Sunday, April 08, 2012

ढुकुटीमा साढे ४ अर्ब कारोबार

काठमाडौं, २३ चैत
  •  पश्चिमाञ्चलमा सबैभन्दा बढी
  •  काठमाडौंमा २ हजारभन्दा बढी ढुकुटी समूह
  • केही सहकारीकोले पनि ढुकटीमा ऋण लगानी गरेको अनुमान

देशभर मौलाएको ढुकुटीमा करिब ४ अर्ब ५० रुपैयाँ कारोबार भइरहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । अध्ययनअनुसार पोखरा केन्द्र रहेको पश्चिमाञ्चल क्षेत्रमा सबैभन्दा बढी ढुकुटी कारोबार हुने गरेको छ । तराईमा भने यसको प्रभाव न्यून छ ।

ढुकुटी गैरकानुनी लेनदेन भएकाले कारबाही प्रक्रिया अघि बढाउन राष्ट्र बैंकले अर्थमन्त्रालयलाई यो अध्ययन प्रतिवेदन दिने तयारी गरिरहेको छ । केही दिनअघि बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले यो अध्ययन सरकारलाई दिने निर्णय गरेको थियो । कारबाही प्रक्रिया अघि बढाउन केही परिमार्जन गरेर प्रतिवेदन दिने निर्णय बैठकको थियो ।

पोखरालगायत केही क्षेत्रमा प्रहरी र स्थानीय प्रशासनले पनि ढुकुटीको निगरानी गरिरहेका छन् । ढुकुटीबारे सरकारले पनि अध्ययन गरेको थियो, जसमा झन्डै ६ अर्ब रुपैयाँ कारोबार भइरहेको उल्लेख छ ।

काठमाडौंमा मात्र २ हजारभन्दा बढी ढुकुटी सञ्चालनमा रहेको राष्ट्र बैंकको अनुमान छ । यस्तो कारोबार बन्द कोठामा गोप्य रूपले हुने भएकाले पत्ता लगाउन गाह्रो हुने बैंकले जनाएको छ । पोखरालगायत मध्यपहाडी क्षेत्रमा ढुकुटी खेल्ने र खेलाउने अत्यधिक छन् । पश्चिमाञ्चल क्षेत्रबाट ढुकुटी सुरु भएको हो ।

राष्ट्र बैंकले ढुकुटी खेल्ने र खेलाउनेसँग सम्पर्क राखेर अध्ययन गरेको थियो । राष्ट्र बैंक प्रवक्ता भाष्करमणि ज्ञवालीले बुधबार ढुकुुटी गैरकानुनी भएकाले यसमा नलाग्न सार्वजनिक रूपमा आग्रह गरेका थिए । यस्तो कारोबार गैरकानुनी भएकाले कारबाही हुने चेतावनी उनको थियो ।
गत वर्षमा बैंकिङ क्षेत्रमा नोट, तरलता अभावलगायतका समस्याले बैंकप्रति सर्वसाधारणको विश्वास घटेपछि ढुकुटीलगायतका गैरबैंकिङ कारोबार फस्टाएका हुन् । सहकारीपछि ढुकुटी कारोबार सजिलो हुँदा यो बढेको हो ।
दुई वर्षअघि घरजग्गा मूल्य अध्यधिक बढेकाले पनि ढुकुटी खेल्ने र खेलाउनेलाई प्रोत्साहन भएको थियो । केही सहकारीले ढुकुटीमा ऋण लगानी गरेको अनुमान राष्ट्र बैंकको छ ।

दिन दुईगुणा रात चारगुणा कमाउन थालेपछि धनाढ्य परिवारदेखि सर्वसाधारणसम्म ढुकुटीतर्फ आकर्षित भएका हुन् । यस्तो कारोबारमा नियमित रेमिट्यान्स आइरहने समुदाय बढी सक्रिय छन् । ठूलो संख्यामा महिलाहरू समेत ढुकुटी खेल्ने र खेलाउनेमा संलग्न भएको भेटिएको छ । “तर, अगाडि महिला देखिए पनि पछाडि पुरुष नै छन्,” राष्ट्र बैंकका एक अधिकारीले भने ।
अध्ययनमा एकै व्यक्तिले सात वटासम्म ढुकुटी खेलेको भेटिएको छ । एउटा ढुकुटीको पैसा तिर्न अर्कोमा संलग्न हुने प्रवृत्ति बढेकाले यस्तो भएको अनुमान छ ।

हाल तीन प्रकारका ढुकुटी रहेको अध्ययनमा उल्लेख छ । पहिलो– घटेर पैसा लिने, दोस्रो– पैसा लिई ब्याज तिर्ने र तेस्रो– आलोपालो पैसा लिने छन् । घटेर पैसा लिने एक प्रकारको जुवा नै भएको ती अधिकारीले बताए । केही ढुकुटीको कारोबार बढ्दै गएकाले एकाउन्टेन्ट राखेरसमेत हरहिसाब गरेको भेटिएको छ ।

पहिलो ढुकुटी खानेले पछि पैसा नतिर्ने, खेलाउने मूली गायब हुनेलगायतका समस्या देखिएका छन् । यसले आर्थिकलगायत सामाजिक विकृति पनि बढाएको अध्ययनमा उल्लेख छ । केही साताअघि मात्रै एक महिलाले ढुकुटी खेलाउँदा समस्या भएपछि तनावका कारण प्रहरी हिराशतमै आत्महत्या गरेकी थिइन् ।
 

No comments: