काठमाडौं, २९ चैत
 सरकार तथा नियामक निकायसमक्ष विभिन्न माग राख्दै सेयर लगानीकर्ताले आन्दोलनको घोषणा गरेका छन् ।
लगानीकर्ताका ३ वटा संगठन नेपाल इन्भेस्टर्स फोरम, नेपाल धितोपत्र 
लगानीकर्ता संघ र जनरल इन्भेस्टर्स एसोसिएसनले बुधबार संयुक्त रूपमा 
पत्रकार सम्मेलन गरी आफ्नो माग पूरा नगरे अनिश्चितकालीन सेयर कारोबार बन्द 
गर्ने चेतावनी दिए । विभिन्न १३ बुँदे माग राख्दै उनीहरूले वैशाख ३ गतेदेखि
 चरणबद्व आन्दोलनको घोषणा गरेका हुन् ।
पहिलो चरणको संघर्षको कार्यक्रममा प्रधानमन्त्री र अर्थमन्त्रीलाई 
हस्ताक्षर बुझाउने, लगानीकर्ताहरूलाई सेयर कर्जाको ब्याज तिर्न, मार्जिन 
तिर्न तथा सेयर बिक्री गर्न जबर्जस्ती गर्ने वित्तीय संस्थामा सामूहिक 
रूपमा खबरदारी गर्ने रहेको छ । यसैगरी दोस्रो चरणमा कालोपट्टी बाँधेर 
नियामक निकायमा धर्ना दिने, कार्यालय प्रमुखहरूलाई कार्यालय प्रवेशमा रोक 
लगाउनुका साथै अनिश्चितकालसम्म सेयर खरिदबिक्री नगर्नेलगायतका संघर्षका 
कार्यक्रम सार्वजनिक गरेका छन् ।
लगानीकर्ताले नियामक निकायहरूसमक्ष मार्केट रिक्यु फन्ट तुरुन्त स्थापना 
गरी बजारमा लगानी गरी बजार सुधार गर्नुपर्ने, लगानीमा स्रोत खोज्ने 
व्यवस्था हटाइ स्वघोषणाका आधारमा खरिद गर्न पाउनुपर्ने, ब्रोकर जमानीमा 
सेयर खरिदकर्जा पुनः सुरु गर्नुपर्नेलगायतका १३ सुत्रिय माग राखेका छन् ।
 पत्रकार सम्मेलनमा बोल्दै नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजकुमार 
तिमिल्सिना, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे र जनरल 
इन्भेस्टर्स एसोसिएसनका अध्यक्ष दीपक कार्कीले लगानीकर्ताको मागलाई तत्कालै
 सम्बोधन नगरे जस्तोसुकै आन्दोलन गर्नसमेत तयार रहेको चेतावनी दिए । 
 दुई वर्षदेखि पुँजीबजार सुधार्न लगानीकर्ताहरूले गरेको मागलाई बेवास्ता 
गरिएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ । आफूहरूको माग बेवास्ता 
गर्दा पुँजी बजारको अस्तित्व नै समाप्त हुने स्थितिमा पुगेको दाबी गर्दै 
त्यसको रक्षाका लागि आन्दोलन बाध्यता भएको लगानीकर्ताले बताए ।
 
No comments:
Post a Comment