Monday, May 30, 2011

सीए कोर्सका प्रतिविद्यार्थीहरूको आकर्षण बढ्दो छ

दीपेशकुमार थपलिया
प्रबन्ध निर्देशक, सीसीएमए कलेज

चार्टर्ड एकाउन्टेन्ट (सीए) कोर्समा विद्यार्थीहरूको आकर्षण कस्तो छ ?

पछिल्लो समयमा विद्यार्थीहरूको सीए कोर्षकाप्रति आकर्षण बढेको छ । पहिला व्यवस्थापन विषयका विद्यार्थीले मात्र रुचि देखाउने यो कोर्समा हाल विज्ञान संकायका विद्यार्थीको समेत रुचि बढ्न थालेको छ । अहिले सीए पढ्ने कुल विद्यार्थीमध्ये २० देखि ३० प्रतिशत विज्ञान संकायका छन् ।

विश्वमा कानुन र चिकित्सकजस्तै सीएलाई पनि आकर्षक पेसाका रूपमा लिइन्छ । सीएको पढाइलाई विश्वव्यापी रूपमा स्वीकार गरिएको छ । त्यसैले नेपालमा पनि पछिल्लो समय यस क्षेत्रप्रतिको अध्ययनमा आकर्षण बढ्दो छ । आर्थिक हिसाबले पनि सहज भएकाले यसप्रति विद्यार्थीहरूको आकर्षण बढेको हो । चिकित्सा विज्ञान मात्र होइन हालै आएको बीबीएभन्दा पनि सीएको पढाइ खर्चका हिसाबले सस्तो पर्छ । पढ्दै गर्दा कमाउने अवसर मिल्ने र कोर्ष पूरा भएपछि रोजगारीसमेत सहज रूपमा पाउने भएपछि यस विषयकाप्रति आकर्षण बढेको हो । नेपालमै पढ्दा विद्यार्थीले ट्युसन, रजिस्ट्रेसन र परीक्षाका लागि करिब पौने ३ लाख रुपैयाँ खर्च हुन्छ, तर इन्टर्नसिपमा आउने कमाइलाई कटाउने हो भने खुद १ लाख २५ हजार रुपैयाँ मात्र खर्च हुन्छ । जबकि अन्य विषय पढ्दा इन्टर्नसिपमा जाँदासमेत आफ्नै पैसा खर्चनुपर्छ । त्यस्तै सीएसँगै आफूलाई अनुकूल हुने बीबीएस शैक्षिक कोर्ष पनि पढ्न सकिन्छ । यसले गर्दा विद्यार्थीहरूमा सीए कोर्सप्रति आकर्षण बढ्दो रहेको भन्न सकिन्छ ।

रोजगारीको सम्भावना कस्तो छ ?


सीएहरूका लागि हालसम्म नेपालमै ठूलो बजार छ । बैंकिङलगायतका क्षेत्रमा सीएहरूले सजिलै काम पाउँछन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यानले) हालै ‘एक व्यक्ति एक पद’ प्रावधान लागू गरेकाले अवसरहरू अझ बढेको छ । यसबाट भोलिका दिनमा सीएहरूका लागि राम्रो सम्भावना देखिन्छ । त्यतिमात्र होइन सीए पढ्दै गर्दा विद्यार्थीले कमाउने अवसर पाउँछन् । दोस्रो तहको परीक्षा पास गरेपछि तेस्रो तहको इन्टर्नसिप अवधिदेखि नै विद्यार्थीले कमाउन सक्छन् । सीए पास गरेपछि न्यूनतम २५–३० हजार रुपैयाँको काम सहजै प्राप्त गर्न सक्ने अवस्था अन्य विषयको अध्ययनमा खासै देखिँदैन ।

सीसीएमएले आफ्ना विद्यार्थीलाई के–कस्ता सुविधाहरू दिएको छ ?

सीसीएमए सन् २००३ मा स्थापना भएको हो । हामीले नेपाल र भारत दुवै मुलुकमा सीए कोर्स गर्न चाहनेका लागि ट्युसनलगायतका सेवा दिँदै आएका छौं । नेपालको कोर्सका लागि सबै तहको ट्युसन कक्षाहरू सञ्चालन गर्दै आइरहेका छौं । त्यसैगरी विद्यार्थीलाई इन्टर्नसिप ट्रेनिङ र सीए पास गरेपछि जागिरका लागि समेत सहयोग गर्दै आएका छौं ।

त्यस्तै भारतमा कोर्स गर्न चाहेमा पहिलो तहको ट्युसन कक्षामात्र सञ्चालन गरेका छौं । त्यसभन्दा माथिको अध्ययनका लागि भने भारत नै जान सुझाव दिन्छौं । किनभने भारतमा कोर्स गर्नका लागि त्यहाँको वातावरणमा भिज्नु आवश्यक हुन्छ ।

हालसम्म सीसीएमएले पढाएका कति विद्यार्थी सीए भए ?


नेपाल र भारतमा गरी हालसम्म १५ जना विद्यार्थीले सीए उत्तीर्ण गरेका छन् । सीसीएमएमा पढेका विद्यार्थीले भारतस्थित चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आइकाइ)मा सुजित रावतले ‘सेकेन्ड ¥यांक’ प्राप्त गर्नुका साथै आईक्यानको परीक्षामा पनि उत्कृष्ट नतिजा प्राप्त गरेका छन् ।

सीसीएमएले विद्यार्थीलाई के–कस्तो सुविधा दिँदै आएको छ ?

हामीले नेपाल र भारतमा सीए कोर्स गर्न चाहने विद्यार्थीका लागि सबै सेवा दिँदै आएका छौं । नेपालमा कोर्स गर्ने विद्यार्थीका लागि सबै तहको कोर्षका ट्युसन कक्षाहरू सञ्चालन गर्दै आएका छौं भने भारतमा जाने विद्यार्थीका लागि पहिलो तहको मात्र कोर्स पढाउँदै आएका छौं ।

सीसीएमएले अनुभवि प्रोफेसरहरू र चार्टर्ड एकाउन्टेन्टहरूमार्फत नै पढाउँदै आइरहेको छ । त्यस्तै सीसीएमएमा विद्यार्थीका लागि सबै सुविधा सम्पन्न पुस्तकालयसमेत उपलब्ध छ । यसैगरी हामीले कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौं । कलेजमा उत्कृष्ट र आइक्यानको परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका साथै दलित, जनजाति र द्वन्द्वपीडितलाई छात्रवृत्ति दिने गरेका छौं ।

अझै पनि सीए कोर्सका लागि भारत जाने प्रवृत्ति कायमै छ । नेपाल र भारतमा हुने सीए कोर्समा के फरक हुन्छ ?


कोर्सका हिसाबले खासै फरक हुँदैन र पढिने विषयहरू लगभग एउटै हुन्छ । कानुन र करका बारेमा भने सम्बन्धित देशमा रहेको विद्यमान व्यवस्थाअन्तर्गत पढाइ हुने गर्छ । तर, अवसरका हिसावले नेपालमा भन्दा भारतमा पढेका विद्यार्थीले धेरै अवसर पाउँछन् । नेपालमा काम गर्नका लागि नेपालमा पढेका व्यक्तिलाई सजिलो हुन्छ ।

सीए परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन्, नि ?

सीए एउटा व्यावहारिक कोर्स हो । अन्य शैक्षिक कोर्सभन्दा अलि गाह्रो छ । परीक्षाका नियमहरू पनि कडा छन् । सोहीअनुसार विद्यार्थीको तयारी नहुने हुनाले धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका हुन् । सीए उत्तीर्ण गर्न विषयगत रूपमा ४० प्रतिशत र समग्रमा ५० प्रतिशत अंक ल्याउनुपर्छ । कहिलेकाहीँ समूहगत रूपमा तालमेल नमिल्दा परिणाम सोचेजस्तो हुँदैन । सीए कोर्समा सबैभन्दा गाह्रो दोस्रो तहमा हुन्छ । जो विद्यार्थीले सीएको दोस्रो तह पार गरेर अन्तिम लेबलमा पुग्छ उ ढिलो चाँडो सीए बन्ने कुरामा कुनै द्विविधा राख्नुपर्दैन ।

सीए कोर्षका लागि ट्युसन पढाउने संस्थाहरूको बीचमा सीसीएमए नै किन ?


वास्तवमा अहिले सीए कोर्ष ट्युसन पढाउने भनेर धेरै संस्थाहरू खुलेका छन् । अभिभावक तथा विद्यार्थीहरू सस्तो विज्ञापन र हल्लाको पछि नलागि कहाँ राम्रो पढाइ हुन्छ त्यसको खोजी गर्नु आवश्यक छ । सस्तो भन्दैमा विद्यार्थी र अभिभावक त्यतातिर कुद्नु पनि हुँदैन । बस्तुस्थिति सम्बन्धित संस्थामार्फत बुझेर उपयुक्त लागेपछि मात्र निर्णय गर्नु राम्रो हुन्छ । अझ नियामक निकायका रूपमा आइक्यान रहेको छ त्यहाँ गएर पनि कुन संस्था कस्तो हो भन्ने बारे बुझ्न सकिन्छ ।

सीएका लागि निकै लामो समय लाग्नुको कारण ?


समयका हिसावले यो त्यति लामो अवधि होइन । खासमा सीए कोर्ष ५ वर्षमा पूरा हुन्छ । तर, परीक्षा समयमा तालमेल नमिल्दा ६ वर्ष लाग्ने गरेको छ । यसतर्फ भने नियामक निकायले ध्यान दिनुपर्छ ।

No comments: