Friday, February 03, 2012

भाउ बढे पनि माग घटेन

६ महिनामा १४ अर्बको सुनचाँदी आयात

 काठमाडौं, १९ माघ
‘मूल्य बढेपछि माग घट्छ’ यो अर्थशास्त्रको सामान्य बजार सिद्धान्त हो । तर, विगत एक वर्षदेखि विश्वभर सुनको व्यापार भने यसविपरीत छ । सुनको मूल्य पनि बढिरहेको छ र माग पनि । यसको प्रभाव नेपाली सुन बजारमा समेत उस्तै परेको छ ।
अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा एक वर्षयता सुनको भाउ उच्च छ । तर, सुनचाँदीमा लगानी गर्नेको संख्या भने बढ्दै गएको छ । यसले गत आर्थिक वर्षमा आयात भए बराबरकै सुनचाँदी तर हीरा चालू आवको ६ महिनामै आयात भएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १५ अर्बको सुन, चाँदी तथा हीरा आयात भएकामा चालू आर्थिक वर्षको पुससम्ममा १४ अर्ब रुपैयाँको आयात भइसकेको छ ।
नेपाली समाजमा विवाहलगायत धार्मिक कार्यमा सुन अनिवार्य मानिन्छ । त्यसैगरी ‘सुखमा गहना, दुःखमा खजाना’का रूपमा समेत सुनलाई लिने गरेको पाइन्छ । पछिल्लो समयमा सेयरबजार र घरजग्गा व्यवसायमा मन्दी आएपछि सुनचाँदीलगायतका बहुमूल्य धातुमा लगानी बढेको अर्थशास्त्री तथा व्यवसायीहरू बताउँछन् ।
“सेयर बजार र जग्गाको भाउ ओरालो लागेकाले सुनचाँदीमा लगानी बढेको हो,” अर्थशास्त्री तथा अर्थ मन्त्रालयका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले भने, “नेपालीहरूबीच आर्थिक असमानता बढेकाले सुनको भाउ उच्च हँुदा पनि कारोबार बढिरहेको छ ।”
भारतमा चाँदीको भन्सार बढ्दा नेपालमाभन्दा महँगो भएकाले चाँदी त्यसतर्फ गएको हुनसक्ने आचार्यले बताए । यसलाई नियन्त्रण गर्न भन्सार महसुल समायोजन गर्नुपर्ने र आपूर्ति मन्त्रालयले बजारको प्रभावकारी अनुगमन गर्नुपर्ने आचार्यको भनाइ छ । 

नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले कुल आयातको ३० प्रतिशत सुन लगानीका रूपमा र ७० प्रतिशत गहना बनाउन उपयोग बताए । सेयर बजार, घरजग्गालगायत अन्य क्षेत्रमा लगानीको वातावरण नभएकाले सुनचाँदीमा लगानी बढेको पनि शाक्यले जानकारी दिए ।
पछिल्लो समयमा सुनको भाउ बढ्दै गएपछि लगानी फाइदाजनक भएर लगानीकर्ता यसतर्फ आकर्षित भएका हुन् । एक वर्षमा सुनमा लगानी गरेका सर्वसाधारणले दोब्बर फाइदा गरेका छन् ।
अझै पनि सुनको भाउ बढ्ने अनुमानमा लगानी भइरहेको शाक्यले बताए । “नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि सुनमा लगानी बढिरहेको छ, “शाक्यले भने, “भारत, चीनलगायतका मुलुकमा सरकारले नै सुनमा लगानी गर्न जनतालाई आग्रह गरिरहेको छ ।”
गत आवमा १५ अर्ब ४७ करोडको सुनचाँदी तथा हीराको आयात भएकामा चालू आवको ६ महिनामा १३ अर्ब ८० करोडको आयात भएको भन्सार विभागले जनाएको छ । गत आवमा भन्सार महसुलका कारण असोज, कात्तिक र मंसिरमा आयात बन्द हुँदा ९ महिनामात्र आयात भएको थियो ।
विभागका अनुसार चालू आवको असोजसम्म गत आवको भन्दा बढी सुन आयात भइसकेको छ । गत आवमा ११ अर्ब ४७ करोडको ३ हजार ४ सय ५१ किलो सुन आयात भएकामा चालू आवमा भने ११ अर्ब ६१ करोडको २ हजार ७ सय किलो आयात भएको छ । चालू आवमा सुनको भाउ उच्च भएकाले परिणाम कम भए पनि रकम उच्च भएको हो ।
यसैगरी गत आवमा ३ अर्ब ५७ करोडको ४७ हजार १ सय ९० किलो चाँदी आएकोमा चालू आवमा १ अर्ब ६१ करोडको २३ हजार ९ सय ५० किलो आयात भएको छ ।
सरकारले भने सुनचाँदीलाई ‘अनुत्पादक’ भन्दै आयात निरुत्साहित गर्न विभिन्न उपाय अपनाउँदै आएको छ । ‘विशेष परिस्थिति’ भन्दै सुनचाँदी आयात व्यवस्थापन गर्ने जिम्मा नेपाल राष्ट्र बैंकलाई दिएको छ ।
केन्द्रीय बैंकका अधिकारीहरू समेत नेपालीहरूमा सुनप्रति आकर्षण बढ्दै गएको स्विकार्छन् । तर, लकरमा थन्क्याउन गरी सरकारले सुन किन्न नसक्ने भएको नियन्त्रणका उपाय अपनाइएको उनीहरूको भनाइ छ ।
केन्द्रीय बैंकले गत वर्षदेखि कोटा प्रणाली लागू गरी हाल वाणिज्य बैंकले दैनिक १५ किलो मात्र सुन आयात गर्न अनुमति दिएको छ । यसैगरी ढिक्का सुन बेच्न नपाइने र गहना मात्र बनाएर बेच्नुपर्ने व्यवस्था गरिएको छ ।
व्यवसायीले बजारमा दैनिक ३५ किलो सुन माग रहेको बताए पनि सरकारले आयात कोटा बढाउन अस्वीकार गरिरहेको छ ।

No comments: