उद्यमशीलताको विकास गर्न सहकारी उपयुक्त संरचना हुने सरोकारवालाहरुले बताएका छन् । ग्रामीण क्षेत्रसम्म सहकारी विस्तार गर्न सके यसमार्फत बेरोजगार युवा, महिला, विपन्न वर्गलाई उत्पादनमा लगाई उद्यमशीलता बढाउन सकिने उनीहरुको भनाइ छ ।
![]() |
मन्तव्य राख्दै राज्यमन्त्री यादव |
राष्ट्रिय सहकारी विकास बोर्डले काठमाडौंमा गरेको गोष्ठीमा सोमबार कार्यपत्र प्रस्तुत गर्दै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार रामेश्वरप्रसाद खनालले नेपालजस्तो मुलुकमा उद्यमशीलताको विकास गर्न सहकारी उत्तम संरचना हुने बताए । सहकारीले आफ्ना सदस्यलाई बिनाधितो ऋण दिने र सहकारीभित्र एकआपसमा सहयोगको भावना हुने भएकाले यसबाट उद्यमशीलता विकास गर्ने सकिन उनको भनाइ थियो ।
सहकारीको ऋणमार्फत स्थापना भएका साना तथा मझौला उद्योगले कारण जर्मनीको अर्थतन्त्र मजबुत भएको उदाहरण दिँदै खनालले सहकारीमार्फत अर्थतन्त्रको दिगो विकास गर्न सकिनेमा जोड दिए । नेपालमा तरकारी, जुनार, चिया खेतीका साथै दुग्ध व्यवसायमा सहकारीको प्रयोग भए पनि त्यसको आकार विस्तार हुन नसकेको उनले औंल्याए । उद्यमशीलता बढाउन सहकारीमार्फत भण्डारका लागि शीतभण्डार गोदामजस्ता पूर्वाधारका साथै प्रशोधन र बजारीकरणमा पनि सहकारीले लगानी गर्नुपर्ने आवश्यक्ता औंल्याए । ग्रामीण क्षेत्रका कृषकमा जागर भए पनि सूचनाको अभावमा उद्यमशीलताको विकास गर्न नसकिएको औंल्याउँदै सहकारी शिक्षा र तालिममा लगानी बढाउनुपर्ने उनले उल्लेख गरे ।
कार्यपत्र प्रस्तोता सहकारी विभागका रजिस्ट्रार सुदर्शनप्रसाद ढकालले एक गाउँ एक सहकारी, एक व्यक्ति एक विषयगतको अवधारणमा अघि बढ्नुपर्ने उल्लेख गरे । सम्भाव्यताको आधारमा मात्र सहकारी खोल्ने र सहकारीको एकीकरणका साथै सबै सहकारीका लागि सबै आर्थिक क्षेत्र खुल्ला हुनुपर्ने उनको सुझाव थियो । उनले सहकारी शिक्षाको अभाव, असुरक्षित लगानी, अस्वस्थ प्रतिस्पर्धालगायतका विषयलाई सहकारीका समस्याका रूपमा औंल्याएका थिए ।
गोष्ठीको उद्घाटन गर्दै कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादवले ग्रामीण क्षेत्रका सीमान्तकृत वर्गसम्म सहकारीको पहँुच पु¥याउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । नेपालजस्तो अल्पविकसित मुलुकको आर्थिक विकासका लागि सहकारीको महत्व धेरै हुने उनको भनाइ थियो ।
कृषि तथा सहकारी मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीले सहकारीमार्फत राज्यले अहिलेसम्म अपेक्षित विकास गर्न नसकेको बताए । नेपालको सहकारीमा धेरै समस्या रहे पनि सम्भावना पनि उत्तीकै रहेको उनले उल्लेख गरे । सहकारीले उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा काम गर्न सके उद्यमशीलताको विकास गर्न सकिने उनको सुझाव थियो । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले सहकारीमार्फत उद्यमशीलताको विकास गर्न सके देशको अर्थतन्त्र स्वाधिन बनाउन सकिने दावी गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटा, संघका सञ्चालकहरु, विभिन्न राजनीतिक दलका सभासद्ले राष्ट्रिय सहकारी नीतिका साथै ऐन कानुनमा सुधार र सहकारी शिक्षामा जोड दिएका छन् ।
दुई दिनसम्म चल्ने गोष्ठीले सहकारीमार्फत साना तथा मझौला उद्योग सञ्चालन गर्नका लागि आवश्यक नीतिका लागि सरकारलाई सुझाव दिनेछ ।
No comments:
Post a Comment