Thursday, May 26, 2011

डलर बढेपछि सुनको मूल्य उच्च

प्रतितोला ४३ हजार १ सय
यादव हुमागाई
काठमाडौं, ११ जेठ


अमेरिकी डलरको भाउ मजबुत भएपछि त्यसको असर सुनको मूल्यमा देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यसँगै डलर पनि मजबुत भएपछि स्थानीय बजारमा सुन महँगो भएको हो । सुनसँगै डलर पनि मजबुत भएकाले नेपालमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार बुधबार स्थानीय बजारमा सुन प्रतिदस ग्राम ३६ हजार ९ सय ५० (प्रतितोला ४३ हजार एक सय) रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको भाउ प्रतिदस ग्राम ३६ हजार ६ सय १० (४२ हजार ७ सय) रुपैयाँ थियो ।

यसअघि वैशाख १८ गते पनि आजकै मूल्यमा कारोबार भएको थियो । उक्त दिन अन्तर्राष्ट्रिय बजार भाउ प्रतिऔंस १ हजार ५ सय ७० डलर पुगेको थियो । तर, बुधबार भने अन्तर्राष्ट्रिय भाउ एक १ हजार ५ सय २७ डलर मात्र पुग्दा डलरको भाउ बढेकाले स्थानीय बजारमा सुन महँगो भएको व्यवसायी बताउँछन् ।

“अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढे पनि डलरको मूल्य बढेकाले महँगोमा भएको हो,” नेपाल सुन चाँदी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्यले भने । यसपटक डलरको मूल्य बढेकाले भाउ महँगो भएको शाक्यले बताए । “यसअघि अन्तर्राष्ट्रिय बजारमा १ हजार ५ सय ७० डलर पुग्दा नेपालमा ४३ हजार १ सय मात्र थियो अहिले १ हजार ५ सय २७ डलर हुँदै नेपाली बजारमा ४३ हजार नाघेको छ ।”

वैशाख १८ गते प्रतिइकाई ७०.६५ रुपैयाँ रहेको अमेरिकी डलरको भाउ बढेर जेठ १२ गते ७०.०५ पुगेको छ ।

वैशाख अन्तिमबाट क्रमशः ओरालो लागेको सुनको मूल्य गत सातादेखि पुनः बढ्न थालेको हो । क्रमशः घट्दै गत साता १ हजार ४ सय ९५ डलरसम्म झरेको सुनको भाउ पुनः बढेर बुधबार बेलुकीसम्म १ हजार ५ सय २७ डलर पुगेको छ ।
सुनको मूल्यसँगै डलर पनि मजबुत हुँदा नेपाली बजारमा धेरै असर पर्ने व्यवसायी बताउँछन् । “अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बढ्यै छ,” शाक्यले भने, “डलरसमेत मजबुत भएकाले नेपालीमा अझै महँगो हुन सक्छ ।”

अन्तर्राष्ट्रिय बजारमा राजनीतिक उथलपुथलका साथै सुनको मागसमेत बढेकाले मूल्य उकालो लागेको व्यवसायी तथा विश्लेषक बताउँछन् । “पछिल्लो दुई वर्षयता चीन र भारतमा सुनको खपत अत्याधिक बढेकाले नै सुनको मूल्य उच्च भएको सिटीजन बैंक इन्टरनेशनलका प्रमुख सञ्चालन अधिकृत राजु नेपाल बताउँछन् । माग वृद्विसँगै सुनका नयाँ खानीहरू पत्ता नलागेको र उत्पादन नबढेकाले माग र आपूर्तिमा अन्तर भई मूल्य उच्च भएको उनको भनाइ छ ।

संघका महासचिव शाक्य भने माग बढ्दैमा मूल्य बढ्ने सम्भावना १० प्रतिशत मात्र हुने बताउँछन् । कमोडिटी बजारमा हुने उतारचढावले मुख्य रूपमा सुनको मूल्यलाई असर गर्ने उनको भनाइ छ । पछिल्लो समयमा सेयरमा भन्दा सुनमा लगानी बढेकाले मूल्य उच्च हुन सघाएको उनले बताए । एसियाली देशमा पछिल्लो समयमा सुनको माग बढेको उनले स्वीकार गरे । पछिल्लो समयमा भारत र चीनका केन्द्रीय बैंकले समेत सुनको मौजाद बढाउन लागेकाले मूल्य माग बढेको उनले बताए ।

यसैगरी बुधबार स्थानीय बजारमा चाँदी ३२ रुपैयाँ बढेको छ । मंगलबार प्रतिदस ग्राम ८ सय ७३ रुपैयाँ रहेकामा बुधबार ९ सय ५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

No comments: