Saturday, March 17, 2012

सुन १ हजार घट्यो

प्रतितोला ५२ हजार ५ सय
काठमाडौं, २ चैत
नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ १ हजार रुपैयाँ घटेको छ ।

बुधबार प्रतितोला ५३ हजार ५ सय रुपैयाँ रहेको सुुन बिहीबार सस्तो भई प्रतितोला ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

“अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ३३ डलर घटेपछि नेपालमा पनि १ हजार सस्तो भएको हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने ।

अमेरिकाको फेडेरल रिजर्भ बैंकले निक्षेपको ब्याजदर बढाउने संकेत गरेकाले सुन बजार घटेको र अन्तर्राष्ट्रिय सेयरबजार परिसूचकसमेत मजबुत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

संघले बिहीबार प्रतिऔंस १ हजार ६ सय ४३ डलरको आधारमा नेपाली बजारभाउ निर्धारण गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस १ हजार ६ सय ७६ डलरमा कारोबार भएको थियो ।

स्थानीय बजारमा एक महिनापछि सुनको भाउ ५३ हजार रुपैयाँभन्दा कम झरेको हो । गत दुई दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ । बुधबार पनि सुनको भाउ ५ सय रुपैयाँ सस्तो भएको थियो ।

माघको पहिलो साता सुनको भाउ ५२ हजार हाराहारीमा थियो । त्यसपछि अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजार भाउ पनि उकालो लागेको हो ।

चाँदीको भाउ पनि बिहीबार ३० रुपैयाँ सस्तो भई प्रतितोला १ हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार पनि १० रुपैयाँ सस्तो भई १ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।
 

No comments: