Monday, January 17, 2011

सहकारीको 'साइनबोर्ड' एकै प्रकारको बनाइने

यादव हुमागाई
काठमाडौं ३ माघ


सहकारी संघ संस्थाको साइनबोर्ड एकै प्रकारको बनाइने भएको छ । सहकारीहरुको छाता संगठन राष्ट्रिय सहकारी संघले सहकारीमा हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षर रहेको साइनबोर्ड राख्ने नियम बनाउन लागेको हो ।
सहकारी संघसंस्थाको चिनारीका लागि साइनबोर्डमा एकरुपता ल्याउन यो व्यवस्था गर्न लागिएको संघका अध्यक्ष केशव प्रसाद बडालले बताए । सहकारी विभागलगायत सरोकारवालाहरुसँग छलफल गरेपछि यसलाई कार्यान्वयन गरिने बडालको भनाइ छ । सर्वसाधारणले बोर्डबाटै सहकारी संस्था छुट्याउन सजिलोका लागि यस्तो व्यवस्था गर्न लागेको उनले बताए ।
संघले सहकारी क्षेत्रको विकासका लागि सहकारी मन्त्रालयको माग गरेको छ । कृषि मन्त्रालयले मात्र सहकारी क्षेत्रको समस्या सम्बोधन गर्न नसकेको भन्दै मन्त्रालयको मागलाई जोडदार रुपले उठाइने जनाएको छ । यस्तै गरीवी निवारण ग्रामीण स्वालम्वन लघुवित्त कोष वैदेशिक रोजगार कोष आदिलाई सहकारी मार्फत संचालन गर्न आग्रह गरेको छ । त्यस्तै वैंक तथा वित्तिय संस्थाले पिछडीएको क्षेत्रमा लगानी गर्ने कर्जा पनि सहकारी संघसंस्थामा गर्न संघले माग गरेको छ । यसलाई मान्यता दिनका लागि संघले राष्ट्र बैंकमार्फत पहल गर्ने जनाएको छ ।
संघले सार्वजनीक गरेको वार्षिक कार्यक्रम अनुसार तीनखम्बे अर्थनीतिलाई नयाँ संविधानमा पनि समेट्न पहल गर्ने संघको भवन निर्माणका लागि पहल गर्ने सहकारीलाई विभिन्न तहको पाठ्यक्रममा समेट्न पहल गर्ने उद्योग र सेवाका विभिन्न क्षेत्रमा सहकारीले लगानी गर्न सक्ने बताबरण बनाउने सहकारीलाई करमुक्त क्षेत्र बनाउनका लागि पहल गर्ने जनाएको छ ।
यस्तै सहकारी क्षेत्रको नीतिगत समस्या समाधानका लागि संघले पहल गर्ने भएको छ । सरोकारवालाहरुसँगको छलफलमा गरि सहकारी ऐन २०४८ को परिमार्जन वचत तथा ऋण सहकारी ऐन सहकारी बैंक ऐन विमा ऐनका लागि पहल गर्ने जनाएको छ ।
त्यस्तै सहकारी क्षेत्रको विकास सम्वन्धी ५ वर्षे रणनीतिपत्र तयार गर्ने पनि संघले पहल गरिरहेको जनाएको छ । राष्ट्रिय सहकारी संघलाई महासंघका रुपमा रुपान्तरण गर्ने र सहकारी संघ\संस्थाहरुलाई संघमा आवद्ध अनिवार्य गर्ने जनाएको छ ।
चालु आर्थिक वर्षका मंसिरसम्म नेपालमा राष्ट्रिय सहकारी संघसहित १० वटा विषयगत केन्द्रीय संघ राष्ट्रिय सहकारी बैंक एउटा एक ९३ जिल्लास्तरीय संघहरुका साथै २० हजार एक सय २ सहकारी संस्थाहरु खुलेका छन् । सहकारी संघसंस्थामा दुई लाख भन्दा बढी पदाधिकारी सकि्रय रहेका छन् । त्यस्तै सहकारीको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत वित्तीय क्षेत्रमा करिव १० प्रतिशत योगदान गरेको संघले जनाएको छ । सहकारीमा प्रत्यक्ष रुपमा ५० हजार जना र करिव ५ लाख जनालाई अप्रत्यक्षरुपमा रोजगारी सृजना गर्न योगदान पुर् याएको छ । ३० लाख भन्दा वढि सदस्यहरु मध्ये ४२ प्रतिशत महिलाहरु सहभागी रहेको संघले जनाएको छ ।

No comments: