Wednesday, June 05, 2013

मापदण्डविपरीत सेयर धितोमा कर्जा दिँदै सहकारी

असुल गर्न नसकेपछि ऋण लगानी जोखिममा

काठमाडौं, २१ जेठ- मापदण्डविपरीत सेयर धितोमा कर्जा लगानी गरेका सहकारीहरू ऋण असुल गर्न नसक्दा जोखिममा परेका छन् । कमजोर अनुगमनको फाइदा उठाउँदै सहकारीहरूले बैंक तथा वित्तीय संस्थाका साथै अन्य क्षेत्रका कम्पनीको सेयर धितोमा ऋण लगानी गरिरहेका छन् ।
सहकारी विभागले लागू गरेको ‘सहकारी मापदण्ड–२०६८’ मा सहकारीले सेयर प्रमाणपत्र धितो राखेर कर्जा प्रवाह गर्न नपाउने व्यवस्था छ । यो व्यवस्थाविपरीत सदस्यलाई ऋण लगानी गरेको र संस्था आफैंले सेयरमा लगानी गरेको विभागकै अधिकारी स्वीकार्छन् ।

विभागका उपरजिस्ट्रार उपेन्द्रबहादुर ढुंगानाका अनुसार सहकारीले छिटो कमाउने लोभमा सेयर बजार उच्च हुँदा लगानी गरेको र अहिले लगानी असुल नहुँदा जोखिम बढेको बताए । सेयर धितो कर्जा प्रवाह गर्न २०६८ को मापदण्डपछि मात्र रोक लगाइएकाले धेरै कर्जा त्यसभन्दा अघि नै लगानी भएको उनको भनाइ छ ।
“सेयर बजार उकालो चढेका बेला धेरै सहकारीले सेयर धितो कर्जामा लगानी गरे,” ढुंगानाले भने, “अहिले बजार ओरालो लागेसँगै असुल नहुँदा जोखिम बढ्यो ।” सेयरलगायत मापदण्डविपरीत लगानी गरेका संस्थालाई विभागमै बोलाएर लगानी फिर्ता गर्न निर्देशन दिइएको उनले जानकारी दिए । संस्थालाई दिएको समयसीमाअनुसार लगानी फिर्ता नगरे कारबही प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।
सेयरमा लगानी गरेको रकम खराब् भएपछि सहकारीले धितो लिलामीको सूचना सार्वजनिक गरेका छन् । थापाथलीस्थित इकोनोमी बचत तथा ऋण सहकारीले नेपाल श्रीलंका मर्चेन्ट एन्ड फाइनान्सको सेयर धितोमा ऋण लिएका लक्ष्मीबहादुर श्रेष्ठले ऋण नतिरेपछि लिलामीको सूचना निकालेको छ । सेयर धितो कर्जा नतिरेपछि जमलस्थित सम्झना बहुमुखी सहकारी संस्थाले पनि श्रेष्ठलाई कर्जा भुक्तानी गर्न ३५ दिने म्याद दिएको छ ।
सम्झनाले नै सेयर धितोमा दिएको कर्जा भुक्तानी गर्न बिनु श्रेष्ठ, जेन श्रेष्ठ, देवबहादुर श्रेष्ठ, रामेश्वर श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई ऋण तिर्न ३५ दिने म्याद दिएको छ । सहकारीले उनीहरूलाई एनसीसी बैंकको सेयर धितोमा नियमविपरीत कर्जा लगानी गरेको थियो ।
सरकारको अनुगमन र कारबाही कमजोर हुँदा सहकारीले सेयर धितो कर्जाका साथै अन्य क्षेत्रमा समेत लगानी गर्दै आएका छन् । मापदण्डविपरीत संस्थाले प्रवाह गरेकै धितोमा कर्जा प्रवाह गर्ने, आफ्नै प्रकृतिको संस्थाको सेयरमा लगानी गर्ने, संस्थाका सञ्चालकको लगानी रहेको कम्पनीमा सेयर किन्ने र घरजग्गा कारोबारमा लाग्दा सर्वसाधारणको निक्षेपसमेत खतरामा परेको छ । त्यसैगरी सहकारीले व्यापारिक सञ्जालसमेत बनाएर सहकारीका नाममा हाउजिङ, अस्पताल, स्कुल, कलेज, एयरलाइन्स र इन्भेस्टमेन्ट कम्पनीमा समेत लगानी भएको छ ।
यसअघि नेपाल वित्तीय र चन्द्रागिरि सहकारीले पनि कानुनविपरीत ‘गुड फर पेमेन्ट’ चेक धितोमा ऋण लगानी गरेको सार्वजनिक भएको थियो ।
सहकारीका सञ्चालकहरू भने सहरी क्षेत्रमा लगानी गर्ने क्षेत्र कम भएको र भएकोमा पनि मापदण्डले खुम्च्याएको बताउँछन् । मापदण्डका सबै व्यवस्था लागू गरे सहरी क्षेत्रका सहकारी बन्द गर्ने अवस्था आउने उनीहरूको भनाइ छ ।वित्तीय क्षेत्रमा १५ प्रतिशतभन्दा बढी योगदान दिएका २७ हजार सहकारीले २ खर्ब रुपैयाँ परिचालन गरेका छन् ।

No comments: