Friday, January 04, 2013

सहकारीबाट निक्षेप बाहिरिँदै

ठूला कारोबार भएका सहकारीमा समस्या देखिन थालेपछि सहकारीबाट निक्षेप बाहिरिन थालेको छ । सहकारीमा समस्या परेको र सञ्चालकले ठगी गरेका घटना सार्वजनिक हुन थालेपछि रकम डुब्ने डरले सर्वसाधारणले निक्षेप झिक्न थालेका हुन् ।

“सहकारीहरू त डुब्दैछन् रे ! भन्दै एक सातादेखि पैसा फिर्ता माग्न आउन थालेका छन्,” मूलघर बचत तथा ऋण सहकारीका सचिव खिलानाथ दाहालले भने, “ठूला सहकारीमा समस्या देखिँदा सर्वसाधारणमा सहकारीप्रति नै नकारात्मक सन्देश फैलिएकाले सर्वसाधारण डराएका छन् ।” अहिले देखिएको समस्या समाधान गर्न नियमनकारी निकाय र सहकारीका केन्द्रीय संघहरूले तत्कालै कदम नचाल्ने हो भने सहकारी अभियान नै समस्यामा पर्ने दाहालले दाबी गरे ।

संकटा बचत तथा ऋण सहकारीका प्रबन्ध सञ्चालक विन्देश्वर श्रेष्ठ सहकारीप्रति सर्वसाधारणको विश्वास घटिरहेको बताए । “सञ्चारमाध्यममा सहकारीको ठगीका घटना सार्वजनिक भएपछि रकम डुब्ने डरले पैसा माग्न आउनेको संख्या बढेको छ” श्रेष्ठले भने, “संस्थाको स्थिति बुझाएर पठाउने गरेका छौं ।”

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका सञ्चालक परितोष पौड्यालले केही ठूला संस्थामा देखिएको समस्याले स–सानो कारोबार भएका संस्थामा पनि प्रभाव देखिएको जानकारी दिए । सदस्यमा पर्याप्त ज्ञान नभएकाले सबै सहकारी एकै हुन् भन्ने भ्रम फैलिएकाले समस्या बढिरहेको उनले बताए ।

“मुद्दती निक्षेपमा पैसा राखेका व्यक्तिले पनि लोन लिएर पैसा फिर्ता लिन थालेका छन्,” पौड्यालले भने ।

सहकारी विभागका रजिस्टार केदार न्यौपानेले भने सहकारी सिद्धान्तअनुसार नचलेका र पारदर्शी कारोबार नगरेका सहकारीमा मात्र समस्या भएको बताए । “सदस्यलाई संस्था आफ्नो हो भन्ने महसुुस गराएका संस्थामा समस्या छैन,” न्यौपानेले भने । ठूला सहकारीमा तरलताको समस्या देखिएकाले यसलाई समाधान गर्न सरकारले प्याकेजमै समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

सर्वसाधारणबाट पैसा उठाइ घरजग्गामा लगानी गरेका धेरै सहकारी उक्त ऋण उटाउन नसकेपछि सदस्यलाई निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

निक्षेप फिर्ता नदिएको भन्दै ६ महिनायता मात्र करिब १ दर्जन सहकारीका विरुद्ध डिभिजन सहकारी कार्यालय काठमाडौं र ललितपुरमा उजुरी परेको छ । काठमाडौंमा ओरेन्टल को–अपरेटिभ, एक्जिम, परिदृश्र, शुभश्री र सहायता बचत तथा ऋण सहकारीका निक्षेपकर्ताले निक्षेप फिर्ता नगरेको भन्दै डिभिजन कार्यालयमा उजुरी गरेका छन् । यसैगरी ललितपुर डिभिजन कार्यालयमा पनि ओरेन्टल को–अपरेटिभका साथै कोरना र उग्रचण्डी बचत तथा ऋण सहकारीका निक्षेपकर्ताको उजुरी परेको छ ।

सहकारीमा हाल सर्वसाधारणको १ खर्व ४३ अर्ब निक्षेप रहेको छ । कमजोर कानुन र नियमनका कारण सहकारीले गैरकानुनी रूपमा कारोबार गरिरहेकाले सर्वसाधारणको निक्षेप जोखिममा रहेको बताइएको छ ।

दुई वर्षअघि राष्ट्र बैंक र सहकारी विभागको संयुक्त अनुगमनमा सहरी क्षेत्रका ठूला सहकारीमा जोखिमपूर्ण कारोबार भइरहेको भेटिएको थियो । अनुगमनमा सहकारीले ६० प्रतिशतसम्म ब्याज असुलेको, एकैघरका सञ्चालक रहेको, ऋण प्रवाह गर्दा लिएको धितो सञ्चालकले आफ्नो नाममा पास गरेको, ८ प्रतिशतसम्म सेवा शुल्क लिएको, कृत्रिम हस्ताक्षर र नक्कली साधारणसभा गरेको लगायतका त्रुटि भेटिएका थिए ।

उक्त समयमा संस्थाको रकम दुरुपयोग गर्ने सञ्चालकलाई कारबाही गर्न अर्थ मन्त्रालयले निर्देशन दिए पनि विभागले भने अटेर गरेको थियो । अनुगमनमा त्रुटि भेटिएका सहकारीमा हाल धमाधम समस्या देखिन थालेको छ ।

दुई वर्षअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको एक सरकारी समितिले समेत सहकारीमा जोखिमपूर्ण ठूलो कारोबार भइरहेको र सर्वसाधारणको निक्षेप जोखिममा रहेको भन्दै तत्काल प्रभाकारी कदम चाल्न सुझाव दिएको थियो, तर हालसम्म यस सम्बन्धमा सरकारले कुनै कदम चाल्न सकेको छैन ।

सहकारीमा देखिएका समस्याका कारण निक्षेप बाहिरिएर सिंगो सहकारी क्षेत्र नै समस्यामा पर्न लागेपछि अभियानको नेतृत्वकर्ता राष्ट्रिय सहकारी संघले आइतबार उच्चस्तरीय सहकारी सुदृढीकरण समिति गठन गरेको छ । तर, समितिले हालसम्म समस्या समाधान गर्न कुनै कदम चालेको छैन ।

No comments: