Tuesday, July 17, 2012

सहकारीमा बढ्दो ठगी


११ महिनामा १० सहकारी निक्षेप लिएर फरार

काठमाडौं, २४ असार 

कमजोर कानुन र प्रभावकारी अनुगमन नहुदा सहकारीका संचालकहरु सर्वसाधारणबाट निक्षेप उठाएर भाग्न थालेका छन् । सर्वसाधारणको निक्षेप घरजग्गा, व्यक्तिगत व्यवसायमा लगानी गरेका संचालक सदस्यले रकम मागेका बेला तिर्न नसकेपछि फरार भएका हुन् । 

चालू आथिर्क वर्षको ११ महिनामै १० वटा सहकारीका अध्यक्ष तथा संचालकहरु सर्वसाधारणबाट करोडौ रकम उठाएर फरार भएका छन् । त्यसमध्ये आठ वटा बचत तथा ऋण र दुई वटा बहुउद्देश्यीय रहेको डिभिजन सहकारी कार्यालय काठमाडौले जानकारी दिएको छ । 

उक्त सहकारीमध्ये निक्षेपकर्ताको उजुरीको आधारमा हिमशिखरका संचालकले तीन करोड रुपैयाँ ठगीको देखिएपनि अन्य संस्थाले कती ठगी गरे भन्नेबारे समेत नियामक निकायमा जानकारी छैन । अध्यक्षसहित सबै संचालकलाई कारवाहि गर्न डिभिजन कार्यालयले प्रहरीलाई सिफारीस गरेपनि हालसम्म कोही पक्राउ परेका छैनन् । 

रकम नपाएको र सञ्चालकहरु फरार भएको निवेदन दिएपछि अनुगमन गर्दा कार्यालय नै बन्द गरेको र कार्यालयको सम्पर्कमा समेत नआएपछि कारवाही गर्न प्रहरीलाई पत्राचार गरिएको डिभिजन कार्यालयका अधिकृत कृष्ण प्रसाद शर्माले बताए । कति रकम ठगी भयो भन्नेबारे समेत प्रहरीले अनुसन्धान गर्ने उनको भनाइ थियो । 

घरजग्गा कारोबारमा मन्दी आएपछि सहकारीमा समस्या देखिएको र भाग्ने क्रम पनि बढेको अधिकृत शर्माले जानकारी दिए । “अघिल्ला वर्षमा एक÷दुई सहकारीमा मात्र समस्या देखिएको थियो, शर्माले भने, “यस वर्ष घरजग्गा कारोबार ठप्प भएपछि धेरै लगानी गर्ने सहकारीमा समस्या देखिएको हो ।” केही सहकारीका  संचालकको नियत नै ठग्ने भएपनि अधिकांशले घरजग्गा गरेको लगानी नउठेको र सदस्यको रकम मागेका बेला दिन नसकेकाले संचालक फरार भएको पाइएको उनको भनाइ थियो । 

‘सहकारी विभागबाट अनुमति प्राप्त’ भनी बोर्ड राखेर बचत तथा ऋण कारोबार गर्ने सहकारीले नियामक निकायको कमजोरीको फाइदा उठाउदै रकम लिएर भाग्न थालेका हुन् । अधिकृत शर्मा भने सहकारी कार्यालयमा जनशक्ति अभाव भएकाले  नियमित अनुगमन गर्न नसको र विकृती बढेको स्विकार गर्छन । “करिब चार हजार सहकारी दर्ता भएको काठमाडौंमा अनुगमनका लागि ९ जना मात्र कर्मचारी रहेका छन्” उनले भने, कसरी नियमित अनुगमन गर्न सकिन्छ ।” यस्तैसहकारीबाट ठगी गर्नेलाई कारवाहि गर्न पर्याप्त कानुन नहुनु, २०४८ सालको सहकारी ऐन समयानुलक संसोधन नहुनले समस्या बढेको उनले दावी गरे । 

सहकारी ऐनले गल्ती काम गर्ने सहकारीलाई १ हजार ५ सय रुपैयाँसम्म जरिवाना र खारेजी गर्ने व्यवस्था गरेको छ । सहकारी दर्ता तथा नियमन मापदण्ड २०६८ ले संचालकले बचत निक्षेपको अपचलन गरेको लगायतका गल्तीमा ठगीको कारवाहीका लागि प्रहरीमा सिफारीस गर्ने व्यवस्था गरेको छ । 

गत वर्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको एक सरकारी समितिले सहकारीमा रहेको सर्वसाधारणको निक्षेप जोखिममा रहेको भन्दै प्रभावकारी अध्ययन गर्न सरकारलाई सुझाव दिएको थियो । राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोलीले गरेको अनुगमनमा समेत सहकारीमा जोखिमपूर्ण कारोबार भइरहेको भेटिएको थियो । 

तर, हालसम्म सरकारले सहकारी अनुगमन र कारवाहिका लागि कुनै प्रभावकारी व्यवस्था गरेको छैन । गत वर्ष बजेटमा ५ करोडभन्दा बढी कारोबार भएको सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकले गर्ने घोषणा गरेपनि जनशक्तिको अभाव देखाउदै केन्द्रीय बैंकले अस्विकार गरेको थियो । हालै स्थापना भएको सहकारी मन्त्रालयले विभाग अन्र्तगत रहनेगरी सहकारी अनुगमन सेल गठन गरी प्रभावकारी अनुगमन गर्ने तयारी भइरहेको जनाएको छ । 


भागेका सहकारी



  • जय शिवशक्ति बहुउदेश्यीय सहकारी, स्वयंभु, अध्यक्ष कृष्ण हरि रिमाल
  • कस्मिक बचत तथा ऋण, पुतलिसडक अध्यक्ष खिलाबहादुर बम्जन 
  • ग्रेस बहुउद्देश्यीय सहकारी, चुच्चेपाटी, अध्यक्ष प्रकाश कार्की 
  • कमलिन बचत तथा ऋण, त्रिपुरेश्वर, अध्यक्ष शैलेश पि खत्री 
  • डिमान्ड सेभिङ एण्ड क्रेडिट, मिनभवन, अध्यक्ष दावा लामा 
  • पिताश्री बचत तथा ऋण, बानेश्वर, अध्यक्ष बद्रीप्रसाद आचार्य 
  • हिमशिखर बचत तथा ऋण,  चावहिल, अध्यक्ष गंगा कार्की 
  • सिन बचत तथा ऋण, बानेश्वर, अध्यक्ष जीवन सुनवार
  • बालकल्याण बचत तथा ऋण, ठमेल
  • डोर बचत तथा ऋण चावहिल



‘आफ्नो रकमको सुरक्षा आफै गर्नुहोस’
–कृष्णप्रसाद शर्मा, सहकारी अधिकृत डिभिजन सहकारी कार्यालय काठमाडौं
सहकारी सदस्य नियन्त्रीत संस्था हो । संस्था संचालन गर्ने अधिकार सदस्यमै हुन्छ । त्यसैले सहकारीमा कारोबार गर्नुअघि सदस्य बन्न मिल्छ या मिल्दैन, विधान हेरेर सदस्य बनेर मात्र कारोबार गर्नुपर्छ । संचालनको बारेमा राम्रोसँग जानकारी राख्नुपर्छ । कुनै संस्थाले अप्रत्यातिश व्याज, उपहारको प्रलोभन देखाउदा लोभिनु हुदैन । सहकारी सिद्वान्त, सदस्यको अधिकार बुझेर मात्र सहकारीमा कारोबार गर्नु थाल्नुपर्छ । सहकारी मुख्यतया सदस्य नियन्त्रीत संस्था हो, संचालकको काम कारवाहि प्रति सचेत हुनुपर्छ । कुनै संचालकले रकम ठगरे भागेमा सहकारी कार्यालयले संचालनको सम्पति रोक्का गर्ने र कारवाहिका लागि प्रहरीलाई पठाउने मात्र हो । त्यसैले आफ्नो निक्षेपको सुरक्षा गर्ने पहिलो जिम्मेवारी सदस्यको आफ्नै हो । 

No comments: