Sunday, August 07, 2011

‘नियमनकारी निकायबीच समन्वय नहुँदा समस्या’

काठमाडौं, २१ साउन
नेपाल चाटर्ड एकाउन्टेन्टस संस्था (आईक्यान) का अध्यक्ष सुदर्शनराज पाण्डेले नियमनकारी निकायबीच समन्वय नभएकाले वित्तीय सुशासन कायम राख्न समस्या भएको बताएका छन् । समस्या समाधानका लागि आईक्यानले भने समन्वयको कार्य सुरु गरेको उनले बताए ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) छैटौं स्थापना दिवसका अवसरमा शुक्रबार भएको कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले वित्तीय सुशासन कायम गर्ने जिम्मेवारी लेखापरीक्षकको मात्र नभई यसमा नेपाल राष्ट्र बैंक, बिमा समिति, धितोपत्र बोर्ड, सहकारी विभागसमेत चनाखो हुनुपर्ने बताए । नियमनकारी निकायको भूमिका कमजोर भएकाले नियमन हुन नसकेको र दोष सबै लेखापरीक्षकलाई लगाइएको दाबी गरे । आईक्यानले लेखा परीक्षकलाई जोगाएको आरोपको खण्डन गर्दै उनले गत वर्ष ६ जनालाई कारबाही, १० जनालाई सचेत, २ जनालाई सफाइ र २ जनाको मुद्दा अन्तिम टुंगोमा पुगेको जानकारी दिए ।

अडानका अध्यक्ष कोमल खरेलले गलत काम गरेका लेखा व्यवसायीलाई कारबाही गर्न आग्रह गर्दै एक जनाको कारणले व्यवसायलाई नै बदनाम नगराउन आग्रह गरे । कर बिजक नक्कली या सक्कली छुट्याउने काम लेखा व्यवसायीको नभएको भन्दै भ्याट छलीमा आफूहरूको गल्ती नभएको उनले जिकिर गरे । आर्थिक ऐन–२०६८ मा उल्लेख गरिएको ‘मतियार’ शब्दको अर्थ नखुलेको र सहकारी मापदण्ड–२०६८ को कडा प्रावधानले व्यवसायीलाई काम गर्न अप्ठेरो परेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले भ्याट छलिको छानबिन चलिरहेको र लेखा व्यवसायी पनि दोषी पाए कारबाही गरिने बताए । आर्थिक सुशासनका लागि लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै जिम्मेवारीसाथ काम गर्न आग्रह गरे ।

लेखा व्यवसायीको संगठन अडानले व्यवसायीको हक–हितका साथै कार्यदक्षता बढाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । स्थापना दिवसको अवसरमा संस्थाले देशका विभिन्न ठाउँमा सदस्यहरूलाई तालिम दिएको जनाएको छ । काठमाडौंमा आर्थिक ऐन–२०६८, सम्पति शुद्वीकरण, सहकारी मापदण्डका परिवर्तित प्रावधानबारे तालिम सञ्चालन गरेको अध्यक्ष खरेलले बताए ।

हाल नेपालमा सिए र दर्तावाल लेखा परीक्षक गरी करिब ८ हजार लेखा व्यवसायी छन् ।

सुन तोलाको ५० हजार नाघ्ने

यादव हुमागाई
काठमाडौं, २१ साउन


दसैं–तिहारमा सुन किन्ने योजना बनाउनुभएको छ भने तपाईले बढी नै रकम छुट्ट्याउनुपर्नेछ । किनकि, अन्तर्राष्ट्रिय मूल्य लगातार उकालो लागिरहँदा एसियाली देशमा चाडपर्वका बेला सुन प्रतितोला ५० हजार रुपैयाँभन्दा बढी हुने अनुमान बजार विश्लेषकहरूले गरेका छन् ।
अहिले प्रतितोला ४६ हजार रुपैयाँ रहेको सुनका लागि चाडपर्व सुरु हुँदा ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने उनीहरूको आँकलन छ । चाडपर्व सुरु भएपछि एसियाली देशहरूमा माग बढ्ने हुँदा मूल्य पन िबढ्ने व्यवसायी बताउँछन् । दसैं–तिहारजस्ता चाडपर्वमा हिन्दू धर्मावलम्बीले सुनलगायत बहुमूल्य धातु किन्ने प्रचलन छ ।

“अन्तर्राष्ट्रिय बजार अस्वाभाविक रूपमा लगातार बढिरहेको छ,” नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्यले भने, “यही टे«न्ड हेर्दा दसैं–तिहारसम्ममा सुनको भाउ ५० हजार नाघ्नसक्छ ।” विश्लेषकरुले सन् २०१२ को जनवरीसम्ममा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय डलर नाघ्ने अनुमान गरेकाले त्यसको आधारमा नेपालमा भाउ ५० हजार कट्ने उनले बताए ।

सुनमा लगानीकर्ता आकर्षित भएकाले मूल्य बढिरहेको शाक्यको भनाइ छ । “सुनमा लगानी गर्न विभिन्न देशका केन्द्रीय बैंकदेखि सर्वसाधारणसम्म आकर्षित छन्,” उनले भने, “यसलाई अनुत्पादन क्षेत्र भन्दै नकारात्मक रहेका अर्थशास्त्रीसमेत सकारात्मक बन्दैछन् ।” हालै दक्षिण कोरिया र थाइल्यान्डका केन्द्रीय बैंकले ठूलो परिमाणमा सुन किनेको र चीनले समेत डलरको सञ्चिति घटाएर सुन किन्न लागेको सार्वजनिक भएपछि मूल्यमा प्रभाव परेको शाक्य बताउँछन् ।

एसियाली देशमा चाडपर्व सुरु हुँदा भाउ अझै बढ्न सक्ने सिटिजन बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत राजु नेपाल पनि बताउँछन् । “अहिले पनि मूल्य बढ्नुको एउटा कारण एसियाली देशमा माग बढेकाले हो,” उनले भने, “दसैं, तिहारको सिजन सुरु भएपछि माग वृद्धि भई भाउ अकासिनु स्वाभाविक हो ।”

पछिल्लो समय भारत, चीनलगायतका देशमा सर्वसाधारणको क्रयशक्ति बढेको र उनीहरू गरगहनामा आकर्षित भएका कारण माग र मूल्य बढेको उनको भनाइ छ ।

स्थानीय बजारमा एक महिनामा सुन तोलाको करिब ५ हजार महँगो भएको छ । असार २० गते ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा साउन २० गते सुनको भाउले ४६ हजार १ सय ५० रुपैयाँको रेकर्ड कायम गरेको छ ।

एक सातामै तोलाको १ हजार ५ सय रुपैयाँ महँगो भएको छ । आइतबार ४४ हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार ४६ हजार १ सय ४८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय भाउमा अत्यधिक उचारचढाव भएपछि बुधबार एकैदिन १ हजार ३ सय रुपैयाँ बढेको थियो भने दुईपटक मूल्य निर्धारण गरिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य एक महिनायता ७० डलर बढेको छ । असार २० गते प्रतिऔंस १ हजार ५ सय ९० डलरको हाराहारीमा रहेको सुन साउन २० मा आइपुग्दा १ हजार ६ सय ६० डलर पुगेको छ ।

विश्लेषकहरूले सन् २०११ को अन्त्यसम्ममा सुनको भाउ १ हजार ६ सय डलर पुग्ने अड्कल गरेका थिए । तर, उनीहरूको अड्कल आठ महिना नपुग्दै नाघिसकेको छ । बजार तीव्र गतिमा बढिरहेकाले १ हजार ७ सयको लक्ष्य पनि सयमसीमाअघि नै नाघ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुनको भाउ उचारचढावको प्रमुख कारण अमेरिकी अर्थतन्त्र हो । अमेरिकी ऋण संकटको त्रासका कारण यो साता सुनको भाउ उच्च बिन्दुमा पुगेको थियो । ऋण सीमा बढाउने प्रस्ताव संसद्बाट पारित भए पनि लगानीकर्ता यसप्रति ढुक्क हुन नसकेका कारण सुनको भाउमा सुधार हुन नसकेको एजेन्सीहरूले लेखेका छन् ।

“अमेरिका ऋणमा डुबेको छ भने युद्ध खर्च बढेको बढ्यै छ,” नेपालले भने, “यस्तो बेला लगानीकर्ताले सेयर र डलरभन्दा सुनलाई सुरक्षित मान्न थालेका छन् ।” अघिल्ला वर्ष युरोपेली देशमा केन्द्रीय बैंकले सुन बिक्री गर्ने भए पनि यसपटक नगरेकाले मूल्य बढ्न सघाएको दाबी उनले गरे । यही आधारमा बढिरहे सन् २०१२ को जनवरीसम्म १ हजार ७ सय डलर पुग्ने विश्लेषकको अड्कल अगाडि नै सही सावित हुने नेपालको भनाइ छ ।

Thursday, August 04, 2011

सुन तोलाको ४६ हजार

यादव हुमागाई
काठमाडौं, १८ साउन

* अमेरिकी ऋण त्रासले मूल्य अकासियो
* दुईपटक मूल्य निर्धारण
* एकैदिन १३ सय बढ्यो


नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला ४६ हजार रुपैयाँ पुगेको छ । युरोपेली देशहरू र अमेरिकी ऋण संकटको त्रासले अन्तर्राष्ट्रिय बजार उकालो लागेपछि स्थानीय बजारमा पनि मूल्य अकासिएको हो ।

सुनको नयाँ रेकर्ड कायम गर्ने क्रममा बुधबार एकैदिन १ हजार ३ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र उतारचढाव आएपछि नेपाल सुनचाँदी व्यवसायी संघले बुधबार सुनको मूल्यसमेत दुईपटक तय गरेको छ । बिहान १० बजे प्रतितोला ४५ हजार ७ सय रुपैयाँ तय गरिएको मूल्य दिउँसो २ बजे थप ३ सय रुपैयाँ थपेर ४६ हजार कायम गरिएको थियो ।

मंगलबार स्थानीय बजारमा प्रतितोला ४४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा ५० डलरभन्दा बढी वृद्वि भएपछि एकैदिन दोस्रो पटक मूल्य तोकिएको संघले जनाएको छ ।

“अन्तर्राष्ट्रिय बजारमा सामान्य उचारचढाव आउँदा स्थानीय बजारमा असर पर्दैनथ्यो,” संघका महासचिव माणिकरत्न शाक्यले भने, “आज धेरै उतारचढाव आएकोले दोस्रो पटक मूल्य निर्धारण गरिएको हो ।” एकैदिन यतिधेरै मूल्य बढेको पहिलो पटक भएको शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा पनि बुधबार सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । मंगलबार बेलुकी प्रतिऔंस १ हजार ६ सय २८ डलर रहेको मूल्य बुधबार बिहान १ हजार ६ सय ६० पुगेको थियो । त्यसपछि पनि लगातार उकालो लागेको मूल्य साँझसम्म १ हजार ६ सय ७० कायम भएको छ ।

विश्लेषकहरूले सन् २०११ को अन्त्यसम्ममा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सयसम्मको सीमा निर्धारण गरे पनि आठ महिनामै मूल्यले सीमा नाघेको हो । अमेरिकी अर्थतन्त्रमा अझै सुधारको संकेत नदेखिएकाले सुनको भाउ १ हजार ७ सय पुग्ने विश्लेषकहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

“अमेरिका र युरोपेली देशको ऋण संकटका कारण लगानीकर्ताले सुरक्षित सम्पत्ति मानिएको सुन किन्न थालेपछि मूल्य बढेको हो,” शाक्यले भने, “ऋण सीमा बढाउने विधेयक अमेरिकी संसद्मा पारित भए पनि लगानीकर्ताहरू अझै ढुक्क हुन नसकेकाले बजारमा असर देखिएको छ ।”

सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत राजु नेपालले अमेरिकी सरकारले ऋणपत्रको ब्याजदर नबढाएका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएको बताए । अमेरिकाको ऋण र युद्ध खर्च बढेकाले ऋणपत्रको तुलनामा सुनलाई सुरक्षित मान्न थालिएको उनको भनाइ छ । युरोपेली देशले सुन बिक्री नगरेको तथा भारत र चीनमा सुनको खपत बढेका कारण पनि मूल्य बढेको दाबी उनले गरे ।

बुधबार दक्षिण कोरिया र थाइल्यान्डका केन्द्रीय बैंकले ठूलो परिणाममा एकैपटक सुन किनेकाले पनि बजार भाउ अकासिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बुधबारमात्र कोरियाको केन्द्रीय बैंकले १ अर्ब डलरभन्दा बढीमा २५ हजार किलो सुन खरिद गरेको सार्वजनिक भएपछि बजार उचालिएको हो ।

यो बैंकले मंगलबार एक दशकभन्दा बढी अवधिमा पहिलो पटक सुन खरिदका लागि १ अर्ब डलरभन्दा बढी खर्च गरेको बताएको छ । विश्वव्यापी वृद्धिको अनिश्चितताबीच विदेशी मुद्राको सञ्चितिमा विविधीकरण गर्ने प्रवृत्तिमा आबद्ध हुन सुन खरिद गरेको उसको भनाइ छ ।

बजार भाउ उच्च भएपछि नेपाली बजारको कारोबारमा भने ९० प्रतिशत गिरावट आएको छ । “साउन/भदौ हाम्रा लागि अफ सिजन नै हो,” शाक्यले भने, “भाउ उच्च भएपछि आज यसअघिको अर्डर डेलिभरी दिने काममात्र भएको छ ।”

Monday, August 01, 2011

सुनको मूल्य बढ्ने क्रम जारी

तोलाको ४४ हजार ७ सय
काठमाडौं, १५ साउन

अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै स्थानीय बजारमा आइतबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । गत सोमबारको रेकर्ड तोड्दै आइतबार तोलाको ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार नेपाली बजारमा शुक्रबार प्रतिदस ग्राम ३८ हजार २५ रुपैयाँ रहेकोमा आइतबार एकैदिन ३ सय रुपैयाँ वृद्वि भई ३८ हजार ३ सय २५ (प्रतितोला ४४ हजार ७ सय ) रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

“अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढिरहेको छ,” शाक्यले भने, “त्यसैले नेपाली बजारमा पनि आज सर्वाधिक महँगो भएको हो ।” अन्तर्राष्ट्रिय बजार उकालो लागिरहेकाले अझै महँगो हुन सक्ने सम्भावना रहेको उनले बताए ।

लगानीकर्ताहरू सेयर बजारमा भन्दा सुनमा आकर्षित भएका कारण भाउ अकासिएको शाक्यको भनाइ छ । अमेरिकी डलरमा समेत गिरावट आएकाले सुनको भाउ लगातार बढिरहेको उनले जानकारी दिए ।

यसअघि गत सोमबार सुनको भाउले ३८ हजार १ सय ९५ (प्रतितोला ४४ हजार ५ सय ५०) रुपैयाँको रेकर्ड कायम गरेको थियो । त्यसपछि ओरालो लागेको भाउ आइतबार पुनः वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च भएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ६ सय ३२ डलरमा कारोबार भएको थियो । डलरको अवमूल्यन भएको र स्टक ओरालो लागेकाले सुनको भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैगरी आइतबार स्थानीय बजारमा चाँदीको भाउ पनि सामान्य बढेको छ । शुक्रबार प्रतिदस ग्राम ९ सय ५६ रुपैयाँ कायम रहेको चाँदी सोमबार ६ रुपैयाँ वृद्धि भई ६ सय ६२ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

बजारमा सुन महँगो भएपछि कारोबारमा उच्च गिरावट आएको सुनचाँदी व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार बिक्री ७५ प्रतिशतले घटेको र पुरानो सुन बिक्री गर्ने भने बढेका छन् ।

सहकारीमार्फत अग्र्यानिक उत्पादन बढाइने

काठमाडौं, १४ साउन
अग्र्यानिक खेतीबाट उत्पादित वस्तुको स्वदेश र विदेशमा माग बढ्न थालेपछि सहकारीमार्फत यस्तो उत्पादन बढाइने भएको छ । उत्पादन बढाउन र यस प्रविधिमा कृषकलाई उत्साहित गराउन कृषि सहकारी संघले देशव्यापी अभियान सुरु गरेको छ ।

रासायनिक मलबाट माटो बिग्रदै गएको र त्यसबाट उत्पादित उत्पादनले मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले अग्र्यानिक खेती बढाउने अभियान सुरु गरिएको संघका अध्यक्ष खेम पाठकले जानकारी दिए । यसबाट कृषकले धेरै फाइदा लिन सक्ने उनको दाबी छ ।

“अग्र्यानिक उत्पादन बढाउनका लागि देशभरका कृषि सहकारीमार्फत अभियान सुरु गरेका छौं,” पाठकले भने, “यस प्रणालीका फाइदाबारे जानकारी गराएर कृषकलाई उत्प्रेरित गराउँदैछौं ।” देशका विभिन्न ८ भागमा कार्यशाला गरी अग्र्यानिक खेतीबारे कृषकलाई जानकारी दिने उनले बताए । पाठकका अनुसार ५८ जिल्लाका कृषि सहकारीलाई समेटिने गरी कार्याशाला आयोजना गरिनेछ । त्यसमा सहकारीका पदाधिकारी समावेश गराउने र उनीहरूले कृषकलाई उत्पे्ररणा दिने पाठकले जानकारी दिए ।

कार्यशाला नेपालगन्ज, भैरहवा, चितवन, जनकपुर, मोरङ, पोखरा, धादिङ र काभ्रेमा आयोजना गर्न लागिएको बताइएको छ । तालिममा कृषकलाई जैविक मल बनाउने विधि, पशु मलमूत्रलाई विषादी बनाउने तरिकाबारे जानकारी गराइएको छ ।

अग्र्यानिक उत्पादनको हाल देश र विदेशमा समेत उच्च माग रहेकाले कृषकले यसबाट धेरै फाइदा लिनसक्ने पाठकको भनाइ छ । “रासायनिक मल प्रयोग गरेको उत्पादनभन्दा यो उत्पादन दोब्बरभन्दा धेरै फाइदा लिन सक्छन्,” पाठकले भने । संघले यस प्रविधिबाट उत्पादन सुरु भएपछि बजारीकरणको लागि पनि सहयोग गर्ने उनले उल्लेख गरे ।

सहकारी विभागका अनुसार देशभर ३ हजार १ सय कृषि सहकारी दर्ता छन् त्यसमध्ये संघमा भने तीन सय २० सहकारी मात्र आबद्ध छन् ।