Thursday, May 15, 2014

समस्या बन्दै बैंकहरुको बर्गिकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक\वित्तीय संस्थाको वर्गीकरण गरेर सेवा सञ्चालनको अनुमति दिए पनि उनीहरूले काम गर्ने विशिष्ट क्षेत्र र सीमा निर्धारण नहँुदा साना संस्था चेपुवामा परेका छन् ।
बैंक तथा वित्तीय संस्था ऐन ०६३ (बाफिया)ले पुँजीका आधारमा संस्थालाई ‘क’ देखि ‘घ’ वर्गसम्ममा वर्गीकरण गरेको छ । तर, ‘घ’ वर्गका लघुवित्त विकास बैंकबाहेक ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीका प्रायः काम एकै प्रकृतिका हुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।
विदेशी विनिमय र प्रतीतपत्र (एलसी) सेवाबाहेक सबै कम्पनीले एकै प्रकृतिका निक्षेप तथा कर्जाका सेवा दिँदै आएका छन् । बढी पुँजी भएका बैंकले समेत स–साना क्षेत्रमा काम गर्दा कम पुँजी भएका वित्तीय संस्थामाथि दबाब बढेको छ ।

छुट्टाछुट्टै ऐनअन्तर्गत खुलेका बैंक÷वित्तीय संस्थालाई एउटै छाता ऐनमा वर्गीकरण गरी समेटे पनि वर्गअनुसार काम र क्षेत्र विभाजन नहुँदा भने समस्या भएको बैंकरहरू नै स्वीकार्छन् । एकाध काम छाडेर सबै संस्थाले सबै प्रकारका निक्षेप संकलन तथा कर्जा लगानी गर्ने गरेका छन् । एउटै काममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले प्रतिस्पर्धा गर्दा काम गर्न अप्ठ्यारो भएको गुनासा आउन थालेका छन् ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेलले निश्चित क्षेत्रमा केन्द्रित हुने गरी बैंकिङ सेवा दिने प्रणाली विकास नभएको बताए । “सानो पुँजीले निश्चित क्षेत्रका काम गर्न गाह्रो हुन्छ,” उनले भने, “अन्ततः सबै कम्पनी मर्ज भई वाणिज्य बैंक नै बन्ने हुन् ।” सानो पुँजीमा विकास बैंक खोल्न अनुमति दिने केन्द्रीय बैंकको नीति नै गलत भएको भन्दै उनले यसलाई सच्याउन सुझाव दिए ।

नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने बैंकहरूको वर्गीकरणअनुसार काम गर्ने क्षेत्र र सीमा फरक–फरक हुनुपर्ने बताउँछन् । “ऐनको वर्गीकरणअनुसार काम गर्ने क्षेत्र नछुट्ट्याउने हो भने हाम्रो नामबाट विकास शब्द हटाइदिए हुन्छ,” उनले भने, “एउटा वाणिज्य बैंकले पनि मोटरसाइकल किन्न लगानी गर्ने अनि विकास बैंक र फाइनान्स कम्पनीको काम के हो त रु” वर्गीकरणअनुसार काम गर्ने क्षेत्र र लगानी गर्न सीमा नछुट्ट्याउँदै एउटै काममा लुछाचुँडी गरेर अस्वस्थ प्रतिस्पर्धा भएको र साना कम्पनी टिक्न गाह्रो भएको उनको भनाइ छ ।
एसोसिएसनले वर्गीकरणका आधारमा काम पनि छुट्ट्याउन सरकारसँग लबिङ गर्दै आइरहेको बताउँदै उनले अर्थ मन्त्रालयमा समेत बहस भइरहेकाले केही वर्षमा वर्गीकरणसम्बन्धी नयाँ व्यवस्था आउने विश्वास व्यक्त गरे ।

राष्ट्र बैंकले कृषि विकास बैंक ऐन ०२४ अन्तर्गत खुलेको कृषि विकास बैंक, वाणिज्य बैंक ऐन ०३१ अन्तर्गतका वाणिज्य बैंक, वित्त कम्पनी ऐन ०४२ अन्तर्गतका फाइनान्स कम्पनी, नेपाल औद्योगिक विकास निगम ऐन ०४६ अन्तर्गतको तत्कालीन औद्योगिक विकास निगम र विकास बैंक ऐन ०५२ अन्तर्गत स्थापना भएका विकास बैंकलाई ०६३ मा छाता ऐन ९बाफिया० जारी गरी एकै ठाउँमा समेटेको थियो । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषलगायतका दातृनिकायले छाता ऐन ल्याउन सुझाव दिएका थिए ।
बाफियाले पुँजीका आधारमा कम्पनीको वर्गीकरण गरे पनि काममा भने खासै अन्तर छैन । ऐनको दफा ३१ मा बैंक तथा वित्तीय संस्थालाई वर्ग छुट्ट्याए पनि काम गर्ने क्षेत्र र रकमको सीमा भने निर्धारण गरेको छैन । केही कामको सीमितताबाहेक भिन्नता छैन ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्य बैंक÷वित्तीय संस्था सबैलाई एउटै ऐनमा समेट्दा साना कम्पनीलाई काम गर्न समस्या भएको बताउँछन् । “सबैलाई एउटै ऐनमा राखिएकाले साना कम्पनीका समस्या सम्बोधन गर्न अप्ठ्यारो भएको छ,” उनले भने, “हामीलाई लक्षित गरेर आएको नीतिको फाइदा वाणिज्य बैंकले बढी उठाएका छन् ।”

बैंकहरूले लगानी नगर्ने स–साना क्षेत्रमा समेत जाने फाइनान्स कम्पनीका ग्राहक वाणिज्य बैंकहरूले तान्ने गरेको गुनासो उनले गरे । “हामी घरको जग हाल्न कर्जा दिन्छौं, त्यसपछि वाणिज्य बैंक गएर सस्तो ब्याजको प्रलोभन देखाई हाम्रा ग्राहक खोस्छन्,” शाक्यले भने ।

राष्ट्र बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले पनि बाफियाअन्तर्गत बैंक÷वित्तीय संस्थालाई पुँजीका आधारमा वर्गीकरण गरिए पनि उनीहरूको काममा तात्विक अन्तर नहँुदा समस्या भएको स्वीकार गर्छन् । “यो हामीले पनि अनुुभव गरेको विषय हो, एकाध कामलाई छाडेर यिनीहरूले गर्ने काम एउटै भए,” उनले भने, “यसबारे पुनर्विचार गर्नुपर्ने समय आएको छ ।”

सबै बैंक÷वित्तीय संस्था सहरी क्षेत्रमा निक्षेप संकलन र कर्जा लगानीमा मात्र केन्द्रित भएकाले केन्द्रीय बैंकले नयाँ संस्थाको अनुमति बन्द गरी लघुवित्तलाई ग्रामीण भेगका तोकिएका जिल्लामा जान प्रोत्साहित गरेको उनले बताए ।

राष्ट्र बैंकका अनुसार हाल ३० वटा वाणिज्य बैंक, ८७ वटा विकास बैंक, ५९ वटा फाइनान्स र ३५ वटा लघुवित्त विकास बैंकले कारोबार गरिरहेका छन् । त्यसैगरी १५ वटा सहकारी संस्था र ३१ वटा गैरसरकारी संस्थाले सीमित बैंकिङ कारोबार गरिरहेका छन् ।

सहकारीमा ठगी गर्नेलाई २० वर्षसम्म जेल

काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारीको छानबिनका लागि गठित आयोगले सर्वसाधारणको बचत दुरुपयोग गर्ने सहकारीका सञ्चालकलाई २० वर्षसम्म जेल सजाय गर्न प्रस्ताव गरेको छ ।  

सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई बुझाउन लागिएको अध्ययन प्रतिवेदनमा ठगी रकमका आधारमा बिगो र जरिवानाका साथै २० वर्षसम्म जेल सजाय व्यवस्था गर्न सुझाइएको छ । विद्यमान मुलुकी ऐनमा कर्तव्य ज्यान र लागूऔषध कारोबारीलाई मात्र २० वर्ष जेल सजाय हुने व्यवस्था छ ।

६ महिना अध्ययन गरी तयार पारिएको प्रतिवेदनमा कडा सजायको व्यवस्था नहुँदा सहकारीमा ठगी बढिरहेको निष्कर्ष निकाल्दै सहकारी ऐनको मस्यौदासमेत तयार पारिएको छ ।

“सहकारीमा नाममा ५० करोड रुपैयाँभन्दा बढी ठगी गर्नेलाई अधिकतम २० वर्ष जेल सजाय हुने व्यवस्थासहित ऐनको मस्यौदा बनाएका छौं,” आयोग संयोजक गौरीबहादुर कार्कीले भने, “बदमासी गर्नेलाई कडा कारबाही नगरेसम्म सहकारीको विकृति नियन्त्रण गर्न सकिँदैन ।” सरकारले दिएको कार्यादेशअनुसार नै ऐनको मस्यौदा बनाइएको उनले बताए ।

विद्यमान सहकारी ऐन ०४८ मा सर्वसाधारणको बचत दुरुपयोग गर्ने सञ्चालकलाई डिभिजन सहकारी कार्यालयहरूले अधिकतम १ हजार ५ सय रुपैयाँसम्म जरिवाना र संस्था खारेज गर्न सक्ने व्यवस्था छ । ठगीमा कारबाहीका लागि प्रहरीलाई सिफारिस गर्ने नियम छ । तर, कारबाहीको व्यवस्था लचिलो भएकाले ठगी मुद्दा चलाए पनि सहकारी सञ्चालक थोरै धरौटीमै उम्किने गरेका छन् ।

एकपछि अर्को सहकारीमा समस्या बढ्दै गएपछि सरकारले कात्तिकमा पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा सुशीलराम माथेमा र सीताराम उप्रेती सदस्य रहेको छानबिन आयोग गठन गरेको थियो । आयोगको म्याद जेठ ६ गते सकिदँैछ ।

आयोगले बचत फिर्ता नपाएका सर्वसाधारणबाट उजुरी संकलन गरी अध्ययन गरेको थियो । आयोगमा हालसम्म १ सय ३५ सहकारीका बचतकर्ताले ११ अर्ब ठगेको उजुरी छन्, जसमा ७ अर्ब ५८ करोड सावाँ र २ अर्ब २९ करोड ब्याज छ । यसैगरी हाउजिङपीडितले १ अर्ब ३६ करोड रुपैयाँ ठगिएको उजुरी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी ओरेन्टल सहकारीका विभिन्न शाखाबाट साढे ३ अर्ब र गुण सहकारीका राजेन्द्र श्रेष्ठको नाममा १ अर्ब ठगीको उजुरी छ ।

यसैगरी आयोगले समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि अधिकारसम्पन्न समिति गठन गर्नसमेत सुझाएको छ । प्रस्तावअनुसार समितिले समस्यामा परेका सहकारीको सम्पत्ति कब्जामा लिएर लिलाम गरी बचतकर्ताको रकम फिर्ता गर्नेछ । बैंकिङ क्षेत्रमा जस्तै सहकारीमा पनि ऋण असुली न्यायाधिकरण गठन गर्न सुझाव दिइएको छ ।

संख्यात्मक वृद्धिका कारण सहकारीमा अस्वथ्य प्रतिस्पर्धा बढेको निष्कर्ष निकाल्दै आयोगले सम्भाव्यता अध्ययनका आधारमा मात्र सहकारी दर्ता, नियमित अनुगमन र निरीक्षण, गलत गर्नेलाई कारबाही र मर्जर अभियान सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको छ । तर, अनुगमनका लागि सहकारी विभागको क्षमता बढाउनुपर्ने आयोगको भनाइ छ ।

बैंक\वित्तीय संस्थाभन्दा बढी ब्याज दिने भएकाले सेवाग्राही सहकारीमा बढी आकर्षित छन् । त्यसरी संकलन भएको बचत सहकारीका सञ्चालकले छिटो नाफा कमाउने लोभमा घरजग्गालगायतका क्षेत्रमा आफूखुसी लगानी गर्दा सहकारीमा समस्या आएको छ । सहकारीले अस्वाभाविक ब्याजदर दिने सार्वजनिक विज्ञापन गरेर निक्षेप संकलन गर्दासमेत सरकारले आँखा पु¥याउन नसक्दा ठगी भएको आयोग सदस्य सीताराम उप्रेती बताउँछन् ।

यसअघि पनि सहकारीमा सुधारका लागि ३ छुट्टाछुट्टै समितिले विभिन्न सुझाव बुझाइसके पनि सरकारले हालसम्म कार्यान्वयन गरेको छैन । सहकारीमा विकृति नियन्त्रण गर्न र समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न नसक्दा दिनप्रतिदिन सहकारीप्रति जनआक्रोश बढ्दो छ । ओरेन्टललगायत सहकारीका पीडितले समूह नै बनाएर दबाबमूलक आन्दोलन गर्दै आएका छन् ।

हाल देशभर ३० हजार सहकारीले सर्वसाधारणको २ खर्ब रुपैयाँभन्दा बढी रकम परिचालन गरेका छन् । तर, त्यसको निरीक्षण र अनुगमका लागि भने विभागमातहत २ सय कर्मचारीमात्र छन् ।

Thursday, March 06, 2014

सहकारी नेताज्यूको माला मोह

सहकारीका दुईवटा केन्द्रीय संघका साधारणसभा हालैमात्र सम्पन्न भए । सहकारी क्षेत्रको एकमात्र राष्ट्रिय सहकारी बैंक र त्यस लगत्तै नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) साधारणसभामा धुमधामका साथ भएको चुनावबाट नेतृत्व चयन भयो । केही पुरानै अनुहार दोहारिए, केही नयाँ थपिए । राजनीतिक दलका प्यानल बने, केहीले जिते, धेरैले हारे ।

चुनावपछि नव निर्वाचित नेताज्यूहरुमा माला र सम्मानको मोह खुवै देखियो । चुनावको परिणाम घोषणा लगत्तै विजेताहरु निर्वाचनस्थलदेखि नै सुरु भएको माला, अविर र खादाले रंगिने शिलशिला अझ सकिएको छैन । उनीहरु नेताले चुनाव जितेझै जिल्ला जिल्ला घुमघाम गर्दै माला, अविर र खादाले रंगिदै आएका छन् । राजनीतिक दलका नेताहरु चुनाव जित्दा अनुहार नै ढाक्ने गरी माला लगाउँछन्, त्यसैगरी यसपटक सहकारीमा भएको चुनावले हालै भएको संविधान सभाको चुनावको विजय जुलुस र शासकहरुको देश दौडाहालाई माथ गरेको छ ।

माला मोहमा बैंकको तुलनामा नेफ्स्कूनका नेताहरु अगाडी देखिए । नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष जम्बो टोली नै लिएर प्रारम्भिक संस्थादेखि जिल्ला संघहरुका सम्मान थाप्न देश दौडाहमा लागेका छन् । नेताज्यूहरुका फेसबुकका भित्ताहरु पनि सम्मान, बधाई थापेका, माला लगाएका र अविरले रातै भएका अनुहारले रंगिएका छन् ।

अहिले बचत तथा ऋण सहकारीमा देखिएको समस्याका कारण सिंगो सहकारी क्षेत्र नै बदनाम भइरहेको छ । यसैको छानविनका लागि भनेर सरकारले उच्चस्तरिय जाचबुझ आयोग पनि बनाएको छ, तर नेफ्स्कुनका पदाधिकारीलाई न यसबारे कुनै चासो न त चिन्ता नै । उनीहरु फगत आत्म प्रचारमा रमाएका झै देखिन्छ । उनीहरुको देश दौडाहा देख्दा लाग्छ, ठुलै युद्ध जितेर खुसीयाली मनाइरहेका छन् ।

‘तपाईहरुलाई किन यति धेरै सम्मान थाप्ने मोह ?’ फेसबुकमा एक नवनिर्वाचित संचालकलाई यस स्तम्भकारले सोध्यो । उनले सम्मान गर्ने होडबाजी नै चलेको र आफुले यसलाई बन्द गरौ भन्ने प्रस्ताव राख्दा विरोध गरेको र आफु भने नजाने घोषणा गरे । तर, त्यसको एक साता पनि बित्न नपाउँदै उनी स्वयंम अध्यक्षको पछि लागेर मध्यतराईका जिल्लाहरुमा सम्मान थाप्ने पुगे । अहिले उनी आफ्नो बोली फेर्दै भन्छन् यो त हाम्रा लागि सर्वसाधारणको भावना बुझ्ने मौका पनि त हो नि ।

कति हास्यास्पद कुरा नेताज्यू, लामो सयम सहकारीमा विताइसकेको तपाईहरु सहकारी क्षेत्रका समस्याहरुबारे अनभिज्ञ त पक्कै हुनुहुन्न होला । सम्मान थाप्दा थाप्दै कार्यकाल सकिने पो हो कि बिचार गर्नुहोस् । जनता त बिचरा, एउटाले सम्मान गर्र्यो, हामी पनि के कम भन्दै सम्मानको प्रतिस्पर्धामा उत्रियो । यसलाई रोक्न किन सक्नुभएन तपाईहरुले ? यसले समाजमा कस्तो सन्देश गइरहेको छ तपाईले मूल्यांकन गर्नुभएको छ ? छैन भने सम्मानका फोटोमा आएका कमेन्टहरु केलाएर हेर्नुहोस् त । यतिखेर तपाईहरुको जिम्मेवारी के हो राम्रोसँग मनन गर्नुहोस्, बरु कार्यकालभरीमा कमसे कम एउटा भएपनि उदाहरणीय काम गरेपछि मात्र सम्मान थाप्न जाने कि ?

Saturday, November 02, 2013

एकाउन्टपेयी चेकबाट कारोबार बढ्यो

काठमाडौं, १४ कात्तिक - एकाउन्टपेयी चेक क्लियरिङ (राफसाफ) गर्न छिटो र सजिलो भएपछि चेकमार्फत कारोबार गर्ने क्रम बढ्न थालेको छ । १ सातादेखि महिनौं लाग्ने एकाउन्टपेयी चेक क्लियरिङ एकैदिनमा हुन थालेपछि सेवाग्राहीहरू यसतर्फ आकर्षित भएका हुन् । 
भौतिक रूपमा हुने चेक क्लियरिङ सेवालाई विस्थापित गर्दै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एकैदिनमा ग्राहकको खातामा जम्मा हुने व्यवस्था मिलाएको छ । नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाको लगानीमा खुलेको कम्पनीले २ वर्षअघि सेवा सुरु गरेको थियो ।
विद्युतीय चेक क्लियरिङ सेवासँगै एसी पेयी चेकको संख्या बढ्दै गएको छ । गत साउनमा दैनिक ७ हजार चेक क्लियरिङ हुने गरेकामा कम्पनीले हाल दैनिक ११ हजारभन्दा बढी चेक क्लियरिङ गर्ने गरेको छ । साउनमा कम्पनीले १ लाख ५० हजार चेक क्लियरिङ गरेकामा यो संख्या बढेर २ लाख ५० हजारको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ ।
छिटो, छरितो सेवा र राष्ट्र बैंकका बाध्यकारी व्यवस्थाले गर्दा पनि एसीपेयी चेकको कारोबार बढ्दै गएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिए । “एकैदिनमा चेकको रकम खातामा जम्मा हुने र राष्ट्र बैंकको चेकसम्बन्धी व्यवस्थाले एसीपेयी चेकको कारोबार बढ्दै गएको हो,” उनले भने ।
राष्ट्र बैंकले मंसिर १ देखि अनिवार्य रूपमा ५० लाखभन्दा बढीका चेक र कम्पनी, संस्था वा कार्यालयका नाममा खिचिएका सबै चेक एकाउन्ट पेयी हुनुपर्ने व्यवस्था गरेको छ । पैसाको कारोबार कम गरी बैंकिङ कारोबार बढाउन एसीपेयी चेकलाई प्राथमिकता दिइएको केन्द्रीय बैंकले जनाएको छ ।
एनसीएचएलको अनलाइन सेवाले एकैदिन एकाउन्टपेयी चेक क्लियरिङ गर्न सकिन्छ । साधारण चेक दिउँसो १२ बजेभित्र र विशेष चेक १ बजेभित्र पेस भएमा सोही दिनमा क्लियरिङ हुने र उक्त समयपछि आएमा अर्को दिनमा क्लियरिङ हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल काठमाडौं, विराटनगर र वीरगन्जमा अनलाइन चेक राफसाफ सेवा दिँदै आएको छ । यो सेवासँगै राष्ट्र बैंकले ती स्थानमा भैतिक चेक राफसाफ पूर्ण रूपमा बन्द गरेको छ । कम्पनीले चालू आर्थिक वर्षभित्रमा भौतिक रूपमा चेक राफसाफ हुँदै आएका नेपालगन्ज, भैरहवा, पोखरा, धनगढी र जनकपुरमा सेवा सुरु गर्ने जनाएको छ ।

बजारको माग पूरा गर्न नसक्दा सरकारले करोडौं राजस्व गुमाइरहेको छ


चाडबाडका बेला सरकारले सुनको दैनिक आयात कोटा बढाएर २० किलो पु¥याएको छ । तर, बजारमा अभाव भएको भन्दै व्यवसायीले तोकिएको भन्दा तोलामा १५ सय रुपैयाँसम्म बढी लिएर बेचिरहेका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य भने तिहारको सिजनमा ४० किलोसम्म माग रहे पनि त्यसअनुसार आपूर्ति नभएकाले बजारमा कालोबजारी भइरहेको बताउँछन् ।
बजारमा अवैध सुनसमेत रहेकाले उनी त्यस्तो सुन नकिन्न र महासंघलाई प्रमाणसहित जानकारी गराउन आग्रह गर्छन् । सरकारले पर्याप्त मात्रामा आयात नगर्दा भइरहेको अवैध सुन कारोबारबाट दैनिक करोडौं राजस्व गुमिरहेको उनी बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी संघबाट हालैमात्र महासंघ बनेपछि तदर्थ समिति हुँदै पहिलो निर्वाचित अध्यक्ष बनेका शाक्यसँग सुनचाँदीको आयात र वितरण व्यवस्थित गर्नेदेखि सुन बजारलाई नियमन गर्न गोल्ड काउन्सिल गठन गर्नेसम्मको योजना छ । पुख्र्याैली पेसा पछ्याउँदै गरगहना कारोबारमा लागेका उनी ०३८ सालदेखि पूर्ण रूपमा सुनचाँदी व्यवसायमा छन् । 

दैनिक २० किलो सुन आयात भइरहेको छ तर व्यापारीहरू सधैं अभाव छ मात्र भन्छन् । आखिर सुन कहाँ गइरहेको छ ?
नेपालमा चाडपर्व र विवाह तथा व्रतबन्धका बेला दैनिक ३५ किलो सुन आवश्यक हुन्छ । कहिलेकाहीँ त बजारको माग ५० किलो नाघ्छ । यति हुँदाहुँदै पनि सरकारले सामान्य समयमा १५ किलो र सिजनमा २० किलो आपूर्ति गर्दै आएको छ । यो आवश्यक्ताभन्दा धेरै कम हो । १० वर्षअघिको खपतअनुसार अहिले जनसंख्या वृद्धि हेर्दा नेपालको माग ७५ किलो पुग्नुपर्ने हो तर सुनको महँगी, युवाहरूको विदेश पलायन, कालिगढको समस्या, लगानीमैत्री वातावरण अभावका कारण हाम्रो माग खासै बढ्न नसकेको अवस्थामा पनि सरकारले न्यून आपूर्ति गराउँदा सधैं अभाव भइरहेको छ ।
बजारको माग पूरा गर्न नसक्दा सरकारले करोडौं राजस्व गुमाइरहेको छ
मणिरत्न शाक्य अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ
दैनिक ४० किलो माग छ भन्ने आधार के छ त ?
नेपालमा १० हजार सुनचाँदी व्यवसायी छन् । तीमध्ये दिनको १ तोलादेखि लिएर १–डेढ किलोसम्म खपत गर्ने पसल पनि छन् । सबै व्यवसायीलाई बाँड्दा एउटाको भागमा १ आनामात्र पर्छ । १ आना सुन बाँडेर बजार माग पूर्ति हुन्छ र ? हामीले ४८ वटामध्ये १० वटा जिल्ला संघलाई १ टुक्रा पनि सुन दिन सकेका छैनौं । हाम्रा जिल्ला शाखाहरूले दैनिक गरेको मागको रेकर्ड हामीसँग छ । सोही आधारमा हामीले यो कुरा गरिरहेका हौं ।
सुन नहुँदा व्यवसायीले पसल बन्द गर्नुपरेको स्थिति छ कि छैन ?
छिमेकी देशसँग सीमा जोडिएका जिल्लामा अवैध सुन भित्रिने गरेको सुन्छौं । त्यस्तो सुन केही उपत्यका पनि आइपुगेको हल्ला मैले पनि सुनेको हुँ । अहिले तिहारका बेला बजारमा सुन नपाएको र केही व्यवसायीले तोलामा १५ सयसम्म बढी लिएको गुनासो आएको छ । अभाव हुँदा तिहारका लागि अर्डर लिएको सुन दिन गाह्रो भएको छ । मैले व्यवसायीलाई बढी रकम नतिर्नुस्, यसले बजार बिगार्छ भनेको छु । अहिले केही व्यवसायीले तीजमा फिर्ता आएको सुन स्टकमा राखेका छन् । त्यसबाहेक बजारमा ‘अर्को’ सुन पनि २–४ हजार बढी तिरेर पाइन्छ रे ! त्यो सुन के हो, तपाईंलाई पनि थाहा छ । यो बेला हामीले राष्ट्र बैंकलाई आयात कोटा दैनिक ४० किलो नसके पनि २५–३० किलो बनाउन आग्रह गरेका छौं, तर मानेको छैन । यसले गर्दा तस्करी मौलाएको छ । अहिले सरकारले १ किलो सुनमा ५ लाख २० हजार रुपैयाँ राजस्व उठाउँछ । त्यसबाहेक व्यवसायीले कारोबारबाट तिर्ने अन्य राजस्व पनि छ । बजारको माग पूरा गर्न नसक्दा सरकारले करोडौं राजस्व गुमाइरहेको छ ।
वितरण प्रणाली व्यवस्थित नभएको हो कि ?
बैंकको २० किलो सुन पनि गैरव्यवसायीले पाएका छन् कि भन्ने आशंकासमेत छ । यसलाई व्यवस्थित गर्न हामी सुनचाँदीका दुवै महासंघ मिलेर एउटै बास्केटमा राखी वितरण गर्ने सोचमा छौं । गभर्नरसँग पनि यसबारे कुरा गर्दा उहाँले ‘वास्तविक बजार माग कति हो, प्रमाणसहित दिनुस्, आवश्यक व्यवस्था मिलाउँछु’ भन्नुभएको छ । यसका लागि हामीले सबै जिल्लाबाट विवरण संकलन गरिरहेका छौं । यसबाट अहिलेको आपूर्ति असन्तुलन वितरण प्रणालीमा सुधार आउँछ भन्ने हाम्रो अपेक्षा छ ।
आफूले तोकेको भाउभन्दा महँगोमा कारोबार भइरहेका बेला महासंघले के गरिरहेको छ त ?
राज्य, व्यवसायी, उपभोक्ता ठगिइरहेका छन् । महासंघले भाउ राख्ने र कार्यान्वयन गर्ने हो । तस्करी नियन्त्रण गर्ने काम सरकारको हो । सरकारी अनुगमन टोलीजस्तै अनुगमन र कारबाही गर्न सक्ने अधिकार हामीलाई छैन । तोकेको भन्दा बढीमा कारोबार भएको भेटे कारबाहीका लागि सिफारिस गर्छाैं । तर, हामीले अनुगमनमा त्यस्तो भेटेका छैनौं । हामीले सोध्दा सुन छैन भन्छन् र १–२ महिना कुर्न नसक्नेलाई बढीमा बेच्छन् । किन्ने व्यक्ति पनि प्रमाण लिएर महासंघ आए कारबाही अगाडि बढाउँछौं । ८–९ महिनाअघि खोजिनिती गरेर कारबाही गर्न प्रहरीलाई सिफारिससमेत गरेका थियौं । महासंघ चुप लागेर बसेको छैन ।
४ महिनाअघि सुनचाँदी अनुगमन कार्यविधि बनाएर व्यवस्थित बनाउने सहमति भएको थियो, कार्यविधि बनाउने समितिमा व्यवसायी पछि छन् तर अहिलेसम्म आउन सकेन त ! किन ?
कार्यविधि मस्यौदा समिति सेलाएको हामीले पनि महसुस गरेका छौं । १० दिनको आन्दोलनपछि सरकारले १५ दिनभित्र मापदण्ड बनाउने गरी ५ जना सरकारी र २ वटा महासंघबाट २–२ जना गरी जम्मा ९ जनाको समिति बनाएको हो । हामीले पहिल्यै मापदण्डको खाका दिइसकेकाले काम छिटो हुन्छ भन्ने अपेक्षा थियो तर ४ महिनाको अवधिमा ४ पटकमात्र बैठक बस्यो । मापदण्डको काम ८० प्रतिशत पुगेको छ । अब एउटा बैठक बसेपछि सहमति होला ।
अहिले मुख्य गरी जर्तीमा कुरा मिलेको छैन । वाणिज्य विभागले सुनमा २ र चाँदीमा ४ प्रतिशत जर्ती राख्ने कुरा अगाडि ल्यायो । तर, हामीले न्यूनतम १ देखि सुनमा १५ प्रतिशतसम्म माग गरिरहेका छौं । अहिले गहनाको डिजाइनअनुसार १, ८ र १० प्रतिशत जर्ती राख्ने सहमति भएको हो । हामी त जतिबेला पनि काम गर्न तयार छौं, जुनसुकै बेला बोलाओस्, काम गर्छौं । मुख्य कुरा त सरकारले नै तत्परता देखाउनुपर्छ ।
त्यसो भए सरकारको अनुगमनमा महासंघले किन विरोध ग¥यो ?
हामी कहिल्यै अनुगमनको विरोधी होइनौं । निरन्तर भइराख्नुपर्छ भनिरहेका छौं तर नियम, कानुन नै नबनाई सरकारले एक्कासि व्यवसायीलाई बदनाम गराउने हिसाबले अनुगमन गरेकोमा मात्र हामीले विरोध गरेका हौं । सरकारले निश्चित मापदण्ड बनाओस्, त्यसपछि मापदण्डअनुसार नचल्नेलाई कारबाही चलाउन हामी आफैं अगाडि बढ्छौं । तर, १ प्रतिशत व्यवसायीले सानो गल्ती गरे भन्दैमा ९९ प्रतिशतलाई बजारबाट हटाउन मिल्दैन । १ कर्मचारीले घूस लिएको भेटिए सबै कर्मचारीलाई बदनाम गराउने कुरा आउँदैन । हाम्रो विरोध त्यत्ति हो । यहाँ तिलको दाना जस्तो कुरालाई लिएर ठूलो बनाइएको मात्र हो ।
गल्ती गर्ने व्यवसायीलाई कारबाही नगर्न दबाब दिएर विकृतिलाई संरक्षण गर्नतिर लाग्नुभयो, होइन ?
कुन नियमअन्तर्गतको कारबाही ? नियम हुनु परेन ? एउटा झिँगो च्यापिएर मरेको छ, कस्तुरी मृग मारेको सजाय दिएर हुन्छ ? ठूलो गल्ती गर्ने त्यत्तिकै उम्किएका छन्, सानो गल्ती गर्नेलाई ५ वर्षसम्म जेल बस्नुपर्ने मुद्दा लगाइएको छ । यसैमा हाम्रो विरोध हो ।
व्यवसायीका नेता नै कारबाहीमा परेकाले विरोध चर्किएको हो कि ?
व्यवसायीका पूर्वअध्यक्ष र साधारण सदस्यलाई फरक कारबाही हुनुपर्छ भन्ने होइन । नेताहरूमा सानो गल्तीलाई ठूलो इस्यु बनाउन सकिए व्यवसाय नै तहसनहस पार्न सकिन्छ भन्ने अदृश्य इगो देखियो । त्यसैले हामीले विरोध गरेका हौं ।
पछिल्लो समय सुन तस्करी बढेको, भारतबाट सामान आयात गर्दा भारु भुक्तानीमा सुन प्रयोग भएको कुरा आइरहेका छन् । वास्तविकता के हो ?
त्यो कुरा मैले पनि सुनको हुँ । अनौपचारिक रूपमा आएको सामानको भुक्तानीमा सुन प्रयोग भएको सुनेको छु । सरकार नै चनाखो हुनुपर्छ । सिमानामा सरकारी कर्मचारी के गरेर बस्छन् ? सुन कसरी वारपार भयो होला त ? सरकार गम्भीर हुने हो भने तस्करी सम्भव हुँदै हुँदैनथ्यो । हामी गरगहना बनाउन सुन नपाएर त्यसै बस्नुपर्ने, सुन उता जाने राम्रा होइन ।
अवैध कारोबारलाई सघाउने त व्यवसायी नै हुन् नि, होइन ?
त्यस्तो अवैध कारोबारमा लागेको छ भने त्यो व्यवसायी नै होइन । सुन तस्करीमा समातिएको मान्छे महासंघको कुन शाखामा सदस्य छ देखाउनुहोस् न ! तस्करीमा लाग्ने व्यक्ति बेग्लै तरिकारले कारोबार गर्छन् । त्यस्ता व्यक्ति त हामीकहाँ आबद्ध नै हुँदैनन् । स्वच्छ रूपमा कारोबार गरी त्यसबाट आउने  नाफाबाट चरण–चरण रूपमा अगाडि बढ्नेमात्र व्यवसायी हो ।
नेपालमा सुनचाँदीका गरगहना बनाउने ८० प्रतिशत कालिगढ भारतीय रहेको अवस्थामा नेपाली कालिगढ उत्पादन गर्न महासंघले सुरु गरेको प्रशिक्षण केन्द्रको प्रभाकारिताचाहिँ कस्तो छ ?
०५९ सालमा सरकारको सहयोगले नेपाली युवायुवतीलाई गरगहना बनाउने तालिम दिन सुरु गरेका थियौं । ६ वर्षको अवधिमा २ सय कालिगढ उत्पादन भए । त्यसपछि तालिम लिनेहरूले सरकारको सहयोगमा भएको भन्दै शुल्क नतिरेपछि रकम अभावले कार्यक्रम बन्द भयो ।
हालैमात्र जर्मन सहयोग नियोग (जीआईजेड)को सहयोगमा नयाँ प्रविधिका पूर्वाधारसहितको ट्रेनिङ सेन्टर फेरि सुरु गरेका छौं । त्यसमा बजारको मागअनुसार नै कोष बनाएर स्तरीय ट्रेनिङ गराउँछौं । अहिले गहना बनाउने तालिममा दोस्रो ब्याच सुरु हुँदैछ । २ सयभन्दा बढी सुन जाँचकी उत्पादन गरिसक्यौं । अब अरु नयाँ–नयाँ तालिमसमेत चलाउनेछौं । दक्ष नेपाली कालिगढ उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।