Thursday, November 24, 2011

सहकारीले विभागको मापदण्ड र निर्देशन मानेनन्

काठमाडौ, ७ मंसिर
सहकारीको वित्तीय कारोबार मापदण्ड र सहकारी विभागको निर्देशनविपरीत रहेको पाइएको छ । विभागको अनुगमनका क्रममा सहकारीले निर्देशनलाई अटेर गरी कारोबार गरिरहेको भेटिएको हो ।

सहकारी मापदण्ड–२०६८ विपरीत सहकारीहरूले कार्यक्षेत्रबाहिर कारोबार गर्ने, कम्पनीमा लगानी गर्ने, जोखिम कोषको व्यवस्था नगर्ने र आफन्तका नाममा कर्जा प्रवाह गर्ने, पर्याप्त धितो नराख्ने गरेका हुन् । वैशाखबाट लागू भएको मापदण्डमा यस्तो कारोबार गर्ने सहकारीका सञ्चालकलाई ठगीको कारबाही गर्ने उल्लेख छ । तर, कमजोर कानुनका कारण कारबाही गर्न नसकिएको विभागका अधिकारी तर्क गर्छन् ।

प्रायः सहकारीमा एकै गल्ती भेटिएको छ । तर, गल्ती गर्ने सहकारीका सञ्चालकलाई कारबाही गर्न विभागसँग पर्याप्त कानुनका नभएकाले त्रुटी दोहोरिरहेको र निर्देशनसमेत लागू नभएको विभागका अधिकारी बताउँछन् । “यसअघि अनुगमन गरेका सहकारीमा देखिएका गल्ती नयाँ सहकारीमा पनि देखिएका छन्,” विभागका रजिस्ट्रार सुदर्शनप्रसाद ढकालले भने, “सञ्चालकलाई कारबाही गर्न पर्याप्त कानुनसमेत नभएकाले गल्ती दोहोरिएका हुन् ।” कतिपय संस्थाको गल्ती पुरानै भए पनि त्यसलाई सुधार गर्न समय लागेको हुनसक्ने उनको भनाइ थियो ।

Monday, November 21, 2011

सहकारीको अनुगमनका लागि छुट्टै विभाग

काठमाडौं, ३ मंसिर
सहकारी विभागले बचत तथा ऋण सहकारीको अनुगमन प्रभावकारी बनाउन छुट्टै विभाग गठन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सहकारीको अनुगमन गर्न नसक्ने बताएपछि विभागले आफ्नो क्षमता बढाउन लागेको हो ।

Department of Cooperative 
विभागअन्तर्गत रहने अनुगमन विभागमा उपसचिव र ५ जन व्यवस्थापन विषय पढेको अधिकृत नियुक्ति गर्ने तयारी गरिएको छ । दरबन्दी स्वीकृतिका लागि कृषि तथा सहकारी मन्त्रालयमार्फत सामान्य प्रशासन मन्त्रालयमा र अर्थ मन्त्रालयमा बजेटको माग विभागका अधिकारीले जानकारी दिए ।

“उपसचिवको नेतृत्वका ५ जना अधिकृत रहने गरी अनुगमन सेल गठन गर्न लागेका छौं,” सहकारी विभागका रजिस्टार सुदर्शनप्रसाद ढकालले भने, “मन्त्रालयमार्फत दरबन्दी स्वीकृतिका सामान्य प्रशासनमा पठाएका छौं ।” सामान्यले दरबन्दी स्वीकृत गरेपछि सेल गठन प्रक्रिया अघि बढाइने उनले बताए । यस्तै आवश्यक बजेटका लागि अर्थ मन्त्रालयमा माग गरिएको उनले जानकारी दिए ।

ढकालका अनुसार उक्त सेलले सहरी क्षेत्रका ठूला कारोबार सहकारीको निरन्तर अनुगमन गर्नेछन् । ५ करोडभन्दा बढी कारोबार भएका सहकारीलाई यसले अनुगमन गर्ने र त्यसभन्दा सानो कारोबार भएका सहकारीको भने डिभिजन कार्यालयहरूले अनुगमन गर्ने उनले बताए ।

