 |
कुमार लम्साल
सीईओ, सानिमा विकास बैंक |
नेपाल राष्ट्र बैंकबाट ३२औं वाणिज्य बैंकको रूपमा कार्य सञ्चालन अनुमति पाएको सानिमा विकास बैंक केही दिनभित्रै वाणिज्य बैंक बन्ने तयारीमा छ । स्थापनाकालदेखि नै सानीमासँग संलग्न रहेका कुमार लम्सालले क्रमशः नायब महाप्रबन्धक, महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । संस्थागत सुशासनका कारण बैंक कहिल्यै समस्यामा नपरेको दाबी गर्ने लम्साल बैंकिङ क्षेत्रमा दिगो वृद्धिको पक्षपाती पनि हुन् । स्थापनाकालदेखि नै वाणिज्य बैंक बन्ने ‘अर्जुनदृष्टि’ बोकेका कारण आफुहरुलाई यसको अभ्यास सहज हुने उनी बताउँछन् । वाणिज्य बैंक घोषणाको तयारीमा रहेका लम्सालसँग
विपेन्द्र कार्की र
यादव हुमागाईंले गरेको कुराकानी :
विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति हुन लाग्नुभएको छ, वाणिज्य बैंक नै बन्नुप¥यो ?
हामी आज आएरमात्र वाणिज्य बैंक बन्न खोजेका होइनौं । स्थापना भएको पहिलो दिनदेखि नै हाम्रो लक्ष्य वाणिज्य बैंक बन्ने नै थियो । लगातार पाँच वर्ष नाफा गरेपछि मात्र स्तरोन्नति हुने कानुनी व्यवस्था भएकाले हामीले सञ्चालनमा आएको वर्ष सात महिना कारोबार गरे पनि एक वर्ष छिटो हुन्छ भनेर २ लाख नाफा गरेका थियौं ।
कानुनले विकास बैंकको कार्यक्षेत्र केही सीमित गरेको छ । विकास बैंकले प्रतीतपत्र(एलसी) को कारोबार गर्न पाउँदैन । क्रेडिट÷डेबिट कार्ड अरु वाणिज्य बैंकसँग मिलेरमात्र गर्न सकिन्छ, यी लगायतका धेरै सीमितताहरू छन् । यसले गर्दा विकास बैंकले स्वतन्त्र रूपमा कारोबार फुक्का भएर काम गर्न सक्दैन । विकास बैंकका कार्यक्षत्र सीमित भएकाले वाणिज्य बैंक बन्नुपर्छ भनेर सुरुदेखि नै काम गर्दै आएका हांै । अर्कोतर्फ हाम्रा ग्राहकलाई एकैद्वारमार्फत सेवा पु¥याउनु पनि हाम्रो कर्तव्य हो ।
विकास बैंकको क्षेत्रमा तपाईंहरू अग्रणी हुनुहुन्थ्यो, वाणिज्य बैंकमा कान्छो बन्नुभयो । चुनौतीहरू के छन् ?
जेठो हुने वा कान्छो हुने कुराले खासै महत्व राख्छ भन्ने मलाई लाग्दैन । हामी विगत सात वर्षदेखि यही बजारमा काम गरिरहेकाले कान्छो वाणिज्य बैंक भए तापनि ग्राह्रो हुँदैन । साढे ७ अर्ब रुपैयाँ निक्षेप र ७ अर्ब कर्जा लिएर वाणिज्य बैंक हुदैछौं । शून्यमा त बैंक खुल्छ तर हामी त यही बजारमा काम गर्दै आइरहेका छौं । अझै पनि हामीभन्दा सानो पोर्टफोलियो भएका धेरै वाणिज्य बैंकहरू छन् । अझ स्तरोन्नतिले हामी अझ सक्षम छौं भन्ने प्रमाणपत्र लिएर अगाडि बढ्दैछांै ।
यसअघि फाइनान्स वा विकास बैंकबाट स्तरोन्नति भएका वित्तीय संस्थाको अवस्था त्यति राम्रो देखिँदैन नि ?
अरूको बारेमा त जानकारी मलाई जानकारी भएन । हामी पहिलो दिनदेखि नै वाणिज्य बैंक बनाउने उद्देश्य भएकाले सुरुदेखि त्यही अनुसार आफ्नो स्थिति पनि बनाउँदै लग्यौ । हामीसँग पहिलेदेखि वाणिज्य बैंकमा अनुभव भएका कर्मचारी छन् । सुरुदेखि वाणिज्य बैंकका ग्राहकलाई सेवा दियौं । त्यसैले वाणिज्य बैंकिङ हाम्रो लागि नयाँ कुरा होइन । वाणिज्य बैंक भएपछि थप हुने भनेको एलसीको कारोबार हो । म आफैं १० वर्ष वाणिज्य बैंकका एलसी शाखाको प्रमुख भएर काम गरेकाले नौलो भएन । त्यसैले हामीलाई यो स्तरोन्नति असहज हुदैन।
नेपालमा सबै वित्तीय संस्था स्तरोन्नति गर्न चाहने त्यसमा पनि वाणिज्य बैंकिङ बन्नेमा मात्र केन्द्रित छन् । विकास बैंकहरूले किन आफ्नो अवधारणामा काम गर्न सकेनन् ?
नेपालको बैंकिङ कानुनले जति प्रकारका वित्तीय संस्था बनाए पनि सबैलाई वाणिज्य बैंकिङ कारोबार गर्ने
अवस्था सिर्जना गरेको छ । नेपाल औद्योगिक विकास निगम, कृषि विकास बैंक विकास बैंकको अवधारणमा सुरु भएको हो । तर, नयाँ बाफिया आएपछिका बैंक कसैले पनि विकास बैंक, फाइनान्सको अवधारणामा काम गरेका छैनन् । नेपालका कुनै पनि विकास बैंकले सोही अवधारणामा काम गरेका छैन । काम गर्नुपर्ने वातावरण कानुनले पनि दिएको छैन । फाइनान्स कम्पनीले पनि वाणिज्य बैंक जस्तै चालू खाता सञ्चालन गर्छ, सर्वसाधारणबाट निक्षेप लिन्छ । नेपालमा मात्र ‘क’, ‘ख’ वा ‘ग’ वर्गको वाणिज्य बैंक भन्ने कुरामात्र हो
। कारोबार एकै प्रकारको छ । नाम विकास बैंक भए पनि हामीले पनि वाणिज्य बैंकजस्तै कारोबार ग¥यौं । नेपालको स्रोत साधान नै त्यस किसिमको भएपछि वित्तीय संस्था सोही अनुरुप चल्नु स्वाभाविक हो । कानुनले जे अधिकार दिएको छ र स्रोत, साधन, सम्भावना जहाँ छ त्यसलाई उपयोग गर्नु गलत होइन । यसलाई सुधार गर्ने गरी बैंकिङ क्षेत्रमा कस्तो कानुन आवश्यक छ भन्ने कुरा छलफल हुन आवश्यक छ ।