Friday, September 07, 2012

‘दिगो आर्थिक विकासका लागि सहकारी’

काठमाडौं, १९ भदौ - दिगो आर्थिक विकासका लागि सहकारी अर्थव्यवस्था उपयुक्त माध्यम रहेकोमा सरोकारवाला सहमत भएका छन् । एसिया प्यासिफिक क्षेत्रमा सहकारीको कार्यदिशा र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीले सहकारीबाट आर्थिक विकास, सामाजिक सुरक्षा, रोजगारी, गरिबी निवारण गर्न सकिनेमा जोड दिए ।

सम्मेलनमा कार्यपत्र पेस गर्दै इन्डियन फार्मर्स फर्टिलाइजर को–अपरेटिभ (आईएफएफसीओ) का वरिष्ठ सल्लाहकार डा. दमन प्रकाशले सहकारी सबल र दिगो उद्यमशिलता भएको बताए । अन्तर्राष्ट्रिय सहकारी सञ्जालको अध्ययनबाट सहकारी विश्वको १०औं ठूलो अर्थव्यवस्था भएको र यसको वृद्धिदर १४ प्रतिशत रहेको उनले उल्लेख गरे ।

सहकारीलाई ‘क्रेजी बिजनेस’ को संज्ञा दिँदै उनले सहकारी सामाजिक सुरक्षा, जनसहभागिता र नाफारहित व्यवसाय भएको बताए । सहकारीको यही भूमिकालाई मूल्याकन गर्दै संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको उनको भनाइ थियो ।

यसैगरी, नेपालको तर्फबाट कार्यपत्र पेस गर्दै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकालले नेपालले सहकारीमार्फत दिगो विकास र गरिबी निवारणलाई प्रमुख लक्ष्य बनाएको बताए । संविधानमै सहकारीलाई आर्थिक विकासको आधार उल्लेख गरिएको र सोहीअनुसार छुट्टै मन्त्रालय गठन भएको र नीति तथा कानुन बन्ने क्रममा रहेको जानकारी दिए ।

मंगलबार सम्मेलनको समापन कार्यक्रममा मन्त्रालयका सचिव केशवप्रसाद भट्टराईले ऐन कानुनमा सुधार गरेर सहकारीलाई सुधार गर्न मन्त्रालय लागिरहेको बताए । सहकारी नीति पनि मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको र  योजनाबद्ध विकासका लागि मन्त्रालयले १० वर्षे रणनीतिक योजना बनाउन लागिरहेको उनले जानकारी दिए ।

दुई दिनसम्म चलेको सम्मेलनमा भारत, श्रीलंका, मलेसियाका साथै नेपालका सहकारीकर्मीको सहभागिता थियो । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को उपलक्ष्यमा सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी संघले संयुक्त रूपमा सम्मेलन आयोजना गरेका हुन् ।

No comments: