Wednesday, June 01, 2011

विभागद्वारा तीनदर्जन सहकारीलाई अनुदान

-काठमाडौं, १७ जेठ
सहकारी विभागले कृषिजन्य साना प्रशोधन उद्योग खोल्न तीनदर्जन सहकारी संस्थालाई अनुदान दिनेभएको छ । देशभरका सहकारीबाट प्राप्त आवेदनबाट छनोट गरी अनुदान दिन लागिएको विभागले जनाएको छ ।

“अनुदानका लागि सहकारी छनोट गरी मन्त्रालय पठाएका छौं,” सहकारी विभागका रजिस्ट्रार सुदर्शनप्रसाद ढकालले भने, “मन्त्रालयबाट स्वीकृति पाएपछि अनुदान वितरण गर्छौं ।” देशभरबाट प्राप्त ६८ वटा सहकारीको आवेदनबाट तीनदर्जन सहकारीको छनोट गरिएको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षको बजेटमा सहकारीले खोल्ने कृषिजन्य साना उद्योगलाई अनुदान कार्यक्रमका लागि सरकारले १ करोड २० लाख रुपैयाँ छुट्याएको छ । उक्त रकमबाट उद्योगको मेसिन खरिदमा लाग्ने रकमको २५ प्रतिशत अनुदान दिने विभागले जनाएको छ ।

यसपटक अघिल्ला वर्षमा अनुदान नपुगेका जिल्लालाई प्राथमिकता दिइएको विभागका अधिकारीले बताएका छन् । बजेटको आधारमा अधिकतम संस्थालाई अनुदान दिन लागिएको उनले बताए । कृषिजन्य उत्पादन तथा प्रशोधन उद्योगमध्ये अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य भएका र निर्यातको सम्भावना रहेका चिया, अदुवा, मह, कफी, अलैंचीलगायत उपजका प्रशोधन उद्योगलाई ५० प्रतिशत र यसबाहेक अन्य कृषिउपजका उद्योगलाई भने २५ प्रतिशत अनुदान दिइने जनाएको छ । एउटा उद्योगका लागि अधिकतम ६ लाख रुपैयाँ अनुदान दिने विभागले जनाएको छ ।

विभाग र जिल्लास्थित सहकारी कार्यालय र जिल्ला कृषि विकास कार्यालयमार्फत सहकारीको आवेदन संकलन गरेको थियो । विभागले माघ २ गतेदेखि कृषिजन्य उद्योग खोल्नका लागि सहकारी संस्थाबाट आवेदन मागेको हो ।

विभागका अधिकारीका अनुसार सहकारीमा कृषकको सहभागिता, स्वदेशी उपकरणको प्रयोग, कच्चापदार्थ उपलब्धता र उद्योगबाट उत्पादित सामानको बजार सम्भावनालगायतका कुराको आधारमा उद्योगको छनोट गरिएको छ । यस्तै अनुदानका लागि सहकारी छनोट गर्न सरकारले प्राथमिकतामा राखेको उद्योग, सहकारीको योजनाको प्रभावकारिता, संस्थाले गरेको लगानी र पूर्वाधारको अवस्था, उद्योगले सेवा दिने क्षेत्र र रोजगारीको सिर्जनाका आधारमा समेत हेरिएको जनाइएको छ ।

सहकारी संस्थाको साझेदारीमा कृषिजन्य प्रशोधन उद्योगका लागि आव २०६५/०६६ देखि अनुदान कार्यक्रम सुरु भएको हो । प्रत्येक वर्ष निरन्तरता पाउँदै आएको कार्यक्रमका लागि यसअघि आव २०६६/०६७ मा ३५ वटा सहकारीलाई ९० लाख र आव २०६५/०६६ मा २० वटा सहकारीलाई ७५ लाख रुपैयाँ अनुदान दिइएको थियो ।

No comments: