Monday, February 13, 2012

बहुउद्देश्यीय सहकारीहरू आन्दोलित

काठमाडौं, २९ माघ
बहुउद्देश्यीय सहकारीको केन्द्रीय संघ दर्ता नभएको भन्दै सहकारीकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । सहकारी विभागमा निवेदन दर्ता गरेको पाँच महिनासम्म दर्ताको प्रमाणपत्र नदिएको र आफूहरूविरुद्व राष्ट्रिय सहकारी संघ र केन्द्रीय संघहरूले विभिन्न लान्छना विभिन्न लान्छना लगाएको भन्दै सहकारीकर्मीहरू विरोधमा उत्रिएका हुन् ।

बहुउद्देश्यीय संघ दर्ताका लागि २७ गते विभागमा भएको वार्तालाई अनावश्यक  आरोपहरू लगाएको भन्दै त्यसलाई फिर्ता गर्न र राष्ट्रिय संघका उपाध्यक्ष विजयराज घिमिरे र राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबि उप्रेतीको राजीनामासमेत उनीहरूले माग गरेका छन् ।

आफ्नो माग पूरा नगरे राष्ट्रिय सहकारी संघविरुद्ध थप आन्दोलन गर्ने र सहकारी बैंकबाट रकम निकाल्ने समेत आन्दोलनकारीहरूले चेतावनी दिएका छन् । आइतबार राष्ट्रिय संघ र बैंकमा उनीहरूले आफ्नो मागपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्र बुझाउन उपत्यकासहित काभ्रे, नुवाकोट, धादिङका करिब १ सय सहकारीकर्मी पुगेका थिए ।
संयुक्त सहकारी आन्दोलनको नाममा घिमिरे, उप्रेतीसहित ११ वटा केन्द्रीय संघका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा संघ दर्ताका लागि विभागमा अनावश्यक दबाब दिएको र विभागका कानुन अधिकृत रघुवंश कँडेललाई हातपातको प्रयास गरेको आरोप लगाइएको छ ।

देशभर करिब ४ हजार ३ सय बहुउद्देश्यीय सहकारी रहेकाले उनीहरूको केन्द्रीय संघ आवश्यक रहेको तदर्थ समितिका सुरेन्द्र भण्डारीले बताए । दर्ता नहुने भए स्पष्ट कारणसहित फाइल फिर्ता गर्न माँग गर्दै उनले कानुनी उपचार खोज्ने स्पष्ट पारे ।

सहकारी आन्दोलका एक पक्षले दर्ता गर्न र अर्को पक्षले दर्ता नगर्न दवाव दिएपछि विभागका रजिस्टार सुदर्शनप्रसाद ढकाल भने अनिश्चितकालीन बिदामा बसेका छन् ।

No comments: