काठमाडौं, ११ असोज - राष्ट्रिय सहकारी बैंकले सहकारी विभागको अनुमतिविपरीत कर्जा सूचना केन्द्र सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिएको छ ।
विभागले २०६८ चैत १६ गते आफ्ना सदस्यका लागि सूचना केन्द्र सञ्चालन गर्न पाउने गरी बैंकको संशोधित विधान स्वीकृत गरेको थियो । बैंकले भने क्रेडिट इन्फरमेसन सेन्टरलाई केन्द्र सञ्चालनको अधिकार दिएको छ । क्रेडिट इन्फरमेसन सेन्टर प्रभु ग्रुपअन्तर्गतको कम्पनी हो । बैंकले गत बुधबार सार्वजनिक सूचना प्रकाशित गरी उक्त कम्पनीमार्फत सेवा लिन आग्रह गरेको छ ।
बैंकको संशोधित विधानमा केन्द्रका लागि आवश्यक उपयुक्त प्रविधि र व्यवस्थापनका लागि छुट्टै कम्पनी वा संस्थासँग सम्झौता गरी काम गर्न सक्ने उल्लेख गरिएको छ । बैंकले भने सम्पूर्ण सञ्चालनको अधिकार नै कम्पनीलाई दिएको छ ।
बैंकले विधानविपरीत केन्द्र सञ्चालनको अधिकार निजी कम्पनीलाई दिएको सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सुदर्शनप्रसाद ढकालले बताए ।
“केन्द्र सञ्चालन गर्न निजी कम्पनीबाट प्राविधिक सहयोग मात्र लिनसक्छ” ढकालले भने, “पूरै सञ्चालनका अधिकार कम्पनीलाई दिनु गलत हो,” विधान स्वीकृत गर्दा ढकाल स्वयं विभागका रजिस्ट्रार थिए ।
बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले भने विधानअनुसार नै कम्पनीसँग मिलेर केन्द्र सञ्चालन प्रक्रिया अघि बढाइएको दाबी गरे । “निजी कम्पनीबाट प्राविधिक सहयोग मात्र लिएका हौं,” उप्रेतीले भने, “सञ्चालन जसले गरे पनि सबै जिम्मेवारी बैंकले नै लिन्छ ।”
सहकारीकर्मीले भने कम्पनीले सञ्चालन गर्ने सूचना केन्द्रको कुनै अर्थ नहुने र त्यस्तो केन्द्रको सूचना आफूहरूले प्रयोग नगर्ने बताएका छन् ।
“कम्पनीले सञ्चालन गरेको सूचना केन्द्रप्रति विश्वास गर्न सकिँदैन,” नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्सकुन) का अध्यक्ष मीनराज कँडेलले भने, “केन्द्रीय वा जिल्ला सहकारी संघहरू नै केन्द्र सञ्चालन गर्न सक्षम छन् ।”
नेफ्सकुन आफैंले सदस्यका लागि केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको कँडेलले जानकारी दिए । आगामी साधारणसभाबाट विधान संशोधन गरी काम सुरु गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।
यसैगरी संकटा बचत तथा ऋण सहकारीका प्रबन्ध सञ्चालक विन्देश्वर श्रेष्ठले निजी कम्पनीले सञ्चालन गर्ने सूचना केन्द्रको विश्वसनीयता नहुने बताए । “निजी कम्पनीले सञ्चालन गर्ने केन्द्र हामीलाई मान्य छैन ।” सहयात्री बहुद्देश्यीय सहकारीका कार्यकारी अध्यक्ष खेमराज सुवेदीले सरकारी निकाय या सहकारीकै संघहरूले चलाए मात्र सूचना केन्द्रको उपयोगिता रहने बताए ।
सूचना केन्द्र सञ्चालनको जिम्मवारी पाएको सेन्टरका कार्यकारी प्रमुख दक्ष पौडेलले भने केही दिनमै केन्द्रले काम सुरु गर्न लागेको जानकारी दिए । “कर्जा सूचना केन्द्रलाई अनिवार्य उपयोग गर्नका लागि केही दिनमै विभागबाट सूचना जारी हुँदैछ,” पौडेलले भने, “यसका लागि सहकारीमन्त्री र सचिव पनि सकारात्मक हुनुहुन्छ,” बैंकको विधानअनुसार नै सम्झौता गरी काम गरिरहेको उनको दाबी छ ।
पछिल्लो समयमा एकै व्यक्तिले धेरै सहकारीबाट ऋण लिने र नतिर्ने गरेपछि सहकारीकर्मीहरूले नै कर्जा सूचना केन्द्रको माग गर्दै आएका छन् । विभागका अनुसार देशभरका २५ हजार सहकारीमा २ खर्ब कारोबार छ ।