Friday, July 15, 2011

सुनको मूल्य बढ्ने क्रम जारी

प्रतितोला ४४ हजार नजिक
काठमाडौं, ३० असार

स्थानीय बजारमा सुनको भाउ बढ्ने क्रम जारी छ । बुधबारको रेकर्ड तोड्दै बिहीबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला ४४ हजार नजिक पुगेको छ ।
बुधबार प्रतितोला ४३ हजार ५ सय रुपैयाँ कायम रहेको सुनको मूल्य बिहीबार ४ सय रुपैयाँ महँगो भई ४३ हजार ९ सय (प्रतिदस ग्राम ३७ हजार ६ सय ४०) रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

“ अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढिरहेको छ,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि बिहीबार एतिहासिक रेकर्ड कायम भएको छ ।”

सेयर बजार ओरालो लागेपछि लगानीकर्ताको आकर्षण सुनमा बढेकाले अन्तर्राष्ट्रिय मूल्य उकालो लागेको शाक्यले बताए । युरोभन्दा डलर कमजोर भएका कारण पनि सुनको भाउ बढ्न सहयोग पु¥याएको उनको भनाइ थियो ।

गत असार ९ गते प्रतितोला ४३ हजार ३ सय (प्रतिदस ग्राम ३७ हजार १ सय २५) रुपैयाँमा कायम भएको सुन त्यसपछि क्रमशः ओरालो लागेको थियो । १९ गतेसम्म आइपुग्दा प्रतिदस ग्राम ३५ हजार ५ सय ८० रुपैयाँसम्म झरेको भाउ अन्तर्राष्ट्रिय बजार उकालो लागेपछि महँगो हुँदै गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यले रेकर्ड कायम गरेको छ । बिहीबार कारोबार सुरुमा प्रतिऔंस १ हजार ५ सय ८४ डलर ५१ सेन्ट कायम भएकामा बेलुकीसम्म १ हजार ५ सय ९० डलर पुगेको छ । यसले शुक्रबार स्थानीय बजारमा सुन अझै महँगो हुने व्यवसायी बताउँछन् ।

यसैगरी बुधबार स्थिर रहेको चाँदीको भाउ बिहीबार ४२ रुपैयाँ बढेको छ । बुधबार प्रतिदस ग्राम ८ सय ८३ रुपैयाँ कायम रहेको चाँदीको भाउ बिहीबार ९ सय २५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

सुनको भाउ उच्च भएपछि बजारमा सुनको बिक्री घटेको छ । मूल्य वृद्धिका कारण सुन बिक्री ३० प्रतिशत कम भएको शाक्यले जानकारी दिए । विवाहको सिजन भए पनि ५० प्रतिशतभन्दा बढी पुराना गहनाबाट नयाँ गहना बनाउन आउने गरेको शाक्यको भनाइ छ ।

No comments: