Monday, August 01, 2011

सुनको मूल्य बढ्ने क्रम जारी

तोलाको ४४ हजार ७ सय
काठमाडौं, १५ साउन

अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै स्थानीय बजारमा आइतबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । गत सोमबारको रेकर्ड तोड्दै आइतबार तोलाको ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार नेपाली बजारमा शुक्रबार प्रतिदस ग्राम ३८ हजार २५ रुपैयाँ रहेकोमा आइतबार एकैदिन ३ सय रुपैयाँ वृद्वि भई ३८ हजार ३ सय २५ (प्रतितोला ४४ हजार ७ सय ) रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

“अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढिरहेको छ,” शाक्यले भने, “त्यसैले नेपाली बजारमा पनि आज सर्वाधिक महँगो भएको हो ।” अन्तर्राष्ट्रिय बजार उकालो लागिरहेकाले अझै महँगो हुन सक्ने सम्भावना रहेको उनले बताए ।

लगानीकर्ताहरू सेयर बजारमा भन्दा सुनमा आकर्षित भएका कारण भाउ अकासिएको शाक्यको भनाइ छ । अमेरिकी डलरमा समेत गिरावट आएकाले सुनको भाउ लगातार बढिरहेको उनले जानकारी दिए ।

यसअघि गत सोमबार सुनको भाउले ३८ हजार १ सय ९५ (प्रतितोला ४४ हजार ५ सय ५०) रुपैयाँको रेकर्ड कायम गरेको थियो । त्यसपछि ओरालो लागेको भाउ आइतबार पुनः वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च भएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ६ सय ३२ डलरमा कारोबार भएको थियो । डलरको अवमूल्यन भएको र स्टक ओरालो लागेकाले सुनको भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैगरी आइतबार स्थानीय बजारमा चाँदीको भाउ पनि सामान्य बढेको छ । शुक्रबार प्रतिदस ग्राम ९ सय ५६ रुपैयाँ कायम रहेको चाँदी सोमबार ६ रुपैयाँ वृद्धि भई ६ सय ६२ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

बजारमा सुन महँगो भएपछि कारोबारमा उच्च गिरावट आएको सुनचाँदी व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार बिक्री ७५ प्रतिशतले घटेको र पुरानो सुन बिक्री गर्ने भने बढेका छन् ।

No comments: