेष्ठले बताए ।


जापान सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत राजमार्ग आसपासका जनताको जीवनस्तर बढाउन र व्यावसायिक खेतिका लागि समेत सहयोग गरिरहेको छ । जाइकाका स्वयंवसेवक मार्फत सिन्धुलीमा जुनार, काभ्रेमा सुन्तलाका साथै व्यवसायीक तरकारी खेती, पशुपालनलगायतका क्षेत्रमा सहयोग गरिरहेको जाइका प्रतिनिधि इन्दो अकिसोले जानकारी दिए ।

निषेधित क्षेत्रमा सहकारीको लगानी


सहरी क्षेत्रमा सञ्चालित वित्तीय सहकारी (बचत तथा ऋण र बहुद्देश्यीय)ले कानुनले निषेध गरेका क्षेत्रमा लगानी गरेको भेटिएको छ । सहकारीले मापदण्डविपरीत सुन, चाँदी र सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । कमजोर अनुगमनका कारण सञ्चालकले आफूखुसी जथाभावी लगानी गर्दा सहकारीमा रहेको सर्वसाधारणको निक्षेप जोखिममा छ ।

राष्ट्र बैंक र सहकारी विभागको संयुक्त अनुगमनमा सहकारीको बदमासी देखिएको हो । अनुगमनका क्रममा सबैभन्दा बढी घरजग्गा क्षेत्रमा लगानी भएको पाइएको छ । अनुगमन भएका सहकारीमध्ये अधिकांशले ६५ प्रतिशतसम्म रकम घरजग्गामा मात्र लगानी गरेको विभागले जनाएको छ । कतिपय सहकारीले आफ्नै प्रकृतिको संस्थाको सेयर, संस्थाका सञ्चालकको लगानी रहेको कम्पनी र संस्था स्वयंले आफ्नै नाममा समेत लगानी गरेका छन् ।

सहकारीले व्यापारिक सञ्जाल बनाएर विभिन्न कम्पनीमा गैरकानुनी रूपमा लगानी गरेको विभागले जनाएको छ । सहकारीका नाममा हाउजिङ, अस्पताल, स्कुल, कलेज, एयरलाइन्स र इन्भेस्टमेन्ट कम्पनीमा पनि लगानी भएको छ ।
सहकारी दर्ता तथा नियमन मापदण्ड, २०६८ ले सहकारीले सदस्यबाट मात्र बचत संकलन गरी उनीहरूलाई ऋण लगानी गर्न पाउने व्यवस्था गरेको छ । यस्तो लगानीमा आफैंले प्रवाह गरेको सेयर, अन्य वित्तीय संस्थाको सेयर, सुनचाँदी धितोमा लगानी गर्न नपाइने व्यवस्था छ । त्यसैगरी बचत तथा ऋण सहकारीले ओभरड्राफ्ट र सञ्चालकले लगानी गरेको निजी उद्योगमा लगानी गर्न नपाइने उल्लेख छ ।

विभागका रजिस्ट्रार केदार न्यौपानेले व्यापारिक उद्देश्यले खुलेका सहकारीले छिटो कमाउन मापदण्डविपरीत लगानी गरेको बताए । राष्ट्र बैंकले घरजग्गामा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेपछि घरजग्गा कारोबारी सहकारीतिर सरेको उनको भनाइ छ । “बैंक तथा वित्तीय संस्थाका खराब ऋणी नै सहकारीतिर लागेकाले समस्या बढेको हो,” उनले भने ।

न्यौपानेका अनुसार व्यापारिक उद्देश्यमा खुलेका सहकारीले कारोबारी सदस्य बनाएर कारोबार गर्छन् र सदस्यलाई संस्थामा कुनै भूमिका दिँदैनन् । स्वनियमनमा चल्ने सहकारीका सदस्य भूमिकाविहीन हुँदा सञ्चालकले संस्थाको निक्षेप दुरुपयोग गरेको उनले बताए ।

कानुनविपरीत लगानी गरेका सहकारीलाई लगानी फिर्ता गर्न समयसीमा दिइएको र सो अवधिमा लगानी फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिइसकिएको न्यौपानेले बताए ।

बैंकहरूको ‘फिक्स्ड’ ब्याजदर कर्जा योजना

काठमाडौं, १७ पुस - पर्याप्त तरलता (लगानी योग्य रकम) भएपछि बैंक तथा वित्तीय संस्थाले निश्चित समयसम्म ब्याजदर परिवर्तन नहुने (फिक्स्ड ब्याजदर)  योजनासहित ऋण दिने थालेका छन् । कर्जाको ब्याजदर बढिरहँदा समस्यामा परेका ग्राहकले यस योजनाबाट राहत पाउनेछन् ।



यसअघि बैंकहरूले मुद्दती निक्षेपमा मात्र फिक्सड ब्याजदर योजना लागू गरे पनि कर्जामा भने बजारस्थितिअनुसार ब्याजदर परिर्वतन गर्दै आएका थिए ।


सहरी क्षेत्रका उपभोक्तालाई लक्षित गरी घरजग्गा, अपार्टमेन्टका साथै गाडी खरिद लगायतका क्षेत्रमा दिइने कर्जामा बैंकहरूले यस्तो योजना लागू गर्दै आएका छन् । हालसम्म राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स र एनएमबी बैंकले निश्चित अवधिसम्म ब्याजदर परिवर्तन नहुने गरी यो कर्जा योजना सुरु गरिसकेका छन् ।



वाणिज्य बैंकले एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने गरी घर र गाडी खरिदका लागि कर्जा दिइरहेको छ । बैंकले ५ वर्षे गाडी कर्जामा १२, ५ वर्षे घर कर्जामा १०.५, १० वर्षे घर कर्जामा ११.५ र १५ वर्षे घर कर्जामा १२.५ प्रतिशत ब्याजदर लागू गरेको जनाएको छ ।
फिक्स्ड ब्याजदर योजनाले कर्जाका ग्राहकलाई निश्चित अवधिसम्म ढुक्क हुने अवस्था सिर्जना भएको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । “यस योजनाले गर्दा कर्जाको ब्याज बढ्ला भन्ने ग्राहकलाई चिन्ता हुँदैन,” उनले भने ।
यसैगरी एनएमबी बैंकले पनि ग्राहकको आवश्यक्ताअनुसार २ देखि २५ वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने कर्जा योजना ल्याएको छ । ‘एनएमबी बैंक होम लोन प्याकेज’ कर्जाअन्तर्गत जग्गा खरिदका लागि अधिकतम ५० लाख र  घर तथा अपार्टमेन्टका लागि ३ करोड रुपैयाँसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।




सिटिजन्स बैंकले पनि ३ वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने गरी घरकर्जा योजना सञ्चालनमा ल्याएको छ । अधिकतम २५ वर्षे अवधि राखिएका योजनामा वार्षिक १०.५० प्रतिशत ब्याजदर तोकिएको छ ।




यसअघि बैंकहरूले ग्राहकसँग बजारअनुसार ब्याजदर परिवर्तन गर्ने पाउने आशयको सम्झौता गरी कारोबार गर्दै आएका थिए । यसैका आधारमा बैंकले कर्जाको ब्याजदर छिटोछिटो बढाउने गरेको सर्वसाधारणको गुनासो थियो ।




निश्चित समयसम्म ब्याजदर परिवर्तन नहुने गरी कर्जा दिने बैंकका योजनाले लगानी वृद्धि गर्ने र बजारमा सकारात्मक असर पार्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए । अहिले बैंकहरूले नयाँ क्षेत्र र ग्राहक खोजेर लगानी गर्नुपर्ने अवस्थामा यस्तो योजना उपयुक्त रहेको उनको भनाइ छ ।




“फिक्स्ड ब्याजदर योजनाले बैंकबाट कर्जा लिने सर्वसाधारणलाई निश्चित समयसम्म ढुक्क हुने स्थिति बनेको छ,” ज्ञवालीले भने, “यसले बैंकहरूको कर्जा लगानी बढ्नसमेत मद्दत पुग्छ ।”