Wednesday, May 02, 2012

कर्जाको सुरक्षण गराउने क्रम बढ्यो

काठमाडौं, १७ वैशाख
लगानीको जोखिमका कारण बैंक तथा वित्तीय संस्थाले कर्जा तथा लगानी सुरक्षण गराउन थालेका छन् । वैंकको आकर्षणसँगै निक्षेप तथा कर्जा सुरक्षण निगममा कर्जा सुरक्षण दोब्बर बृद्वी भएको छ ।

आर्थिक वर्ष २०६७\०६८ सम्ममा बैंकहरुले विभिन्न क्षेत्रमा प्रवाह गरेको ८६ करोड ९५ लाख रुपैयाँ कर्जा सुरक्षण भएको छ । यो आव २०६६\०६७ को तुलनामा ९० प्रतिशत बढी हो । अघिल्लो आवमा ४५ करोड ५७ लाख कर्जा सुरक्षण भएको थियो । आव २०६८\०६९ को चैतसम्म भने ६१ करोड ९८ लाख कर्जा सुरक्षण भएको निगमले जनाएको छ ।
जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले लगानीको सुरक्षाका लागि कर्जा सुरक्षण गर्न थालेका हुन् । सरकारले २ लाख रुपैयाँसँम्मको निक्षेप सुरक्षण अनिवार्य गरेपनि कर्जा सुरक्षण भने अनिवार्य छैन ।
बैंकहरु आफै कर्जा सुरक्षणतर्फ सचेत भएको निक्षेप तथा कर्जा सुरक्षण निगमका महाप्रवन्धक भोला प्रसाद शर्मा अधिकारीले बताउछन् ।
“कर्जा सुरक्षणतर्फ बैंकहरुको आकर्षण वर्षेनी बढ्दै गएको छ” शर्माले भने, “बैंकहरुका विविध क्षेत्रमा लगानी जोखिम बढेकाले सुरक्षण गर्ने क्रम बढेको हो ।”  अघिल्लो वर्षदेखि निक्षेप सुरक्षणका काम थालेकाले बैंकहरुसँग सम्पर्क विस्तार भएको र निगमको कर्जा सुरक्षण कार्यक्रमको समेत प्रचारप्रसार भएको शर्माको भनाइ छ ।

लगानी गर्दा सुरक्षात्मक उपाय अपनाउनुपर्छ भनेर बैंकहरु सचेत हुदै गएकाले सुरक्षण गराउने क्रम बढेको राष्ट्र बैंकका प्रवक्क्ता भाष्करमणी ज्ञवालीले बताए । कर्जा सुरक्षण निगमले सुरक्षण रकमको सिमा समेत बढाएकाले सुरक्षण रकम बृद्वी भएको उनको भनाइ छ ।
निगमले हाल नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त घोषण गरेको क्षेत्रका साथै, पशुधन, साना तथा मझौला, लघु तथा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका कर्जा सुरक्षण गर्दै आएको छ । त्यसमध्ये गत आवमा सबैभन्दा बढी लघु तथा विपन्न वर्ग क्षेत्रमा प्रवाहित कर्जाको सुरक्षण बृद्वी भएको निगमले जनाएको छ ।
अघिल्लो तुलनामा गत आवमा लघु तथा विपन्नवर्ग कर्जाको सुरक्षण ५ सय ९० प्रतिशत वृद्वी भएको छ ।  गत आवमा ६ करोड ५१ लाख कर्जा सुरक्षण भएकोमा गत आवमा बृद्वी भई ४४ करोड ९४ लाख कर्जा सुरक्षण भएको छ । यस्तै साना तथा मझौला उद्यम क्षेत्रमा प्रवाहित कर्जा सुरक्षण ३ सय १५.६५ प्रतिशतले बृद्वी भएको छ । अघिल्लो आवमा ९१ लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा गत आवमा बृद्वी भई ४ करोड ११ लाख कर्जा सुरक्षण भएको छ ।
यसैगरी गत आवमा प्राथमिकता प्राप्त क्षेत्रको कर्जा सुरक्षण घटेपनि चालु आवको ६ महिनामा भने बृद्वी भएको छ । गत आवमा १७ करोड ७२ लाख कर्जा सुरक्षण भएकोमा चालु आवको पुससम्म २७ करोड ४८ लाख रुपैयाँ सुरक्षण भएको छ । बैंकले प्राथमिकताप्राप्त क्षेत्र बृद्वी गरेकाले पनि सुरक्षण रकम बृद्वी भएको निगमले जनाएको छ ।
महाप्रवन्धक अधिकारीका अनुसार बैंकहरुले सुरक्षण गरेको कर्जा नउठे कर्जाको म्याद सकिएको २ वर्षसम्म निगममा दावी गर्न सक्नेछन् । दावी परेपछि निगमले कुल कर्जामध्ये लघुवित्त तथा विपन्न, साना तथा मझौला, प्राथमिकताप्राप्त क्षेत्रको कुल कर्जामध्ये ७५ प्रतिशत र पशुधन सुरक्षणको ४० देखि ८० प्रतिशतसम्म रकम फिर्ता दिनेछ । 
पशुधन सुरक्षण कार्यक्रममा मा ठुला पशुका लागि ६० हजार र साना पशुका लागि १० हजारसम्मको कर्जा सिमा तोकिएको छ । यसैगरी साना तथा मझौला लागि ३० लाख, र लघु तथा विपन्न वर्ग कर्जामा विना धितोको ६० हजार र धितो सहितको १ लाख ५० हजार सिमा तोकिएको छ ।

No comments: