Tuesday, April 10, 2012

‘एकाउन्ट पेई’ चेक राफसाफ एकैदिनमा

काठमाडौं, २६ चैत
सोमबारबाट नियमानुसार काटिने एकाउन्ट पेई (एसी) चेक अर्को बैंकको भए पनि एकैदिनमा खातामा जम्मा हुने भएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) अन्तर्गत विद्युतीय प्रणालीमार्फत एकैदिनमा राफसाफ भई ग्राहकको खातामा पैसा जम्मा हुनेछ ।

यो सेवाका लागि पैसा तिर्नुपर्दैन । राष्ट्र बैंकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावअनुसार यो सेवाका लागि ग्राहकसँग शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

“अब एकाउन्ट पेई चेकबाट एकैदिनमा ग्राहकको खातामा रकम जम्मा हुन्छ,” एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमानसिंह प्रधानले भने, “खातामा रकम आउन केही घन्टा लागे पनि चेक सटही हुने÷नहुने जानकारी तुरुन्तै पाउन सकिन्छ ।” विदेशी मुद्राको चेकका लागि भने महिनाअघिदेखि नै सेवा दिइरहेको उनले बताए ।

प्रधानका अनुसार ग्राहकले आफ्नो खाता भएको बैंकमा चेक बुझाएपछि बैंकले स्क्यानिङ गरी त्यसको विवरण क्लियरिङ हाउसमा पठाउँछ । क्लियरिङ हाउसमा आइसकेपछि कम्पनीले चेक जुन बैंकको हो, त्यसमा पठाउँछ । चेक प्राप्त भएपछि बैंकले हस्ताक्षर, ब्यालेन्स बुझेर भुक्तानी गर्न मिल्ने÷नमिल्नेबारे जानकारी गराउँछ । ग्राहकले आफ्नो चेक सटही हुने÷नहुनेबारे केही मिनेटमै जानकारी पाउन सक्छन् । चेक भुक्तानीका लागि सम्बन्धित बैंकले अनुमति दिएपछि राष्ट्र बैंकलाई जानकारी हुन्छ र दुवै बैंकको खाता मिलाइदिन्छ ।
१२ बजेसम्म प्राप्त भएको चेक दिउँसो ३ बजे राफसाफ हुनेछ । राष्ट्र बैंकले तोकेको ‘मापदण्ड’का चेक भने २ बजेसम्म प्राप्त भए पनि ३ बजे राफसाफ हुनेछ । यसैगरी आपतकालीन चेक सटहीका लागि छिटो राफसाफ गर्न सकिने ‘एक्सप्रेस सेवा’ पनि उपलब्ध रहेको एनसीएचएलले जनाएको छ । यो सेवाअन्तर्गत एक घण्टाभित्र राफसाफ हुन्छ भने यसका लागि शुल्क लाग्नेछ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाका लागि भने ५ सय रुपैयाँसम्म निःशुल्क, ५ हजारसम्म ५ रुपैयाँ र त्यसभन्दा माथि १० रुपैयाँ शुल्क निर्धारण गरेको छ । एक्सप्रेस सेवाका लागि भने प्रतिचेक १ सय रुपैयाँ शुल्क तोकिएको कम्पनीले जनाएको छ ।

सन् २००८ मा स्थापना भएको क्लियरिङ हाउसले २०१० डिसेम्बरदेखि अनलाइन चेक राफसाफ तयारी सुरु गरेको हो । ८ करोड ९० लाख पुँजी रहेको कम्पनीमा राष्ट्र बैंकका साथै २५ बैंक तथा वित्तीय संस्था गरी २७ संस्थाको लगानी छ ।
सेवाका लागि एनसीएचएलले पीएस ईसीसी सफ्टवेयर सञ्चालन गरेको छ । यसैमार्फत वित्तीय संस्थाले कारोबार सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ । कम्पनीको सदस्य भइसकेपछि वित्तीय संस्थाका सम्पूर्ण शाखामा यसको पहुँच हुने र यसैमार्फत कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

“चेक राफसाफ सेवाकै लागि बैंकहरूले कर्मचारी खटाएर राष्ट्र बैंक पठाउनुपर्थो, त्यसमा लाग्ने खर्चभन्दा यो सेवा शुल्क सस्तो पर्छ,” प्रधानले भने ।
हाल औसतमा दैनिक १० हजार एसी पेई चेक राफसाफ भइरहेको छ । यो सेवाले संख्या अझै बढने कम्पनीको अनुमान छ ।
यो सेवा सञ्चालनका लागि कम्पनीले हालसम्म १ सय १९ बैंक तथा वित्तीय संस्थालाई तालिम दिएको छ । हालसम्म कुनै समस्या नभएको र बैंकहरूलाई समस्या परे सहयोगका लागि ‘हेल्प डेक्स’ पनि स्थापना गरिएको प्रधानले बताए ।

हालसम्म ३७ बैंक तथा वित्तीय संस्थाले कम्पनीको सदस्यता लिएका छन् । तीमध्ये ३१ वाणिज्य बैंक, ३ विकास बैंक तथा ३ फाइनान्स छन् ।

हाल चेक नै राष्ट्र बैंकमा लैजानुपर्ने भएकाले समय र खर्च धेरै लाग्ने गरेको छ । एसी पेई चेक राफसाफका लागि समय लाग्ने भएकाले सर्वसाधारण पैसाकै कारोबार गर्न उत्साहित हुने गरेका थिए ।

विद्युतीय राफसाफ सेवा सुरु भए पनि एसी पेई चेकको झन्झट कम हुने भएकाले बैंकबाट कारोबार बढ्ने प्रधानले बताए । “यो सेवाले पैसामै कारोबार गर्नुपर्छ भने नेपालीको बानी विस्तारै घट्छ र पैसाको कारोबार घटाउने राष्ट्र बैंकको अभियानलाई पनि मद्दत पु¥याउँछ,” उनले भने ।

No comments: