Tuesday, October 09, 2012

राष्ट्र बैंकको अनुमतिबिनै सहकारी कर्जा सूचना केन्द्र

काठमाडौं, १७ असोज - नेपाल राष्ट्र बैंकको अनुमतिबिनै राष्ट्रिय सहकारी बैंकले कर्जा सूचना केन्द्र सञ्चालन गर्न लागेको पाइएको छ । सहकारी बैंकलाई केन्द्र सञ्चालन गर्न अनुमति नदिएको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए । “सहकारी बैंकलाई सीमित बैंकिङ कारोबार गर्ने अनुमति मात्र दिइएको हो”, उनले भने, “यसबाट बैंकले सदस्यबाट निक्षेप संकलन र कर्जा लगानी मात्र गर्न पाउँछ ।”

गर्भनर युवराज खतिवडाले पनि भदौ २९ गते नेपाल लघुवित्त बैकर्स संघको कार्यक्रममा बोल्दै सहकारीलाई कर्जा सूचना केन्द्र सञ्चालन गर्न दिन नहुने बताएका थिए ।

बैंकको विधानमा भने आफ्ना सदस्यका लागि सूचना केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था छ । उक्त विधानलाई विभागले २०६८ चैत १६ गते स्वीकृत गरेको थियो ।

बैंकले गत असोज ३ गते सार्वजनिक सूचनामार्फत सहकारी विभाग र राष्ट्र बैंकको अनुमतिमा सूचना केन्द्र सञ्चालन गर्न लागेको बताएको थियो । सूचनामा केन्द्र सञ्चालनको जिम्मेवारी निजी कम्पनी क्रेडिट इन्फरमेसन सेन्टरलाई दिइएको थियो ।

निजी कम्पनीलाई केन्द्र सञ्चालन गर्न दिएको प्रति सहकारीकर्मी नै असन्तुष्ट छन् ।

२०६० असार २५ गते सहकारी विभागमा दर्ता भएको बैंकले २०६७ असार १० गते राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने अनुमति पाएको थियो ।

No comments: