Tuesday, October 09, 2012

निश्चित ब्याजदरमा ऋण लगानी गर्दै बैंकहरू

काठमाडौं, १७ असोज - ग्राहकलाई आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाले निश्चित समयसम्म ब्याज परिवर्तन नहुने गरी (फिक्स्ड ब्याजदर) मा ऋण लगानी गर्न थालेका छन् ।

लगानीयोग्य रकम (तरलता) पर्याप्त भएपछि बैंकहरूले कर्जा लगानी बढाउन यस्तो सुविधा सहितका योजना ल्याएका हुन् । सहरी उपभोक्तालाई लक्षित गरिएका यो सुविधा घरजग्गा, अपार्टमेन्टका साथै गाडी खरिदमा दिइने बैंकहरूले जनाएका छन् ।


हाल राष्ट्रिय बाणिज्य बैंक, सिटिजन्स र एनएमबी बैंकले निश्चित अवधिसम्म ब्याजदर परिवर्तन नहुने कर्जा योजना सार्वजनिक गरिसकेका छन् ।  


वाणिज्य बैंकले घर र गाडी खरिदमा दिने कर्जामा एक वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने घोषणा गरेको छ । यस योजनामा ५ वर्षे गाडी कर्जाको १२ प्रतिशत, ५ वर्षे घर कर्जा १०.५ प्रतिशत, १० वर्षे घर कर्जा ११.५ प्रतिशत र १५ वर्षे घर कर्जामा १२.५ प्रतिशत व्याजदर तय गरिएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले पनि तिन वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने गरी घर कर्जा सार्वजनिक गरेको छ । अधिकतम २५ वर्षे अवधिको योजनामा वार्षिक १०.५० प्रतिशत ब्याजदर तोकिएको छ । यसैगरी एनएमबी बैंकले पनि ग्राहकको आवश्यकताअनुसार २ देखि २५ वर्षसम्म ब्याजदर परिवर्तन नगरी कर्जा योजना ल्याएको छ । ‘एनएमबी बैंक होम लोन प्याकेज’ कर्जा अन्तर्गत जग्गा खरिदका लागि अधिकतम ५० लाख रुपैयाँ र  घर तथा अपार्टमेन्टका लागि तीन करोडसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।


बैकहरूले यसअघि मुद्दति निक्षेपमा मात्र निश्चित अवधिसम्म एउटै ब्याजदर दिने गरेका थिए । साधारण बचत योजना र कर्जामा भने ग्राहकसँग बजार अनुसार ब्याजदर परिवर्तन गर्न पाउने आशयको सम्झौता गरी कारोबार गर्दै आएका थिए । यसैका आधारमा कर्जाको ब्याजदर छिटो बढाउने गरेको सर्वसाधारणको गुनासो थियो ।



निश्चित समयसम्म ब्याजदर परिवर्तन नगर्ने बैंकहरूका योजनाले बजारमा सकारात्मक असर पार्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए । “यो योजनाबाट सर्वसाधारणलाई निश्चित समयसम्म ढुक्क हुने स्थिति बनेको छ” ज्ञवालीले भने, “यसले बैंकहरूको कर्जा लगानीसमेत वृद्धि हुन्छ ।



सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले लगातार निश्चित कमाइ हुनेका लागि यो योजना उपयुक्त हुने बताए ।
 

No comments: