Monday, February 07, 2011

पशुपालक कृषकलाई सहुलियतमा ऋण दिन सुरु

काठमाडौं, २३ माघ

मासुको उत्पादन बढाउनका लागि सरकारले पशुपालक कृषकलाई सहुलियत ब्याजदरमा कर्जा दिन सुरु गरेको छ । साना किसान सहकारीमार्फत दिइएको यो कर्जा किसानले ९ प्रतिशतमा ब्याजमा पाउन सक्नेछन् ।

किसानलाई कर्जा दिनका लागि अर्थ मन्त्रालयले

साना किसान बैंकलाई ३० करोड रुपैयाँ निकासा गरेको छ । बैंकले यो रकम साना किसान सहकारीमार्फत व्यावसायिक पशुपालक कृषकमा लगानी गर्नुपर्नेछ ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले साना किसान सहकारीमार्फत व्यवसायीक पुशपानका लागि कृषकलाई सहुलियत व्याजमा ऋण अनुदानका लागि १ अर्ब रुपैयाँ छुट्याएको थियो । मासु उत्पादनमा आत्मनिर्भर हुन र निर्यात प्रवद्र्वनका लागि पशुपालन कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्न सहुलियत ऋणका लागि रकम छुट्याएको हो ।

अर्थ मन्त्रालय र साना किसान बैंकबीच आइतबार सम्झौता भएपछि पहिलो किस्ताको रकको निकासा भएको मन्त्रालयले जनाएको छ । सम्झौताअनुसार बैंकले पहिलो र दोस्रो किस्तामा ३० करोड तेस्रो किस्तामा ४० करोड रकम पाउनेछ । बैंकले उक्त रकम साना किसान सहकारीमार्फत मासुजन्य पशुपालक कृषकमा लगानी गर्नुपर्नेछ । ऋण पाउने कृषकले मासु उत्पादनका लागि बाख्रा खसी, भैंसी रागा सुँगुर र बंगुरपालन गर्नुपर्नेछ ।

ऋण लगानीका लागि अर्थले तयार पारेको कार्यविधिअनुसार साना किसान सहकारीमा आबद्ध किसानले मासुजन्य पशुपालनका लागि ९ प्रतिशत ब्याजदरमा कर्जा पाउनेछन् । सहकारी संस्थालाई भने सरकारल बैंकमार्फत ५ प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ । कार्यविधिमा तोकिएको समयमा ऋण नतिर्ने कृषकलाई चलनचल्तीकै ब्याज लगाइने व्यवस्था गरिएको छ । हाल सहकारीले १३÷१४ प्रतिशतमा ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् ।

“कार्यक्रम सञ्चालनका लागि पहिलो किस्ता स्वरूप ३० करोड रुपैयाँ निकासा भएको छ,” अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि बाँस्कोटाले भने ।

अर्थ मन्त्रालयबाट रकम निकासा भएपछि लगानीको जिम्मेबारी पाएको साना किसान बैंकले पनि कार्यविधि बनाउन लागेको जनाएको छ । “ऋण लगानीका लागि हामी कार्यविधि बनाउँदैछौं,” बैंकका अध्यक्ष खेम पाठकले भने, “कार्यविधि बनेपछि सहकारीको प्रस्ताव अध्ययन गरेर ऋण दिन्छौं ।” कार्यक्रममा ४२ जिल्लाका करिब दुई सय २५ सहकारीले एक अर्ब ५० करोड रुपैयाँ बराबरको प्रस्ताव परेको पाठकले बताए । ऋण लगानी अगाडि सहकारीले कृषकलाई पशुपालका बारेमा तालिम र अन्य जानकारीका लागि तालिम दिन लागिएको पाठकले जानकारी दिए ।

हाल ४२ जिल्लामा २ सय ४२ वटा साना किसान सहकारी संस्था सञ्चालनमा छन् । १ लाख ८५ हजार सदस्य रहेको ती संस्थाहरूले हालसम्म तीन अर्ब ५० करोड पुँजी परिचालन गरेको बताइएको छ ।

No comments: