![]() |
पराक्रम शर्मा अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) |
कर छली, नक्कली कागजात बनाइदिने घटनाका कारण पछिल्लो समय नेपालमा सीएप्रति नकारात्मक धारणा विकसित हुँदै गएको छ । सीएहरूको वर्तमान अवस्था र भूमिका के हो ?
पेसा मर्यादित हुन आवश्यक पर्ने आचारसंहिता, नियमनकारी निकायलगायत सबै कुरा लेखा व्यवसायमा पनि छन् । नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले लेखा व्यवसायीका लागि बनाएको आचारसंहिता पनि अन्तर्राष्ट्रियस्तरको नै छ । लेखा व्यवसायीहरू पूर्णतया आचारसंहिता र नियमनकारी निकायको निर्देशनअनुरूप चलेको भए पनि लेखा व्यवसायीले आफ्नो भूमिका के हो भनेर आम सर्वसाधारणलाई बुझाउन नसक्दा लेखा व्यवसायीप्रति प्रश्न उठेको छ ।
कम्पनी व्यवस्थापनले तयार पारेको वित्तीय विवरणलाई प्रचलित लेखापरीक्षणमानअनुसार लेखापरीक्षण गरेर आफ्नो राय दिने काम लेखा व्यवसायीको हो । लेखापरीक्षण गर्न लेखापरीक्षणमान र आइक्यान आचारसंहिताले निर्देशित गर्छन् । तर, जबसम्म कम्पनी व्यवस्थापनले बनाउने वित्तीय विवरणको स्तरवृद्धि हुँदैन, लेखापरीक्षकको काम पनि चुनौतीपूर्ण नै छ । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण तपार पार्ने विधि केही व्यवस्थित भए पनि निजी कम्पनीमा यो अझै लथालिंगको अवस्थामा छ । अधिकांश कार्यालयमा ‘कर्पोरेट कल्चर’ र ‘कर्पोरेट गभर्नेन्स’ छैन । साथै कतिपय लेखा व्यवसायीले आफूले लिनुपर्ने अडान लिन नसक्दा प्रश्न गर्ने अवस्था आएको छ ।
एउटा चार्टर्ड एकाउन्टेन्टले व्यवसाय छाडेर व्यापार गर्छ भने त्यो अलग्गै कुरा हो, नत्र लेखा व्यवसायीको भूमिका व्यवस्थापनले तयार पारेको वित्तीय विवरण लेखापरीक्षण गरेर आफ्नो राय दिनेमात्र हो । तर, सर्वसाधारणमा सबै काम लेखा व्यवसायीले गर्छन् भन्ने भ्रमलाई आइक्यान, एक्यान र अडिटर्स एसोसिएसन (अडान)ले हटाउन नसक्दा लेखा व्यवसायीको भूमिका कमजोर महसुस गरिएको छ ।
छिटो कमाउने लोभमा चार्टर्ड एकाउन्टेन्टहरूले नै कर छलीलगायतका घटनामा कम्पनीहरूलाई प्रोत्साहित गर्ने गरेको आरोप लागिरहेको छ । के लेखा व्यवसायी साँच्चिकै लोभमा परेका हुन् ?
एकाध व्यक्तिले गलत काम गर्दैमा सबै व्यवसायी नै गलत हुन्छन् भन्ने हुँदैन । एक–दुई जना गलत प्रवृत्तिका व्यक्ति सबै पेसामा हुन्छन्, जसका कारण असल व्यक्तिमाथि प्रश्न उठाउनुपर्ने अवस्था आउँछ । लेखा व्यवसायीले आफ्नो भूमिकाअनुसार नै लेखापरीक्षण गरेका हुन्छन् । कम्पनीको विवरण हेर्ने निकायले पनि वित्तीय विवरणमात्र हेरेर आफ्नो धारणा बनाउने गरेको पाइन्छ, लेखापरीक्षण प्रतिवेदन हेर्ने गरेको पाइँदैन । वित्तीय विवरणले मात्र सम्बन्धित कम्पनीको यथार्थ अवस्था चित्रण गरेको हुँदैन भनेपछि लेखापरीक्षकको दायित्व त समाप्त भयो नि ! गैरसरकारी संस्था नवीकरण गर्दा होस् वा कर कार्यालयलगायतका अन्य स्थान, त्यहाँ लेखापरीक्षण प्रतिवेदन हेरिँदैन, उनीहरूलाई वित्तीय विवरणमा लेखापरीक्षकको छाप र सही भए पुग्छ । लेखापरीक्षकको भूमिकालाई सरकारी निकायले नै बेवास्ता गरेपछि सर्वसाधारणमा नकारात्मक असर परेको छ । यसले लेखापरीक्षक र सरोकारवाला दुवैलाई घाटा भइरहेको छ भने चलखेल गर्ने समूहले यसैबाट फाइदा लिन खोजिरहेका हुन्छन् ।
लेखापरीक्षक आफूले लेखापरीक्षण गर्ने कम्पनीमा सल्लाहकारको काम गर्न नपाउने व्यवस्था छ । कुनै पनि काममा स्वार्थको द्वन्द्व रहनुहुँदैन भन्ने कुरालाई लेखापरीक्षणमा ख्याल गरिएको छ । दिइएका राय सुझाव पनि गैरकानुनी नभई कानुनबमोजिम हो । मूल्य अभिवृद्धि कर (भ्याट) छली, नक्कली भ्याट बिल गैरकानुनी कुरा भएकाले कुनै व्यवसायीले यसका लागि सुझाव दिएजस्तो लाग्दैन । तर, प्रचलित आयकर ऐनअनुसार कर छुट हुने, कर तिर्ने व्यवस्थाबारे भने सुझाव दिन पाइन्छ । पछिल्लो समय केही मुद्दामा आइक्यानले कारबाही गरेपछि सकारात्मक सन्देश गएको छ ।
अहिले लेखा व्यवसायको काममा देखिएका समस्या के–के हुन् ?
मुख्य कुरा कर्पोरेट संस्कृतिको अभाव हो । व्यवस्थापनले बनाएको वित्तीय विवरणमा लेखापरीक्षकले राय दिने हो तर त्यो वित्तीय विवरण नै कति सही भन्ने प्रश्न उठ्न थालेको छ । बीउ नै गलत छ भने फल त सही हुँदैन नि ! व्यवस्थापनले दुइटा वित्तीय विवरण बनाउने र लेखापरीक्षकलाई सही विवरण देखाएर सही गराउने प्रवृत्ति व्यावसायिक क्षेत्रमा हाबी छ । त्यसलाई सही छ भनेर राय दिँदा त गलत भएन नि ! अहिले लेखापरीक्षकले ‘रिक्स बेस्ड अडिट’ गर्ने गर्छ । जहाँ जोखिम धेरै हुन्छ, त्यहाँ लेखापरीक्षकले बढी ध्यान दिइरहेको हुन्छ । ठूला अपराध गर्नेहरू सुरुदेखि नै योजना बनाएर काम गर्छन् र लेखापरीक्षकलाई सन्तुष्ट हुने गरी देखाउने विवरण तयार पार्छन् । मुख्य रूपमा कर्पोरेट कल्चरको अभाव, समाजमा व्याप्त भ्रष्टाचार, पैसा तिरेपछि जे पनि गर्न सकिन्छ भन्ने मनोवृत्ति यसका प्रमुख कारक हुन् । यसले लेखापरीक्षणलाई औपचारिकतामा सीमित गराएको छ । अनवरत पेसागत तालिम र गुणस्तर कायम राख्न निरन्तर ‘अपडेट’ भएकाहरूले मात्र लेखापरीक्षण व्यवसायलाई निरन्तरता दिन सक्छन् ।
‘एक व्यक्ति एक पेसा’ चार्टर्ड एकाउन्टेन्टमा लागू भएको छ । दुई वर्षपछि दर्तावाल लेखा व्यवसायीलाई पनि लागू हुँदैछ । त्यसले यो विकृत्ति घटाउन केही मद्दत गर्छ । पहिलेजस्तो पेसा र जागिर सँगसँगै लान नसकेपछि अर्को विकल्प नहुने भएकाले पेसाप्रति समर्पित र इमान्दार रहनैपर्छ । फेरि २०१२ देखि नेपाल पनि अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (आईएफआरएस) मा जाँदंछ, यसले काम र गुणस्तर दुवै वृद्धि हुन्छ ।
त्यसैगरी हाल लेखापरीक्षण शुल्क अत्यन्तै कम छ । परम्परागत रूपमा नै शुल्क थोरै भएकाले एकैपटक धेरै शुल्क बढाउने स्थिति पनि छैन । कम्पनीको लेखापरीक्षण नेपाल लेखामान बोर्डअनुसार भएको छ कि छैन भनेर राय दिनुपर्छ, जुन ठूलो जिम्मेवारी हो ।