न्यायाधिकरणमा ९ महिनामा ५३ मुद्दा
काठमाडौं, १२ वैशाखबैंक तथा वित्तीय संस्थाले व्यक्तिगत तथा व्यापारीक शिर्षकमा गरेको कर्जा असुलीमा समस्या देखिन थालेको छ ।
बैंकहरुले व्यक्तिगतका साथै साना उद्योग, व्यापार, पसल संचालनलगायतको प्रयोजनका लागि प्रवाह गरेको कर्जा नउठेपछि ऋण असुली न्यायाधिकरणमा यससम्बन्धी मुद्दा बढेका छन् ।बैंकहरुको खराव कर्जा असुली गर्दै आएको न्यायाधिकरणमा चालु आर्थिक वर्षको ९ महिनामा ५३ वटा मुद्दा दायर भएका भएका छन् । त्यसमध्ये अधिकांश व्यक्तिगत र व्यापारीक शिर्षकमा लिएका कर्जा भएको न्यायाधिकरणका अधिकारीहरु बताउछन् ।
“चालु आवका अधिकांश मुद्दा पसल संचालन गर्न, उद्योग चलाउनका साथै व्यक्तिगत प्रयोजनका लागि लिएका कर्जा छन्” न्यायाधिकरणका श्रेस्तेदार रुद्र प्रसाद सुवेदीले बताए । उद्योग व्यापारमा मन्दी आएका कारण स–सानो व्यक्तिगत कर्जामा समेत समस्या देखिएको हुनसक्ने उनको भनाइ छ ।
चालु आर्थिक वर्षमा घरजग्गा तथा हाउजिङ कर्जामा समस्या देखिने अनुमान गरिए पनि यससम्बन्धी मुद्दा न्युन परेको न्यायाधिकरणले जनाएको छ । चैतसम्म परेका मुद्दामध्ये २ वटा मात्र घरजग्गाका छन् ।
१ दर्जन बैंक तथा वित्तीय संस्थाले दायर गरेको मुद्दामा ८२ करोड रुपैयाँ माँग दावी गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी एसबिआइ तथा लुम्बिनी बैंकका ९÷९ वटा मुद्दा रहेका छन् । यसैगरी एनबि बैंकले ७ वटा र एसबिआईका ६ वटा मुद्दा दायर गरेका छन् ।
आव २०६७÷०६८ मा ५८ वटा मुद्दा दर्ता भएको थियो । चालु आवको चैतसम्ममा सो हाराहारीमा मुद्दा दर्ता भइसकेकाले चालु आवको मुद्दा अघिल्लो वर्षको तुलनमा धेरै हुने न्यायाधिकरणका अधिकारीको अनुमान छ ।
आर्थिक वर्ष २०६६÷०६७ मा २६ वटा मुद्दा दर्ता भएकोमा आव २०६६÷०६७ मा दोब्बर बृद्वी भई ५८ वटा मुद्दा दर्ता भएको थियो । गत आवका मुद्दामध्ये आधा हायर पर्चेज कर्जाका थिए ।
विश्व बैंकको वित्तीय सुधार कार्यक्रम अन्तर्गत २०६० सालमा स्थापना भएको न्यायाधिकरणमा चालु आवको चैतसम्म ४९ अर्व १३ करोड ७२ लाख दावी गर्दै २ हजार ६ सय ५१ वटा मुद्दा दायर भएका थिए । त्यसमध्ये २ हजार ३ सय ६१ मुद्दाको ३२ अर्व १० करोड ७८ लाख रुपैयाँ फैसल्ला भएको बताइएको छ ।
न्यायाधिकरणले हालसम्म फैसल्ला भएका मुद्दाबाट करिब १६ करोड सरकारी राजश्व संकलन गरेको छ । न्यायाधिकरणले मुद्दा कार्यान्ययन भएपनि असुल भएको सम्पतिबाट १ प्रतिशत सेवा शुल्क लिने गरेको छ ।
बक्समा
न्यायाधिकरणका फैसल्ला अनलाइनमा
ऋण असुली न्यायाधिकरणका फैसल्ला आर्थिक वर्ष २०६८÷०६९ देखि अनलाइनमा हेर्न सकिने भएको छ । एसियाली विकास बैंकको ग्रामीण वित्त क्षेत्र विकास सहयोग कार्यक्रम अन्र्तगत न्यायाधिकरणको स्तरोन्नतीका लागि काम भइरहेकाले अर्को आवदेखि फैसल्ला अनलाइनमार्फत हेर्न सकिने बताइएको छ ।
यस कार्यक्रम अन्तर्गत न्यायाधिकरणले गरेका फैसल्ला अनलाईनमा राख्ने, धितो बिक्रीमा इ–विडिङ प्रविधि अपनाउने, कार्यविधी बनाइ संस्थाको काम छिटो छरितो बनाउने तयारी भइरहेको अध्यक्ष गोकुल प्रसाद बुर्लाकोटीले जानकारी दिए । न्यायाधिकरणले गत माघदेखि चार जना कसल्टेन्ट नियुक्त गरी काम गरीरहेको जनाएको छ ।
No comments:
Post a Comment