हाल बचत तथा ऋणका साथै वित्तीय कारोबार गर्ने बहुद्देश्यीय सहकारीको संख्या करिब १५ हजार छ । त्यसमध्ये ५ हजार सहकारीको कारोबार ५ हजार रहेको विभागले तथ्यांक संकलन गरेको छ । अधिकांश ठूला सहकारी काठमाडौं उपत्यका भित्र भए पनि केही संस्था पोखरा, झापा, काभ्रेलगायतका क्षेत्रमा छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा ५ करोडभन्दा बढी कारोबार भएको सहकारी संस्थाको राष्ट्र बैंकले अनुगमन गर्ने व्यवस्था गरेको थियो । तर जनशक्ति र पूर्वाधार अभावको कारण देखाउँदै बैंकले सहकारीको अनुगमन गर्न नसकिने भन्दै विभागलाई अनुगमनमा सहयोग मात्र गरेको छ । हाल राष्ट्र बैंकका दुई अधिकृत स्तरका कर्मचारी सहकारीको अनुगमनका लागि खटिएका छन् ।

राष्ट्र बैंकको सहयोगमा गत वर्ष सहकारी विभागले गरेको अनुगमनमा समेत ठूला सहकारी संस्थाहरूले सहकारी ऐन नियम र मापदण्डविपरीत कारोबार गरेको पाइएको थियो ।
अनुगमनमा संस्थाले ऋण लगानी गर्दा धेरै सेवा शुल्क लिने गरेको, संस्थाका सञ्चालकले सदस्यहरूको निक्षेप आफ्नो निजी कम्पनीमा लगानी गर्ने गरेको, कार्यक्षेत्र बाहिर र सदस्यबाहिर कारोबार गरेको पाइएको थियो ।

अनुगमनका क्रममा गल्ती भेटिएका संस्थालाई त्रुटि सच्याउन निर्देशन दिए पनि हालसम्म के कस्तो सुधार भयो भन्ने बारेमा विभागका अधिकारीसमेत अनभिज्ञ छन् । जनशक्तिको कमीका कारणले ती संस्थामा दोहो¥याएर अनुगमन गर्न नसकिएको उनीहरूको भनाइ छ ।

देशभर २३ हजारभन्दा बढी सहकारी छन् । तर, विभागमा भने कुल ५ सय ९४ जनशक्ति छन् भने अनुगमनका लागि २ सय ८५ जना मात्र छन् । सहकारीको बढ्दो कारोबारसँगै विभागको क्षमता नबढ्दा सहकारी क्षेत्रमा जोखिम बढ्दै गएको विज्ञहरूले औल्याउँदै आएका छन् । 

Thursday, November 10, 2011

सुन ५ सय रुपैयाँ घट्यो


काठमाडौं, २४ कात्तिक

स्थानीय बजारमा बुधबार रेकर्ड कायम गरेको सुनको भाउ विहिबार भने ५ सय रुपैयाँ सस्तो भएको छ । अन्तर्राष्ट्रिय बजार भाउ घटेपनि त्यसको असर स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार बुधबार प्रतितोला ५५ हजार २ सय रुपैयाँ कायम सुन विहिबार घटेर ५४ हजार ७ सयमा कारोबार भएको छ । यसअघि मंगलबार पनि सुनको भाउ सोही विन्दुमा थियो ।

यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै विहिबार चाँदी पनि २५ रुपैयाँ सस्तो भएको छ । बुधबार तोलाको १ हजार १ सय २५ रुपैयाँ रहेकोमा विहिबार १ हजार १ सय रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

सुन झनै महँगो

काठमाडौं, २३ कात्तिक
स्थानीय बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुन प्रतितोला ५ सय बढेर ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

मंगलबार पनि एकैदिन सुनको भाउ १ हजार रुपैयाँ वृद्धि भई ५४ हजार ७ सय पुगेको थियो । यसअघि गत भदौमा सुनको भाउले ५४ हजार २ सयको रेकर्ड बनाएपछि केही घटबढ भए पनि फेरि रेकर्ड बनाउन थालेको हो ।

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य खासै उतारचढाव नआए पनि नेपाली मुद्राको अवमूल्यनको असर स्थानीय बजारमा परेको हो ।

बुधबार अमेरिकी डलरको सटही दर ४४ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सटहीदर प्रतियुनिट ७९ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ ।  अन्तर्राष्ट्रिय बजारभाउ र डलरको मूल्यका आधारमा संघले दैनिक स्थानीय बजारभाउ निर्धारण गर्दै आएको छ ।

तीन महिनामा नेपाली रुपैयाँका तुलनामा अमेरिकी डलरको सटहीदर १० डलर बढेको छ । त्यसैको असर नेपाली बजारमा परेको संघका अध्यक्ष तेजरत्न शाक्यको भनाइ छ ।

यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै बुधबार चाँदीको भाउ पनि १५ रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ हजार १ सय १० रुपैयाँ कायम रहेकामा बुधबार १ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।
विश्लेषकहरू सुनचाँदीको भाउ उच्च हुनुको प्रमुख कारक अमेरिका, ग्रिसलगायतको आर्थिक संकटलाई मान्छन् । लगानीकर्ताहरू डलर र सेयरबजार छोडेर सुनतर्फ लागेका कारण भाउ उच्च भएको उनीहरूको तर्क छ । संकटका बेला सुनलाई ‘सुरक्षित लगानी’ मानिन्छ ।  यस्तै भारत, चीन लगायतका देशमा सुनको माँग वृद्वि भएको विश्व बजारमा सुनको मागको तुलनामा उत्पादन कम भएकाले पनि सुनको भाउ उच्च भएको उनीहरू बताउँछन् ।

डलर महँगिएपछि सुनको मूल्यमा नयाँ उचाइ

  •    एकैदिन १ हजार बढ्यो 
  •    तोलाको ५४ हजार ७ सय
यादव हुमागाईं
काठमाडौं, २२ कात्तिक
नेपाली मुद्राको तुलनामा अमेरिकी डलर मजबुत बन्दै गएपछि स्थानीय बजारमा सुनको मूल्य अकासिएको छ । स्थानीय बजारमा एकैदिन १ हजार रुपैयाँ बढेर मंगलबार सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ २० मा सुन प्रतितोला ५४ हजार २ सयमा कारोबार भएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा भने यसअघि प्राप्त गरेको सुनको रेकर्ड मूल्यलाई तोड्न सकेको छैन । गत भदौमा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय डलर पुग्दा नेपाली बजारमा ५४ हजार २ सयको बिन्दुमा थियो । तर, हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८ सय भए पनि नेपालमा भने यसअघिको रेकर्ड तोडिएको छ ।

“नेपाली मुद्राको तुलनामा अमेरिकी डलर मजबुत भएकाले सुनले हालसम्मकै उच्च बिन्दु कायम ग¥यो,” संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “भदौमा प्रतियुनिट ६७ रुपैयाँ रहेको डलर हाल ७८ रुपैयाँ पुगेको छ ।” नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर प्रतियुनिट ७८.२५ रुपैयाँ निर्धारण गरेको थियो ।

संघले अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको दैनिक मूल्य कायम गर्दै आएको छ । यसैले अन्तर्राष्ट्रिय बजार र डलरको उतारचढावले नेपाली बजारभाउमा असर देखिने गरेको छ ।

अन्तर्राष्टिय बजारमा मंगलबार सुन प्रतिऔंस ३५ डलर बढेको छ । मंगलबार १ हजार ७ सय ९८ डलरको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारभाउ कायम गरिएको संघले जनाएको छ ।

“लगानीकर्ताहरू सेयर बजार र डलर छाडेर सुनतर्फ लागेपछि मूल्य उच्च भइरहेको छ,” शाक्यले भने, “अमेरिकाको संकटका कारण डलरप्रति गिर्दो विश्वास र ग्रिसको आर्थिक संकट नै सुनको मूल्य बढ्नुका प्रमुख कारण हुन् ।”

मध्यपूर्व एसियाली देशका साथै अमेरिका, ग्रिसलगायतका देशको संकटका कारण भदौदेखि अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ उच्च छ । लगानीकर्ताले सुनलाई ‘सुरक्षित लगानी’ मानेर लगानी बढाउँदा मूल्य बढिरहेको छ ।

त्यस्तै, भारत, चीनलगायतका देशमा सुनको माग वृद्धि हुँदा विश्वबजारमा उत्पादन कम भएकाले भाउ उच्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । “पछिल्लो समय नेपालमा पनि घरजग्गा र सेयरबजार ओरालो लागेपछि सुनमा लगानी बढेको छ,” शाक्यले भने, “रेमिट्यान्सका कारण गाउँगाउँका सर्वसाधारण पनि क्रयशक्ति बढेपछि सुनतर्फ आकर्षित भएका छन् ।”
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ महँगो भई १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको छ ।

सरकारले भने सुनचाँदीलाई ‘अनुत्पादक क्षेत्र’ का रूपमा लिई यसको आयातलाई निरुत्साहित गर्दै आएको छ । आर्थिक वर्ष ०६५÷६६ मा ४१ अर्ब ६३ करोडको सुन आयात भई व्यापारघाटा उच्च भएपछि सरकारले आयात निरुत्साहित गर्न विभिन्न उपाय अपनाउँदै आएको छ । गत आवको आर्थिक विधेयकमार्फत भन्सारदर बढाइएपछि हाल वाणिज्य बैंकहरूमार्फत दैनिक १५ किलोमात्र सुन आयात भइरहेको छ भने चाँदी बजार मागअनुसार आयात गर्न पाउने व्यवस्था गरेको छ ।