Monday, July 11, 2011

विकास बैंकको योगदानलाई उपेक्षा गरिएको छ

२०४६ सालमा नबिल बैंकबाट वित्तीय क्षेत्रमा प्रवेश गरेका मनोज गोयलले यस अवधिमा नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स (हाल एनएमबी बैंक) र बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।
हालै डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा निर्वाचित गोयल क्लिन इनर्जी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । २२ वर्षको यसअवधिमा करिब १५ वर्ष प्रमुख कार्यकारी अधिकृत भएका गोयल वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा तीनै संस्थामा प्रमुख रहेको सम्भवतः नेपालमा एकल व्यक्ति हुन् ।


वित्तीय क्षेत्र निकै अप्ठेरोमा रहेको बेला डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष हुनुभएको छ । अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ ?

२०६० आसपाससम्म नेपाल राष्ट्र बैंकको नीति÷निर्देशनहरू खासै थिएनन् । बैंकहरू स्वनियममा बस्ने र अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गर्ने परिपाटी राम्रो थियो । त्यतिबेला घरजग्गा (रिलयस्टेट)मा खासै कर्जा पनि प्रवाह भएको थिएन । किनभने रियलस्टेट आफंैले नाफा कमाउँदैन भन्ने मान्यतामा बैंकहरूले यस क्षेत्रमा कर्जा प्रवाह गर्दैनथे । त्यतिबेला बंैकले प्रवाह गर्ने कर्जा र बैंकिङ प्रणाली नै विवेकपूर्ण तरिकाले चलेको थियो ।

तर, ०६२/६३ तिर जग्गा धितोमा ऋण दिने र तिर्न नसकेमा त्यसैलाई बिक्री गरेर असुल गर्ने परिपाटी विकास गरी ऋण प्रवाह हुन थाल्यो । कर्जा लिने ग्राहकको आयका स्रोतहरू हेरिएन । द्वन्द्वकाल र त्यसपछि मधेस आन्दोलनले मान्छेहरू विस्थापित भएर उपत्यकामा थेग्रिन थालेपछि घरजग्गाको माग अत्यधिक बढ्यो । यसले बैंकहरूका लागि घरजग्गा लगानीको लागि स्वर्णिम क्षेत्र बन्यो । तर, उत्पादकत्व क्षेत्रको विकास हुन सकेन । घरजग्गाको मागलाई पनि केही समय प्राकृतिक वृद्विकै रूपमा लिइयो । बजारले धान्नै नसक्ने गरी लगानी बढ्न थालेपछि जुनसुकै क्षेत्रमा पनि त्यसको प्रभाव त पर्छ नै । लामो द्वन्द्वकालपछि पनि मुलुकको राजनीतिमा विश्वासको संकट देखिँदै गयो । यसले लगानीकर्ताको मनोबलमा ठेस पुग्यो । यस्तो बेला भएको पुँजी पलायन र तरलताको अभावलाई स्वाभाविक मानियो । अर्कोतिर देश कुन अर्थ व्यवस्थामा जान्छ भन्ने डरले पनि समस्या निम्त्याएको छ । अहिले वित्तीय क्षेत्रमा देखिएको समस्या क्षणिक भएकाले राजनीतिक स्थितिमा सुधार आउनासाथ समस्या पनि समाधान हँुदै जान्छ । १० लाख बढीको कारोबारमा स्रोत देखाउनु पर्ने व्यवस्थाले पनि केही समस्या देखिएको हो । समयलाई ख्याल गरेर राष्ट्र बैंकले गलत बाटोमा जान लागेको घरजग्गा व्यवसायलाई ठूलो दुर्घटना बचाउन सीमा तोक्यो । यसले अर्थतन्त्रमा स्वाभाविक सुधार ल्याउन मद्दत पु¥याउँछ भन्ने लाग्छ ।

चरम द्वन्द्वको अवस्थामा सहज रूपमा चलेको नेपालको वित्तीय क्षेत्र शान्तिपूर्ण वातावरणमा झन् समस्याग्रस्त देखियो नि ?

०६२/६३ को आन्दोलनपछि कम्युनिस्ट सोचको जित हुन्छ भनेर निश्चित वर्गका मानिसलाई विश्वास थिएन । तर, स्थिति फरक भयो । कम्युनिस्टले जितेपछि पुँजीवादी अर्थतन्त्रमा विश्वास राख्नेहरू असुरक्षित अनुभव गर्न थाले । द्वन्द्वकालमा अप्ठेरो भए पनि पछि सुधार होला भन्ने विश्वासमा लगानी भएको अवस्था थियो । तर स्थितिमा कुनै सुधार नआउँदा वित्तीय क्षेत्रमा कायम समस्या यथावत रहन गएको हो ।

पछिल्लो समयमा वित्तीय संस्थाहरूमा समस्या देखिन थालेपछि यसप्रति आम मानिसको विश्वाससमेत कमी आएको छ । यसलाई सुधार गर्न कसले के गर्नुपर्छ ?


अहिलेको अवस्थामा सरकारले जनतालाई विश्वास दिलाउने काम गर्नुपर्छ । वित्तीय संस्थाहरूले पनि आफ्नो काममा कमीकमजोरी छन् भने तिनीहरूलाई सुधार गर्नुपर्छ । अहिलेको अवस्थामा बजारमा देखिएका तरलतालगायतका समस्या समाधान गर्न केन्द्रीय बैंकले आफ्ना सबै वित्तीय औजारहरू प्रयोग गर्नुपर्छ ।

सरकारले प्रणालीगत कारणले वित्तीय संस्था डुब्न दिँदैनांै, बदमासी गर्नेलाई कारबाही पनि गर्छौं र तरलताको कारणले समस्या आएका संस्थालाई डुब्न दिँदैनौं भन्ने प्रतिबद्धता जनाउनुपर्छ । अहिले ‘क’ वर्गका संस्था राम्रो ‘ख’ र ‘ग’ वर्गका संस्था नराम्रो भन्ने भ्रम फैलिएको छ । यो तह या प्रकार राम्रो र नराम्रो होइन भनेर सर्वसाधारणलाई सचेत गराउन आवश्यक छ । सरकार, नियामक निकाय राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्था सबै मिलेर अहिले वित्तीय क्षेत्रमा देखिएका तमाम भ्रम हटाउन आवश्यक छ । संस्थागत रूपमा ‘क’ वर्गको भन्दा ‘ख’ र ‘ग’ वर्गमा निक्षेप असुरक्षित हुने कुनै कारण छैन ।

‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्था असुरक्षित छन् भन्ने सन्देश केन्द्रीय बैंकले नै दिएको छ । अहिले फेरि तीन महिना आफ्ना निक्षेपहरू नवीकरण नगर्ने भनिरहेको छ, के यसले आगामी दिन अझ अप्ठ्यारो हुँदैन ?


अवधि पुगेको निक्षेप निकाल्नु स्वाभाविक प्रक्रिया हो । राष्ट्र बैंकले निक्षेप दिने र अवधि पुगेको निक्षेपसमेत झिक्ने भइरहन्थ्यो । यसअघि यो कुराको खासै मतलब हुँदैनथ्यो । तर, अहिले बजारमा हल्ला र अविश्वासको वातावरण भएकाले यसको प्रभाव धेरै प¥यो अहिले वित्तीय संस्थामा राष्ट्र बैंकको झन्डै १२ अर्ब निक्षेपमध्ये १० अर्ब रुपैयाँ त ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामै छ । त्यसैले राष्ट्र बैंकले अविश्वास गरेको छ भन्न मिल्दैन ।

अहिले बजारमा देखिएको तरलताको समस्या समाधान गर्न केन्द्रीय बैंकले अपनाएका उपायहरू प्रभावकारी भएनन् भन्ने आरोप लगाउन खोज्नुभएको हो ?

बजारमा तरलता समस्या देखिएका बेला विश्वका केन्द्रीय बैंकहरूले प्रयोग गर्ने वित्तीय औजारहरू नेपालमा पनि प्रयोग भएका छन् । यहाँको परिस्थितिअनुसार प्रयोग गरिएको औजारहरू पूर्ण व्यावहारिक प्रणालीअनुरूपका छन् । एक–एक तहको समाधान गर्दै जाने बाटोमा राष्ट्र बैंकले कदम चालेको देखिन्छ ।

यसले समस्या समाधान गर्दै लगेको छ त ?


यिनीहरूले समस्या समाधान गर्दैनन् । यी औजारहरूले सहयोग गर्ने मात्र हो । तर, वित्तीय संस्थाले बजारलाई विश्वास दिलाएर आफंै सुरक्षा आफै गर्नुपर्छ । बजारमा देखिएको समस्या समाधान नभएसम्म केन्द्रीय बैंकले भरथेग गर्ने मात्र हो । राजनीतिक तहबाट बजारमा विश्वासको वातावरण सिर्जना भएपछि यो समस्या विस्तारै हट्दै जान्छ ।

बजेट समयमा नआउने, पुँजीगत खर्च नहुनुजस्ता कारणले मौद्रिक नीति पनि असफल हुनुको असर हो यो ?


अहिलेको समस्याको जड नै राजनीतिक अस्थिरता हो । राजनीतिक अस्थिरताले अराजकता र दण्डहीनता बढ्दा सर्वसाधारणले असुरक्षा महसुस गरेका छन् । आफू असुरक्षित महसुस हुँदा पुँजी पलायन गर्नु, आफू सुरक्षित हुने उपाय खोज्नु, पैसा आफैंसँग राख्नु राजनीतिसँग जोेडिएका विषय हुन् । त्यसैले समस्या समाधान हुन राजनीतिक स्थिरता हुनैपर्छ । त्यसपछि बल्ल मौद्रिक नीति र अन्य पक्षले काम गर्छ ।

पछिल्लो समय अन्तरबैंकिङ कर्जाका लागि बैंकहरूबीच नै अविश्वासको वातावरण पैदा भइरहेको छ नि ?

बजारमा भएका कुनै पनि हल्लालाई आधार मानेर आफूलाई सुरक्षित राख्न खोज्नु मानवीय प्रवृत्ति नै हो । वास्तविकता बुझ्दै गएपछि यस्ता समस्या विस्तारै सामान्य भएर जान्छ । संस्थागत सुशासन भएका संस्थालाई अप्ठेरो छैन । तर, संस्थागत सुुशासन नभएका र बैंकिङ मान्यताहरू राम्रोसँग अनुशरण नगरेका संस्थालाई भने समस्या छ ।

नेपालमा विदेशीको ठूलो कारोबार नभएका कारण रकम बाहिरिने समस्या छैन । बैंक तथा वित्तीय संस्थाको लगानी हेर्दा हाउजिङ, गाडी र व्यावसायिक क्षेत्रमा सानो–सानो मात्रामा छ । विशेष क्षेत्रमा लगानी गरेर त्यो क्षेत्र नै डुब्ने अवस्था छैन । त्यसमा कुनै न कुनै किमिसको धितो छ । अहिले घरजग्गामा अलि बढी लगानी भएकाले समस्या देखिएको हो । फेरि घरजग्गाको माग बढेपछि सबै कुरा सामान्य हुन्छ । त्यसैले दुई÷तीन वर्षमा समायोजन हुने गरी वित्तीय औजार ल्याउन सकेमा विस्तारै ठीक हुन्छ ।

‘क’, ‘ख’, ‘ग’ वर्गका सबैलाई एकै प्रकृतिको काम गर्दा समस्या आएको भन्छन्, नि ?


नेपालमा उत्पादनमूलक क्षेत्रको खासै विकास हुन सकेको छैन । यो अवस्थामा वित्तीय संस्थाको संख्या मात्र बढी भएका कारणले केही समस्या देखिएको हो । तर, सबैको काम एकै प्रकृतिको हुँदा समस्या आउनुपर्ने कुनै कारण छैन । नेपालका वित्तीय संस्थाहरूको पुँजी सानो छ । सबैले केन्द्रीय बैंकको नियम कानुनमै रहेर काम गरेका छन् । त्यसैले जोखिम पनि सानो छ । तर, वित्तीय क्षेत्रको विकाससँगै चाहिने जनशक्ति, प्रविधि, रेटिङ एजेन्सीजस्ता वित्तीय क्षेत्रलाई आवश्यक संयन्त्रहरूको विकास हुन नसक्दा समस्या भएको हो ।

अर्कोतिर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले यी संस्थाहरूको काममा कुनै फरकपन दिएको छैन । विभिन्न क्षेत्रको विकासका लागि भन्दै विकास बैंकहरू खुले पनि त्यसअनुसारको काम गर्ने बारेमा भने कुनै कानुनहरू बनेका छैनन् ।

क्लिन इनर्जी डेभलपमेन्ट बैंकले सफा ऊर्जाका क्षेत्रमा के–के काम गरेको छ ?

क्लिन इनर्जी बैंकको कारोबार सुरु भएको पाँच वर्षमात्र भएको छ । त्यसबीचमा कति मेगावाटको पीपीए भएको छ र ? पीपीएबाट एउटा आयोजना लिएर जाँदा निर्माणमा ३/४ वर्ष लाग्छ । त्यसैले हाम्रो काम नदेखिएको हो । बैंकले धेरै आयोजनामा काम सुरु गरेका छन् । सिउँडीखोला, मोदी, माइलुङखोला र झारी चारवटा आयोजना निर्माणाधीन छन् । साता–आठवटा प्रोजेक्टका लागि कुरा भइरहेको छ । त्यस्तै विभिन्न कम्पनीसँग मिलेर सहरी र ग्रामीण क्षेत्रमा सोलारपावर, बायोग्यास, माइक्रो हाइड्रो फाइनान्समा काम गरिरहेका छांै । बैंकले २४ करोडको सीईडीबी हाइड्रो फन्डमार्फत १ सय ५० जति आयोजनामा काम गरिरहेको छ । बैंकले जलविद्युत् विज्ञहरूलाई नै लिएर काम अघि बढाइरहेको छ ।

क्लिन इनर्जी र एनएमबीबीच मर्जरको कुरा पनि आएको छ । प्रक्रिया कहाँ पुग्यो ?

मर्जरका लागि सैद्धान्तिक सहमति भइसकेको छ । राष्ट्र बैंकको नियमअनुसार विशेष साधारणसभा गरेर जानुपर्ने भएकाले विशेष साधारणसभा बोलाएका छौं त्यसपछि प्रक्रिया अघि बढ्छ ।

सरकार र राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा बैंक तथा वित्तीय संस्थालाई लगानी बढाउन भनिरहेका छन् । तर, यी संस्थाले सुनेको नसुन्यै गर्छन्, किन ?

मुख्य कुरा नेपालमा लामो अवधिका कोष जुटाउने औजारहरू छैनन् । विकासका गतिविधि हुन नसकेका कारण बैंकहरूमा त्यो क्षमता पनि विकास हुन नसकेको हो । लामो अवधिमा लगानी गर्ने बैंकहरूलाई विशेष सुविधा पनि छैन । जस्तै जलविद्युत्मा लगानी गर्ने बित्तिकै कर्जा असुलीमा एक/दुई महिना ढिला हुन सक्छ तर, राष्ट्र बैंकको जोखिम व्यवस्थाको नियम कडा छ । व्यापारिक कर्जामा भने एक दुई महिना ढिला भएमा पनि त्यसमा प्रश्नचिह्न लगाउन मिल्छ ? जलविद्युत्को लगानीमा जोखिम व्यवस्थाको नियम सच्याउनुपर्छ । यस्ता क्षेत्रमा लगानी गर्न ब्याजदरमा उतारचढाव हुनुहुँदैन । पीपीए दर पहिले नै निश्चित गरिने भएकाले ब्याजदर बढ्दा समस्या हुन्छ ।

राष्ट्र बैंकले दिएको पुनर्कर्जाले विकास निर्माणमा लगानी गर्न संभव छैन । पूर्वाधारको विकासमा बजार संयन्त्रलाई परिचालन गर्नुपर्छ । त्यसको मुख्य समस्या भनेकै ब्याजदरको उतारचढाव हो । ब्याजदरलाई नियमित बनाउन सरकारले एउटा छुट्टै कोष बनाउनुपर्छ । यस्तो कोषले ब्याजदर बढ्दा अनुदान दिन सक्नुपर्छ ।

सरकारले जलविद्युत् कम्पनीको पनि अवधारणा ल्याएको छ, त्यसले सहयोग गर्ला, नि ?


सरकारले घोषणा गरेको जलविद्युत् कम्पनीले पनि स्थानीयस्तरमा उपलब्ध सं्रोतलाई उपयोग गर्ने हो । तर, यसको पनि बजारमा भएको पुँजीलाई संकलन गरेर लगानी गर्ने संयन्त्र देखिँदैन । एकातिर जलविद्युत् कम्पनीले आफ्नो ढंगले काम गरिरहन्छ भने अर्कोतिर अरू संस्थाहरूलाई बजारमा स्वस्फुर्त लगानी गर्ने वातावरण बनाउनुपर्छ ।

एसोसिएसनका आगामी योजनाहरू के–के छन् ?

अहिले ‘ख’ र ‘ग’ वर्गका संस्था खराब छन् भन्ने बजारमा फैलिएको भ्रम हटाएर विश्वासको वातावरण बनाउनु एसोसिएसनको मुख्य काम हो । त्यसका लागि कस्तो कदम चाल्न सकिन्छ भनेर छलफल गरिरहेका छौं । सदस्यहरूका आन्तरिक क्षमता अभिवृद्धि र संस्थागत सुशासनका लागि पनि काम गर्नुपर्ने छ । यसैगरी डेभलपमेन्ट बैंकको अर्थतन्त्रमा रोल के हो ? त्यसबारे छलफल गर्छाैं ? यति धेरै संस्था भएकाले सामूहिक रूपमा केही गर्न सक्यौं भने हामीले पहिचाहन बनाउन सक्छौं ।

विकास बैंकहरूलाई प्रतीतपत्र (एलसी) र बैंक ग्यारेन्टीको कारोबारमा राष्ट्र बैंकले विभेद गरेको बारेमा कतिपय बैंकरहरूको गुनासो छ नि ?


सबै विकास बैंकलाई प्रतीतपत्र कारोबारका लागि पुँजीका साथै भौतिक क्षमता पनि पुग्दैन । तर, एलसी खोल्न सक्ने क्षमता भएकालाई अनुमति दिने कुरामा केन्द्रीय बैंक सकारात्मक देखिएको छ । बैंक ग्यारेन्टीको कारोबारमा भने समस्या छ । बैंकको ग्यारेन्टीबारे केही सरकारी कार्यालयले ‘क’ वर्गका संस्थालाई मात्र मान्यता दिएकाले समस्या भएको हो । यसबारे सरोकारवाला पक्षसँगको छलफलपछि एसोसिएसन नयाँ ढंगले अघि बढ्छ ।

सहकारीद्वारा बैंकलाई चुनौती

काठमाडौं, २६ असार

सरकारले नीति तथा कार्यक्रममा प्राथामिकता दिएको आडमा सहकारी संस्थाहरूले बैंक तथा वित्तीय संस्थाविरुद्ध अतिरञ्जित प्रचारबाजी सुरु गरेपछि द्वन्द्व बढेको छ । नीति तथा कार्यक्रममा सरकारले तीन खम्बे आर्थिक नीति अवलम्बन गर्ने र सहकारीलाई विकासको मुख्य अंगका रूपमा लिने घोषणा गरेलगत्तै सहकारी संस्थाहरूले बैंक तथा वित्तीय संस्थाभन्दा आफूहरू नै सुरक्षित भएको भन्दै आमसञ्चार माध्यममा सार्वजनिक आह्वान प्रकाशित गरेका छन् ।

राष्ट्रिय सहकारी संघ लिमिटेडका साथै जिल्ला सहकारी संघ काठमाडौं, ललितपुर, नुवाकोट र काभ्रेको नामबाट जारी आह्वानमा बैंक तथा वित्तीय संस्थाहरू संकटग्रस्त भई सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा पुगेकाले सहकारी बैंकसँग मात्र कारोबार गर्न भनिएको छ ।
विश्वमा आर्थिक मन्दी छाएका बेला धेरै देशले बैंक तथा वित्तीय संस्था बचाउन ठूलो रकम खर्च गर्नुपरेको तर कतै पनि सहकारी प्रभावित नभएको भन्दै उनीहरूले तरलता अभावका बेला बैंक तथा वित्तीय संस्थाले निक्षेप फिर्ता गर्न नसक्ने दाबी गरेका छन् । राष्ट्रिय सहकारी बैंकसँगको कारोबार भने सुरक्षित तथा भरपर्दो भएकाले आफूहरूसँग कारोबार गर्न उनीहरूले आहवान गरेका छन् । यो आह्वान प्रमुख दैनिक पत्रिकाहरूमा प्रकाशित हुँदै आएको छ ।

बैंकरहरूले भने सरकार र राष्ट्र बैंकले समेत प्रश्न नउठाएका बेला वित्तीय संस्थामाथि धावा बोल्नुले निजी क्षेत्रको अपमान भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले पारदर्शिता नभएका र कतैबाट पनि अनुगमन नभएका संस्थाले अनर्गल प्रचार गरेकाले कारबाही गर्न माग गरेका छन् ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले अहिले विभिन्न क्षेत्रबाट सहकारीविरोधी अभियान नै सञ्चालन भइरहेकाले जनतालाई सचेत गराउन सूचना जारी गरिएको स्पष्ट पारे । सूचनामार्फत निजी क्षेत्रका वित्तीय संस्थालाई आक्षेप लगाउने आफूहरूको उद्देश्य नभए पनि भाषागत त्रुटि भएको हुनसक्ने भन्दै उनले बचाउ गरे ।

नेपाल बैंकर्स संघका अध्यक्ष अशोक शमशेर राणाले कतैबाट सुपरिवेक्षण नहुने संस्थाहरूले सुपरिवेक्षकीय क्षेत्राधिकारमा रहेका बैंक तथा वित्तीय संस्थालाई आरोप लगाउनु निजी क्षेत्रकै अपमान भएको बताए । “सरकारले निजी क्षेत्रभन्दा सहकारीलाई प्राथमिकता दिएको उपज हो यो घटना,” उनले भने, “सरकार नै सहकारीप्रति बढी आशक्त भएर निजी क्षेत्रलाई बाइपास गर्ने ढंगले अघि बढिरहेको छ ।”

राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले पनि सहकारीद्वारा प्रकाशित आह्वान कुनै पनि दृष्टिकोणबाट उपयुक्त नभएको बताए । “यो सूचनामा प्रष्ट रूपमा खराब नियत देखिन्छ, बैंकको संलग्नता हेरेर कारबाही हुन्छ,” उनले भने । आह्वान प्रकाशन गर्नमा अग्रणी भूमिका खेलेको राष्ट्रिय सहकारी बैंकले केन्द्रीय बैंकबाट सीमित बैंकिङ कारोबार गर्न अनुमति लिएको छ ।

उक्त बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले निजी बैंक तथा वित्तीय संस्थामा समस्या आउँदा धेरै सहकारीलाई प्रभाव पर्ने गरेकाले केन्द्रीय संघमार्फत सबै सहकारीकर्मीलाई सचेत गराइएको बताए । “गोर्खा विकास बैंकको कारोबार बन्द हुँदा धेरै सहकारीलाई असर परेकाले सहकारी बैंकमार्फत कारोबार गर्न अनुरोध गरिएको हो,” उनले भने ।

सरकारले नीति तथा कार्यक्रममा सहकारीलाई महत्व दिएपछि निजी क्षेत्रले यसको विरोध गर्दै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गत शुक्रबार प्रधानमन्त्रीसँग भेटी तीनखम्बे अर्थनीतिको विरोध गरेको थियो । कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णीकारको टोलीले निजी–सार्वजनिक साझेदारीको मोडलमा जान आग्रह गर्दै सहकारीलाई धेरै महत्व दिए अर्थतन्त्र नै संकटमा पर्ने चेतावनी दिएका थिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश बस्नेतले सरकारले निजी क्षेत्रको भूमिकालाई अवमूल्यन गरेको बताए । “राष्ट्रिय अर्थतन्त्रमा २÷३ प्रतिशत योगदान रहेको सहकारी क्षेत्रलाई महत्व दिएर अर्थतन्त्रको कसरी विकास हुन सक्छ ?” उनले प्रश्न गरे ।

डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष मनोज गोयलको भनाइमा अरुको कमजोरी देखाएर आफ्नो मार्केटिङ गर्ने प्रवृत्ति अस्वस्थताको नमुना हो । “यसप्रति तत्काल राष्ट्र बैंकको ध्यानाकृष्ट हुनुपर्छ,” उनले भने, “बैंक तथा वित्तीय संस्थाप्रति अनर्गल आरोप लगाउनेहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।” अर्थतन्त्रको विद्यमान अवस्थामा बढाइचढाइ गर्नु र एकअर्काको कमजोरी देखाएर फाइदा लिन खोज्नु दुभाग्र्यपुर्ण भएको उनको भनाइ छ ।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष राजेन्द्रमान शाक्यले बैंक तथा वित्तीय संस्थाका बारेमा बोल्ने अधिकार सहकारीहरूलाई नभएको बताए । “राज्य र राष्ट्र बैंकले समेत नबोलेको अवस्थामा सहकारी संघले के आधारमा आरोप लगाउँछ ?” उनले भने, “अर्थमन्त्रालय, राष्ट्र बैंक र सहकारी विभागले यसमा गम्भीर विचार पु¥याउनुपर्छ ।”

सहकारी विभागका रजिस्टार सुदर्शनप्रसाद ढकालले सहकारी आन्दोलनमा लागेको राष्ट्रिय सहकारी संघबाट आवेशमा गलत प्रतिक्रिया आएको धारणा व्यक्त गरेका छन् । संघमार्फत वित्तीय संस्थालाई आक्षेप लगाउनु एक–अर्कालाई हिलो छ्यापाछ्याप गर्नुमात्र भएको उनको भनाइ छ । संघको धारणाप्रति विभाग सहमत नभए पनि सहकारी आन्दोलनमा लागेका संस्थाहरूलाई कुनै कारबाही गर्न नसकिने ढकालले बताए ।

जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले अरुलाई आक्षेप लगाउनु गलत भएको बताए । सन्देशमा जिल्ला संघको नाम समावेश भए पनि सूचनाबारे अग्रीम जानकारी नभएको दाबी उनले गरे ।

राष्ट्रिय सहकारी संघ देशभरका सहकारीको छाता संगठन हो । संघमा १० वटा विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बंैक र जिल्ला संघ गरी १ सय ३० वटा संघ सदस्य छन् । जिल्ला संघमा भने जिल्लाका सहकारीहरू सदस्य हुन्छन् ।

सरकारका साथै राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, केन्द्रीय संघ र सहकारी संस्थाले संयुक्त रूपमा सहकारी बैंक स्थापना गरेका हुन् । सहकारी संस्थाहरूबीच मात्र कारोबार गर्न पाउने बैंकले केही समयअघि राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार अनुमति पाएको थियो । बैंकमा देशभरका २ हजार ५ सयभन्दा बढी सहकारीको आव २०६६/०६७ सम्म ६५ करोड रुपैयाँ निक्षेप छ । हाल सहकारीहरूमा करिब डेढ खर्ब निक्षेप रहेको विभागको तथ्यांक छ ।

Saturday, June 25, 2011

सहकारीको निक्षेप सुरक्षित गर्न ‘सुरक्षण कोष’

यादव हुमागाईं
काठमाडौं, ८ असार
सहकारी संस्थामा रहेको सर्वसाधारणको निक्षेप सुरक्षित गर्न सुरक्षण कोष बनाइने भएको छ । जोखिममा परेका संस्थालाई सहयोग गर्न र सर्वसाधारणको निक्षेप सुरक्षित गर्न कोषको अवधारणा अघि सारिएको हो ।

दक्षिण कोरियामा सफल देखिएको कोषको अवधारणा नेपालमा पनि उपयुक्त हुने भएकाले बहसमा ल्याइएको सहकारी विभागका रजिस्टार सुदर्शनप्रसाद ढकालले बताए । बचत तथा ऋण सहकारी ऐनमा कोषको अवधारणालाई समेट्न लागिएको जानकारी उनले दिए । यो कोष वित्तीय सहकारीको केन्द्रीय छाता संघठनको मातहत रहने भएकाले सबै सहकारीलाई संघको सदस्यता अनिवार्य हुने भएको छ ।

सहकारी संस्था जोखिममा पर्दा उद्धार गर्न र संस्था डुब्दा सर्वसाधारणको निक्षेप सुरक्षित गर्न कोषको अवधारणा ल्याइएको केन्द्रीय बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष ऋषि घिमिरेले बताए । सुदृढीकरण कोष (स्टेबलाइजेसन फन्ड) नाम दिइएको यो कोषबाट अप्ठ्यारोमा परेका सहकारीलाई सहयोग गरिने र निक्षेप सुरक्षण कोष (डिपोजिट इन्स्योरेन्स फन्ड) बाट सर्वसाधारणको निक्षेप सुरक्षित गरिने जानकारी उनले दिए ।

सुदृढीकरण कोषका लागि सहकारी संस्थाले गरेको खुद नाफाको ०.३ प्रतिशत रकम छुट्टयाउनुपर्नेछ भने निक्षेप सुरक्षण कोषका लागि कुल निक्षेपको वार्षिक ०.३ प्रतिशत रकम उठाएर बिमा प्रणाली लागू गरिनेछ । सुदृढीकरण कोषको रकम सहकारीकर्मीलाई तालिम, भ्रमणका साथै अनुगमनमा खर्च गरिने घिमिरेले बताए । निक्षेप सुरक्षण कोष संघको मातहत भए पनि त्यसमा सबै सहकारीको सेयर रहने व्यवस्था गरिने घिमिरेले बताए ।

ऐनको मस्यौदा बनाउन केन्द्रीय बचत तथा ऋण सहकारी संघ क्रियाशील छ । संघले पाँचै विकास क्षेत्रमा छलफल गरी पहिलो चरणको मस्यौदा तयार पारेको छ । मस्यौदा हाल कानुनी क्षेत्रका विज्ञहरूले अध्ययन गरिरहेको र छिट्टै विभागमार्फत सररकालाई बुझाइने घिमिरेले जानकारी दिए ।

मस्यौदामा सहकारी दर्ताका लागि संघको सिफारिस आवश्यक पर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सहकारी संस्था डुब्न लागे सहकारी कार्यालयले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिई उपयुक्त व्यक्ति वा संस्था नियुक्त गरेर सञ्चालन गर्न सक्नेछ । तर, यसका लागि संघको अनुमति लिनुपर्छ ।

यसैगरी सहकारी कार्यालयले सहकारीको सञ्चालक समितिलाई निलम्बन, बर्खास्त गर्नसक्ने र नयाँ सञ्चालक समिति गठन गर्नसक्ने या सहकारी कार्यालयले नै साधारणसभा गराई नयाँ सञ्चालक समितिलाई व्यवस्थापन हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ । खराब काम गर्ने सहकारी र सञ्चालकलाई ७५ हजारदेखि १ लाख रुयैयाँसम्म जरिवाना र दुई वर्ष कैद सजाय पनि प्रस्ताव गरिएको छ । त्यस्तै, सहकारी संस्थाको ऋण असुलीका लागि ऋण असुली न्यायाधीकरण गठन गर्ने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको सहयोगमा केही समयअघि ठूला सहकारीको अनुगमन गर्दा सर्वसाधारणको निक्षेप जोखिममा रहेको पाइएको थियो । त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको एक कार्यदलले समेत सहकारी क्षेत्र जोखिममा रहेको भन्दै अनुगमन प्रभावकारी बनाउन सुझाव दिएको छ ।

विभागको तथ्यांकअनुसार चैतसम्म देशभरका २२ हजार २ सय ९३ सहकारी संस्थामा सर्वसाधारणको १ खर्ब २० अर्व रुपैयाँ निक्षेप छ ।

Tuesday, June 21, 2011

सहकारीमा दुर्घटनाको खतरा : कार्यदल

यादव हुमागाईं
काठमाडौं, ६ असार

निजी क्षेत्रबाट खुलेका सहकारीको संख्या र कारोबार बढे पनि उपयुक्त कानुन र सशक्त अनुगमन संरचना नहुँदा सर्वसाधारणको निक्षेप जोखिममा पर्ने निष्कर्ष उच्चस्तरीय सरकारी अध्ययनले निकालेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित कार्यदलले एक वर्षभन्दा बढी समय अध्ययन गरेर तयार गरेको प्रतिवेदनमा सर्वसाधारणको निक्षेप सुरक्षित गर्न दुई दशक पुरानो कमजोर ऐन, नियम परिमार्जन गरी नियमन क्षमता बढाउन सुझाव दिइएको छ ।

चैत अन्तिममा तयार गरिए नि सरकारलाई बुझाउन नसकिएको यो प्रतिवेदनमा अनुगमन क्षमता कमजोर हुँदा सहकारीको नाममा व्यक्तिगत व्यापार गर्ने प्रवृत्ति बढेको, सर्वसाधारणको निक्षेप सञ्चालकले दुरुपयोग गर्ने गरेको उल्लेख छ । कार्यदलले सहकारी र बैंकिङ क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी तयार गरेको प्रतिवेदनमा ऐन, नियम संशोधन गर्न र अनुगमनका लागि दक्ष कर्मचारी व्यवस्था गर्न सुझाव दिइएको छ ।

कार्यदलमा अर्थ र कृषि तथा सहकारी मन्त्रालयका सचिव, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष, राष्ट्रिय सहकारी संघका अध्यक्ष, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, केन्द्रीय बचत तथा ऋण सहकारी संघका अध्यक्ष सदस्य र सहकारी विभागका रजिस्टार सदस्य–सचिव थिए ।

सहकारीमा ठूलो रकम कारोबार हुन थालेपछि गत वर्ष राष्ट्र बैंकको सहयोगमा ठूलो कारोबार गर्ने करिब सय सहकारीको अनुगमन गरिएको थियो । अनुगमनबाट सहकारीले मापदण्डविपरीत कारोबार गरेको, सञ्चालकले निक्षेप दुरुपयोग गरेको र लगानीसमेत जोखिममा रहेको पत्ता लागेको थियो । सोही रिपोर्टका आधारमा अर्थमन्त्रालयले अनुगमन कडाइ गर्न र गल्ती गर्ने सहकारीलाई कारबाही गर्न निर्देशन दिएको थियो ।

सहकारीको संख्या वृद्धि भएपछि विकृति भित्रिएकाले अनुगमन क्षमता बढाउन सुझाव दिइएको कार्यदलका सदस्य एवं केन्द्रीय बचत तथा ऋण सहकारी संघका अध्यक्ष मीनराज कँडेलले बताए । “सहरी क्षेत्रका सहकारीमा केही विकृति देखिएका छन्, यसका लागि नियमनकारी निकायको क्षमता बढाउनुपर्ने देखिएको छ,” उनले भने । कार्यदलको मस्यौदालाई छिट्टै बैठक बसी अन्तिम रूप दिइने जानकारी कँडेलले दिए ।

यसैगरी कार्यदलले स्थायी प्रकृतिका सहकारीको समस्या समाधान गर्न एक उच्चस्तरीय समिति गठन गर्न पनि सुझाएको छ । सहकारी विकास बोर्डका अध्यक्षको संयोजकत्वमा गठन हुने समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सहकारी क्षेत्र हेर्ने आयोगका सदस्य, अर्थसचिव, कृषि तथा सहकारी सचिव, राष्ट्रिय सहकारी संघका अध्यक्ष, बोर्डका सहअध्यक्ष, सहकारी विभागका रजिस्टार सदस्य तथा स्वयं बोर्ड सदस्य सचिव रहने उल्लेख छ । प्रत्येक तीन महिनामा बस्ने समितिको बैठकले प्रगति समीक्षा गर्नुका साथै सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि बोर्ड र प्रधानमन्त्रीलाई सुझाव दिने प्रतिवेदनमा भनिएको छ ।

अनुगमन प्रभावकारी बनाउन विभागमा व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ६ जना कर्मचारी नियुक्त गर्न सुझाइएको छ । यो व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंकको सहयोगमा हाल जारी सघन अनुगमनलाई निरन्तरता दिन कार्यदलको सुझाव छ ।

प्रतिवेदनमा सहकारी ऐन २०४८ र नियमावली २०४९ संशोधन गर्न, छुट्टै बचत तथा ऋण ऐन र सहकारी बैंक ऐन बनाउन, विभागको क्षमता बढाई सहकारीसम्बन्धी राष्ट्रिय नीति बनाउन, बोर्डलाई ‘थिंक ट्यांक’को रूपमा विकास गर्न र छुट्टै सहकारी मन्त्रालय गठन गर्न पनि सुझाव दिइएको छ ।

सहकारीलाई उत्पादन र वितरणको क्षेत्रमा केन्द्रित गराउन सरकार–सहकारी साझेदारीका रूपमा अगाडि बढ्नुपर्ने आवश्यक्ता औंल्याइएको छ । त्यसका लागि ठूला–साना सहकारी उद्योग र सहकारी पसलका लागि थोक पसल खोल्नसमेत सरकारले ऋण या अनुदान सहयोग दिनुपर्ने औंल्याइएको छ ।

विभागको तथ्यांकअनुसार चैतसम्म देशभर २२ हजार २ सय ९३ सहकारी दर्ता भएका छन् । तीमध्ये बचत तथा ऋण सहकारीको संख्या १० हजारभन्दा बढी छ । यो अवधिसम्म सहकारीमा सर्वसाधारणको १ खर्ब २० अर्ब निक्षेप छ ।

सहकारीले मापदण्डविपरीत कारोबार गरेको पाइएपछि विभागले वित्तीय सहकारीको अनुगमनमा कडाइ गर्दै आएको छ । विभागले निर्देशन जारी गरी घरजग्गाको लगानी २५ प्रतिशतमा सीमित गर्न, संस्थागत लगानी नगर्न, कम्पनीमा भएको लगानी फिर्ता गर्न र मासिक कारोबार विवरण बुझाउन निर्देशन दिइसकेको छ । त्यसैगरी वैशाखदेखि नयाँ मापदण्ड लागू गर्दै दर्तामा समेत कडाइ गरेको छ ।

प्रतिवेदन बुझाउन ढिलाइ


सहकारी क्षेत्रको अध्ययन गरी सुधारका लागि सुझाव पेस गर्न एक महिना समय पाएको कार्यदलले डेढ वर्ष बित्दा पनि सरकारलाई प्रतिवेदन बुझाएको छैन ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल सरकारले २०६६ मंसिर ११ गते गठन गरेको कार्यदलले सुरुमा एक महिनाको समय पाएको थियो । एक महिना सकिँदा प्रतिवेदन तयार नभएपछि पुनः तीन महिनाका लागि थप गरिएको थियो ।

देशको अस्थिर राजनीतिले सरकार र कार्यदलको नेतृत्वसमेत परिवर्तन भइरहेकाले समयमै काम नसकिएको कार्यदलका एक सदस्यले बताए । “कार्यदलको संयोजक रहने राष्ट्रिय योजना आयोगका अध्यक्ष नै दुई पटक परिवर्तन भए,” उनले भने, “यसले कार्यदलको कामलाई प्रभाव पा¥यो ।”

अब कार्यदलको बैठक बसेर मस्यौदालाई अन्तिम रूप दिई सरकारलाई बुझाइने जानकारी उनले दिए । तर, नीतिगत तहमा सहकारीलाई महत्व नदिइएको आरोप उनको छ । “सहकारीलाई नीति निर्माण तहमा रहेका अधिकारीले कति धेरै बेवास्ता गर्छन् भनेर यो कार्यदलको हालतले नै स्पष्ट पार्छ,” उनले भने ।

कार्यदलका सुझाव

* उच्चस्तरीय सहकारी क्षेत्र समस्या समाधान समिति गठन
* राष्ट्र बैंकको सहयोगमा सघन अनुगमनलाई निरन्तरता
* स्थायी अनुगमनका लागि स्नातकोत्तर जनशक्तिको व्यवस्था
* सहकारीको दीर्घकालीन रणनीति निर्माण
* सहकारी ऐन २०४८ संशोधन, छुट्टै बचत तथा ऋण र सहकारी बैंक ऐन निर्माण
* सहकारी विभाग र सहकारी प्रशिक्षण केन्द्रको क्षमता वृद्धि
* सहकारी मन्त्रालयको स्थापना
* साना र ठूला सहकारी उद्योगलाई अनुदान
* सहकारी पसल प्रवद्र्धनका लागि प्रत्येक निर्वाचन क्षेत्रमा थोक पसल
* कर नीतिमा पुनरावलोकन

Sunday, June 19, 2011

सुनचाँदीको मूल्यमा उतारचढाव

काठमाडौं, ४ असार
स्थानीय बजारमा यो साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । अन्तराष्ट्रिय बजारलाई पछ्याउदै साताको सुरुमा उच्च रहेको सुनको भाउँ मध्यमा घटेर साता अन्यमा भने पुन बढेको छ ।

आईतबार स्थानीय बजारमा प्रतिदस ग्राम ३६ हजार ६ सय ५० रुपैयाँ रहेको सुनको भाउ बृद्वी भई सोमबार ३६ हजार ६ सय ९५ रुपैयाँ कायम भयो । मंगलबार घटेर ३६ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएकोमा क्रमश बढ्दै शुक्रबार ३६ हजार ६ सय १० रुपैयाँ कायम भएको छ ।

यो साता मंगलबार सबैभन्दा सस्तो र सोमबार सबैभन्दा महंगोमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार सो साता चाँदीको मूल्यमा भने सामान्य उतारचढाव आएको छ । आईतबार प्रतिदस ग्राम ८ सय ९६ रुपैयाँ रहेको चाँदीको मूल्य क्रमश घटेर मंगलबार र बुधबार ८ सय ७८ मा कारोबार भयो । त्यसैगरी विहिबार र शुक्रबार पुन बढेर ८ सय ७९ मा कारोबार भएको संघले जनाएको छ ।